Sunday, July 27, 2014

एमाओवादी धनुषामा विवाद, डा. भटट्राई पक्षधरले कमिटी गठन गर्ने

कैलास दास

जनकपुर, साउन ११ । एकीकृत नेकपा माओवादी भित्र संस्थापन पक्ष र डा. बाबुराम भट्टराई पक्ष बीच देखिएको विवाद धनुषा जिल्लामा समेत उत्कर्षमा पुगेको छ । डा.भट्टराई पक्षधर धनुषाका नेता तथा कार्यकर्ताहरुले गत जेठ महिनाको १५ र १६ गते जनकपुरमा सम्पन्न जिल्ला अधिवेशन अवैधानिक रहेको भन्दै यही साउन १७ गते अर्को जिल्ला अधिवेशन गर्ने घोषणा गरेको छ ।
डा. भट्टराई पक्षधरहरुको शनिवार सम्पन्न भेलाले १७ गते अधिवेशन गर्ने निर्णय गर्दै सोको लागि शिला यादवको संयोजकत्वमा १ सय ५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति समेत गठन गरेको छ । भट्टराई पक्षधरले आईतवार विहान पत्रकार सम्मेलनको अयोजना गरिे भेलाको निर्णयहरु सार्वजनिक गरेका छन ।
पत्रकार सम्मेलनमा संयोजक यादवले पार्टी विग्रदै गएको अवस्थामा डा. भट्टराईले शुरु गरेका अभियानलाई समर्थन गर्दै तल देखी माथीसंग संघर्ष गर्ने योजना अनूरुप सम्मेलन हुन लागेको बताए । पार्टीका पुराना समितिका ७५ प्रतिशत भन्दा बढी नेता कार्यकर्ता आफुहरुको पक्षमा रहेको भन्दै संयोजक यादवले नयाँ बन्ने समिति नै आधिकारिकता पाउने दावी गरे । जेठमहिनामा सम्पन्न पार्टीको जिल्ला अधिवेशनले रामचन्द्र मण्डलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।
नयाँ कार्य समिति चयन भए देखि नै भट्टराई पक्षधरहरुले असन्तुष्टि व्यक्त गर्दै समानान्तर कमिटीको गठन गर्ने चर्चा चलाएका थिए । सम्मेलन सम्पन्न भएको दुई महिना पछि समानान्तर कमिटी गठन गर्ने निर्णयमा पुगेको छ । जिल्ला आयोजक समितिमा समितिका सदस्यहरुमा देवसागर दास, भुपाल बराल, भरत अधिकारी, रामवृक्ष यादव, तेज नारायण यादव, अजय पासमान, दुर्गी पासमान, रामवृक्ष यादव, बुद्ध राम यादव, चन्देश्वर पुर्वे, दिलिप लामा, विन्देश्वर कापड, पशुराम साह, शेष अन्सारुल, गोविन्द ढुङ्गेल, पल्टु यादव, अगल लामा रहेका छन् । अन्य सदस्यहरुमा बलबहादुर पूर्वछाने, सरोज गोनिवार, सिताराम ठाकुर, अग्नु साह, सत्यनारायण शर्मा, वैद्यनाथ शर्मा, ललन पाण्डे, कामेश्वर महतो, सोभित यादव, विजय साह, हिरा पण्डित, देवु यादव, राधेश्याम साह, सुनिल यादव, विक्रम महतो, रामसुन्द साह, रामदेव यादव, लालबाबु साह, नसिफ नदाफ रहेका छन् । यसैगरी अन्य सदस्यहरुमा रामदुत मण्डल, भोगि राउत, मो. ऐसानुल, रामेश्वर साह, कौशल साह, गौरी मण्डल, महेन्द्र मण्डल, मिथिला चौहान, नवल यादव, प्रेम ठाकुर र प्रमिला यादव रहेका छन् भने अन्य एक सय जनाको नाम विज्ञप्तिमा सार्वजनिक गरिएको छैन् ।  यस अघि भट्टराई पक्षधर नेता तथा कार्यकर्ताहरुले देशका अन्य कतिपय जिल्लाहरुमा समानान्तर कमिटी गठन गरी सकेको छ । माओवादी भित्र देखिएको दुई धारका कारणले पार्टी अझै कमजोर हुने सम्भावना प्रवल रहेको छ ।

