Tuesday, October 31, 2017

निर्माणाधिन महेन्द्र नारायण निधि मिथिला सांस्कृतीक केन्द्र जिर्ण बन्दै


जनकपुरधाम, १४ कार्तिक । विगत १७ बर्ष देखि निर्माणाधिन महेन्द्रनारायण निधि मिथिला सांस्कृतीक केन्द्र जिर्ण अवस्थामा पुग्न थालेको छ । निर्माण कार्य पूरा हुनुभन्दा अगावै यो केन्द्र उद्धार गर्नुपर्ने अवस्थामा पुगेको छ । हुनत यो सांस्कृतिक केन्द्रका नयाँ संरचना थप्नका लागि रकम पटक पटक निकासा हुँदै आएको छ । तर निर्माण भई सकेको संरचना समेत जिर्ण हुन थालेपछि महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्र उद्धारको पर्खाईमा रहेको छ ।
वि.सं. २०५७ सालमा नेपाली कांग्रेसको पहलमा निर्माण सुरु भएको सो सांस्कृतीक केन्द्रलाई कांग्रेसका बरिष्ठ नेता विमलेन्द्र निधिका बुवा महेन्द्रनारायण निधिको नाउँमा नामाकरण गरिएको थियो ।  केन्द्रको निर्माण कार्य सम्पन्न गराउन ७ करोड ७२ लाख ४८ हजार ७१ रुपैंया २४ पैसाको एस्टीमेट अगाडी सारिएको थियो । एस्टिमेट गरिएकोभन्दा २ करोड बढी रकम खर्चि सकिएपनि हाल सम्म केन्द्रको पनर्माण कार्य पूरा हुन सकेको छैन ।  महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्दको निर्माण कार्य पूरा गर्नका लागि १० करोडभन्दा बढी रकम खर्च भई सकेको छ । सरकारी उदासिनताका कारण सो केन्द्रको निर्माण कार्य पूरा हुन नसकेको अधिकारीहरु बताउँछन । रकम अभाव तथा पटक पटक ठेकेदार परिवर्तन गर्नुपर्ने जस्तो समस्याका कारण केन्द्रको निर्माण कार्य १७ बर्षदेखि अधुरै रहेको छ ।
आर्थिक बर्ष २०५७÷०५८ मा केन्दको सभाहल निर्माणका लागि एनसिसिएन कन्ट्रयाक्टरलाई १६ लाख ९२ हजार ७९ रुपैंयामा ठेक्का दिईएको थियो ।  आर्थिक बर्ष २०५८÷०५९ मा बजेट निकासा नहुँदा काम अगाडी बढ्न सकेन । आर्थिक बर्ष २०५९÷०६० मा संग्रहालय र पुस्तकालय निर्माणका लागि रामजानकी कन्सट्रक्सनलाई ३२ लाख ३२ हजार ९९ रुपैंया, आर्थिक बर्ष ०६०÷०६१ मा पुनः सभाहलकै लागि रामजानकी कन्सट्रक्सनलाई ४० लाख १२ हजार ४६७ रुपैंया, आर्थिक बर्ष २०६१÷०६२ मा पुस्तकालय र संग्रहालयको लागि सुरेश कन्सट्रक्सनलाई ११ लाख ८९५ रुपैंयामा ठेक्का दिईएको थियो । आर्थिक बर्ष २०६२÷०६३ मा संग्रहालयको लागि नरेश कन्सट्रक्सनलाई २७ लाख ८८ हजार ५१ रुपैंया आर्थिक बर्ष २०६३÷०६४ मा फुयाल एन्ड फुयाल कम्पनीलाई ४८ लाख ३६ हजार ५५६ रुपैंयाको ठेक्का पाएको थियो । २०६५ साल असोज ४ गते कालिका रमक जे.भि.कन्सट्रक्सनले अडिटोरियम भवन निर्माणको २०७१मा सम्पन्न गरेपनि अहिलेपनि थुप्रै निर्माण कार्यहरु लथालिंग अवस्थामै रहेको छ ।
जिर्ण अवस्थामा रहेको केन्द्र प्रयोगविहिन भएपछि वि.सं. २०६० सालदेखि जिल्ला प्रहरी कार्यालय धनुषाले आफ्ना प्रहरी जवान र कर्मचारीहरुलाई त्यहाँ आवासको व्यवस्था गरेको छ

