Friday, June 26, 2015

विद्यालयको शैक्षिक अवस्था र सुधारको आवश्यकता

कैलास दास
सरकारी विद्यालयको शैक्षिक अवस्था दिनप्रतिदिन खस्दिै गएको छ । शुक्रवार आएको एसएलसी परीक्षाको परिणामले पनि स्पष्ट देखाएको छ । सामुदायिक विद्यालयका ३३.१८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जबकि सामुदायिकको तुलनामा न्यून तलब र सुविधा हुने संस्थागत अर्थात् निजी विद्यालयको उत्तीर्ण प्रतिशत भने ८९.३० रहेको छ । एकै प्रकारको शिक्षा प्रणाली र परीक्षा प्रणालीभित्र देखिएको नतिजाको यो अन्तरले सरकारले विद्यालय शिक्षामा गरेको लगानीको सदुपयोग हुन नसकेको प्रस्ट झल्किन्छ । चालू आर्थिक वर्षका लागि शिक्षामा राज्यले ८६ अर्ब रुपैयाँ बजेट छुट्ट्याएको हो । यसको ८० प्रतिशत विद्यालय तहमा खर्च हुने सरकारी तथ्यांक छ, जुन अधिकांश शिक्षकको तलबभत्तामा जान्छ । सामुदायिकतर्फ ३ लाख २ हजार ३ सय ९९ जना परीक्षामा सहभागी भएकोमा १ लाख ३ सय ४२ जना उत्तीर्ण भएको छ । निजीतर्फका १ लाख २ हजार ९ सय ३९ परीक्षार्थीमा ९१ हजार नौ सय २५ जना पास भएको हो ।
के कारण हुन सक्छ त ? बहस गर्दा कम पढाउने र बढी राजनीति गर्ने शिक्षकका कारण सामुदायिकतर्फ नतिजा राम्रो नआएको हो । शिक्षक नियुक्त गर्दा क्षमतावानलाई पाखा लगाएर राजनीतिक आस्थाका आधारमा गर्दा पनि यस्तो भएको विज्ञहरूको धारणा छ । नीतिगत सुधार नहुनु, व्यवस्थापन समितिमा राजनीति, हुनेखाने र सचेत वर्गले सामुदायिक विद्यालयलाई आफ्नो नठान्नु, शिक्षकलाई जागरुक बनाउने नीतिगत तहका अधिकारीले जिम्मेवारी वहन नगर्नु पनि सामुदायिक विद्यालय पछि पर्नुका कारण हुन् ।
धनुषा जिल्लाका सरकारी विद्यालयहरुको पठनपाठनको अवस्था चिन्ताजनक रहेको पाइएको छ । जिल्ला शिक्षा कार्यालयद्वारा सरकारी विद्यालयहरुको अनुगमनका क्रममा सो अवस्था पाइएको हो । कतिपय विद्यालयहरु बन्द अवस्थामा रहेको, खुलेका विद्यालयहरुमा शिक्षकहरु अनुपस्थित रहेको, विद्यालयका प्रधानाध्यापक उपस्थित रहे पनि शिक्षकहरु उपस्थित नरहेको पाइएको जानकारी दिइएको छ । विद्यालयहरुमा विद्यालयको हाजिरी खातामा अधिक विद्यार्थीको संख्या देखाइए पनि ३० प्रतिशत विद्यार्थी मात्र उपस्थित रहेको तथा विद्यालयका शिक्षकहरु निजी विद्यालयमा पढाउन अधिक समय दिने गरेको समेत अनुगमनका क्रममा पाइएको हो । शिक्षकहरु बिना सूचना नै विद्यालयमा अनुपस्थित रहने गरेका र पठनपाठनभन्दा पनि राजनीतिक गतिविधिमा अधिक सक्रियता देखाउने गरेका कारण सरकारी विद्यालयहरुको शिक्षणप्रति नकारात्मक सोच विकसित भएको जानकारी प्राप्त भएको छ ।
