Monday, June 22, 2020

मञ्चद्वारा दलित पत्रकारलाई स्वस्थ्य सामग्री

जनकपुरधाम, ८ असार । असहाय संरक्षण मञ्चद्वारा सोमवार दलित पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
मञ्चका अध्यक्ष वैद्यनाथ साहले राष्ट्रिय दलित पत्रकार संघ धनुषाका पत्रकारहरुलाई सो सामाग्री वितरण गरेका हुन । स्वास्थ्य सामाग्रीमा केएन९५ मास्क, सेनिटाइजर, सर्फ र बल रहेको छ ।
कोरोना भाइरस जस्ता महामारी रोगबाट बाँच्न र अरुलाई बचाउनका लागि तथा फिल्डमा रिपोटिंगका लागि तत्काल यो स्वास्थ्य सामाग्री काम लाग्ने उद्देश्यका साथ यो सामाग्री वितरण गरेको मञ्चका अध्यक्ष साहले बताएका छन् ।
प्रदेश २ मा कोरोना संक्रमणबाट दुई हजार बढी संक्रमित छन् भन्ने देशभरमा ९ हजार बढी जना संक्रमित रहेको छ ।
मञ्चका अध्यक्ष साहले लकडाउन अवधीभर गरीब, विपन्न तथा असहायहरुलाई राहत वितरणको कार्य गर्दै आएको छ ।

Monday, June 15, 2020

सबैला घटनाका सातजनामाथि किटानी जाहेरी दर्ता


जनकपुरधाम, १ असार । धनुषाको सबैला नगरपालिकाको इलाका प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै मृत भेटिएका शम्भु सदा मुसहरको न्यायिक छानबिनका लागि दलित अगुवाहरुले सोमवार आन्दोलन संघर्ष समिति गठन गरेको छ ।
गठित संघर्ष समितिले नारा जुलुस लगाउँदै जिल्ला प्रशासन कार्यालय धनुषामा सोमवार धर्ना समेत दिएका छन । शनिवार दलित अगुवाहरुले शम्भु सदाले आत्महत्या होइन, हत्या भएको भन्दै किटानी जाहेरीका लागि जिल्ला प्रहरी कार्यालयमा पुगेपनि जाहेरी दर्ता गरेको थिएन । तर सोमवार गठित समितिले पीडित परिवारलाई लिएर सरकारी वकिलको कार्यालयमा सातजनामाथि किटानी जाहेरी दर्ता गराएको समितिका संयोजक चन्देश्वर दासले जनाएका छन् ।
पीडित परिवारकोतर्फबाट ईलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक ४० वर्षीय चन्द्रभुषण यादव, सवैला नपा–१२ बस्ने ४२ वर्षीय ट्याक्टर मालिक संजय साह, वडा नं. २ का ३८ वर्षीय वडाध्यक्ष पारस साह, वडा नं. ३ को वडा अध्यक्ष सन्तोष साह, वडा नं. ४ के वडा अध्यक्ष राजकुमार यादव,कारी यादव, काली साह सहित ७ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका हो ।
यता पूर्व साँसद एवं मन्त्री विशेश्वर पासमानको विशेष उपस्थितिमा २७ सदस्यीय आन्दोलन संघर्ष समिति गठन गरिएको हो । समितिको संयोजकमा चन्देश्वर दास रहेका छन भने सदस्यहरुमा रामस्वरुप सदा, पचुलाल माझी, रघुवीर दास, राजाराम मण्डल, बौएलाल माझी, दिपनारायण दास, मोहन सदा, रामेश्वर महरा, प्रमिला सदा, वैद्यनाथ पामासन, रंजित दास,अवधकिशोर महरा, प्रकाश महरा, प्रमिला देवी सदा, सुनिता देवी राउत सहितका रहेका छन् ।
शम्भु सदाको जेठ २७ गते राति थुनुवाकक्षकै शौचालयमा झुण्डएको अवस्थामा शव फेला परेको थियो । सोही दिनदेखि दलित अगुवाहरुले न्यायिक छानबिनको माँग गर्दै आन्दोलनरत छन् ।

Friday, June 12, 2020

सादा हत्याराको माँग गर्दै विशाल विरोध आमसभा , न्याय नपाए क्रमबद्ध आन्दोलन गर्र्ने चेतावनी