एडिबी धरापमा, प्रस्ताव ल्याउन नगरपालिकालाई पत्राचार

कैलास दास
जनकपुर, साउन ११ । जनकपुर नगरपालिकाको कायापलट हुने आशा सहित लागु गरिएको एकिकृत सहरी विकास आयोजना धरापमा पर्ने खतरा बढेर गएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा जनकपुरको सडक, नाला तथा सौन्दर्यीकरणका लागि १ अर्ब ९० करोड लगानी गर्ने सम्झौता भई कार्यान्वयन चरणमा रहेको बेलामा फोहर व्यवस्थापन स्थलको सन्दर्भमा आएको विवादका कारणले कामकाज अगाडी नबढाउने गरी परिपत्र पठाएको छ ।
एशियाली विकास बैंकको उच्च स्तरीय प्राविधिक टोलीले जनकपुर नगरपालिकाको फोहर व्यवस्थापनका लागि छनौट गरिएको धनुषाको फूलगामाको जग्गामा विवाद आएको भन्दै अन्य कामकाज पनि अगाडी नबढाउन परिपत्र गरेको छ । एशियाली विकास बैंकले फोहर व्यवस्थापनका लागि फूलगामा बाहेकका अन्य ठाउँको जग्गा हेरेकोमा उपयुक्त नभएकोले अन्य जग्गा प्राप्त नभए सम्म कामकाज नबढाउन भनेको छ । धनुषाको निर्वाचन क्षेत्र नं. ३ मा एशियाली विकास बैंकको शर्तअनुसार गुठी संस्थानबाट २० वर्षका लागि जनकपुर नगरपालिकाले वार्षिक ३ लाख बुझाउने गरी लिजमा लिएको बेलामा जग्गा विषयमा विवाद उत्पन्न भएपछि जनकपुरमा लामो समयसम्म एडिबी बचाउको नाममा संघर्ष चलेको थियो । पछिल्लो पटक सडक विस्तार गर्दा मुआब्जाको नाममा थप विवाद सृजना गरेपछि एडिबी प्रति प्रतिबद्ध रहेका जनकपुरबासी चिन्तित बनेका थिए । एशियाली विकास बैंकले एक्कै चोटी सडक, नाला, तथा फोहर व्यवस्थापनको काम गर्ने भनेपछि हाललाई काममा अवरोध आएको छ । एडिबीको योजनामा आएको रुकावटबाट जनकपुर नगरपालिकाका पदाधिकारी एवं एकिकृत शहरी विकास आयोजनाका पनि चिन्तित बनेका छन् । एडिबी आउने सम्भावनालाई दृष्टिगत गरेर जनकपुर नगरपालिकाले लगाएको चिन्ह अनुसार जनताले स्वतःस्फूर्त रुपमा घरहरु भत्काईरहेको बेलामा पछिल्लो पटक आएको निराशाजनक समाचारले जनकपुरबासी दुःखित एवं चिन्तत बनेका छन् । जनकपुरको कायापलट हुने र समृद्ध एवं विकासित सहरमा बास गर्ने जनकपुरबासीको चाहनामाथि खेलवाड भए जनकपुरमा ठुलो विद्रोहको सम्भावना रहेको छ । यसैबीच जनकपुर नगरपालिकाका उच्च पदाधिकारीसंग टेलिफोन सम्पर्क गर्दा एडिबी सम्बन्धमा प्रतिक्रिया दिनुपर्ने अवस्थालाई दृष्टिगत गर्दै फोन सम्पर्कमा आउन सकेन् । यसै वीच जनकपुर नगपालिकाले आकस्मिक रुपमा गरेको सर्वदलीय वैठकमा जनकपुर नगपालिकाका कार्यकारी अधिकृत विष्णु कोईरालाले एडीविका सन्दर्भमा पछिल्लो पटक आएको अडचनका बारेमा जानकारी गराएको रामसपाका धनुषा जिल्ला संयोजक महाशंकर ठाकुरले बताएका छन् ।