विद्यालयको शैक्षिक सुधारका लागि सबै पक्ष लागेपनि दण्ड र पुरस्कारको व्यवस्था सरकारले गर्न नसकेकोले समस्या पनि शैक्षिक स्तर खसिदै गएको हो । हाम्रो देशको शिक्षा समस्यै समस्याले जेलिएको छ । यो सत्य कसैबाट लुकेको पनि छैन । सारक्षरताको अवस्था र बेरोजगारीहरूको भीडले पनि यस सत्यलाई प्रमाणित गर्दछ । सरकारी तथ्यांड्ढले बल्लतल्ल ५२ प्रतिशत नेपाली साक्षर भएको देखाउँछ । एक्काइसौं शताब्दीमा प्रवेश गरेको एक दशकभन्दा बढी भइसक्दा पनि ४८ प्रतिशत नेपाली निरक्षर हुनु कति भयावह स्थिति हो सजिलै बुझ्न सकिन्छ । राज्यले प्रदान गर्ने शिक्षा दिन प्रतिदिन कमजोर बनिरहेको छ भने आधारभूत शिक्षाबाट वञ्चित रहेकाहरू राज्यका लागि नै समस्याको रूपमा देखा परिरहेका छन् । आधारभूत शिक्षा सबैका निम्ति पु¥याउने भनेर कैयौं वर्षदेखि सरकारले आफ्ना कार्यक्रमहरू दाता राष्टूहरूको सहयोगमा अघि बढाउँदै आएको छ । सबैलाई शिक्षा दिन विद्यालय र विभिन्न रूपमा शिक्षकहरूको संख्यामा पनि वृद्धि भएको छ भने अर्कोतिर शिक्षाको अभावमा सोभन्दा बढी विद्यार्थीहरूको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ ।
नेपालका शिक्षाको स्तरलाई हेर्ने हो भने सरकारी विद्यालयभन्दा बढी गैर सरकारी विद्यालयहरुमा छात्र(छात्राहरुको संख्या उल्लेख्य रुपमा देखिने गरेको छ । जबकि सरकारी विद्यालयमा सरकारले विद्यार्थी तथा शिक्षकहरुलाई भरपूर सुविधा प्रदान गरेका छन् । शिक्षा मन्त्रालय भवन निर्माणदेखि लिएर विद्यालय सुधारमा अर्बो रुपियाँ खर्चिएपनि सरकारको नीति स्पष्ट वा कडाई नहुँदा यहाँका अधिकांश विद्यार्थी गैर विद्यालयमा पढन बाध्य भएको हुन्छ ।
नेपालले सन् २०१५ सम्म सबैलाई आधारभूत शिक्षाको अवसर प्रदान गर्ने वाचा गरे तापनि त्यस अवधिसम्म सबै साक्षर हुने विश्वास सरकारको काम गर्ने तरिका हेर्दा आम नेपालीले पत्याएको छैन । आधारभूत शिक्षा नागरिकको नैसर्गिक हक भए तापनि हाम्रो देश अझै निरक्षरताको जालोमा छ ।     लोकतन्त्रात्मक ग्णतन्त्रको प्राप्तिपछि शिक्षामा गरिएको ठूलो लगानीबाट प्राप्त परिणाम निराशाजनक अवस्थामा रहेको छ । देशमा सरकारी विद्यालयमा सरकारी लगानी अत्यधिक बढेपनि शिक्षाकोस्तर अत्यन्त कमजोर देखिएको छ । अर्कोतिर संस्थागत विद्यालयको हालीमुहालीले गर्दा सरकारी विद्यालयहरू गरीबहरूका छोराछोरी पढाउने थलो बनेका छन् । भन्न के खोजिएको हो भने गुणस्तरीय शिक्षाको मारमा सबैभन्दा बढी गरीब र न्यून आय भएका बहुसंख्यक बालबालिका परेका छन् ।