जनकपुरधाम, ३० जेठ । शम्भु सादाको हत्यारामाथि कारवाहीको माँग गर्दै धनुषाको सबैला नगरपालिमा दलित समुदायहरुले विशाल विरोध आमसभा गरेका छन् ।
आमसभालाई प्रहरीले बल प्रयोग गरी तितरवितर गर्न खोजेका थिए । तर त्यसका वावजूद पनि हजारौंकोे संख्यामा स्थानीयहरुले सबैला बजारमा विरोध प्रदर्शन गर्दै विरोधसभा गरेका छन् ।
विरोधमा सहभागी वक्ताहरुले मृतक शम्भु सदाको हत्यारामाथि कारवाही नभएमा देशभरका दलित समुदयहरु आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
धनुषाको सबैलामा मुसहर संघद्वारा आयोजित ‘विरोध सभा’मा सहभागी वक्ताहरुले त्यस्तो चेतावनी दिएका हुन् । सहभागीहरुले शम्भु सादालाई षड्यन्त्र पूर्वक हत्या गरिएको हो । हिरासतमा राखेर हत्या गर्नेमाथि फासी हुनुपनेमाँग गरेका छन् ।
‘अन्याय अत्याचार विरुद्ध प्रतिकार, शम्भु सादाको हत्यारालाई फासि’ नाराका साथ शुरु भएको ‘विरोध सभा’लाई सम्बोधन गर्दै सहभागीहरुले भने, ‘रक्षकले नै भक्षक भएपछि जनताको विश्वास गुमेछ । दलित युवालाई षड्यन्त्र पूर्वक हत्या गर्नेमाथि कारवाही नभएमा विभिन्न चरणको आन्दोलन गर्ने छौं ।’
प्रहरीद्वारा हत्या आशंकामा घटनाको निष्पक्ष छानविन गरी दोषीमाथी कारबाही,पिडित परिवारलाई उचित क्षतिपुर्ति र आन्दोलनको क्रममा घाईते भएकाहरुको उपचारको माग गर्दै सबैला नगरमा विशाल विरोध प्रदर्शन गरिएको बहुजन एकता समाज नेपालका केन्द्रीय संयोजक चन्देश्वर दासले बताएका छन । संयोजक दासका अनुसार दलितहरुको शृंखलाबद्ध सुनियोजित हत्याको विरुद्ध ३२ डिग्रि गर्मिमा पनि मधेशी दलित समुदायले धनुषा प्रहरी,नेपाल सरकारका गृहमन्त्री र स्थानीय दलाल नेतालाई चुनौती दिदैं प्रदर्शन गरिएको हो ।
टेक्टर दुर्घटनाका कारण उत्पन्न विवादले जेठ १२ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका शम्भु सदा मुसहर २७ गते राती २ बजे झुण्डिएको अबस्थामा फेला परेका थिए । प्रहरी निरिक्षक चन्द्रभुषण यादब र टेक्टर मालिक संजय साह तेलीको मिलेमतोमा हत्या गरिएको पिडित परिवारको आरोप छ ।
मृतककी आमालाई ईलाका प्रहरी कार्यालयमा गुपचुप लगेर जबरजस्ती इन्जेक्शन लगाई औठाछाप लगाउनु आदिले यो आत्महत्या नभई षड्न्त्रपूर्ण तरिकाले हत्या गरिएको आन्दोलनकारीहरुको भनाई छ ।
नेपाल राष्ट्रिय मुसहर संघले पनि बिहिबार दोषीमाथि कारवाहीको माग गर्दै धनुषामा प्रदर्शन गरेको थियो । प्रहरी दमन मुर्दावाद, दलितमाथिको हत्याहिंसा बन्द गर, सुरक्षा दिने प्रहरी चौकीनै असुरक्षित,हिरासतमै मृत्यु, हत्यारालाई कारवाही गर लगायतको नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
सयौंको संख्यामा रहेका युवाहरुले मोटरसाइकल यालीसहितको प्रदर्शन गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत,मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा,जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालय, राष्टिय मानव अधिकार आयोगको कार्यालयमा दोषीमाथी कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।
विरोध सभामा सबैला नगरपालिका मेयर विजयशंकर साह, वडा अधयक्ष प्रदीप महतो, दलित अगुवा नेता रामस्वरुप सादा, पञ्चु माझी, तेजनारायण सदा, दीपनारायण दास सहितका व्यक्तिहरुले आफ्ना धारणा राखेका छन् ।



Wednesday, June 10, 2020

सबैला घटनाको दोषीमाथि कारवाहीको माँग गर्दै मानव अधिकारदेखि मुख्यमन्त्रीलाई ज्ञापनपत्र


