Tuesday, September 11, 2018

चौठचन्द र हरितालिका तीज मनाईदै


जनकपुरधाम, २६ भदौ । जनकपुरधाम लगायत देशभरिमा गणेश चतुर्थी अर्थात चौठचन्द्र पर्व र हिन्दु महिलाहरुले हरितालिका तीज पर्व हर्षोल्लास पूर्वक बुधवार मनाउँदै छन ।
भाद्र शुक्ल चतुर्थी तिथिमा चन्द्रमाको पूजा गरिने भएकाले यो पर्वलाई चौंठचन्द्र पर्व भनिएको हो । भाद्र शुक्ल चतुर्थीका दिन अर्थात बुधवार सूर्यास्त भएपछि यो पर्व चन्द्रमा र गणेशको विशेष पूजापाठ गरी मनाइन्छ । मिथिलाका राजा हेमाङ्गदले परापूर्वकालमा यो पर्व सुरु गरेपछि मिथिलामा मनाउन थालिएको विश्वास गरिन्छ । उहाँ स्वयंम ज्योतिषी समेत रहनु भएको र यो तिथिमा चन्द्र र गणेशको पूजा गरेमा विशिष्ट फल प्राप्त हुने भनेर प्रचारप्रसार गरेपछि मानिसहरुले यो पर्वमनाउन थालेको हो । ्
यस पर्वका अवसरमा चामल र गहुँको पिठोका विभिन्न प्रकारका पकवान बनाइन्छ । केरा, नरिवल, फलफूल, मिठाइ र दही पूजाका सामग्रिको रुपमा राखिन्छ । घरको आँगनमा चौंठचन्द्रको पूजा गरिन्छ । यस पर्वमा पूजा गर्न महिला वा पुरुष दिनभरि उपवासमा बस्ने गर्छन् । पूजा गर्नुअघि मैथिलानीले आँगनमा चामलको पिठोको कलात्मक अरिपन बनाउँछन । अरिपन गरिएको स्थलमा पूजाका सामग्री राखिन्छ । त्यसपछि व्रतालु महिला वा पुरुष धार्मिक विधिपूर्व मन्त्रोच्चारण गरी गणेश, चन्द्रमाका साथै विभिन्न देवीदेउताको पूजा गर्ने परम्परा रहेको छ । प्रसाद अर्पण नगरी चन्द्रमाको दर्शन गरेमा मिथ्या कलङ्क लाग्ने किंवदन्ती रहिआएको छ । त्यसकारण मैथिल समुदायमा यो पर्व नमाउनेहरू सो दिन आकाशतर्फ हेर्न चाहँदैनन् ।
धार्मिकग्रन्थ भविष्यपुराणमा उल्लेख गरिएनुसार भगवान कृष्ण पनि भाद्र शुक्ल चतुर्थीको राति चन्द्रमालाई हेरेपछि मिथ्या कलंकबाट प्रताडित हुनुपरेको थियो । नारदमुनिको सल्लाहमा भाद्र शुक्ल चतुर्थीका दिन कृष्णले चन्द्रमा र गणेशको पूजा गरेपछि मिथ्या कलङ्कबाट छुटकारा पाउनुभएको थियो । परापूर्वकालमा सत्राजितले सूर्यको तपस्या गरी वरदानस्वरूप प्राप्त गरेको स्यमन्तक मणिको चोरीको मिथ्या आरोप कृष्णमाथि लागेको धार्मिक ग्रन्थमा उल्लेख छ ।

एक समय, ब्रह्मा, विष्णु र महेशले सृष्टिको कल्याणका लागि गणेशको अष्टसिद्धि पूजा गरेका थिए । उक्त पूजामा सहभागी भई आकाशमार्गबाट फर्किरहेका बेलामा गणेशको दृष्टि चन्द्रमामा परेको र चन्द्रमाले गणेशलाई विचित्ररूपमा देखेपछि उपहास गरेका थिए । त्यसपछि गणेश रिसाएर चन्द्रमालाई आफ्नो सौन्दर्यमाथि घमण्ड देखाएको भन्दै कान्तिक्षय हुने र जो कोही हेर्छ उनलाई मिथ्या कलङ्क लाग्छ भनेर श्राप दिएका थिए ।
त्यसपछि चन्द्रमाको सुन्दरता क्षीण हुन लागेको र कालो अनुहारले लज्जित महसुस गरी उनी समुद्रमा लुकेर बसेको भविष्य पुराणमा उल्लेख छ । त्यसपछि देवगणले चन्द्रमालाई श्रापबाट मुक्त हुनका लागि ब्रह्मा समक्ष जाहेरी गर्दा गणेशको पूजा गर्न सल्लाह दिएका थिए । चन्द्रमाले गणेशको पूजापाठ गरेपछि उनी श्रापबाट मुक्त भएको धार्मिकग्रन्थमा उल्लेख छ ।
भाद्र शुक्ल चतुर्थी तिथिमा विशेष पूजापाठ गरी चन्द्रमाको दर्शन गरेमा मिथ्या कलङ्क लाग्ने छैन र मनोवाञ्छित फल प्राप्त हुने वरदान गणेशले दिनुभएको हो । त्यस समयदेखि नै चौंठचन्द्र पर्व सुरु भएको विश्वास गरिन्छ ।
त्यस्तै मिथिलञ्चलमा पनि तीज पर्व धुमधामका साथ मनाउन लागेका छन् । तीजको अवसरमा रामचौक स्थित गणेश युवा कमिटीले भव्य कार्यक्रमको आयोजना गरेको छ । प्रत्येक वर्ष झै यसवर्ष पनि तीजमा नृत्य गर्ने महिला श्रद्धालुहरुका लागि स्टेजको व्यवस्था गरिएको कमिटीका अध्यक्ष सुनिल लाल दासले जानकारी गराएका छन् ।
उनले विगत झै यसवर्ष पनि गणेश पूजनोत्सव र तीज पर्वलाई महत्वका साथ मनाउन लागेको बताएका छन् ।
हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ । आज हिन्दु महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र तिजका गीतमा नाचगान गर्छन् । 

No comments:

Post a Comment