Saturday, July 19, 2014

द्वन्दकालमा मारिएका पाँच युवकको सामुहिक संस्कार हुने


कैलास दास
जनकपुर, साउन ३ । द्वन्दकालमा जनकपुरमा तत्कालिन संयुक्त सुरक्षा फौजद्वारा हत्या गरिएका जनकपुरका पाँच जना युवकको पहिचान अन्तराष्टिूय स्तरबाट भएको परीक्षणले खुलेको छ । जनकपुरको कटैया चौरीमा २०६० सालमा तत्कालिन संयुक्त सुरक्षा फौजद्वारा पक्राउ गरी हत्या गरिएका पाँचै जना युवकको शव राष्टिूय मानव अधिकार आयोगको विशेष पहलमा धनुषाको कमला खोलाबाट उत्खनन् गरी फरेन्सिक ल्याव टेस्ट फिनल्याण्डमा गरेपछि तिनिहरुकै कंकाल भएको पुष्टि भएको छ ।
जनकपुरको वडा नं. १० बस्ने दुर्गेश लाभ, तिजेन्द्र झा मछली, संजीव कुमार कर्ण, प्रमोद मण्डल र शैलेन्द्र यादवको कंकाल र परिवारको डिएनए परीक्षणबाट पुष्टि भएपछि राष्टिूय मानव अधिकार आयोगले साउन ७ गते परिवारजनको जिम्मा लगाउने भएको छ । उनीहरुको हत्या पछि शव गाडिएको ठाउँमा आयोगले केही वर्ष अगाडी शव उत्खनन् गरेका थिए ।
तत्कालिन आयोगका सदस्यको अगुवाईमा भएको शव उत्खनन्को रिपोर्ट लामो समय पश्चात् आयोगले सार्वजनिक गरी परिवारको जिम्मामा परम्परा अनुसार शदगतका लागि प्रदान गर्न थालेको छ । सोही घटनामा वेपत्ता पारिएका मनोज दत्त र रामचन्द्र लाल कर्णको बारेमा रिपोर्टमा केही जनाईएको छैन् । आयोगले विशेष कार्यक्रमको आयोजना गरी साउन ७ गते परिवारजनको जिम्मामा कंकाल प्रदान गरेपछि दाह संस्कार स्वर्गद्वार स्मशानघाटमा गरिने भएको छ । राज्यले क्रिया खर्च वापत प्रति परिवार ४० हजार दिने भएको छ । राजनीतिक दलहरुको उपस्थितिमा स्वर्गद्वारमा दाहसंस्कार गरिने निर्णय यस अघि नै जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले गरिसकेको छ ।
औपचारिक रुपमा ती युवाहरुको शव नै भएको पुष्टि भएपछि शास्त्रीय मान्यता अनुसार दाह संस्कार भएपछि कामकाज पनि गर्ने भएको छ । एक दशक पछि ती युवकहरुले आत्माले अब औपचारिक रुपमा शान्ति पाउने भएका छन् । हत्या गरिएका दुर्गेश लाभका बुवाले अथक प्रयास गरेर संयुक्त राष्टिूय संघीय उच्च आयुक्तको कार्यालय, अन्तराष्टिूय न्यायलय, राष्टूसंघका महासचिव लगायतका अन्तराष्टिू संस्था तथा मानव अधिकार आयोग लगायतका संघसंस्थाहरुमा उजूरी दिएका थिए ।
उनकै प्रयासले ढिलो भए पनि मुत्यु भएका युवकहरुलाई न्याय मिल्ने सम्भावना रहेको छ । उता पिडित परिवारले सहिद स्मारक पार्कको निर्माण, क्षतिपूर्ति, दोषिमाथि कारवाही जस्ता मागहरु राख्दै आएका छन् । उनीहरुसंगै बेपत्ता भएका अन्य दुई युवकको खोजी गर्नका लागि पनि माग गर्दै आएका छन् ।