जनकपुरधाम, २९ जेठ । धनुषाको सबैला नगरपालिकाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतमा शम्भु सादाको मृत्यु भएको घटनालाई लिएर नेपाल राष्ट्रिय मुसहर संघले प्लेकार्ड बोकेर दोषीमाथि कारवाहीको माँग गर्दै नगरमा प्रदर्शन गरेको छ ।
युवाहरुले प्रहरी दमन मुर्दावाद, दलितमाथि हत्या हिंसा बन्द गर, सुरक्षा दिने प्रहरी चौकी नै असुरक्षित, हिरासतमै मृत्यु, हत्यारालाई कारवाही गर लगायतको नारा प्लेकार्डमा लेखेर प्रदर्शन गरेका हुन ।
दर्जनौंको संख्यामा रहेका युवाहरुले मोटरसाइकलबाट नगरमा प्रदर्शन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको निवासमा पुगेर दोषीमाथि हदैसम्मको कारवाहीको माँग गर्दै ज्ञापनपत्र बुझाएका ह्न । त्यस्तै उनीहरुले मुख्यन्यायधिशवक्ता दीपेन्द्र झा, जिल्ला प्रशासन कार्यालय, मानव अधिकार आयोगको कार्यालय लगायतमा समेत ज्ञापनपत्र बुझाएको छ ।

मृतक शम्भु सादाको आमालाई प्रहरी चौकीमा गुपचुप ल्याउनु, जबरजस्ती इन्जेक्शन लगाई औठाछाप लिनु आदिले यो आत्महत्या कुनै पनि हालतमा नरहेको र षड्न्त्रपूर्ण तरिकाले हत्या गरिएको ज्ञापनपत्रमा उल्लेख रहेको छ ।
‘प्रहरी हिरासतमा हत्या हुनु दुःखद कुरा हो’ मुख्यन्यायधिवक्ता दीपेन्द्र झाले ज्ञापन पत्र  बुझ्दै भने, ‘प्रहरी हिरासतमा गएपछि सुरक्षाको जिम्मा प्रहरीलाई हुन्छ । तर प्रहरी हिरासतमै मृत्यु हुनु दुःखद र रहस्यमय छ । छानबिनका लागि हामीले प्रदेश प्रहरी प्रमुखलाई पत्र काटि सकेका छौं ।’ क्षतिपूर्तिका लागि प्रदेश सरकारमा पनि सिफारिस गरेका हौं उनले थपे ‘घटनाको छानबिन सत्यतथ्य किसिम हुन्छ मलाई विश्वास छ । प्रहरीकै मुद्दा हो त्यसैले प्रदेश सरकार पनि चनाखो भएर बसेका छन् ।’
यता मुसहर संघले दोषीमाथिको छानबिनको माँग गर्दै क्षतिपूर्तिको पनि माँग गरेको छ । प्रहरी निरीक्षक चन्द्रभूषण यादवलाई यथाशीघ्र निलम्बन गरी निष्पक्ष छानबिन हुनुपर्छ ।  प्रहरी दमनमा घाइते भएकाहरुको निःशुल्क उपचार सहित मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्छ  लगायतको रहेको छ ।
मृतक चालक सादा रोशनी कन्स्ट्रक्सनका सञ्चालक संजय साहको टयाक्टर चालक थियो । जेठ १२ गते हवाहुरी चलेको बेलामा ट्याक्टरको ठक्करबाट सोही नगरपालिकाकी ४० वर्षिय सुमित्रा साहको मृत्यु भएको थियो । त्यसैको छानबिनको क्रममा चालक सादालाई प्रहरीेले हिरासतमा लिएका थिए ।


Sunday, June 7, 2020

क्वारेन्टाइनमा योग शिविर

जनकपुरधाम, २५ जेठ । धनुषाको हँसपुर नगरपालिकाले क्वाइरेन्टाइनमा बसेकाहरुलाई योग शिविरको स्थापना गरेको छ ।
योगबाट युनिटीपवार बढ्न् र युनिटीपावर बढेमा कोरोना जस्ता महामारी रोगबाट लड्न सक्ने उद्देश्यका साथ क्वारेन्टाइनमा बसेकाहरुलाई योग गराउने गरेको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले बताएका छन् ।
हँसपुरमा ३ वटा क्वारेन्टाइनमा ५४ जना रहेका छन् । उनीहरुलाई विहान गिलोईको काढा, तातोपानी र केही औषधी दिने गरेको बताइएको छ ।
मेयर मण्डलले भने, ‘क्वारेन्टाइनमा बस्नेहरुलाई च्वानप्रास, केही औषधी तथा आयुर्वेदिक औषधीहरु दिने गरेका छौ । यसले कोरोनासँग प्रतिरोधक क्षमता बढ्ने गर्दछ ।’
विहान र बेलुका पौष्टिक खानाका साथै योग गराइन्छ मेयर मण्डलले भने, ‘ कोरोनाबाट जित्नका लागि आत्मबल उच्च राख्नका लागि पनि योग आवश्यक हो ।’

