Friday, September 14, 2018

जनकपुरधाममा असोज ३ गते विरोध प्रदर्शन

जनकपुरधाम, २८ भदौ । राष्टिूय जनता पार्टी (राजपा) नेपालले पार्टीले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । यसअघि राजपाले आफूहरुको माग पूरा नगरे सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो ।
यता राजपा जिल्ला कार्य समिति धनुषाले प्रेस विज्ञप्ति जारी गरी असोज ३ गते संविधानको विरोधमा वृहत विरोध र्याली तथा ब्लयाक आउट गर्ने निर्णय गरेको छ । जिल्ला संयोजक प्रमोद यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा र्यालीमा सहभागीका लागि सबै नेता तथा कार्यकर्ताहरुसँग आग्रह गरेका छन् । त्यसै भाद्र ३० गते वृहत्त बैठकको आयोजना समेत गरेको जनाइएको छ ।
तीन दिनअघि बसेको राजपा नेपालको अध्यक्ष मण्डलको बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भएको थियो  । तर, हाल आएर नेताबीच समर्थन फिर्ता लिनका लागि हतार नगर्न सहमति भएको एक नेताले जानकारी दिए ।
विभिन्न माग राखि राजपा नेपालले साउन ३ गते प्रधानमन्त्री केपी शर्मालाई ज्ञापनपत्र नै बुझाएको थियो । ज्ञापनपत्र बुझाएपनि त्यसको कुनै सुनुवाई नभएपछि साउन २७ गते राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरुले भेटेर मागको बारेमा मौखिक स्मरण गराएका थिए ।
भेटमा प्रधानमन्त्री ओलीले आन्दोलनको क्रममा थुनामा रहेका तथा मुद्दा खेपिरहेकाका विषयमा सरकारले के गर्छ सक्छ त्यसका बारेमा आवश्यक छलफल गर्ने प्रतिबद्धता जनाएका थिए । सो  प्रतिवद्धता अनुसार प्रधानमन्त्री ओलीले वार्ता टोली नै गठन गरेपछि राजपा नेपालका नेताहरु सकारात्मक बन्दै सरकारलाई दिएको समर्थन कायमै राख्ने निश्कर्षमा पुगेका हुन् ।

No comments:

Post a Comment