Thursday, May 22, 2014

मन्त्री निधि भ्रम फैलाएर एडीबी भगाउने षड्यन्त्रमा


कैलास दास
जनकपुर, जेठ ८ । एडिबी परियोजना बचाउ संघर्ष समिति धनुषाले एडिबीलाई असफल बनाउने पक्षका विरुद्धमा संघर्ष समिति जस्तोसुक्कै संघर्ष गर्नुपरे पनि गर्ने जनाएको छ । संघर्ष समितिद्वारा विहिवार पत्रकार सम्मेलनमा सत्ता र सरकारमा पुगेपछि मन्त्री जस्तो गरिमामय पदमा पुगेका विमलेन्द्र निधिबाट ल्याण्डफिल्डलाई डम्पिङ्ग साईट भनेर अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण रहेको संघर्ष समितिका संयोजक बजरंग प्रसाद साहले बताए ।

उनले जनकपुरका जनतालाई अपमान गर्ने किसिमको कार्य भए जनता अब नसहने बताउदै ल्याण्डफिल्डका लागि छनौट गरिएका जग्गामा आर्थिक चलखेल भएको पनि बताए । क्रिकेट म्याचमा म्याच फिक्सिङ्ग भए जस्तै ल्याण्ड फिल्ड साईटको जग्गामा म्याच फिक्सिङ्गको खेल भैरहेको बताए । पूर्व नगरप्रमुख समेत रहेका साहले शक्तिको दुरुपयोग गरेर स्थानीय विकास अधिकारी आयोजनाका प्रमुख गंगाप्रसाद यादव सहितका अधिकारीहरुलाई यस अघि अस्विकृत गरेका जग्गाहरुको निरीक्षण गराएर भ्रम सृजना गराउने खेल भएको बताए ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेस धनुषाका सचिव संतोष यादवले ल्याण्डफिल्ड साईटका सन्दर्भमा विहिवार विहान भएको पत्रकार सम्मेलन पार्टीका अवधारणा नभई व्यक्तिगत अवधारणा रहेको बताए । उनले काँग्रेसका नेता विमलेन्द्र निधि क्षेत्र नं. ३ का नेता मात्र नभई राष्ट्रका नेता मात्र नभई आफनो शक्तिको दुरुपयोग गर्न नहुने बताए । नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष हरिनारायण साहको पनि सहभागितामा भएको पत्रकार सम्मेलनमा नगर समितिका सदस्य रामअशिष साह, रामनरेश सिंह, क्षेत्र नं. ४ का महाधिवेशन प्रतिनिधि ताहिर नदाफले ल्याण्डफिल्ड साईटको नाममा भईरहेको खेलको विरोध गरे ।
वैज्ञानिक तरिकाले ५० फिट गहिरो पारेर त्यसमा व्यवस्थित किसिमले फोहरको व्यवस्थापनका साथै उक्त क्षेत्रको विकास निर्माण, सौन्दर्यीकरण लगायतका क्षेत्रमा उल्लेखनीय योगदान दिने र सोही ठाउँमा प्रथम गणतान्त्रिक सहिद दुर्गानन्द झाको स्मृतिमा दुर्गानन्द झा उदयानको निर्माण गरिने संघर्ष समितिका संयोजकले जनाकारी गराए ।
फूलगामा ४ का नरेश प्रसाद साहले ल्याण्डफिल्डको विषयमा भ्रामक प्रचार उक्त क्षेत्रमा गराईएको कारणले जनतामा भ्रम सृजना गराउने कार्य नेकाँ सभापति रामसरोज यादवले मन्त्री विमलेन्द्र निधिबाट भएको बताए ।

संघर्ष समितिको एडीबी भगाउ अभियोन हो ः नेकाँ सभापति यादव
जनकपुर । नेपाली काँग्रेस जनकपुर नगर समितिले एडिबी बचाउनको नाउमा चलाईएको अभियान एडिबी बचाउनका लागि नभई भगाउनका लागि भएको जनाएका छन् । नगर समिति द्वारा विहिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर अध्यक्ष धिरेन्द्रमोहन झाले एडिबीको नाउमा भईरहेको आन्दोलन षडयन्त्र मुलक रहेको बताउदै पूर्व नगरप्रमुृख बजरंग प्रसाद साहले आफनो घर बचाउनका लागि आन्दोलनको नेतृत्व गरेको आरोप लगाए ।