नोचा पोखरीको दोस्रो चरणको निर्माण कार्य शुरु

जनकपुरधाम, २५ जेठ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १५ र २० को बीचमा पर्ने ऐतिहासिक नोचा पोखरीको दोस्रो चरणको निर्माण कार्य आईतवारबाट शुरु भएको छ ।
नेपाली काँग्रेसका जनकपुरधाम उपमहानगरपालिकाका नगरसभापति मनोज साहको पहलमा २०७२ सालदेखि शुरु भएको निर्माण कार्य पहिलो चरणमा ४० प्रतिशत कार्य भएको छ भने दोस्रो चरणको कार्यका लागि आइृतवार सम्बन्धित निकायले अनुगमन गरी शुरु गरेको जनाइएको छ ।
भवन तथा शहरी कार्यालयका योजना प्रमुख गंगा प्रसाद यादवले नोचा पोखरी पुगेर अनुगमन गर्दै भने, ‘पहिलो चरणमा घाट निर्माण, डिलवरिपरि सडक निर्माण लगायतको कार्य भएको छ । त्यसमा पनि केही कार्य बाँकी रहेकोले त्यो कार्यको शुरुवात आजैबाट भएको हो । यस आर्थिक वर्षमा घेरा तथा मार्निङ्ग वार्क टूेक निर्माण गरिनेछ ।’
धनुषाकै सबभन्दा ठूलो र नमूना पार्क तथा पिकनिक स्पोर्ट स्थलको रुपमा नोचा पोखरीको निर्माण कार्य भई रहेको नेपाली काँग्रेस धनुषाका नगर सभापति मनोज साहले बताएका छन् । उनले १० विघा ११ कटठ र १७ धूर जग्गामा यो पोखरी रहेको छ ।  पोखरीको चारैतिर बिजुली बत्ती, खानेपानी, शौचालय तथा पिकनिक स्थल निर्माण गर्ने लक्ष्य रहेको बताएका छन् । उनले भने, ‘पिकनिक स्थलको रुपमा विकास गर्नका लागि ४० प्रतिशत निर्माण कार्य भई सकेको छ । यसवर्ष पनि ५० लाखको निर्माण कार्य शुरु भएको हो ।’
नगर सभापति साहले १२ औं महिना पिकनिक गर्न सकिने लक्ष्यका साथ कार्य भएको बताउँदै सम्पन्न गर्नमा ५ करोडभन्दा बढी लागत लाग्ने बताएका छन् । त्यसका लागि खानेपानी कार्यालय, विजुली कार्यालय, स्थानीय सरकार, सडक भिडिजन कार्यालय लगायतको निकायसँग पहिलो चरणको कुराकानी अगाडि बढि सकेको उनले जिकिर गरेका छन् ।
गाउँभन्दा करीब ५ सय मिटर टाढा रहेका यो पोखरीको आफ्नै इतिहास रहेको छ नगरसभापति साहले भने, ‘भ्यू टावर निर्माण गर्ने लक्ष्य पनि छ । निर्माणका सबै कार्य सम्पन्न भएमा प्रदेशकै नमूना पार्क तथा पिकनिक स्पोर्ट बन्ने छ ।’
निर्माण कार्यको अनुगमानमा आयोजना इन्जिनियर लक्ष्मण यादव, जोगेन्द्र साह, कलाधर झा, महन्था महतो, जगदेश दास, रामकुमार साह,  सुनिता कुमारी मण्डल, सुनैना साह, तेजनारायण दास, रामभरोस दास सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

‘दलितको उत्थान, विकास तथा समृद्धिका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीलाई माँगपत्र’

