Monday, September 10, 2018

नेपाल–भारत सीमामा कार्ड सिस्टमको व्यवस्था हुन लाग्दा जनकपुरधाममा अन्तरक्रिया मधेश र बिहारको सम्बन्ध विगार्ने षडयन्त्र ः मन्त्री यादव



जनकपुरधाम, २४ भदौ ।  नेपाल र भारतको सीमामा रेड कार्डको व्यवस्था वा सानासाना नाका बन्द गरी सीमित नाका मात्र खोल्न नेपाल(भारत सरकारलाई रिपोर्ट बुझाउन लाग्दा जनकपुरधाममा सो सम्बन्धी अन्तरक्रिया गरिएको छ ।
जनकपुरधाममा आईतवार नेपाल भारत खुल्ला सीमा सम्वाद समूहद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले मधेश र बिहारको सम्बन्धलाई विगार्ने यो एउटा षडयन्त्र रहेको बताएका छन् ।
मन्त्री यादवले नेपाल भारतबीचको खुल्ला सीमाना नियन्त्रण स्वीकार नहुने चेतावनी समेत दिएका छन् । उनले भने, ‘नेपाल भारतबीच बेटीरोटीको सम्बन्ध आजदेखि होइन, त्रेतायुगदेखि नै रहँदै आएकोले यो सम्बन्ध कसैले बिगार्न नसकिदैन ।’ उनले यसका लागि नेपाल र भारत सरकारसँग राजनीतिक किसिमले नै कुरा गर्ने बताएका छन् ।
सम्वादका अध्यक्ष राजीव झाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा अधिकांश सहभागीहरुले सीमामा रेडकार्डको प्रयोग गर्नु वा मुख्य नाका मात्र खोलिने दिएको रिपोर्टको विरोध गरेका छन् । उनीहरुले सुरक्षाको दृष्टिले केही हदसम्म राम्रो भएपनि सीमालाई दुरुपयोग गर्न नमिल्ने बताएका छन् ।
‘नेपालका केही अपराधीहरु नेपालमा अपराध गरेर भारतमा गएर लुक्ने गरेको छ । त्यस मानेमा सुरक्षा सुरक्षा राम्रो रहेको हो ’ पूर्व साँसद एवं कम्युनिष्ट नेता सितल झाले भने । उनले अहिले सीमाको बारेमा विचार राख्न आफै विचारविहीन अवस्थामा रहेको भन्दै पन्छयाएका थिए ।
नेपाल भारतका प्रबुद्ध समूहले नेपाल भारत सीमा सुरक्षा सम्बन्धी रिपोर्ट तयार पारेका छन् । नेपाल सरकारबाट भेष बहादुर थापा, सूर्यनाथ उपाध्याय, लिलामणि आचार्य, राजन भट्टराईले रिपोर्ट तयार पारेका छन् । त्यस्तै भारत सरकारबाट भरत सिंह कुसियारी, महेन्द्र सिलामा, विसी उप्रेती, जयन्त प्रसादले सो रिपोर्ट तयार पारेको सम्वादका अध्यक्ष राजीव झाले जानकारी गराएका छन् ।
दुबै देशका प्रबुद्ध समूले आ आफ्ना सरकारको प्रधानमन्त्रीलाई बुझाउन लाग्दा सो सम्बन्धी अन्तरक्रिया जनकपुरधाममा गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, राजनीति विज्ञ भोगेन्द्र झा, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह, प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिरा, जउवा संघका पूर्व अध्यक्ष निर्मल कुमार चौधरी, नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र लगायतले विचार राखेका छन ।

No comments:

Post a Comment