उनले २०५७ सालमा नगरपालिकाको नगरप्रमुख हुँदा जनकपुर नगरपालिकाको सडक सम्बन्धी फरक किसिमको मापदण्ड ल्याएको त्यसको उदाहरण भएको बताउदै बीसौं नगरपरिषदले समान किसिमको मापदण्ड बनाएको बताए । उनले संघर्ष समितिको नाउमा एडिबीको विरुद्धमा भैरहेको षडयन्त्रप्रति शुक्रवार देखि भण्डाफोर अभियान सञ्चालन गर्ने बताए ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका सभापति रामसरोज यादवले ल्याण्डफिल्ड साईटको निर्माँण ४०(५० वर्षको टारगेटलाई गरेर गर्नुपर्ने र त्यसका लागि फूलगामाको जग्गा उपयुक्त नभएको र यसको विकल्पमा वैकल्पिक जग्गाहरुको खोजी हुन थालेको दावी गरे । उनले फरुलगामाका जग्गामा केवल माटो परिक्षणको काम मात्र भएको र अन्य जग्गा लिदा ३ महिना ढिलाई मात्र हुने र यसले एडिबीमा कुनै प्रभाव नपर्ने दावी गरे ।
पत्रकार सम्मेलनमा विश्विद्यालयको नाममा विगतमा जनकपुरमा आएको पशुपद्यशालाको रकम फिर्ता भएको सन्दर्भमा गरिएको जिज्ञासामा पत्रकार सम्मेलनका आयोजकहरु निरुत्तर भएका थिए । अधिकांश पत्रकारहरुले एडिबीका सन्दर्भमा काँग्रेसका वरिष्ठ नेता एवं मन्त्री विमलेन्द्र निधिबाट आएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । पत्रकारहरुले कुनै पनि हालतमा जनकपुरको विकासका लागि कायापलट गर्ने एडिबीमा अवरोध हुन नहुने भनेर आयोजकलाई नै सचेत गराएका थिए ।

आयोजनाको ध्यानाकर्षण
जनकपुर । एशियाली विकास बैंको ऋण तथा आर्थिक सहयोगमा जनकपुरको कायापलट हुने गरि संचालन हुन लागेको आयोजना सम्बन्धमा केही दिन यता विभिन्न संचार माध्यममा आएको समाचारप्रति आयोजनाको ध्यानाकर्षण भएको आयोजना व्यवस्थापक गंगा प्रसाद यादवले जनाएका छन ।
यादवले विहिवार प्रेस विज्ञप्ति जारी गरि परियोजनाको कामहरु द्रुत गतिमा अघि बढिरहेको अवस्थामा धनुषाको फुलगामा निर्धारण गरिएको लैण्डफिल साइटको माटो परीक्षण सम्पन्न भई सर्वे डिजाइन समेत अन्तिम चरणमा रहेको बेला उक्त जग्गा राजर्षि जनक विश्वविद्यालयको लागि प्रस्तावित हो भनि आएको अभिव्यक्ति र साइट सर्वे कार्यमा भएको अवरोध बाट आयोजनाको कार्यमा केही अवरोध उत्पन भएको महशुस भएको जनाएका छन ।
आयोजनाको लागी जनकपुरवासीबाट प्रदर्शित चासो र चिन्ता प्रति आयोजनाले आभार प्रकट गर्दै आयोजनाको कार्यहरु संचालनमा नै रहेको र आयोजनाको अन्त नभएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । जनकपुर भरीको २६ कि.मी. सडक र सोही दुरीमा ढल तथा व्यवस्थित ल्याण्डफिल साईटको निर्माण गर्न जानकी मन्दिरलाई केन्द्रविन्दु मानी त्यहाँबाट विस्तारित र अन्य ढल सहितको सडक संजाल र फोहोरलाई उचित तथा बैज्ञानिक तवरले व्यवस्थापन गरिने उद्देश्य बोकेको आयोजनाको ढल सहितको सडक संजालको डिजाईन कार्य अन्तिम चरणमा रहेको समेत अयोजनाले जनाएको छ ।