जनकपुरधाम, २५ जेठ । दलित समुदायको उत्थान, विकास तथा समृद्धिका लागि राष्ट्रिय दलित पत्रकार संघको नेतृत्वमा आधा दर्जन दलित अगुवाहरुले प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई माँगपत्र प्रस्तुत गरेको छ ।
इतिहासको लामो कालखण्डदेखि नेपालका दलित समुदायमाथि विभिन्न ढङ्गको जातीय विभेद तथा उत्पीडन हुँदै आएको सर्वविदितै छ । सोही कारणले नेपालका समग्र दलित समुदाय आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिकरूपमा पछाडि पारिएकोले उनीहरुको उत्थान र विकासमा पहुँचका लागि विभिन्न बुँदे माँग राखी माँग पत्र प्रस्तुत गरेका हुन ।
संघका प्रदेश अध्यक्ष कैलास दास, जिल्ला अध्यक्ष कुलदीप दास प्रेम, मुसहर समुदायका अगुवा नेता चन्देश्वर सादा, मेस्तर महिला संघर्ष समितिका सुनिता मेस्तनीृ, दलित महिला संघका शर्मिला महिरा, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, धनुषाका रघुनाथ दास, महिला अधिकार मञ्च, धनुषाकी मुन्नी देवी दास सहितका व्यक्तिहरुले मन्त्री यादवलाई माँगपत्र बुझाएका हुन ।
बुझाइएको माँग पत्रमा प्रदेश २ले पास गरेको दलित सशक्तीकरण ऐन पूर्णरूपमा कार्यान्वयन गर्न मुख्यमन्त्रीको अध्यक्षतामा गठन हुने जातीय विभेद तथा छुवाछूत अनुगमन समिति र दलित विकास समिति तत्काल गठन गरियोस् ।  कोरोनाबाट सिर्जित भोखमरी,गरिवी र बेरोजगारीका लागि प्रदेश सरकारले अल्पकालिन,मध्यकालिन र दिर्घकालिन नीति तथा कार्यक्रम ल्याइयोस् । छुवाछुत विभेदबारे गैर दलितहरुलाई पालिका तहमा अभियान संचालन गरियोस् । वैदेशिक रोजगारमा जानेमध्ये एक चौथाइ प्रदेश २का छन् । सबभन्दा धेरै ब्याजदरमा ऋण लिएर विदेश जाने दलित समुदाय कोभिड–१९ महामारीका कारण घर फर्किएपछि थप गरिबीमा पर्ने निश्चित छ । तसर्थ ऋण लिएर वैदेशिक रोजगारीमा गएकाको ऋण मिनाहा (सरकारले तिरिदिने) गर्नुका साथै उनीहरूलाई सिपअनुसारको एक घर एक रोजगारी व्यवस्था गरियोस्  रहेको छ ।
त्यस्तै किसानको वर्गीकरण गर्नुका साथै भूमिहीन तथा साना किसानका लागि विशेष राहत प्याकेज बजेटमा ल्याइयोस् ।मौखिकरूपमा जग्गा ठेक्का वा करारमा खेती गर्नेलाई पालिकाको रोहबरमा लिखितम् हुने व्यवस्था मिलाइयोस् ।साथै त्यस्ता किसानका लागि ठेक्का वा करारबापतको रकम प्रदेश सरकारले तिर्ने व्यवस्था गर्नुका साथै बीउबिजन र मलखादमा अनुदानको व्यवस्था गरियोस् । दलित समुदायलाई सामूहिक खेती तथा कृषि कार्यमा संलग्न गराउने र त्यसका लागि सरकारले सार्वजनिक वा व्यक्तिको जग्गा भाडामा लिएर उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याइयोस् । प्रदेश २ मा करिब २८ प्रतिशत व्यक्ति गरिबीको रेखामुनि छन् । जसको प्रत्यक्ष मार दलित समुदायलाई परिरहेको छ । मधेसी दलित महिलाको पाठेघर खस्ने समस्याका साथै गर्भवती भएको समयमा पोषणयुक्त खाना खान नपाएका कारण कुपोषित बच्चा जन्मने सम्भावना बढी छ । त्यसैले पाठेघरको उपचार निःशुल्क गर्नुका साथै गर्भवती महिलालाई पोषणयुक्त खानाका लागि विशेष भत्ता उपलब्ध गराइयोस् । दलित समुदायले गर्न सक्ने साना तथा घरेलु उद्योग (सर्फ,दालमोठ,चप्पल जुत्ता,कापी,अचार, मसला आदि) सञ्चालनका लागि सिप सिकाइ र आर्थिक सहयोग मिलाइयोस् । प्रदेश २का पालिकामा लामो समयदेखि श्रेणीविहीन र दैनिक ज्यालादारीमा कार्यरत सफाइ कर्मचारीलाई स्थायी बनाउनेव्यवस्था गरियोस् थपिएको हो ।