Thursday, July 10, 2014

जनकपुरका सडक मरम्मतका लागि आएका रकम फ्रिज, जिर्णाद्धार कार्य स्थगित

कैलास दास
जनकपुर, असार २६ । सडक डिभिजन कार्यालय जनकपुरद्वारा जनकपुर नगरक्षेत्रको प्रमुख सडकहरुको मरम्मत एवं कालोपत्रेका लागि गरेको ठेक्का अनुसार काम नभएपछि बजेट फ्रिज हुने छ । सडक डिभिजन कार्यालयले आर्थिक वर्षको अन्तिम समयमा आएर बचत रकमबाट गरेको ठेक्का अनुसार ठेकेदारले जनकपुरको कुनै पनि सडकमा कालोपत्रे गर्न सकेका छैनन् ।
सडकहरुमा ग्रेभेल तथा मसिनो गिटी राख्ने सम्मको काम भएपनि कालोपत्रे गर्नका लागि समय नभ्याएपछि यस वर्षको रकम सदुपयोग हुन सकेन । सडक डिभिजिन कार्यालयले अब यस वर्ष उक्त सडकहरुको कालोपत्रे नहुने जनाएका छन् । सडक डिभिजन कार्यालयका ईन्जिनियर दरोगा साहले बचत रकमबाट गरिएको टेन्डर अनुसार काम नभएकोले भएको कामको बील पास गरी बजेट फ्रिज हुने बताए ।
सडक डिभिजन कार्यालय जनकपुर र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको बचत रकमबाट जनकपुरको जानकी मन्दिरदेखि रामानन्द चौक, चुरोट कारखाना, थापा चौक, भानु चौक हुदै मूरली चोक भएर एयर पोर्ट सम्म, जानकी मन्दिर देखि थापा चौक सम्म, जिल्ला प्रशासन कार्यालयको दक्षिण कुना देखि शुक्रवारी बजार हुदै महावीर चौक सम्मको सडक मरम्त एवं कालोपत्रे गर्ने कार्यक्रम रहेको थियो ।
समयमा ठेकेदारहरुले काम नपाएका कारणले गर्न नसकेको दावी गर्दै आएका छन् । सरकारले खोला क्षेत्रबाट बालुवा गिटी र रोडा झिक्नका लागि प्रतिबन्ध लगाएका कारणले पनि ठेकेदारहरुलाई काम गर्नमा निक्कै कठिनाई भएको थियो । एशियाली विकास बैंकको एकिकृत सहरी विकास आयोजनामा परेका सडकहरुमा नै सडक डिभिजन कार्यालयले अस्थायी रुपमा डेढ, दुई वर्ष टिक्ने किसिमले सडक मरम्त तथा कालोपत्रे गर्ने कार्य राखेका थिए । भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिको प्रयासबाट जानकी मन्दिरलाई केन्द्रविन्दु बनाएर सडकको मरम्त सम्भार एवं कालोपत्रे गर्ने कार्य बढाए पनि समयाभावका कारणले उक्त योजनाहरु पुरा भएका छैनन् । सडकहरुमा कालोपत्रे नभएपनि हिलाम्य हने सडकहरुमा अहिले हिलो देख्न पाईदैनन् । उता ठेकेदारहरुले सडकमा जथाभावी रुपमा राखेको बालुवा गिटी नसम्याएका कारणले सर्वसाधारणलाई आवत जावतमा निक्कै कठिनाई भईरहेको छ ।
उता सडकमा राखिएका बालुवा गिटीलाई सम्याउनका लागि ठेकेदारहरुलाई पटक पटक निर्देशन दिएको ई. दरोगा साहले बताए ।