Wednesday, May 21, 2014

राप्रपा नेपालमा तीव्र विवाद

कैलास दास
जनकपुर, जेठ ७ । राष्टिूय प्रजातन्त्र पार्टी नेपाल धनुषामा तीव्र विवाद उत्पन्न भएको छ । राप्रपा नेपालको जनकपुर उद्योग वाणिज्य संघमा पार्टीका उपाध्यक्ष डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यमा भएको जिल्ला अधिवेशनमा केन्द्रिय सदस्य मनोज प्रताप मल्लले हैकामवादी प्रवृति देखाएर जिल्ला कार्य समिति गठन गरेकोमा त्यो अवैधानिक भएको कृष्णदेव चौधरी नेतृत्वको वर्तमान कार्यसमितिले जनाएको छ ।
रिपोटर्स क्लव जनकपुरमा विहिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा राप्रपाको विधानविपरित अवैधानिक तरिकाले कार्यसमितिको घोषणा गरेकाले त्यो वैधानिक हुन नसक्ने र आफुहरु जिल्ला अधिवेशन स्थगित गरी अधिवेशन स्थलबाट बाहिर गएकाले गठन भएको समिति मान्य नहुने अध्यक्ष चौधरीले बताए । षडयन्त्रपूर्ण तरिकाले भएको जिल्ला अधिवेशन बारेमा केन्द्रिय कार्य समितिमा जानकारी गराईएको सचिव रामनरेश यादवले बताए ।
धनुषा जिल्लाका ४ वटा निर्वाचन क्षेत्रमा मात्र अधिवेशन भएको बताउदै मनोज प्रताप मल्ले पार्टीलाई आफनो खल्तिको पार्टी बनाउन खोजेको बताए । उनमा हैकमवादी सोंच कायमै रहेको र प्रजातान्त्रिक संस्कार र राजनीतिक साेंच नभएको बताए । साक्षात्कार कार्यक्रममा क्षेत्र नं. ७ का अध्यक्ष मिन बहादुर थिङ्गले राप्रपा नेपालको विधानको धारा ४२ ङ अनुसार अधिवेशनको प्रमाणितकरण जिल्ला अध्यक्षबाट हुनुपर्नेमा अध्यक्षले नै बहिष्कार गरेकाले जर्वरजस्ती बनाईएको कार्य समिति वैधानिक नभएको बताए । अवैद्यानिक तरिकाले भएको अधिवेशनलाई मान नसकिने बताउदै अधिकांश पार्षदहरु आफुहरुको पक्षमा रहेको थिङ्गले बताए । यस अघि जिल्ला अधिवेशनले मनोज प्रताप मल्ल पक्षधर भनिएका रितेश सिंहको अध्यक्षतामा कार्य समिति गठन गरेका थिए । पत्रकार सम्मेलनमा पार्टीका जिल्ला उपाध्यक्ष रामचन्द्र यादव, क्षेत्र नं. ४ का अध्यक्ष दामोदर प्रधान, रामकुमारी साह र नगर अध्यक्ष अलाउदिन साफि सहितका नेताहरु उपस्थित रहेका थिए ।
राजावादी र हिन्दुवादी पार्टीको रुपमा हाल सम्म चिनिएका राप्रपा नेपालले दोश्रो संविधानसभामा जनताको मत राम्रो संग बटुुले पनि देश भरिका पार्टी संगठन व्यापक विवाद रहेको छ । सभासदको चयनमा पनि देखिएको विवादका कारणले अहिले जिल्ला जिल्लामा त्यसको असर देखिन थालिएको छ । धनुषामा पनि मनोज प्रताप मल्ल पक्षधरलाई सभासद बनाउनमा पाखा लगाएका कारणले जिल्ला अधिवेशनबाट ती पक्षलाई पाखा लगाउने काम भएको छ ।

Tuesday, May 20, 2014

पढनका लागि पाठ्य पुस्तक देऔं

कैलास दास
शैक्षिक सत्र सुरु भएको एक महिना बितिसकेको छ, तर विद्यार्थीहरुको हातमा अझै पाठ्यपुस्तक पर्न सकेको छैन । सरकारी विद्यालयहरुको पुस्तक प्रकाशित गर्ने जनक शिक्षा सामग्री केन्द्र, आपूर्ती गर्ने साँझा प्रकाशन लगायतका सरकारी निकायहरु आफ्ना देशका कर्णधारहरुलाई पुस्तकसम्म उपलब्ध गराउन नसक्नु लज्जास्पद हो । राज्यले यो न्युनतम दायित्व समेत पूरा गर्न नसक्नु कर्तव्यहीनताको पराकाष्ठा हो । न्यायपालिकामा भागवण्डाको राजनीति गर्ने जम्बो संविधानसभामा यस्ता महत्वपूर्ण विषय प्रवेश पाउन नसक्नु बुभ्mन सकिएको छैन । संविधानसभामा प्रतिनित्व गर्ने सभासदहरु, मन्त्रालयका उपल्ला पदाधिकारीहरु, शिक्षक, प्राध्यापक, कानून व्यावसायीसंगै उच्च र मध्यमवर्गीय परिवारका छोरा छोरी, नाति नातिना सरकारी विद्यालयमा नपढ्ने भएर हो कि उनीहरुले यस समस्यालाई समस्या नै बुझेका छैनन् ?
निजी तथा आवासीय विद्यालयहरुको पुस्तक प्राप्ति पनि ठुलै समस्या बनेको छ । चर्को मूल्यमा पाइने निजी विद्यालयका पाठ्यपुस्तक पनि हालसम्म उपलब्ध छैन । पैसा तिरेर पनि विद्यार्थीहरु हालसम्म पूरा पुस्तक पाएका छैनन् । पुस्तक विक्रेताहरुको चाला पनि त्यस्तै छ । नक्कली स्टीकर टाँसेर मनपरी मूल्य लिने । आफू खुसी कमिशन दिने तथा प्रकाशकहरु संगको मिलीमतोमा कमसल पाठ्य पुस्तकहरु राख्ने परम्परा पनि नौलो होईन । केही आवासीय विद्यालयहरुले कमसल प्रकाशनका पाठ्यपुस्तक पठाए वापत बस, जीप जस्ता महगा सामानहरु उपहार पाएको उदाहरणहरु पनि हामी सामु छ । राज्यले शिक्षालाई मौलिक अधिकारको रुपमा ग्रहण गरेको छ तर स्कूले विद्यार्थीहरुलाई पाठ्यपुस्तकसम्म समयमा उपलब्ध गराउन सकेको छैन । राज्यको लागि यस भन्दा दुर्भाग्यपूर्ण अरु के हुन सक्छ ??

