Thursday, September 6, 2018

‘वडा सदस्यद्वारा मेयर साहमाथि आरोप’


जनकपुरधाम, २१ भदौ । महोत्तरीको भंगहा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टीबाट वडा नम्बर ३ को सदस्य पदमा निर्वाचित राजेश कुमार यादवले नगरपालिकाका मेयर संजिव कुमार साहमाथि आरोप लगाएका छन् । उनले  मेयर साहले मनोमानी र एकलौटी रूपमा अघि बढेको भन्दै विरोध समेत जनाएका छन ।
मेयर साहको कार्यशैली नागरिक र विकासविरोधी भएको दाबी गर्दै वडा सदस्य यादवले त्यसविरुद्ध जनदबाब सिर्जना गर्ने पनि जनाएका छन । उनले राजपाबाट चुनिएका वडाध्यक्षहरू कार्यपालिका सदस्य भएको र उनीहरू सरकार पक्ष भएपनि मेयरले बहुमतको घमण्ड गरेर अन्य दलबाट निर्वाचित भएकाहरुलाई बाइपास गर्ने गरेको उनको आरोप छ । अहिलेसम्म कुनैपनि महत्वपूर्ण विषयमा परामर्श एवं छलफलसमेत नगराई बहुमतको बलमा नै ती निर्णयहरू पारित गराएको भन्दै केही वडाध्यक्षहरूले पनि चर्को असन्तुष्टि पोखेका छन ।
वडा सदस्य यादवले २०७४÷०७५ को कार्ययोजना अन्तर्गत भंगहा नगरपालिका वडा नम्बर ३ कटैयास्थित जनता आधारभुत विद्यालयको काम मेयर साहले अपारदर्शी रुपमा गराएको,नगरपालिकाका ९ वटै वडाको राजश्व संकलन भएको शीर्षक माग गर्दा उपलब्ध नगराएको,२०७४÷०७५ को हरहिसाव पारदर्शी नगरेको,रामनगर विर्ता(४ स्थित पोखरी खन्नमा अनियमितता गरेको लगायतका विषयमा परामर्श एवं निर्णय पनि नगराई मेयर साहले एकलौटी र मनोमानी गरेको आरोप लगाए ।
उनले मेयर साहमा बहुमतको घमण्ड देखापरेको र त्यसैअनुसार उनको निर्णय, कार्यशैली नगरवासी र नगरको हितमा पनि नभएको बताए । उनले भने, ‘बहुमत नागरिक र नगरको हितमा उपयोग गर्नुपर्ने हो । तर, अहिलेसम्म नेतृत्वको कार्यशैली हेर्दा मनोमानी,एकलौटी छ, मसँग बहुमत छ भन्दैमा जे पायो त्यही निर्णय गरेर हिँडेको देखिन्छ । विधि र प्रक्रियालाई मिचेर काम गरेका छन ।’पछिल्लो समय मेयर साहले प्रक्रिया नै नपु¥याई निर्णयहरू सार्वजनिक नगरी अपारदर्शी बनेको लगायत विषयमा आलोचित बन्दै आएका छन् । यस्तै,बास्केट फन्ड बनाएर जथाभावी रूपमा मेयरले बजेट बाँडिरहेको पनि उनको आरोप छ ।राजपाले ‘सेटिङ’मा ठेक्का लगाएको र अन्य दलबाट जितेका प्रतिनिधिहरूसँग समन्वय नगरी वडामा बजेट लैजाने,काममा बाधा गर्ने गरेको पनि आरोप लगाएका छन । ‘हामीसँग छलफल हुँदैन, कुरा पनि सुन्न चाहनुहुन्न,’ उनले भने । वडा नम्बर १ का अध्यक्ष रामेश्वर सिंहले कार्यपालिका बैठकको एजेन्डाबारे जानकारी गराउन आग्रह गरेपनि बिना जानकारी म्यासेजबाट बैठकमा बोलाउने र कुरा नसुनी निर्णय गर्ने गरेको आरोप लगाए ।
वडा नम्बर ८ का अध्यक्ष रफिद आलमले पनि मेयरले एकलौटी ढंगबाट काम गरेको भन्दै असन्तुष्टि जनाए । तर, आफूहरूले वडाको बजेट त्यसरी नदिने भनेर अस्वीकार गरेको पनि उनीहरूले बताए । भदौ २० गते बुधबार नगरपालिकाको परिषदको बन्द सत्रमा मेयर साहले आफुहरुसँग दुव्र्यवहार समेत गरेको उनीहरुले आरोप लगाएका छन । बैठकमा हरहिसाव पारदर्शी गर्नुपर्ने माग गर्दै उनीहरुले माईन्युटमा ‘नोट अफ डिसेन्ट’ लेखि असहमति समेत जनाएका थिए । बुधबारको परिषद बैठकमा वडा नम्बर ३ का अध्यक्ष रामेश्वर सिंह लगायत बोर्डका सदस्यहरु,वडा नम्बर ८ का अध्यक्ष रफिद आलम सहित वोर्डका सदस्यहरु र वडा नम्बर ९ का ४ जना सदस्य लगायत करिव १५ जनाले बैठक बहिष्कार गरेका थिए । यता,मेयर संजिव कुमार साहले भने नेकपाको आरोप र असन्तुष्टिको कुनै औचित्य नभएको प्रतिक्रिया दिएका छन् । उनले राजनीतिक विषयमा बाहेक अन्य विकास निर्माण र प्रशासनिक काममा स्थानीय सरकारले कसैसँग परामर्श नगर्ने पनि बताए । उनले भने, ‘नागरिकले बहुमत दिलाएको स्थानीय सरकार छ, नियम(कानुनको परिधिमा रहेर निर्णय गर्छ । राजनीतिक महत्वपूर्ण विषय भएमात्र परामर्श गर्ने हो, नत्र विकास र प्रशासनिक काममा अरूसँग परामर्श गरिरहनु पर्दैन ।’

No comments:

Post a Comment