त्यसैगरी प्रदेश २ का पुराना पालिकाले अझैसम्म फोहोर व्यवस्थापन ठेक्कामार्फत गरिरहेका छन् ।यसो हुँदा ठेकेदारले न्यून ज्यालामा काम लगाएर दलित समुदायभित्रकै मेहत्तर र डोम जातिलगायतलाई शोषण गरिरहेका छन् । त्यसैले ठेक्का प्रथा बन्द गरी उनीहरूलाई कर्मचारीमा रूपान्तरण गरियोस् । दलित शिक्षित युवालाई व्यापारका लागि अनुदानसहित बिनाधितो ऋण दिने प्रबन्ध मिलाइयोस् । असङ्गठित क्षेत्रका मजदूरलाई रोजगारीको सुनिश्चितता गरियोस् ।कृषिजन्य उत्पादनमा निर्भर मजदूरलाई सरकारी फलफूल तथा बगैँचा विस्तार एवं संरक्षण गर्ने काम दिइयोस् । लकडाउनका कारण महिनौँदेखि विद्यालय बन्द छन् । हुनेखानेले प्रविधि उपयोग गरेर बालबालिकाको पढाइलाई निरन्तरता दिएका छन् । तर खानकै लागि सङ्र्घषरतदलित समुदायका बालबालिकाको पढाइ भने लथालिङ्ग छ ।त्यसैले दलित बस्तीमा ट्युसन कक्षाको व्यवस्थाका बजेट बिनयोजन गरियोस् ।  गत आर्थिक बर्षमा दलित र ुमश्लिम विद्यार्थीका मासिक ५ सय रुपैया छात्रवृत्ति रकमलाई अगामी आर्थिक बर्ष बढाएर १ हजार बनाउनुका साथै त्यसलाइृ प्रभावकारी कार्यान्वयन गर्न बजेट बिनयोज गरियोस् । दलित सशक्तीकरण ऐनअनुसार प्रत्येक सरकारी एवं गैरसरकारी कार्यालय र सङ्घ÷संस्थामा अनिवार्य दलित कर्मचारीको व्यवस्थापन होस् । श्रमिकको सुरक्षा सुनिश्चित गर्नुका साथै कार्यस्थलमा वा काम गर्न जाने÷आउने क्रममा दुर्घटना भई मृत्यु वा घाइते भएमा अनिवार्य राहत÷क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ ।साथै मजदूर पेन्सनको व्यवस्था र जीवन बिमा निःशुल्क गरिनुपर्छ । अनौपचारिक श्रम क्षेत्र (कृषि मजदुर, निर्माण क्षेत्रमा कार्यरत मजदुर, दैनिक ज्यालादारी, व्यक्ती तथा जमिनदारको घर÷खेतमा कार्यरत हरवा। चरवा) मा कार्यरत मजदुरहरुलाई श्रम ऐनले तोकेको मापदण्ड अनुसार ज्याला व्यवस्थापन गर्ने सवालमा अनुसन्धानत्मक कार्य गर्नको लागि बजेट विनियोजन गरियोस् ।  जिल्ला सदरमुकाममा दलित समुदायका लागि निर्माणाधीन छात्रावासलाई निरन्तरता दिनुपर्छ ।साथै प्रत्येक जिल्लामा दलित समुदायको महापुरुष÷अगुवा÷अभियन्ताहरूका नाममा बृहत् दलितमैत्री भवन र पालिका तहमा बहुउद्देश्यीय भवनहरू निर्माण गरिनुपर्छ । जनता आवास कार्यक्रम अन्तर्गत निर्माराधिन आवास अपर्याप्त बजेटको कारण अपूर्ण भएको कारण पूर्णताको लागि प्रर्याप्त बजेटको व्यवस्था गरियोस् । प्रदेश स्तरिय दलित संगा्रलय स्थापना गर्नको लागि बजेट विनियोजन गरियोस् । निजामति सेवा, सेना, प्रहरी, वित्तिय क्षेत्र, शिक्षा आयोग लगायत सार्वजनिक सेवाका क्षेत्रमा प्रवेशका लागि तयारी कक्षा संचालानार्थ बजेटको व्यवस्था गरियोस् । स्वास्थ्य क्षेत्रका प्राविधिकहरु अहेव, अनमी, स्टाफ नर्स प्राविधिकहरुलाई अध्ययन, तालिमका लागि पर्याप्त छात्रवृत्तिको व्यवस्था गरियोस् ।  प्रदेश सरकारका सम्बन्धीत मन्त्रालय, निकायहरु र स्थनीयतहका महानगर, उपमहानगर, नगरपालिका र गाँउपालिका जनप्रतिनिधीहरुको क्षमता विकास तथा आवश्यक तालिमका लागि वजेटको व्यवस्था गरियोस् । अन्तरजातीय विवाह प्रोत्साहन रकमलाई प्रदेश सरकारले शुरुवातगर्नु बजेट बिनयोन गरियोस् । दलित समुदायले नेतृत्व गरेका स्थानिय तहका निकायहरुमा प्रदेश सरकारको तर्र्फबाट विशेष वजेट विनियोजन गरियोस् रहेको छ ।