Sunday, July 6, 2014

धनुषाका १४ जना जेष्ठ पत्रकार सम्मानित

कैलास दास
जनकपुर,आसार २२ । नेपाल पत्रकार महासंघ धनुषा शाखाले ३० वर्ष भन्दाबढी समयदेखि पत्रकारिता गर्दै आएका शाखा अन्तर्गतका १४ जना बरिष्ठ पत्रकारहरुलाई आईतवार एक कार्यक्रम बीच सम्मान गरेको छ ।
धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको जेष्ठ पत्रकार तथा २४ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रिय पदाधिकारी एवं सदस्यहरुको सम्मान कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टले जेष्ठ पत्रकारहरुलाई सम्मान पत्र तथा दोसल्ला ओढाई सम्मान गरेका थिए ।
यसरी सम्मानित हुनेहरुमा वरिष्ठ पत्रकारहरु आनन्द घिमिरे, चन्देश्वर गिरी, राजेश्वर नेपाली, मदन लाल श्रेष्ठ, राम भरोस कापडि भ्रमर, अशोक रौनियार, विएम खनाल, माधव बहादुर थापा, माधव आचार्य, शंकरलाल श्रेष्ठ, सुशिल घिमिरे, दिलिप घिमिरे, राम प्रकाश साह, अनिल घिमिरे रहेका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष डा. विष्टले पत्रकाहरुलाई अवको दिनमा सृजनात्मक र सकारात्मक पत्रकारिता गर्नु पर्नेमा जोड दिएका थिए । आलोचना गर्ने पत्रकारहरुको धर्म रहेका भन्दै अध्यक्ष विष्ट ले भने,‘आलोचना गर्ने पत्रकारको धर्महो , तर गाली मात्रै कति गर्ने अब सकारात्मक आलोचना गरौ, सृजनात्मक र सकारात्मक पत्रकारिता गर्नु पर्ने समय आइ सकेको छ ।
मुलुक संघीयतामा जान लागेको बेलामा स्थानीय मिडियाहरुलाई सम्बद्र्धन गर्नु आवश्यक रहेको बताउदै उनले साना मिडियाहरुको संरक्षण र सम्बद्र्धन नगरे सम्म सबै तहका आवाजलाई समेटिन नसक्ने भएकाले साना मिडियाहरुलाई स्थापित गराउन महासंघले पहल थालिसकेको समेत बताए ।
अहिलेको असमान विज्ञापन वितरण प्रणालीले स्थानीय तथा साना मिडियाहरु मार्कामा पर्दै आएको स्वीकार गर्दै अध्यक्ष विष्टले त्यसका समाधानका लागि स्थानीय स्तरका विज्ञापनहरु स्थानीय मिडियालाई नै दिनु पर्ने व्यवस्था मिलाउन पहल भै रहेको बताए ।
उनले मिडियाहरुको संरक्षण मात्र गरेको पत्रकारिता क्षेत्र बलियो नहुने भन्दै मिडियाहरुको संरक्षणका साथै पत्रकारहरुको पारिश्रमिकको सुनिश्चिता तथा दक्षता अभिवृद्धिका लागि समेत महासंघले पहल गरिरहेको उल्लेख गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि एवं धनुषाका स्थानीय विकास अधिकारी गुरु प्रसाद सुवेदीले स्थानीय संचारगृहरुको विकास तथा सम्वद्र्धनको लागि जिल्ला विकास समिति सदैब तैयार रहेको बताए । पत्रकार महासंघ धनुषाले स्थापना गरेका पत्रकार कल्याणको लागि ५० हजारको चेक हस्तान्तरण गर्दै सुवेदीले पत्रकार महासंघको भवन निर्माणको लागि चालु आर्थिक वर्षमा ४ लाख उपलब्ध गराएको अगामी आर्थिक वर्षमा समेत उतिकै रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले जनकपुरको विकासमा यहाँ पत्रकारहरुले खेलेको सकारात्मक भूमिकाको प्रशंशा गर्दै पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि एक लाख रुपैया छुट्याइ सकेको समेत बताए ।
सम्मान ग्रहण पछि बोल्दै बरिष्ठ पत्रकार एवं प्राज्ञ राम भरोस कापडि भ्रमरले जेठ पत्रकारहरुको सम्मान स्वरुप सरकारले प्रतिमहिना रु ६ सय उपलब्ध गराउने गरेको निर्णय प्रति आफनो चित्त नबुझेको बताए ।
उनले ६ सय रुपैयाको महिनाले पत्रकारहरुको अवस्थामा कुनै सुधार नआउने बताउदै एकमुष्ठ रकमको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । सरकारले जेष्ठपत्रकारहरुको लागि सुरक्षा र सुविधाको व्यवस्था हुने पर्ने बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार विएम खनाल पत्रपत्रिकाको वर्गीकरण प्रक्रियामा देखिएको समस्याले मोफसलका पत्रिकाहरु समस्यामा पर्दै आएको बताउदै त्यसको अन्त सहित पत्रकारहरुको समाजिक सुरक्षाको जिम्मा समेत सरकारले लिनु पर्ने बताए । त्यस्तै पूर्व केन्द्रिय सदस्य हिमांशु चौधरी संचार गृहहरु अहिले श्रमशोषणको प्रयोगशालामा परिणत भै रहेको भन्दै त्यसको अन्तका लागि महासंघले पहल गर्नुपर्ने बताए । निर्वतमान अध्यक्ष राम अशिष यादवले जेष्ट पत्रकारहरुलाई सम्मान गर्नुले सम्पूर्ण शाखानै सम्मानित भएको बताउदै यस परम्परालाई निरन्तरता दिनु पर्ने बताए । साथै उनले महासंघको भवन निर्माणको कार्य समेत चाडै शुरु गर्न सुझाव दिएका थिए । कार्यक्रममा पूर्व अध्यक्ष अशोक रौनियारले जेष्ठ पत्रकारहरुको लागि निवृति भरण व्यवस्था गरे थुप्रै जेष्ठ पत्रकारहरु स सम्मान पत्रकारिता बाट विश्राम लिने भएकाले पत्रपत्रिकाको वर्गीकरणमा समेत सहजीकरण हुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको २४ महाधिवेशन बाट निर्वाचित सचिव धर्मेन्द्र कर्ण, मध्यमाञ्चल इन्चार्ज शितल महतो र सदस्य अजय कुमार मिश्र अनुरागीलाई समेत सम्मान गरिएको थियो । उनिहरुले मोफसलको पत्रकारिताको विकासको लागी आफुहरु पहरेदारको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

अब जनकपुर अंचल अस्पतालमै मृगौला रोगीहका उपचार हुने

कैलास दास
जनकपुर, असार २२ । मृगौला रोगीहरुका लागि महँगो उपचार पद्धति मध्ये एक रहेको डायलाइसिस प्रविधिबाट गरिने उपचार सेवा जनकपुर अंचल अस्पतालमा आईतवारबाट शुरु भएको छ ।