भारतीय राष्ट्रपति कोविन्द जनकपुर आउने


जनकपुरधाम, १४ कात्तिक । जनकपुर उपमहानगरपालिका भित्रमै श्री रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्य रंगशाला निर्माणका लागि ८० प्रतिशत कागजी कार्य पुरा भई सकेको जनाइएको छ ।
नगरपालिका भित्रमै करीब १७ कट्ठा जग्गमा निर्माण हुन लागेको सो रंगशाला निर्माणका लागि तत्काल ६ अर्ब रुपैयाको व्यवस्था समेत भई सकेको र शिलान्यासका लागि भारतीय राष्ट्रपति रामनाथ कोविन्द जनकपुर आउने करीब करीब निश्चित रहेको छ ।
धनुष आकारको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि नक्सा तयार भएको र सो रंगशालामा एक्कैसाथ हाँकी, फुटबल, एथलेटिक्स, स्वीमिङ्गपुल तथा क्रिकेट खेल्न सकिनेछ ।
रामजानकी खेलकुद विकास समितिका अध्यक्ष दिनेश पूर्वेले यस्ता आकारको रंगशाला विश्वमै नरहेको दावी गर्दै यो निर्माण पश्चात् प्रदेश नं. २ मा आर्थिक क्रान्ति आउने विश्वास गरेका छन् ।
उनले वि.सं. २०१९ मा हुने १३ औं सार्कगेम रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्य रंगशालामै हुनेछ । यो रंगशालाको कन्सेप्ट आफूले दिएर डिजाइन भारतका इन्जिनियरले गरिसकेको बताएका छन् ।
समितिका अध्यक्ष पूर्वेले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा पश्चात् नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दले संयुक्त रुपमा शिलान्यास गर्नेछन् । शिलान्यास पश्चात् दुईवर्षभित्रमा रंगशाला निर्माण गर्ने लक्ष्य रहेको उनले दावी गरेका छन् ।

Monday, October 30, 2017

नेपाल भारतका विद्धानद्धारा सीतायणको लोकापर्ण


जनकपुरधाम, १२ कात्तिक । जनकपुरधाममा नेपाल भारतका विद्धानहरु संयुक्त रुपमा धार्मिक ग्रन्थ सीतायणको एक समारोह बीच लोकार्पण गरिएको छ ।
भारतको इलाहावादका डा. गोविन्द राजनद्वारा लिखित ‘रामायण’ नामक पुस्तकको लोकार्पणमा नेपाल भारतका एक दर्जनभन्दा बढी विद्वानहरुले लोकार्पण पश्चात पुस्तकको बारेमा समीक्षा गरेका छन् ।
नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम र भाषा संगम इलाहावादको संयुक्त आयोजनामा भएको लोकार्पण तथा कवि गोष्ठीका प्रमुख अतिथि हिन्दी विभागका प्रमुख डा.सूर्यनाथ गोपले ‘सीतायण’ पुस्तकको प्रकाशनले मैथिला भूमिको साँस्कृतिक तथा धार्मिक उजागर हुने विश्वास व्यक्त गरेका छन् । उनले यो पुस्तक धार्मिक गौरवको रुपमा रहेको बताएका छन् ।
प्रतिष्ठानका अध्यक्ष राजेश्वर नेपालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा हिन्दी विभागका प्रमुख स्वेता दिप्ती, पूर्वमन्त्री गणेश नेपाली, डा. रामचन्द्र राय, डा. आशा सिन्हा, वरिष्ठ पत्रकार रामभरोस कापडि लगायतका व्यक्तिहरुले  आ आफ्ना धारणा राखेका थिए ।