शिक्षालाई सर्वसुलभ बनाउने भनिए तापनि कार्यान्वयनको अवस्था यस्तै रह्यो भने यसको पहुँच गरीबका छोराछोरी, दलित, असहाय र निम्न आय भएका वर्गसम्म पुग्न नसक्ने निश्चित देखिएको छ । वर्तमान अवस्थामा सार्वभौम सत्ता जनतामा निहित भनिएपनि शिक्षाको सवालमा समस्या जस्तोको त्यस्तै देखिएको छ । शिक्षालाई समुदायमा हस्तान्तरण गरिए तापनि नीति नियमको कमजोर कार्यान्वयनले गर्दा विद्यालयहरूको अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको छ । एकातिर स्थानीय तहमा पर्याप्त स्रोत साधन उपलब्ध छैन भने अर्कोतिर केन्द्रीय प्रभाव कायमै रहेकोले पनि समस्याहरू देखिएका छन् । यहींनिर हामी सबैले के सोच्नुपर्ने हुन्छ भने आधारभूत शिक्षाका समस्याहरू समाधान गर्ने स्थानीय दृष्टिकोण के र कस्तो हुन सक्छ ? नीति निर्माणको क्रमदेखि कार्यान्वयनको तहसम्म सर्वसाधारणको पहुँच पु¥याउन केन्द्र, क्षेत्र र जिल्लाहरूको वर्चस्व रहेको वर्तमान पृष्ठभूमिमा स्तानीय तहबाट नै शैक्षिक सुधारका योजनाहरू, नीतिहरू बन्न सक्छ वा सक्दैन ? स्थानीय अभिभावक, स्थानीय निकायहरूको शैक्षिक सुधारको प्रक्रियामा भूमिका कस्तो हुन सक्छ ? यी र यस्तै खालका अन्य प्रश्नहरूको जवाफ खोज्न स्थानीय नागरिक वा उपभोक्ताको भूमिकाबारे बहस हुनु जरुरी छ । के हामी अहिले आफ्ना सन्तानलाई राज्यले निर्माण गरेको नीति अन्तर्गतको शैक्षिक संस्थाहरूबाट शिक्षा दिलाएर खोजेको जस्तो नागरिक तयार गर्न सक्छौं वा सामुदायिक शैक्षिक संस्थामा पढ्ने केटाकेटीहरूको भविष्यको ग्यारेन्टी गर्न सक्छौं ? यस प्रश्नको उत्तर खोज्ने बेला आइसकेको छ । यी ज्वलन्त समस्याहरूको समाधान बेलैमा खोज्न सकिएन भने सिगो राष्टूको शैक्षिक भविष्य बर्बाद हुने देखिन्छ ।
आधारभूत शिक्षाका क्षेत्रमा उपभोक्ताहरूको भूमिका स्थापित गर्न विद्यमान अवस्थामा सुधारको खाँचो छ । नेपालको ठूलो लगानीको क्षेत्र रहेको आधारभूत शिक्षाबाट राज्यले सोचेको प्रतिफल प्राप्त गर्न सकिरहेको छैन । नयाँ नेपालको निर्माण वा नेपाली समाजको सुधार गर्न सक्ने शिक्षा अहिले धेरै ठाउँमा समुदायलाई हस्तान्तरण गरिएको छ तर स्थानीय अभिभावकहरूमैं जिम्मेवारी बोधको अभाव देखिएको छ । जसको फाइदा राजनीतिक दलहरूले उठाउने गरेका थुप्रै प्रमाणहरू फेला परेका छन् । यस कारण यसबारे पनि गहन छलफल आवश्यक छ । देशका शैक्षिक सूचकहरूले आधारभूत शिक्षाको अवस्था निकै कमजोर रहेको देखाएको छ । विद्यालयहरू सुधार होइन, दिन प्रतिदिन दुर्दशातिर गइरहेका छन् । आफ्नै छोराछोरी पढ्ने विद्यालयबाट पनि अभिभावकहरूमा जिम्मेवारीबोध हुन सकेको छैन । सरकारी विद्यालयहरूको अवस्था सुधार्न सम्भावनाहरूको खोजी गर्ने बेला आइसकेको छ । यसतर्फ समयमैं ध्यान नदिने हो भने सरकारी विद्यालयको शैक्षिक अवस्था झन्झन् जर्जर भएर जाने निश्चित छ ।