तराई मधेश क्षेत्रमै पहिलो डायलाइसिस केन्द्रको रुपमा जनकपुरमा शुरु भएको उक्त सेवाको उदघाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका सचिव डा. प्रविण मिश्रले गरेका हुन । नेपाल सरकारको आर्थिक सहयोग तथा मानव अंग प्रत्यारोपण केन्द्रको प्रत्यक्ष निगरानीमा शुरु भएको डायलाइसिस सेवा आईतवार बाटै उपचारको शुरुवात समेत गरेको छ । करिब ५५ लाखको लागतमा २ वटा डायलाइसिस मेसिन सहित अन्य उपकरणहरु अस्पतालमा जडान गरिएको हो ।
डायलाइसिस सेवाको उदघाटन गर्दै स्वास्थ्य सचिव डा. मिश्रले नेपालमा अहिले ३०लाख मृगौला रोगी रहेको र एक वर्षमा ३ हजारको मृगौला फेल भै रहेको अवस्थामा जनकपुरमा शुरु भएको यो सेवाले यस क्षेत्रका रोगीहरुको उपचारमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।
विराटनगर देखी वीरगंज सम्मका मृगौला रोगीहरुको लागि जनकपुर केन्द्र बन्न सक्ने तर्फ अस्पताल प्रशासनको ध्यानाकर्षण गराउदै डा. मिश्रले यो सेवालाई चुस्त दुरुस्त बनाई राख्न सुझाव समेत दिएका थिए । डा मिश्रले भने,‘सरकारले तपाई हरुलाई मेसिन उपलब्ध गराएको यसलाई निरन्तरता दिनु अस्पतालको काम हो ।’
उनले नेपालमा सरुवा रोगहरुको रोक थाम गर्न सरकार र स्वास्थ्य मन्त्रलाय सफल भएपनि नसर्ने रोगहरु चुनौतीको रुपमा आई रहेको बताए । मुलुकमा कुल रोगीको ४६ प्रतिशत मृगौला, हृदयरोग दमरोग र क्यान्सरबाट पीडित रहेको बताउदै यसको नियन्त्रणका लागि जनचेतना वृद्धिमा समेत जोड दिएका थिए ।
सचिव डा. मिश्रले जनकपुर अंचल अस्पतालका लागि सिटी स्क्यान र आइसियु संचालनका लागि समेत उपकरणहरु मन्त्रालयले पठाई सकेको जानकारी गराउदै उक्त सेवाहरु समेत अविलम्ब सुचारु गर्न निर्देशन दिएका थिए ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बलराम मिश्रले तराई मधेश क्षेत्रमै जनकपुरमा पहिलो पटक शुरु भएको यो सेवाले यस भेगका रोगिहरुलाई काठमाण्डौ वा भारत जानुपर्ने झन्झटबाट मुक्ति पाउने बताएका थिए । उनले पूर्ण निशुल्क सेवा उपलब्ध गराउने तैयारी भै रहेको जानकारी समेत गराएका थिए ।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष कामेश्वर झाले सिटी स्क्यान र आइसियु सेवा एक डेढ महिना भित्रै संचानलमा आउनु जानकारी गराउदै अस्पतालको स्तरोन्नतिको लागि मन्त्रालयमा अल्झिएको फाइललाई अगाडी बढाई दिन सचिव मिश्र संग आग्रह गरेका थिए । अस्पतालको नयाँ भवन निर्माणका लागि टेण्डर प्रक्रिया पुरा भै सकेको भन्दै अध्यक्ष झाले स्तरोन्नतिको प्रक्रिया अगाडी बढाईए निकट भविष्यमै जनकपुर अंचल अस्पतालमा पाँच सय सैयाको हुने विश्वास समेत व्यक्त गर्नु भयो । एक अर्को प्रसंगमा अध्यक्ष झाले जनकपुर अंचल अस्पतालमा क्षेत्रीय प्रयोगशाला निर्माण गर्न मन्त्रालयको प्रयासमा सरकारले यस वर्षको बजेटमा रकम विनियोजन गर्न लागेको प्रति धन्यवाद समेत दिएका थिए ।
कार्यक्रममा अस्पतालका पूर्व मेसु डा. गोरांग मिश्र, एसएसपी शिव लामिछाने, राजनीतिक दलका तर्फ बाट संघीय सदभावना पार्टीका जिल्ला अध्यक्ष रमण सिंह, जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख योगेन्द्र भगत, पत्रकार सुजित कुमार झा, स्टाफ नर्सका तर्फ बाट रिमा द्विवेदी लगायतले बोल्दै डायलाइसीस सेवाको स्थापना महत्पूर्ण योगदान पु¥याएका मन्त्रालयका सचिव लगायतलाई धन्यवाद दिएका थिए ।    
धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी, सिन्धुली, उदयपुर , सुनसरी , मोरंग, रौतहट बारा पर्सा र भारतका सितामढी तथा मधुवनी जिल्लासम्मका रोगीहरु उपचारका लागि जनकपुर आउने विश्वास लिइएको छ । डायलाइसिस सेवा संचालनका लागि एक जना चिकित्सक पाँचजना स्टाफ नर्स र एकजना प्राविधिकलाई मानव अंग प्रत्यारोपण केन्द्रले तालिम दिएको छ । उदघाटन समारोहमा मानव अंग प्रत्यारोपण केन्द्रका डा. पुकार, डा. चटौत समेतको उपस्थिति रहेको थियो ।