एडीबी परियोजनामाथि पनि राजनीति




कैलास दास
जनकपुर । एशियाली विकास बैंकको ऋण सहयोगमा संचालित हुने एकिकृत सहरी विकास परियोजना अचेल चर्चाको विषय बनेको छ । मन्त्री विमलेन्द्र तथा उनका अनुयायीहरु यस परियोजनालाई फिर्ता पठाउने षडयन्त्रमा लागेको आरोप लाग्न थालेको छ भन्ने अधिकांश जनकपुरवासीका साथै नेपाली काँग्रेस भित्रकै ठूलो गुट, नेकपा एमाले, मधेशवादी दलहरु र नागरिक समाजसमेत यस परियोजनालाई जुनसुकै अवस्थामा पनि फिर्ता जान नदिने अभियानमा उत्रेका छन् । अर्को शब्दमा भनौ भने यहाँ विकासमा राजनीति सुरु भएको छ ।
गत महिना परिवार नियोजन संघमा आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री निधिले फुलगामामा लैण्डफिल्ड साईट राख्न नदिने अभिव्यक्ति दिएपछि यो विवाद छताछुल्ल भएको हो ।  मन्त्री निधिको पटकपटक दिइएको यस अभिव्यक्ति पश्चात पूर्व नगर प्रमुख बजरंगप्रसाद साह, समाजसेवी बलराम मिश्र तथा एमाले क्षेत्रीय ईन्चार्ज श्याम पुर्वेको नेतृत्वमा भिन्ना भिन्नै संघर्ष समिति गठन भई उनीहरुले दवावमूलक कार्यक्रम गर्दै आएका छन् ।
एडिवी परियोजना शीघ्र सञ्चालनको माँग गर्दै शुक्रवार जिल्ला प्रशांसन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
जनकपुर नगरपालिकाका पूर्व नगरप्रमुख बजरंग प्रसाद साहको अगुवाईमा नारा जुलुस सहित गएको टोलीले ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्रमा धनुषा निर्वाचन क्षेत्र नं. ३ को फुलगामामा ल्याण्डफिण्ड साइटको लागि काम शीघ्र हुनुपर्ने । ल्याण्डफिल्डको जग्गाप्रति भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले दिएको सार्वजनिक अभिव्यक्ति फिर्ता लिइनु पर्नेलगायतका माँग गरिएका छन ।
निर्धारित समयमा नै एडीबीको कामकाज हुनुपर्ने माँग गर्दै मन्त्री निधि पक्ष बाहेक नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरु सहित नगरवासीहरुको सहभागिता रहेको जुलुस जनक चौकबाट प्रारम्भ भई एडीबीको विरोध गर्नेको विरोधमा चर्को नाराबाजी गर्दै जिल्ला प्रशासनमा पुगेको थियो ।
एशियाली विकास बैंकले जनकपुरको सडक, ढल, नाला तथा सरसफाईका लागि एक अर्ब ८२ करोड रकम प्रदान गरेका छन् । उक्त रकमबाट नगर क्षेत्रमा २९ किलोमीटर सडक, २९ किलोमीटर नाला तथा सुविधा सम्पन्न लैण्डसाईड निर्माण गरिने छ । विकास निर्माणको मामिलामा निक्कै पछाडि परेको जनकपुरको विकास निर्माणको लागि आएको यो बजेटप्रति हुन लागेको यस्ता षडयन्त्रको सर्वत्र भत्र्सना गरिएको छ ।
मधेशवादी पनि आन्दोलनमा
जनकपुर नगर क्षेत्रमा सञ्चालन हुने एकीकृत शहरी विकास परियोजना बचाउनका लागि मधेशवादी दल मध्येका तराई मधेश लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक लगायतले पनि आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
तमलोपा नेपालका नेता तथा कार्यकर्ताहरुले एडिवी विरुद्ध भई रहेको षडयन्त्रको विरोधमा नगर क्षेत्रमा प्रदर्शन नै गरेका थिए । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष उमाशंकर अरगरियाको अध्यक्षतामा शुक्रवार बसेको बैठकले एडिबी योजनाप्रति गम्भीर भएको निर्णय गरेको छ ।
यता मन्त्री निधि समर्थक नेपाली काग्रेस धनुषाका सभापति रामसरोज यादव, स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदी, एडिवी परियोजना प्रमुख गंगाप्रसाद यादव, काँग्रेसका गणेश तिवारी, कोमलकान्त झा, साहित्यकार रामभरोस कापडिसहितका व्यक्तिहरु धनुषा क्षेत्र नम्बर ३ र ४ वाहेकका स्थानहरु छाडि धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद रामकृष्ण यादव , ५का डा.चन्द्रमोहन यादव तथा ६ का प्रेमकिसोर साहको निर्वाचन क्षेत्रमा पर्ने पुष्पलपुर, धनुषाधाम, भरतपुर, सिनुरजोडा, मालटोल सहितका स्थानमा वैकल्पिक लैण्डफिल्ड साईट खोजी गर्दै हिडेका छन् । उनीहरुले धनुषाधाम, ढल्केवर, महेन्द्रनगर सहितका नगरहरुको लागि साझा डम्पिंग साईटको खोजी गरिरहेको नयाँ माथापच्ची शुरु गरेका छन् ।

