Wednesday, November 29, 2017

जनकपुरसंग विश्वका हिन्दुहरुलाई जोडने छु ः महतो


बाल्यकालदेखि धर्मकर्ममा लागेका राष्टिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता तथा धनुषा निर्वाचन क्षेत्र नं. ३ को ख बाट समानुपातिकमा उम्मेदवारी दिएका राजेश महतोसँग निर्वाचन सम्बन्धी दैनिक जनकपुरसँग भएको कुराकानीको संक्षेप्ति अंश–


तपाईको समानुपातिक तर्फ सांसदका लागि उम्मेदवारी किन ?
मेरो उम्मेदवारी देशलाई हिन्दु राष्ट्रको रुपमा कायम गर्न तथा युवा वर्गलाई देशको मूलधारमा ल्यानका लागि परेको छ ।
यो देशमा धेरै जात समुदायका व्यक्तिहरु बस्छन, फेरी हिन्दु राष्ट्र किन बनाउनु पर्यो ?
जसरी सबै जातजाति, समुदाय आफ्नो पहिचान खोजी रहेका छन् त्यसरी नै राष्ट्रिय पहिचान हुनु आवश्यक छ । हाम्रो देशलाई पूरै विश्वले हिन्दु राष्ट्रको रुपमा चिन्ने गथ्र्यो । तर पहिचान नै अहिले हामी गुमाई सकेका छौँ, केही राष्ट्रघातीहरुका कारण । संविधान निर्माण गर्ने क्रममा केही राष्ट्रघातीहरुको समुहले हाम्रो देशको पहिचानलाई नै खोस्यो ।
तपाई जनकपुर क्षेत्रबाट सांसदका लागि उम्मेदवार बन्नु भएको छ, यस क्षेत्रको विकासका लागि तपाईसंग कुनै ठोस योजना छन वा छैनन ?
जनकपुरका युवाहरु अहिले भटकी रहेका छन । सबैभन्दा पहिला युवा वर्गलाई मूलाधारमा ल्याउने छु । जनकपुर विश्वहरुकै हिन्दुहरुको केन्द्र रहेको छ । जनकपुरलाई अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्रको रुपमा विकास गर्नु छ । यसका साथै जनकपुरको सबैभन्दा ठूलो उत्सव विवाहपञ्चमी महोत्सवलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नु आवश्यक छ । विवाह पञ्चमी महोत्सवको दिनलाई अन्तर्राष्ट्रिय विवाह दिवसको रुपमा विकास गर्न सकिए जनकपुरले चौतर्फी फाइदा उठाउन सक्छ ।
यो क्षेत्र कृषि प्रधान क्षेत्र रहेको छ यस विषयमा केही बोल्नु भएन ?
हो, मसंग कृषिका लागि पनि योजनाहरु रहेका छन । पुरानो पद्धतीबाट अब कृषि क्षेत्रलाई विकास गर्न सक्ने अवस्था अब म देखिद्यन । यसका लागि कृषिमा आधुनिकिकरण ल्याउनु अति आवश्यक देखिन्छ । कृषिमा आधुनिकीकरण ल्याउनका लागि यहाँम नयाँ नयाँ प्रविधि ल्याउने दिशामा मैले पहल गर्नेछु ।
चुनावकै समयमा नै यस्ता प्रतिबद्धताहरु किन ?
अन्य उम्मेदवारहरु चुनावकै समयमा यस्ता कुृरा गर्छन होला तर म के प्रतिबद्धता व्यक्त गर्न चाहन्छु भने चुनाव पहिले पनि मेरो एउटै उद्देश्य थियो देशलाई हिन्दु राष्ट बनाउनु चुनावपछि पछि पनि यही उद्देश्य रह्ने छ ।
शिक्षाको दृष्टिकोणले धनुषा एकदमै पिछडिएको जिल्ला रहेको छ, यहाँको शैक्षिक स्तर माथि उकास्न के के गर्नु हुनेछ ?
शिक्षा मानव जीवनको विकासका लागि अभिन्न अंग रहेको छ । तर विडम्वना यहाँका सरकारी विद्यालयहरुको अवस्था झन झन खस्कदै गई रहेको छ । यहाँका गरिब विद्यार्थीहरु सरकारी विद्यालयमा पढ्छन जहाँ पढाई नै हुँदैन । धनी वर्गका व्यक्तिहरुको सन्तान निजि विद्यालयमा पढी हाल्छन । फलस्वरुप गरिब तप्काका विद्यार्थीहरु शिक्षाको पहुँचबाट टाढिदै गई रहेका छन । अन्य मुलुकहरुमा निजि विद्यालयभन्दा पनि सरकारी विद्यालयमा सबै विश्वास गर्ने गर्छन । तर हाम्रो देशमा त्यसको विपरित रहेको छ । शिक्षा नीतिमा आमूल परिवर्तन ल्यानु अति आवश्यक छ । यसका लागि म काम गर्नेछु ।
जनकपुर प्राचिन शहर हो यहाँका मठ मन्दिरहरुको संरक्षणका लागि के के गर्नु हुनेछ ?
जनकपुर मठ मन्दिर तथा पोखरीहरुको शहर हो । जनकपुर नेपालकै प्राचिन शहरहरु मध्ये एक शहर हो । यहाँका मन्दिर तथा पोखरीहरु पनि प्राचिन इतिहास बोकेको छ । यहाँका मठ मन्दिरहरु संरक्षणको पर्खाईमा रहेको छ । यदि यी मठ मन्दिर तथा पोखरीहरुलाई संरक्षण गरी विश्वकै हिन्दुहरुलाई जोड्न सकियो भने पर्यटकीय स्थलको रुपमा जनकपुरले फडको मार्ने छ । मठ मन्दिर तथा पोखरीहरुलाई संरक्षण गर्नु आवश्यक छ । यसका लागि पुननिर्माण होइन संरक्षण गर्नु पर्छ । प्रादेशिक सरकारहरुसंग कुरा गरी नयाँ नयाँ प्रविधि ल्याई पुरानै संरचनालाई संरक्षण गर्ने दिशामा पहल गर्ने तर्फ काम गर्नु पर्छ ।
बजेट कसरी उपलब्ध गराउनु हुन्छ ?
बजेट भन्दा पनि पहिला नीति बनाउनु आवश्यक छ । नीति बनेपछि सरकारसंग बजेटको विषयमा छलफल हुनेछ ।
अन्तमा के भन्न चाहनु हुन्छ ?
धनुषावासीले पहिले धेरै धोखा खाई सक्नु भएको छ । अब म माथि विश्वास गर्नुस । हिन्दुत्वको नाउँमा बहरिया बाट धोखा खाइ सकेका छन । म जनकपुरमै जन्मेकोले म माथि विश्वास गर्ने आधार रहेको छ ।