Tuesday, October 13, 2015

तराईमा झिझिया नृत्य

कैलास दास
मिथिलाञ्चलमा बडादसैको आगमनसँगै गाउँगाउँमा झिझिया नृत्य सुरु हुन्छ । मिथिलाको संस्कृतिको विकाससँगै जन्मेको यस झिझिया नृत्य मैथिल समुदाय र मिथिलावासीको लोकनृत्यको रुपमा चिनिन्छ । प्रत्येक वर्ष दसैँको घटास्थापनाकै दिनदेखि मिथिलाको प्रत्येक गाउँगाउँमा झिझिया नृत्य नाच्ने चलन छ भने विजयादशमीको दिनमा गाउँका राजा ब्रम्ह स्थान र दुर्गा भवानीको प्रतिमा अगाडि अन्तिम पटक विशेष नाच नाचेर झिझिया नृत्य सम्पन्न हुने गर्दछ ।

गाउँघरमा बोक्साबोक्सीलाई धपाउन, निजको कालो जादू टुनाबाट परिवारलाई जोगाउन र भगवानसँग परिवारजनको दीर्घायुको कामना गर्दै झिझिया नृत्य नाच्ने गरिन्छ । गाउँको राजाको रुपमा चिनिने ब्रम्ह बाबा र असुर नासिनी माँ भवानीलाई साक्षी मानी झिझिया नृत्यको लागि घैँटोमा असंख्य प्वाल पारी एक, दुई, चार, पाँच, सात वा एघारवटा घैँटोलाई एक ठाउँमा बाँसको लट्ठीमा बाँधेर झिझिया तयार परिन्छ ।
घैँटोबाट तयार पारिएका झिझियालाई टाउकामा राखी मिथिलाकी ७ वर्षीया बालिकादेखि ७० वर्षीया महिलाहरु विभिन्न उमेर समूहमा रातिको बेला गाउँगाउँका प्रत्येक चोक र टोलमा राति अबेरसम्म सामूहिक रुपमा झिझिया नाच नाच्ने गर्दछन् ।
नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली पनि गरिन्छ । बोक्सी (डाइन) लाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुन्छ भनि जनविश्वास रहेको छ । टाउकोमा घैँटो राखेर नाच्दै गरेकी महिला र साथीहरुको समूहले गीति लयमा बोक्साबोक्सीलाई विभिन्न गाली गर्ने र निजको जादू टुना भङ्ग हुने खालका गतिविधि समेटेर  ः
कोठाके उपर डैनियाँ, खिडकी लगैले ना
खिडकी ओतए डैनियाँ, गुनवा चलैले ना,
आगे किछु होएतो डैनियाँ, गदहापर चढेवौ’।। ।
अर्थात खबरदार यदि तिमीले झयाल पछाडिबाट टुनामुना गरी जादु चलायौ भने तिमीलाई गधामाथि चढाएर गाउँमा घुमाउँछौँ र नाम बदनाम गराउँछौँ’ । झिझिया पर्व तर्राईको मौलिक पर्वको रुपमा लिईन्छ । दशैंको बेला जादुटुना जन्त्रमन्त्र सिक्नेहरु बढी हुन्छन् । त्यस बेलामा जादू टुना सकियो भने यो निकै प्रभावकारी तथा पाको हुने गरेको जनविश्वासका साथ दशैंभरि धामीझाँक्रिहरुको निकै चहल पहल बढेको हुन्छ । दशैमा धामी झाँक्रि तथा बोक्सी (डाइन) हरुको चहलपहल बढी देखिएको हुनाले ग्रामीण क्षेत्रका महिलाहरु त्यसबाट जोगिनका लागि झिझियाँ नृत्य गरेर डाइनहरुलाई गाली गरिरहेका हुन्छन् । त्यसका साथै आफ्नो घरमा कसैको नजर नलगोस् भने प्रवेशद्धारमा कालो पनि पोतेका हुन्छन् । डाइन जोगिनबाट बच्नका लागि आआफ्ना बालबच्चालाई लसुनको माला समेत लगाई दिएका हुन्छन् ।
टाउकोमा घैँटो राखी नाचिरहेका महिलाको घैँटोको प्वाल यदि कुनै बोक्साबोक्सीले गन्न सक्षम भएमा ती महिलाको तत्काल मृत्यु हुने जनविश्वास रहेकाले टाउकोमा घँैटो राखेकी महिला प्रत्येक क्षण घुमिरहेका हुन्छन् ।
महिलाहरु एक महिना अगाडिदेखि नै यसको तयारीमा लागे हुन्छ । दशमीमा सबभन्दा बढी उत्साह झिझिया नाचको हुन्छ । झिझिया विशेष गरी महिलाद्वारा गरिने नृत्य भए पनि यसमा पुरुषको पनि उल्लेख्य सहभागिता रहन्छ । १५र२० जनाको समूहले पारम्परिक वाद्यवादन ढोलक, झाइल, झामर लिएर गीत गाउँदै नृत्य गर्ने गर्छन् । प्रत्येक घरमा गई समूहले नृत्य गर्ने र त्यहाँबाट घरधनीले कोसेलीस्वरूप पैसा वा चामल दाल सहयोग गर्ने चलन छ ।

नृत्य गर्दा खेरी महिलाहरुले नगरको डिहवार र आफ्नो इष्ट देवी देवताहरुलाई पनि गुहार्ने गर्छन ः
‘तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो
बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा
बालक तोहर किछियो ने जनैछौं हो‘’
अर्थात् ब्रह्मबाबा तपाईकै आशा र विश्वासमा हामीले झिझिया बनाइएका छौ । तपाई ममाथि ख्याल गर्नु होला । कुनै जादु टोना गर्ने बोक्सीले मलाई केही नबिगारोस् । म अबोध बालक तपाईकै आशीर्वादले नाच्न जाँदै छु । परम्परागत मान्यता अनुसार दशैंका बेलामा विभिन्न नकारात्मक शक्तिहरुले तन्त्र–मन्त्र साधना गरी गाउँलेको जीवनमा दुख–कष्ट निम्त्याउन सक्ने हुँदा त्यसको प्रतिकारका लागि झिझिया नृत्यको आयोजना गरिन्छ । लोक विश्वास र व्यवहारबाट उत्प्रेरित भएर गाउँका ठूलाबडा र धामी(झाँक्रीहरूको विचार र मन्थनबाट बोक्सीको जादु—टुनाको प्रतिकार स्वरूप यो नृत्य विकसित गरिएको बताइन्छ ।  परम्परागत र लोपोन्मुख यस्ता पर्वको संरक्षणका निम्ति सम्बद्ध निकायले विशेष पहल गरेर यिनको जर्गेना गर्नुपर्छ
Email:journalistkailash@gmail.com