सबैले शिक्षा प्राप्त गरून् भन्ने उद्देश्य परिपूर्तिका लागि राज्यले अनेकौं प्रकारका शैक्षिक कार्यक्रम ल्याएको छ तर विद्यालय खोलेर र शिक्षक राखिदिएर मात्र शिक्षाको अवस्थामा सुधार नहुने कुरा छर्लङ्ग भएको छ । त्यसैले शिक्षामा सुधार ल्याउने प्रयास एउटा सामूहिक अभियानको रूपमा स्थानीय तहबाट नै शुरु हुनुपर्छ ।
नेपालको शिक्षामा दाता राष्टूहरूको ठूलो लगानी छ, तर प्रतिफल थोरै छ । वर्तमान सन्दर्भमा गाउँ(टोल वा नगरका प्रमुख व्यक्तित्वहरूले प्रत्यक्ष विद्यालयको नेतृत्व गरिरहेका छन् तर स्थानीय समुदायको निर्णयात्मक सहभागिता छैन । विद्यालयहरूको अनुगमन, निरीक्षण र व्यवस्थापन अत्यन्त कमजोर छ । विद्यालयहरूलाई राजनीति गर्ने थलो बनाइएको छ । शिक्षकहरू राजनीतिका नाउँमा विभिन्न खेमामा विभाजित छन् । व्यवस्थापनसँग प्रत्यक्ष सम्बन्धित अभिभावकहरूको पनि दैनिक अनुगमन र निरीक्षण भइरहेको छैन । उनीहरू विद्यालयजस्तो पवित्र थलोको सुधार गर्ने जिम्मा लिएर पनि स्वार्थवश भ्रष्टाचारमा लिप्त छन् ।

Saturday, June 13, 2015

मधेशको विकास चाहिन्छ भन्ने सि.के.राउत प्रवृतिको विरोध गर्नुपर्छ ः पूर्व मन्त्री महासेठ

कैलास दास
जनकपुर, जेठ ३० । जनकपुर रामचौक स्थित श्री गणेश युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण एवं पद हस्तान्तरण एक समारोह बीच सम्पन्न भएको छ ।

कमिटीका अध्यक्ष दीपक भगतको अध्यक्षतामा भएको ‘शपथ ग्रहण तथा पद हस्तान्तरण’का प्रमुख अतिथि पूर्व सिंचाई मन्त्री रघुवीर महासेठले मधेशको विकास चाहिन्छ भने सिके राउतको प्रवृतिलाई मधेशी जनताले विरोध गर्नुपर्छ बताए । महासेठले जनकपुर उद्योग वाणिज्य संघले तालिका बाहेक अनियमित विद्युत लोडसेडिङ्ग, लो(हाई भोल्टेज जस्ता समस्यालाई लिएर आमरण अनशनमा बसेकोप्रति समर्थन जनाउँदै समस्या समाधानका लागि माथिल्लो तहसम्म कुरा गर्ने बताए । उनले आईतवारसम्म जसरी पनि समस्या समाधान तर्फ गएर आमरण अनशन तोडाउने प्रतिबद्धता पनि गरे ।
