Sunday, September 30, 2018

महिला समूहद्वारा जितिया कार्यक्रम


जनकपुरधाम, १४ असोज । महिला सरोकार समूहले जनकपुरधाममा आईतवार जितिया कार्यक्रमको आयोजना गरेको छ ।
समूहका अध्यक्ष उर्मिला यादवको अध्यक्षतामा भएको जितिया कार्यक्रममा अधिकांश महिला अधिकारकर्मी एवं जितिया व्रतालुहरुको सहभागिता रहेको थियो । उनीहरुले जितिया पर्व सन्तान प्राप्ति एवं रक्षाका लागि मनाउने गरेकोले यसलाई भव्यता दिनका लागि एक अर्कासँग आग्रह गरेकी छन् । सहभागीहरुले यो व्रत कठोर भएपनि सन्तान रक्षाका लागि रहेकोले जितिया पर्वमा विशेष कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिएका छन् ।
जितिया शुभकामना आदान प्रदानका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव मरबैताले जितिया पर्व सन्तान रक्षाका लागि मात्र होइन, मिथिलाको संस्कृति समेत रहेकोले यसको प्रचार प्रसार हुनुपर्नेमा जोड दिएका छन् । उनले जितिया पर्वको शुभकामना दिदै भने, ‘यो कठोर पर्व हो । सन्तान प्राप्ति र रक्षाका लागि यो पर्व महिला दिदी वहिनीहरु मनाउने गर्दछन । तर महिलामाथि भई रहेको हिंसा तथा बलात्कार जस्ता जघन्य अपराध चिन्ताजनक रहेको छ ।’
त्यस्तै हंसपुर नगरपालिकाकी उपमेयर रेणु कुमारी मिश्रले जितिया पर्व निक्कै कठोर पर्व हो, तर जसको लागि यो व्रतहरु राखिन्छ उनीमाथि नै हिंसा बलात्कार जस्ता घटना हुनु दुःखद रहेको भन्दै महिलामा लड्ने शक्ति समेत प्रदान गरुन कामना गरेकी छन् । उनले महिलाहरु अहिले पनि असुरक्षित रहेको भन्दै महिला शक्तिको पहिचान आवश्यक रहेको जिकिर गरेकी छन् ।
कार्यक्रममा विभा ठाकुर, सुनिता राउत, विभा पाण्डे, पुनम झा लगायत दर्जनौं महिलाहरु आ आफ्ना विचार राखेकी छन् । जितिया पर्वमा खाने गरेको कोदोको रोटी र माछा समेत खुवाइएको थियो । कार्यक्रमको सञ्चालन जमुना भुजेलले गरेकी छिन ।


No comments:

Post a Comment