Saturday, June 6, 2020

समाजसेवी साहद्वारा ३२ हजार घरभाडा छुट

जनकपुरधाम, २४ जेठ । लकडाउनमा गरीब, विपन्न तथा असहायहरुलाई राहत वितरण गरी निक्कै चर्चा कमाएका समाजसेवी धर्मेन्द्र साहले यस पटक घरभाडा वापतको रुकम पनि छुट गरेको छ ।
कोरोना भाइरसबाट लड्नका लागि नेपाल सरकारले लगाएको लकडाउनको कारण व्यापार निक्कै घाटामा गएकोले त्यसलाई मध्यनजर गरी लगाएको तीनवटा कोठाबाट आउने भाडा ३२ हजार छुट गरेको बताएको छ ।
लकडाउनको कारण सबै क्षेत्र प्रभावित भएपनि सबभन्दा बढी व्यापारीहरुलाई नोक्सान भएको छ । जनकपुरधामका व्यापारीहरु ३० हजारदेखि लाखसम्म प्रति महिना व्योहोर्दै आएको थियो । तर तीन महिनादखि लगातार बन्दाबन्दीको कारण व्यापार नोक्सानमा गएको हो ।
यता व्यापारीहरुको संगठन जनकपुर उद्योग वाणिज्य संघले अहिलेसम्म व्यापारीहरुको हितमा खासै निर्णय लिएको छैन । लगातार लकडाउनको कारण जनकपुर उद्योग वाणिज्य संघ लगायत संघ संगठनहरुले व्यापारीहरुको हितमा निर्णय नलिएमा अधिकांश व्यापारीहरु पलायन हुने अवस्थामा पुगेको छ ।
लकडाउनकै अवधिमा नेपाल सरकारले कर चुक्ता गर्ने निर्देशन दिएर व्यापारीहरुलाई निक्कै पीडा दिने कार्य गरिएको व्यापारीहरुले दुःखेसो पोख्दै आएका छन् । सामाज सेवी साहले आफ्नो घरभाडा छुट गरेर उदाहरणीय कार्य गरेको स्थानीयहरु बताउँछन् । सामाजसेवी साहबाट सबैले सिख्नुपर्ने छ । मानव जाति नै अदृश रोग कोरोना महामारीको पीडामा रहेको बेलामा उनले घरभाडा नलिईकन उदारहणीय कार्य गरेको व्यापारी धिरेन्द्र झाले बताएका छन् ।
सामाजसेवी साहले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित तेली कुटीमा सञ्चालित निःशुल्क भोजनमा समेत एकदिन पर्ने सबै खर्च व्यहोरेको जनाएका छन् ।यता जनकपुर उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, जनकपुरधाम उपमहा नगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायतका निकायहरुले घरधनीसँग समन्वय गरेर कम्तिमा लकडाउन अवधिको भाडा छुट गराउने विश्वास लिएको व्यापारीहरुको भनाई रहेको छ । लकडाउनको कारण भाडा लिएर बस्दै आएका विद्यार्थीहरु, ज्यालादारी गरी खानेहरु समेत प्रभावित बनेका छन् ।