पूर्व मन्त्री महासेठले जनकपुरमा केन्द्रबाट प्रसारण हुने लाइन काटेर नेपाल सरकारले अन्याय गरेको हो भन्दै नेपाल सरकारको गलत निर्णयको विरोधमा आफू पनि रहेको बताए । नेपालको ७५ जिल्ला मध्ये धनुषा विकासको क्षेत्रमा सबैभन्दा पछाडि परेको र त्यसको दोषी राज्य मात्र होइन स्थानीयवासी समेत रहेको कुरा पनि औल्याए । राजनीतिक चपेटामा परेर जनकपुरको विकास नभएको कुरा दोह¥याउँदै उनले भने विकासको नाउँमा सबै राजनीतिक दलहरु एक भएर अगाडि आउनका लागि आग्रह पनि गरे ।
उनले संविधान निर्माणको लागि जुन सहमति भएको हो त्यसको सबै बुँदामा आफ्नो सहमति नरहेको उल्लेख गर्दैै संविधान निर्माणपछि फेरी संशोेधन गर्न सकिन्छ । तर संविधान निर्माणमा मधेशवादी दलहरुलाई जुटनका लागि आग्रह गरे । उनले जनकपुरको पहिचानको रुपमा जानकी मन्दिर भएपनि महन्थहरुकै कारण पर्यटकीय स्थल हुन नसकेको आरोप पनि लगाए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले व्यापार संघको आन्दोलनलाई आपूmले माथिल्लो तहसम्म कुरा गरी सकेको भन्दै पाँचौ दिनसम्म जारी रहेपनि छिट्टै समस्या समाधान हुने बताए । उनले विद्युतको समस्या सबै ठाउँमा छ तर जनकपुर पर्यटकीय स्थल भएकोले सुधारका लागि पहल गरी सकेको बताए ।
सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा कमिटीका अध्यक्ष दीपक भगतले नवनिर्वाचित अध्यक्ष राजेश भण्डारीलाई सपथ ग्रहण तथा पदहस्तान्तरण गराएका थिए भने नवनिर्वाचित अध्यक्ष भण्डारीले उपाध्यक्ष विकेश पजियार, महासचिव रंजन  जयसवाल, सचिव भरत कुमार साह, कोषाध्यक्ष संजय कुमार साह तथा सदस्यहरु दिलिप गुप्ता, नरेन्द्र विक्रम साह,  गोविन्द भगत, मुन्ना नागवंशी, भरत महासेठ, रवि शर्मालाई शपथ ग्रहण गराएका थिए । कार्यक्रममा क्लवमा राम्रो कार्य गर्ने पदाधिकारीहरुलाई मायाको चिन्हो पनि प्रदान गरेका थिए ।
कार्यक्रममा राम युवा कमिटीका अध्यक्ष रामबाबु साह, सेभ द स्टिोरिकलका अध्यक्ष रामअशिष यादव, जउवा संघका पूर्व अध्यक्ष निर्मल चौधरी, ई.प्रकाशचन्द्र शाह, शिवशंकर साह हिरा सहितका व्यक्तिहरुले नवनिर्वाचित पदाधिकारीहरुलाइृ शुभकामन व्यक्त गरेका थिए ।

Tuesday, June 9, 2015

‘राजस्व कार्यालयका प्रमुख अनियमित तरिकाले पैसा असुलीमा’

एक्सप्रेस समाचारदाता
जनकपुर, जेष्ठ २२ । आन्तरिक राजस्व कार्यालय जनकपुरका कार्यालय प्रमुख अनियमित तरिकाले पैसा असुली गर्ने गरेको खुलासा भएको छ । राजस्व चुहावट गर्नेमाथि कारवाही गरिने कार्यालयको रुपमा आन्तरिक राजस्व कार्यालय नै रहेको छ । तर राजस्व कार्यालयका प्रमुखले नै राजस्व चुहावट गर्ने गरेको स्रोतले जनाएका छन् ।