Saturday, July 5, 2014

विशेष कवि गोष्ठी सम्पन्न, जेष्ठ नागरिकको सम्मानमा जोड

कैलास दास
जनकपुर, असार २१ । जेष्ठ नागरिकहरुको दुःख पीडा तथा गौरवलाई चित्रण गर्ने गरी जनकपुरमा विशेष कवि गोष्ठी गरिएको छ ।

एजिङ्ग नेपाल, राजश्री वाङमय प्रतिष्ठान, मैथिली साहित्य समाज, सरस्वती राजनारायण प्रतिष्ठानको आयोजनामा तथा डा. राजेन्द्र विमल प्रतिष्ठानको संयोजकत्वमा सो गोष्ठी भएको हो । नेपाल वार एशोसिएशनमा आयोजित सो गोष्ठीमा ३७ जना कविले कविता वाचन गरेका छन् ।
प्रतिष्ठानका संस्थापक वरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमलको अध्यक्षतामा भएको गोष्ठीका विशेष अतिथि डा. रामानन्द झा रमणले साँस्कृतिकबाट समाज, समाजबाट सहर र सहरबाट मान्छेहरु विदेशिन गरेकोले साहित्य र साँस्कृतिको दूरी बढ्दै गएको बताए । उनले जेष्ठ नागरिकबाट धेरै कुराहरु सिख्नु पर्ने हुन्छ । साहित्यकद्वारा यो सन्देश फैलाउने जुन उद्देश्य यस गोष्ठीको रहेको सराहनीय रहेको बताए ।
त्यस्तै वरिष्ठ साहित्यकार राजेन्द्र विमलले जेष्ठ नागरिकहरुको सम्मान तथा दुःख पीडा समाज र सरकारको दायित्व रहेको बुझ्नु पर्ने  बताए ।
वरिष्ठ साहित्यकार प्राज्ञ रामभरोस कापडिले वृद्धावस्थाका बारेमा प्रकाश पार्दै जबसम्म मानिसमा जनचेतना आउँदैन तबसम्म जेष्ठ नागरिकहरु सम्मान नपाउने विश्वास व्यक्त गर्दै साहित्यद्वारा नै जनेचतना फैलाउने कार्य होस् जिज्ञासा राखे ।
कवि गोष्ठीमा ३७ जना कविहरुले वृद्धहरुको अवस्थाका बारेमा चित्रण गरी कविता वाचन गरेका थिए । कविता वाचन गर्नेहरुमा कैलास दास, नागेन्द्र मण्डल, अरुण राउत, अमरकान्त अमर, पुनम झा, चन्द्रनाथ झा, अशोक दत्त, राजेश्वर ठाकुर, रामहृदय प्रसाद , सपना कर्ण, विजय दत्त मणी, रुद्रनारायण झा, मनोजकान्त झा, जीवछ पाण्डे, विदेह ललन, सुमित, राजाराम राठौड, कृष्ण शंकर मिश्र, अयोध्यायनाथ चौधरी, तौआराज घिमिरे, महेन्द्र मिश्र, रामभरत साह, ऋषिशेष झा, दिगम्बर झा,हिमान्सु चौधरी, रेवतीरमण लाल, रामभरोस कापडि लगायतका कविहरु थिए ।
कार्यक्रमका उद्घोषण अशोक दत्तले गरेका थिएन भने स्वागत मन्तव्य हिमांसु चौधरीले गरेका थिए । गोष्ठीमा वाचन गरिएका कविताहरु छिट्टै प्रकाशित हुने तौआराज घिमिरेले जानकारी गराएका थिए ।

Friday, July 4, 2014

आखिर फूलगामा नै ल्याण्डफिल साइट बन्ने निर्णय भयो ?