Friday, May 9, 2014

सभासद् साहलाई जलेश्वर कारागारले राखेन

कैलास दास

जनकपुर । धनुषा जिल्ला अदालतको थुनछेकको आदेशमा पूर्पक्षका लागि जलेश्वर कारागार पठाईएका सभासद संजय कुमार साहलाई ठाउँको अभाव भएको भन्दै कारागारले राख्न अस्वीकार गरेपछि उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ । क्षमताभन्दा बढी कैदी रहेको बेलामा “क” श्रेणीको सुविधा पाउने गरी कारागारमा पठाईएका सभासद संजय कुमार साहलाई राख्नका लागि बातावरण एवं ठाउँको अभाव भएकाले कारागारले राख्नलाई अस्वीकार गरेको श्रोतले जनाएको छ ।
जलेश्वर कारागारमा १ सय ३५ जना कैदी बन्दी राख्ने क्षमता भए पनि अहिले ४ सय ४९ बन्दी मध्ये ५ आश्रित बालबालिका, ३२ महिला र ४ सय १२ जना पुरुष बन्दी रहेका छन् । कारागारका प्रमुख शोभेन्द्र ठाकुरले जेलको अवस्थालाई दृष्टिगत गरेर निर्णय परिवर्तनका लागि स्थानिय सुरक्षा निकाय मार्फ पत्र नै पठाएका छन् । जलेश्वर जेलमा बन्दी अत्याधिक भएका कारणले एक जनालाई शौचालय गर्नका लागि घण्टौं सम्म लाईन कुर्नु पर्ने बाध्यता रहेको कारणले कैदीहरुले निक्कै सास्ती व्यहोर्नु परेको छ । यस अघि जनकपुर बम विस्फोटका प्रमुख योजनाकार अर्जुन सिंह भनिने मुकेश चौधरी सहित केही कैदीलाई पनि कारागारले बाहिर पठाएका छन् ।
ठाउँको अभाव भनिएपनि सुरक्षाको कारणले पनि उक्त निर्णय कारागार प्रशासनले गरेको हुन सक्ने विश्वस्त श्रोतको दावी रहेको छ । एक्कै मुद्दामा कारागारभित्र बन्दी राखियो भन्ने झडप भएर असुरक्षा उत्पन्न हुने सम्भावनालाई मध्यनजर गरेर पनि सुरक्षा निकायकै राय सल्लाह अनुसार छुट्टा छुट्टै राखिएको श्रोतले जनाएको छ ।
यस अघि पनि पटक(पटक जलेश्वर कारागारको क्षमता अभिवृद्धिका लागि प्रयास भए पनि सार्थक हुन सकेको छैन । जलेश्वर कारगारको स्थल पनि उपयुक्त नरहेको, वर्षा र बाढी याममा जेलभित्रै पानी जम्ने गरेका छन् । कारागारको ठाउँ सारी गरि जनकपुर र जलेश्वरको बीचमा पर्ने एकान्त ठाउँमा नयाँ भवन बनाएर व्यवस्थित गर्न उपयुक्त रहेको छ ।