स्रोतका अनुसार कार्यालय प्रमुख पूर्ण बहादुर न्यौपाने आफैले इट्टा उद्योग, औषधी पसले, चिकित्सालय, कलकारखाना लगायतका सञ्चालकहरुलाई बोलाएर रकमको बार्गेनिङ्ग गर्ने गरेको जनाएका छन् । इट्टा उद्योगबाट शुरु गरेको रकम असुली अहिले औषधी पसल, चिकित्साल्य, मदिरा उद्योग एवं कलकारखानामा पनि असुलीमा गर्ने गरेको हो ।
‘आफू पहाडबाट मधेशमा आएको छु, त्यसको एउटै उद्देश्य हो मधेशबाट पैसा कमाउनु’ प्रमुख पूर्ण बहादुर न्यौपानेले जनकपुरको एउटा होटलमा मदिरापान गरिरहेकै बेला भने–‘मिलाउने काम मेरो हो नि !’ मासिक रुपमा पैसा नदिने उद्योगी व्यवासायमा छड्के गर्ने, कागजातहरु कार्यालयमा ल्याउने र कुरा मिलेपछि फेरी छाडिदिने दिनचर्या नै बनेको हो । इट्टा उद्योगीहरुसँग २० देखि ३० लाखसम्म राजस्वको ढाढस दिएर भयभित गरी पाँच सात लाखमा फेरी कागजहरु दिने गरेको नाम नखुलाउने सर्तमा एकजनाले बताएका छन ।
जनकपुर अञ्चलमा एक सयभन्दा बढी ईट्टा उद्योग रहेको छ । रेग्मी सरकारको बेलामा इट्टा उद्योगमा राजस्व लागू गरेपछि सोको फाइदा राजस्व कार्यालयका प्रमुखले लिने गरेको भट्टा उद्योगमा कार्यरत एकजना कर्मचारीले बताए । स्रोतका अनुसार पहिलो पटक चारवटा इटा उद्योगमा छड्ेके गरेका थिए । छड्केको क्रममा ल्याइएको कागजातहरु बिना जाँच पडताल गरी छाड्ने गरेको स्रोतको दावीको छ । इटा भट्टा संचालकलाई काटिएको पत्रमा चलानी र दर्ता नम्वर पनि देखिएको छैन ।
पहिलो चरणमा माँ इटटा उद्योग, गणेश इटा उद्योग, श्रीराम इटा उद्योग, लाभ इटा उद्योगमा छड्के गरेका थिए । उनीहरुसित केही रकम राजस्व र केही आफ्नो खल्तीमा जाने गरी कागजातहरु फर्काइएको स्रोतले जनाएका छन् । इट्टा भट्टा संघका अध्यक्ष विनाय यादवसँग सम्पर्क गर्दा उनले राजस्व कार्यालयबाट छड्के गरेको यथार्थ हो । तर असारमसान्त भित्र राजस्व बुझाउने सर्तमा उनीहरुलाई छोडिएको जनाए् । तर नाम नलेखिने सर्तमा एकजना इटा उद्योगीले आफूले राजस्व र प्रमुखलाई पैसा दिएपछि सबै कागजातहरु फिर्ता गरिएको बताए ।
अर्को चरणमा शुभ इटा उद्योग, नविन इटा उद्योग, रियल इटा उद्योग, भगवती इटा उद्योग, शिवानी इटा उद्योग, साथी इटा उद्योग लगायत आठ वटा उद्योगहरुमा छड्के गरेको छ ।
तर छडेकोको क्रममा ल्याइएको कागजातहरुको कहाँसम्म कारवाही गरिएको आन्तरिक राजस्व कार्यालयका प्रमुखसँग सम्पर्क गर्दा उनले आफूले आफ्नो किसिमले कार्य गरिरहेको बताए । केही निजी डेरी उद्योग तथा डाक्टरहरुको क्लिनिकमा पनि रकमको बार्गेनिङ्ग गर्ने गरेको स्रोतले दावी गरेका छन् ।