Thursday, June 4, 2020

स्वच्छता अभियानी मण्डलद्वारा निःशुल्क भोजनमा पाँच क्वीन्टल चावल सहयोग


जनकपुरधाम, २३ जेठ । जनकपुरधाम उपमहानगरपालिका वडा नंं. १ मा गरीब, विपन्न तथा असहायका लागि सञ्चालन गरिएको निःशुल्क भोजनमा स्वच्छता अभियानी जय प्रकाश मण्डलले पाँच क्वीन्टल चावल सहयोग गरेका छन् ।
सोही वडाका वडा अध्यक्ष शत्रुधन साहको अगुवाईमा विगत ६७ दिनदेखि निःशुल्क भोजन सञ्चालित हुँदै आएको छ । दाताहरुकै सहयोगमा सञ्चालित सो निःशुल्क भोजनका लागि चावलको अभाव सृजना हुन थालेपछि स्वच्छता अभियान मण्डलले पाँच क्वीन्टल चावल सहयोग गरेको बताइएको छ ।
लगातार लकडाउन बढ्दै गएकोपछि दैनिक ज्यालादारी गरी खानेहरु, गरीब, दलित, असहाय निक्कै परेशानीमा परेका छन् । कोरोना जस्ता महामारीबाट लड्नमा यिनीहरुलाई समस्या नपरोस त्यसको मध्यनजर गरी वडा अध्यक्ष साहले निःशुल्क भोजनको आयोजना गर्दै आएको छ । तर  कोरोना संक्रमित बढ्दै गएपछि दाताहरुको अभावको बेलामा अभियानी मण्डलले गरेको सहयोग समयमा काम आउने वडा अध्यक्ष साहले बताएका छन् ।
गैर सरकारी संस्था आफन्त नेपालका निर्देशक समेत रहेका मण्डल यो भन्दा अघि धनुषाको विभिन्न ठाउँमा २५ सय बढी परिवारलाई राहत वितरण गरेको जनाइएको छ ।
अभियानी मण्डल मिथिलाको पहिचान स्थापित गराउनमा मिथिला आर्ट र मैथिली भाषाको विकासमा उनी विभिन्न प्रकारको पुस्तक समेत प्रकाश गर्नमा सहयोग पुर्याउँदै आएको छ ।
यता वडा अध्यक्ष साहले समाजसेवीहरुकै सहयोगमा अहिलेसम्म निःशुल्क भोजन गराउँदै छौं । अभियानी मण्डल ज्यूले गरेको सहयोगबाट अझै हौसला बुलन्द भएको जिकिर गरेका छन् ।
युवा नेता सुधिर साह र प्रदीप यादव लगायतको उपस्थितिमा सो चावल सहयोग गरेको हो ।

Tuesday, June 2, 2020

रुकुमको घटना सामाजिक नरसंहार हो, सबै मिलेर लड्नुपर्छ ः साँसदद्वय

जनकपुरधाम, २० जेठ । अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिममा नवराज विकसहितका ६ जना युवकको हत्या प्रकरणलाई गम्भीरता पूर्वक लिंदै प्रदेश नं.२ का साँसदद्वय परमेश्वर साह र रामआशिष यादवले यो जातिय विभेद होइन, सामाजिक नरसंंहार हो । न्यायका लागि हामी सबैले मिलेर लड्नु पर्ने बताएका छन् ।
राष्टिूय दलित पत्रकार संघ धनुषाको आयोजनामा मंगलवार जनकपुरधाममा आयोजित ‘दीप प्रज्वलन’ कार्यक्रममा साँसदद्वयले सो कुरा बताएका हुन । घटनाको यर्थात कुरा राज्यलाई थाहा हुँदाहुँदैन पनि सरकारले गम्भीरता नदेखाउनु हामी सबैको लागि दुर्भाग्य हो (साँसदद्वयले भने  ‘अपराधको विरुद्धमा दलित, मधेशी, अल्पसंख्यक मात्र होइन, सबै मिलेर लड्नु पर्छ । ’

दोषीमाथि कारवाही हुनुपर्छ । अहिलेसम्म दोषीलाई नसमात्नु दुःखद कुरा हो साँसद साहले भने ‘यो घटनाले अपराधलाई बढावा दिने भयो ।’
संघका अध्यक्ष कुलदीप दास प्रेमको नेतृत्वमा भएको दीप प्रज्वलन कार्यक्रममा अर्को साँसद राम अशिष यादवले जबसम्म अपराधलाई राज्यले बढावा दिन्छ तबसम्म सम्पन्न राष्टू बन्दैन । यो जातिय छुवाछुत होइन, छुवाछुत माथिको अपराध हो । दोषीलाई कानूनी कारवाहीमा नल्याएमा जनता चुप लागेर बस्दैन । यो घटनाले गणतन्त्र नगराउने जिकिर गरेका छन् ।त्यस्तै वरिष्ठ पत्रकार श्याम सुन्दर शशिले घटनाप्रति आक्रोशित हुँदै भने, ‘दलितले प्रेम गर्न पाउँछ कि पाउँदैन । दलितका बच्चाले प्रेम गरेमा हत्या गरिदिने कहाँको संविधानमा लेखेको हो ।’ उनले यो ठूलो अपराध हो । अपराधी जुनसुकैलाई पनि कारवाही हुनैपर्छ तब मात्र कानूनी राज्यको परिकल्पना गर्न सकिने बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा, नेपाली काँग्रेसका जनकपुरधाम उपमहा नगरपालिकाका नगरसभापति मनोज कुमार साह, महिला अधिकारकर्मी मुन्नी देवी दास, राष्टिूय दलित पत्रकार संघका प्रदेश अध्यक्ष कैलास दास सहितका व्यक्तिहरुले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दोषीमाथि कारवाहीको माँग गरेका छन् । दीप प्रज्वलन कार्यक्रममा सैयौंको संख्यामा अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।