Thursday, May 8, 2014

सभासद संजय साह पूर्वपक्षका लागि थुनामा

कैलास दास

जनकपुर,बैशाख २५ । जनकपुरको रामानन्द चौकमा भएको बम विस्फोटको प्रमुख योजनाकार भनेर प्रहरीद्वारा मुद्दा चलाईएका धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित सभासद एवं सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष संजय कुमार साहलाई जिल्ला अदालत धनुषाले पूर्वपक्षका लागि थुनामा पठाएको छ ।
धनुषा जिल्ला अदालतको ईजलास नं. २ का न्यायधिश कैलास केसीको ईजलासमा दुवै पक्षका कानून व्यवसायीहरुको थुनछेक बहस सकिएपछि पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय भएको हो । थुनछेक बहस मंगलवारदेखि प्रारम्भ भएर विहिवारसम्म चलेका थिए ।
प्रतिवादी संजय कुमार साहको तर्फबाट विहिवार बहस गर्नेहरुमा अधिवक्ता मन्सुर राईन, रमण श्रेष्ठ, शिव कुमार सिंह, सुबोध मण्डल र दिलिप मण्डल रहेका छन् । प्रतिविादीको बहस सकिएपछि वादी नेपाल सरकारका तर्फबाट अधिवक्ता चन्द्रप्रकाश मैनाली र हेमबहादुर कार्कीले जिरह गरेका थिए । जिल्ला न्यायधिश केसीले मुलुकी ऐनको ११८ को देहाय २ बमोजिम पूर्वपक्षको लागि जलेश्वर कारागार पठाउने आदेश जारी गरेको छ ।   
निक्कै कडा सुरक्षाका बीच भएको बहस पश्चात न्यायधिश केसीलाई फैसला दिनका लागि अढाई घण्टा समय लागेका थिए । सद्भावना पार्टीका कार्यकर्ता एवं सभासद साहका आफन्तहरुले अदालत प्रवेश गर्ने मुल प्रवेशद्वारमा नारावाजी गरेका थिए । सद्भावना पार्टीका कार्यकर्ता तथा आफन्तहरुले जानकी मन्दिरबाट अदालतको आदेशको विरुद्धमा मशाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीले लाठी चार्ज गरी कार्यकर्ताहरुलाई तितरवित्तर पारेका थिए ।
लाठी चार्जको क्रममा सद्भावना पार्टीका जिल्ला सहसचिव बिबता पूर्वे, कुर्थाका सावित्री मण्डल सहित तीनजना महिला गम्भीर रुपमा घाइते भएका छन् । घाइतेहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको पार्टी जिल्ला अध्यक्ष संजय कुमार सिंहले जनाएको छ । घाइते मध्ये एक महिला बेहोस् अवस्थामा रहेका छन् ।
यसै गरी प्रहरीले सभासद संजय कुमार साहका बहिनी सहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । यसैबीच जनकपुरको जनक चौकमा साहका आफन्त एवं कार्यकर्ता तथा प्रहरीका बीचमा झडप हुने क्रम जारी रहेको राति ८ बजे सम्म जारी रहेका थिए । उता कार्यकर्ताहरुले आदेशको विरोधमा टायर बाली विरोध गरेका थिए ।
अदालतको फैसला के आउँछ त्यो सुन्नका लागि सर्वसाधारण देखि उनका शुभचिन्तक एवं आफन्तहरु व्यापक संख्यामा अदालत वरिपरि भेला भएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले बल प्रयोग गरेर सभासद साहका समर्थकहरुलाई मूल गेटबाट जवरजस्ती बल प्रयोग गरी सडक खाली गराई सभासद साहलाई प्रहरीले जलेश्वर कारागार लगेका थिए ।
यसै बीच प्रहरीले पूर्व अनुमान गरे अनुसार अदालतले फैसला गर्नु भन्दा अगाडी नै जलेश्वर कारागारमा रहेका मुकेश चौधरी सहितका केही व्यक्तिलाई अन्यत्र ठाउँ सारिएको छ । सभासद साह जलेश्वर गए पछि मुकेश चौधरीलाई खतरा हुने आशंकालाई दृष्टिगत गरेर अन्यत्र लगिएको विश्वस्त श्रोतले जनाएको छ ।
यसै बीच सद्भावना पार्टीले अदालत फैसला पश्चात उठाउनु पर्ने कदम बारेमा छलफल गरिरहेको पार्टीका जिल्ला वरिष्ठ उपाध्यक्ष जगदिश महासेठले जनाएको छ ।  