कैलास दास
जनकपुरधाम, असार २० । एशियाली विकास बैंकको सहयोगमा जनकपुरमा संचालनमा रहेको एकीकृत शहरी विकास परियोजनाको सबैभन्दा विवादास्पद लैण्डफिल साइट अन्ततः फुलगामा स्थित मनियारीचौरीमै बन्ने भएको छ ।

लैण्डफिल साईटको विषयमा स्थानीयवासीहरुले विरोध गरेपछि राजधानी काठमाण्डौ बसेको स्टेरिङ्ग कमिटीको बैठकले चारवटा विकल्प सहित पुनः निरीक्षण अनुगमन गर्ने निर्णय अनुसार एशियाली विकास बैंकका उच्च अधिकारी सहित ९ सदस्यीय टोलीले लैण्ड फिल साइटका लागि प्रस्तावित स्थानहरुको स्थलगत निरिक्षण गरेपछि फुलगामाको मनियारीनै उपयुक्त स्थान रहेको निष्कर्ष निकालेका छन ।
उच्च स्तरीय टोलीको निष्कर्ष पछि लैण्डफिल साइट फुलगामाको मनियारीमै निर्माण गरिने लगभगा पक्का भएको परियोजनाका प्रोजेक्ट म्यानेर गंगाप्रसाद यादवले बताएका छन ।
लैण्ड फिल साइट विवादित भएपछि एडिबीका अर्बन विभाग प्रमुख नोरीयो साइतो लगायतका ९ सदस्यीय टोलीले फुलगामा सहित प्रस्तावित स्थानहरु सिनुरजोडा, गोपालपुर र पुष्पलपुरको स्थलगत निरीक्षण गरेको थियो । टोलीले फुलगामाको विकल्पमा अन्य स्थानमा ल्याण्डफिलको निर्माण गर्न धेरै खर्चिलोहुनुका साथै वातावरणीय दृष्टिकोणले समेत उपर्युक्त नरहेको निष्कर्ष निकालेका छन । फुलगामा बाहेको अन्य स्थानमा बाढीले समेत प्रभाव पार्ने भन्दै टोलीले फुलगामानै सबैभन्दा उत्तमा रहेको निष्कर्ष निकालेका छन । 
अनुगमन टोलीले लैण्ड फिल्ड साइटका लागि फुलगामानै उपयुक्त रहेको निष्कर्ष निकालेको जानकारी गराउदै म्यानेजर यादवले टोलीले एडिबीको स्टेरिङ कमिटिमा आफ्नो प्रतिवेदन बुझाएपछि सर्वेगर्न बाँकी रहेको काम शुरु गरिने जानकारी दिएका छन ।
उक्त टोलीले स्थलगत निरीक्षण पश्चात आफनो प्रतिवेदनबारे नगरपालिका योजना व्यवस्थान समितिको वैठकमा विहिबारै जानकारी गराई सकेको यादवले बताएका छन ।
उच्च स्तरीय टोलीले फुलगामानै उपयुक्त रहेको निष्कर्ष निकालेपछि शुक्रवार फुलगामाको स्थानीयवासीहरुसंग समेत लैण्ड फिल साइट निर्माणको विषयमा छलफल गरेको छ ।
छलफलको क्रममा एडिबीका अर्बन प्रमुख साइतोले गाउँलेको स्वास्थ्यलाई असर पर्ने गरी आफूहरु परियोजना सञ्चालन गर्न नचाहेको बताएका थिए । उनले विकासका लागि अन्य प्याकेजहरुमा समेत एडिबीले सहयोग गर्ने आश्वासन दिएको प्रोजेक्ट मैनेजर यादवले बताए । छलफलको क्रममा फुलगामावासीमा जनचेतनाको आभावका कारणपनि यस्तो समस्या आएको अनुभव आफुहरुले गरेको भन्दै यादवले जनचेतनाको अभिवृद्धिको लागी फुलगामा फेरी कार्यक्रम गरिने बताए ।
परियोजना अन्तर्गत हाल सम्म भएको कार्यको प्रगतिको अनुगमन, लैण्ड फिल साइटका लागि प्रस्तावित फुलगामा सहित अन्य चार स्थानको स्थलगत निरीक्षण तथा यसअघि लैण्ड फिल साइटका लागि स्थलगत निरीक्षण गरेको तीन सदस्यीय टोलीले बुझाएको प्रतिवेदनको अनुगमन गर्ने उद्देश्यले ९ सदस्यीय टोली जनकपुर आएको थियो । टोलीमा एडिबीको अर्बन प्रमुख मारियो साइतो सहित सोलिड वेस्ट मैनेजमेन्ट अन्तराष्टिूय विज्ञ हार्डी वाङग, नेपालका लागि प्रोजेक्ट डाइरेक्टर मनिराम गेलाल, डेपुटी प्रोजेक्ट डाइरेक्टर पराग कायस्थ, डेस्क अफिसर सुजन रेग्मी, प्रोजेक्ट मोनिटरिङ सपोर्ट कन्सलटेन्ट लक्ष्मणलाल श्रेष्ठ, सोलिड वेस्ट मैनेजमेन्ट हेर्ने नेपालका अशोक शाही र वातावरणीय विशेषज्ञ महेश भट्टराई सहभागि थिए ।