जनकपुरमा ७२ सीटको विमान सञ्चालनमा


जनकपुर समाचारदाता
जनकपुरधाम, १२ कात्तिक । जनकपुर विमान स्थलमा ७२ सीटको विमान सञ्चालनमा आउन लागेको छ ।
जनकपुर विमान स्थलका प्रमुख मुरारी प्रसाद पौडेलले ७२ सीटको विमानका लागि सबै पूर्वाधार तयार भई सकेको भन्दै यहि कात्तिक १५ गतेदेखि विमान सञ्चालनमा आउने जानकारी दिएका छन् ।
प्रमुख पौडेलले बुद्ध एयरको ७२ सीटको विमान पहिला पनि निरीक्षण गरी सकेको भन्दै विधिवत रुपमा कात्तिक १५ गतेदेखि निरन्तर रुपमा सञ्चालनममा आउने बताएका छन् । उनले जनकपुरमा यात्रुको बढी चाप भएको बेला बुद्ध एयरको ७२ सीटको विमान आएपछि यात्रामा सहज र भाडामा समेत कमी आउने विश्वास दिलाएका छन् ।

Monday, October 23, 2017

छठका घाटहरु बेहुली झै सजाइदै

जनकपुरधाम, ६ कातिक । अहिले मिथिलाञ्चलमा छठ पर्वको तयारी जोडतोडका साथ चलि रहेको छ । गाउँदेखि सहरसम्म छठको रौनकताले छोई रहेको छ । मिथिलाञ्चलका तलाउ, नदी तथा घाटहरूलाई सजाउने कामलाई तिव्रता प्रदान गरिएको छ ।

मिथिलाञ्चलमा बडो आस्थाका साथ मनाइने छठ पर्वमा मधेश मुलका मात्र नभई पहाडी र केही मुस्लिम समुदायले पनि छठी माईको उपवास लिन थालेकाले यो पर्वको व्यापकता बढ्दै गई रहेको छ ।
पर्व नजिकिएसँगै बजारमा किनमेल गर्नेहरुको घूइँचो बढेको छ । पूजा सामग्रीको मात्र नभई कपडा पसलहरूमा पनि ग्राहकको भीड उत्तिकै देखिन्छ । छठलाई लक्षित गरी रोजगारी तथा शिक्षा प्रयोजनका लागि देश(विदेशमा रहेकाहरू धमाधम घर फर्किन थालेका छन् ।
बाँसको पूजा सामग्री बनाउने डोमदेखि माटाका भाँडाकुँडा बनाउने कुम्हाल मात्र नभई सिन्दुर चुरापोतेको व्यापार गर्ने चुडिहार सम्म अहिले व्यस्त देखिएको छ ।
छठ पर्वको साँझ व्रतालुहरूले घरबाट विशेष पूजाका साथ सामग्री छैटीमा राखी टाउकोमा बोकेर नजिकको घाट पुग्ने गर्छन् । घाटमा गई अस्ताउन लागेको सूर्यलाई नरिवलको अघ्र्य दिन्छन् । भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई यसरी नै अघ्र्य दिएर व्रत समापन गरिन्छ ।
दलित, गैरदलित र जातपातको कुनै भेदभाव नगरी एकै घाटमा व्रतालुहरूले सूर्यलाई अघ्र्य दिइन्छ । छठको व्रत गर्दा चर्म रोग नलाग्ने, पुत्र लाभ हुने, सौभाग्य वृद्धि हुने, परिवारमा सुख, समृद्धि आउने, परिवारका सदस्यहरू सम्भावित दुर्घटनाबाट जोगिनेजस्ता धार्मिक विश्वास छ ।
जनकपुरधाम स्थित विभिन्न छठ घाटहरू सजाउने क्रम झन्डै २ साता अघिदेखि भइरहेको छ । यहाँका गंगासागर,धनुषा सागर,राम सागर,अरगजा पोखरी लगायतका दर्जन जलाशयलाई बेहुलीझैं सजाइँदै छ । अधिकांश जलाशमा यो पर्वलाई लक्षित गरी स्थायी घाटहरू नै निर्माण गरिएका छन् ।