२०६९ साल बैशाख १८ गते मिथिला राज्यको माग सहित शान्तिपूर्ण धर्नामा बसेकाहरुलाई लक्षित गरी गराईएको बम विस्फोटमा परी जनकपुर ८ का विमलशरण, सुरेश उपाध्याय, झगरु दास, दिपेन्द्र दास र प्रसिद्ध कालाकार रञ्जु झाको मृत्यु भएको थियो भने ३२ जना घाईते भएका थिए ।
यस अघि उक्त घटनाको अभियोगमा प्रहरीले जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजनमुक्ति भनिने रञ्जित कुमार झा, अर्जुन सिंह भनिने मुकेश चौधरी, रिपेन्द्र चौधरी, सुरेश कर्ण, मुकेश झा, शिवम शर्मालाई पक्राउ गरी मुद्दा चलाएर पूर्वपक्षका लागि अदालतद्वारा थुनामा पठाईसकेका छन् । सभासद संजय कुमार साहलाई शनिवार राति पर्सा जिल्लाको छपकैयाबाट पक्राउ गरी सोही मुद्दामा मुद्दा चलाएको थियो ।

Sunday, May 4, 2014

जनकपुर बम काण्डका मुख्य योजनाकार सभासद साह पक्राउ

कैलास दास

जनकपुर,बैशाख २१ । जनकपुर रामानन्द चौक बम काण्डका मुख्य योजनाकार तथा धनुषा क्षेत्र नम्बर ४ का सभासद् संजय कुमार साहलाई प्रहरीले पक्राउ गरी आईतवार सार्वजनिक गरेको छ । नेपाल भारत सीमाबाट शनिवार राति ११ बजे पक्राउ गरिएको केन्द्रिय अनुसन्धान व्युरोका ईन्चार्ज उत्तम कुमार कार्कीले पत्रकार सम्मेलन गरी बताइएको छ ।


जिल्ला प्रहरी कार्यालय धनुषाले आईतवार गरेको पत्रकार सम्मेलनमा सभासद साहलाई सार्वजनिक गर्दै नारायणी अञ्चलको विरगंज छपकैयाबाट पक्राउ गरेको बताएका छन् । घटना गराउन सभासद् साहसँग रकम लिने मध्यस्तकर्ताको रुपमा ओमप्रकाश यादवले साहसँग रकम लिएर चौधरीलाई दिएको घटना विवरणबाट खुलेको प्रहरीले जनाएको छ ।
जनकपुरको रामानन्द चौकमा मिथिला राज्यको मांग गर्दै मिथिला राज्य संघर्ष समितिले गरिरहेको शान्तिपूर्ण धर्नामा २०६९ बैशाख १८ गते भएको शक्तिशाली बम विस्फोटको मुख्य योजनाकार सभासद् साह रहेको पत्रकार सम्मेलनमा ब्यूरो इन्चार्ज कार्कीले जानकारी गराएका छन् । सभासद साहले बम विस्फोटको क्रममा मुकेश कुमार चौधरी उर्फ अर्जुन सिंह (उपनाम) संग गरेको वार्तालाप, कल डिटेल, ओम यादवसंगको पैसा लेनदेन तथा अन्य आधारले स्पस्ट भईसकेको समेत एसएसपी कार्कीले बताए । उनले भने–अभियुक्त साहमाथि धनुषा अदालतमा कर्तव्य ज्यान मुद्दा चलिरहेको तथा थप अनुसन्धान जारी रहेको छ ।  
दुइ वर्ष अघि जनकपुरको रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका नागरिकलाई लक्षित गरी बम विस्फोट गराउदा ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाईते भएका थिए । घटनामा महन्थ विमलशरण यादव, समाजसेवी सुरेश उपाध्याय, दिपेन्द्र दास, झगरु दास र महिला कालाकार रञ्जु झाको मृत्यु भएका थियो ।
उक्त बम विस्फोटको घटनामा सभासद साह लगायत अखिल जनतान्त्रिक तराई मुतिm मोर्चा (राजन मुक्ति) समुहका राजन मुतिm भनिने रंजित झा, विस्फोटका मुख्य योजनाकार तथा तराई मधेश विद्यार्थी लिब्ब्ररेशन फ्रन्न्टका अर्जुन सिंह भनिने भनिने मुकेश चौधरी, शिवम शर्मा उर्फ जय प्रकाश चौधरी, बम ओेसारपोसार तथा बम बनाउने काममा संलग्न मुकेश कुमार कर्ण, बिस्फोट पदार्थ व्यवस्थापन गर्ने रिपेन्द्र झा उर्फ छोटु र विस्फोट पदार्थ उपलब्ध गराउने प्रकाश भनिने सुरेश कुमार कर्णको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले पत्रकार सम्मेलनमा बताएका छन् । घटनामा संलग्न व्यक्तिहरुलाई धनुषा प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ । घटना भएको समयम नै अपरेशन “रामा” नाम दिई केन्द्रिय अनुसन्धान व्युरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय धनुषाले विस्फोटनको अनुसन्धान गरी प्रतिवेदन समेत बुझाएको थियो ।
पक्राउ परेका व्यक्तिहरुले धनुषाको एमाले पार्टी कार्यालयमा बम बिस्फोट गराएको, महोत्तरी जिल्लाको जलेश्वर जिल्ला ट्राफिक कार्यालयमा बम विस्फोट गराएको तथा जनकपुर ४ स्थित एमाले पार्टी कार्यालयमा विस्फोट लगायतका अन्य घटनामा संलग्न रहेको प्रहरीले दावी गरेको छ ।