अद्भूत पर्व ः गाईले बंगुर मार्ने प्रतियोगिता

जनकपुुरधाम, ५ कात्तिक  । हिन्दु संस्कृतिमा विभिन्न प्रकारको पर्व हर्ने गरेको छ । तर गाईले बंगुर मार्ने प्रतियोगिता धनुषाकै कतिपय ठाउँमा हुँदा अचम्भ लाग्न सक्छ । तर कुरा विलकुल सच्च हो ।
जनकपुर उपमहा नगरपालिका वडा नंं १३ मा ऐतिहासिक पर्वको रुपमा गाईले बंगुर मार्ने प्रतियोगिता भव्यताका साथ गरिएको छ ।

पिडारी बजार व्यवस्थापन तथा गौचरण व्यवस्थापन समितिले संयुक्त रुपमा आयोजना गरिएको हुर्राहुर्री कार्यक्रमका प्रमुख अतिथि जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले यस ऐतिहासिक पर्वलाई अगामी वर्षदेखि भव्यता प्रदान गर्नका लागि सबैमा आग्रह गरेका छन् ।  प्रमुख साहले ऐतिहासिक पर्व हुर्राहुर्री यस स्थलको पहिचानको रुपमा रहेको भन्दै यसलाई तीन दिवसीय कार्यक्रम गरी मनाउनका लागि स्थानीयवासीमा अपील गरेका छन् ।
जनकपुर उपमहा नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष शुभनारायण यादवको अध्यक्षतामा भएको हुर्राहुर्री तथा साँस्कृतिक दौड प्रतियोगिताका विजेताहरुलाई शील तथा कप प्रदान गरेको छ । करीब दुई सय मिटरको दौडमा १०देखि १५ वर्षको उमेरका मनिष साह प्रथम, अभिषेश पाण्डे दोस्रो तथा कमल राउत तेस्रो भएका छन् । त्यस्तै १५ भन्दा बढी उमेरको प्रतियोगितामा राजु पासमान प्रथम, विवेक कर्ण दोस्रो तथा किसन राउत तृतीय भएका छन् ।उनीहरुलाई मेयर साह लगायतका व्यक्तिहरुले शिल तथा कप प्रदान गरेका छन् ।
त्यस्तै उक्त कार्यक्रममा १०९ वर्षकी बिण देवी राउतलाई नागरिक अभिनन्दन गरेका छन् । जउमनपा मेयर साहले बिणा देवी राउतलाई दोसल्ला ओढाएर नागरिक अभिनन्दन गरेका छन् ।
हुर्राहुर्री कार्यक्रम प्रत्येक वर्ष दिपावलीको भोलिपल्ट जनकपुर १३ कभर्ड हलको गौचरणमा मनाउँदै आएको छ । यस पर्वमा भर्खरै बियाएको गाईको बच्चा (गोरु) अगाडि सुगरको (बच्चा) लाई फाल्ने गर्दछ र गाईले त्यस सुगरको बच्चालाई आफ्नो खुटटाले हत्या गर्ने चलन रहेको छ ।
त्यो भन्दा पहिला सोहराईको विरुवालाई पूजापाठ गरी माटोमा गाड्ने प्रचलन छ । जब गाईको बच्चा अगाडि सुगरको बच्चालाई फाल्ने गर्छन तब सुगर जोड कराउँछन । जति जोडले सुगरको बच्चा कराउँछ त्यति तलसम्म सोहराईको विरुवा पुग्ने मान्यता रहेको छ । गाईले सुगारलाई हत्या गरिदिएमा कसैले विरुवालाई उखाले पनि नउखल्ने जनविश्वास रहँदै आएको छ ।
कार्यक्रममा सरयुग राउत, रामचन्द्र राउत, शिवजी माली, रामदेव राउत, चुन्नी साह लगायतलाई सम्मानित गरेका छन् । कार्यक्रमको सञ्चालन विकाउ राउतले गरेका थिए ।