सभासद साह पदवाट निलम्बित
जनकपुर रामानन्द चौक बम काण्डका मूख्य योजनाकार तथा धनुषा क्षेत्र नं.४ का सभासद संजय कुमार साहलाई संविधानसभा सदस्यवाट निलम्बन गरिएको छ । केन्द्रिय अनुसन्धान ब्युरो काठमाण्डौंको विशेष टोलीले शनिवार वीरगञ्जको छपकैयाबाट पक्राउ गरी कर्तव्य ज्यान र संगठित अपराधमा संलग्न रहेको अभियोगमा अदालतमा मुद्दा दायर गरे लगत्तै आईतवार संविधानसभा सचिवालयले सभासद साहलाई निलम्बन गरेको हो ।
साहलाई संविधानसभा र व्यवस्थापिका संसद तथा त्यस अन्तर्गत गठन कुनै पनि समितिका बैठकमा भाग लिन नपाउने गरी निलम्बन गरिएको संविधानसभा सचिवालयले जनाएको छ । संविधानसभाको दोश्रो निर्वाचनमा धनुषा क्षेत्र नं. ४ वाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

म निर्दोष छु, अदालतबाट छिट्टै न्याय पाउँछु ः साह
धनुषा निर्वाचन क्षेत्र नं. ४ का निर्वाचित सभासद एवं पूर्व राज्यमन्त्रीले संजय कुमार साहले पत्रकार सम्मेलनमा भने ‘आफू निर्दोष छु अदालतबाट छिट्टै न्याय पाउँछु । जिल्ला प्रहरी कार्यालय धनुषाले आईतवार गरेको पत्रकार सम्मेलनमा उपस्थिति गराउँदा सो कुरा बताएका छन् ।
यता केन्द्रिय अनुसन्धान व्युरोका ईन्चार्ज उत्तम कुमार कार्कीले बम काण्डका मुख्य योजना संजय कुमार साह रहेकोले सप्रमाणको आधारमा उनलाई पक्राउ गरेको दावी गरेका छन् । साहलाई अदालतबाट वारेन्ट जारी भएपछि सभासद साह फरार रहेको थियो । प्रहरीले खोजी कार्यलाई जारी राखेको थियो ।

सद्भावनाद्वारा  प्रदर्शन
बम काण्डका अभियुक्त संजय कुमार साहलाई प्रहरीले पक्राउ परेपछि सद्भावना पार्टीले आईतवार बेलुका नारा जुलुस प्रदर्शन गरेका छन् । पार्टीका जिल्ला उपाध्यक्ष जगदीश महासेठको अगुवाई सो जुलुस प्रदर्शन गरिएको थियो ।
अभियुक्त साहलाई जिल्ला प्रहरी कार्यालयबाट धनुषा जिल्ला अदालतमा ल्याउँदा पार्टीले संजय कुमार साह निर्दोष छ, न्यायिक छानबिन हुनुप¥यो, मधेशी एकता जिन्दावादको नारा लगाएका थिए । धनुषा जिल्ला अदालतको अगाडिबाट नारा जुलुस लगाउँदै पार्टी कार्यालय कदम चौक पुगेका थिए ।