Sunday, October 30, 2016

भारतीय राष्ट्रपति मुखर्जीको जनकपुर भ्रमणबाट हुने फाइदाहरु

कैलास दास
जनकपुर । भारतीय राष्टूपति प्रणव मुखर्जी कात्तिक १९ गते जनकपुर भ्रमणमा आउँदै हुनुहुन्छ । राष्टूपति मुखर्जीको भ्रमणलाई लिएर जनकपुरवासी निक्कै उत्साहित देखिन्छ । दुई हप्ता अघिदेखि जनकपुरमा सरसफाई, स्वागतद्वार लगायतका विषयवस्तु यहाँ चर्चामा छन् । विगतमा राजनीतिक द्वन्दका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण स्थगित भएको थियो । तर भारतीय राष्टूपतिको जनकपुर भ्रमण जसरी पनि ऐतिहासिक एवं सफल बनाउन राजनीतिक दलका कार्यकर्ताहरु, नागरिक समाज, व्यापारी, प्रशासनिक निकाय लगायतका व्यक्तिहरु लागेका छन् ।

आखिरमा भारतीय राष्टूपति मुखर्जीको जनकपुर भ्रमणले के फाइदा होला त ? किन जनकपुरवासीहरु यति उत्साहित छन् । साँचै उहाँ जनकपुर आउँदा जनकपुरमा परिवर्तन हुन्छ त ? पहिला पनि आएकै हो । तर यसपाली राष्टूपति मुखर्जीको जनकपुर भ्रमण जसरी पनि ऐतिहासिक एवं सफल बनाउने सबैले किन लागि परेका छन्, सर्वसाधारणमा एउटा चासोको विषय हुन गएको छ ।

राष्टूपति मुखर्जीको जनकपुर भ्रमणले फोहरै फोहर रहेको जनकपुरमा अहिले ठाउँ ठाउँमा सफाई अभियान सञ्चालनमा आएको छ । विशेषगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राजनीतिक दलका प्रतिनिधि, समाजका अगुवाहरु, युवा क्लवका पदाधिकारीहरु, समाजिक संघ संस्थाका पदाधिकारीहरु देखिएका छन् । सफाई अभियानीहरु सबभन्दा पहिला राष्टूपति मुखर्जी कुन बाटोबाट आउने छ, कहाँ ठहर्ने, कुनबाटोबाट जानकी मन्दिर दर्शन गर्न जाने, त्यसपछि उहाँको नागरिक अभिनन्दन हुने लगायतका बाटोमा सफाई अभियान जोरसोरले चलिरहेको छ ।

यो भयो सफाईको कुराहरु । सडक डिभिजन कार्यालय धनुषाले सडक मर्मत कार्य समेत शुरु गरेको छ । वर्षायाममा हिलाम्य तथा घाममा धुलाम्य जस्ता सडकहरु रातोरातो मर्मत कार्य शुरु गरेको छ । सधैं नागरिक समाजले सडक मर्मत वा खल्डाखुल्डो पुर्नका लागि बन्द हडताल, नारा जुलुस लगाएपनि सम्बन्धित निकाय मौन देखिएको थियो । तर अहिले स्थानीयवासीहरु केही नभन्दैमा पनि मर्मत कार्य शुरु भएको छ । माटो पुर्ने, सडक बनाउने, सफाई हुने जस्ता कार्य प्रारम्भ हुँदा स्थानीयवासी निक्कै प्रफुल्लित भएका छन् ।
राष्टूपति मुखर्जीको भ्रमणले यी फाइदा भनौ वा जनचेतना आएको समेत भन्न सकिन्छ । प्रशासनिक निकायद्वारा सफाई, सडक मर्मत जस्ता कार्य अहिलेसम्म हाम्रै लागि भएको हो बुझेको भए जनकपुरको यस्तो अवस्था हुने थिएन । राष्टूपति मुखर्जीको जनकपुर भ्रमण कार्यक्रम मुश्किलले एक घण्टाको होला । एक घण्टाको भ्रमणले यस्तो व्यवस्था हो भन्ने हामी यहाँ सधैं बस्छौं भन्ने अझै सक्रिय र लग्नका साथ सरसफाई गर्नुपर्दथ्यो ।

अर्को फाइदामा धार्मिक एवं ऐतिहासिक नगरीको चर्चा धार्मिक ग्रन्थमा रहेको छ । जहाँ जहाँ हिन्दुहरु छन् जनकपुरको नाम उनीहरुलाई थाहा भएपनि कस्तो जनकपुर हो, यो स्थल कहाँ हो, त्यहाँका मान्छेको वातावरण कस्तो छ थाहा थिएन नहोला । तर मुखर्जीको भ्रमणले मिडिया मार्फत यी सबै कुरा उजागर होला जसले विश्वमा स्थापित हुने सम्भावना देखिएको हो जुन फाइदा नै छ । धार्मिक नगरी जनकपुर पर्यटकीय दृष्टिले विश्वमा स्थापित भएपनि विश्वका एक प्रतिशत पर्यटकहरु जनकपुरमा आई दिएको भए भने १ करोडभन्दा बढी पर्यटक हुन्छ, यसले स्थानीयस्तरको व्यापार व्यवसायमा समेत वृद्धि हुन्छ ।
अरु के के भयो त ?
भारतका राष्टूपति मुखर्जिको भ्रमणलाई लिएर भारत सरकारको वीरगंज स्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत अंजुरञ्जन, काउन्सीलर निरज जयसवाल तथा दिल्लीवाट आएका उच्च सुरक्षा अधिकारीहरुले राष्टूपतिले जाने सबै स्थलहरुको अनुगमन गरेका छन् । नेपालका सुरक्षा अधिकारी सहित भारतीय सुरक्षा अधिकारीहरुले जनकपुरको बाह्र विघा रङ्गभूमि मैदान, जानकी मंन्दिर हुलाकी सडकको शिलान्यास हुने सडक मार्ग तथा बास वस्ने सिताशरण होटलको पनि अनुगमन गर्ने गरेका छन् ।
दिल्लीवाट आएका सुरक्षा विज्ञहरुको टोलीले रिपोर्ट दिएपछि थप सुरक्षा टोली आउने र कार्यक्रम स्थलहरु तय गरिने भएका छन् । भारतका राष्टूपति प्रणव मुखर्जि जनकपुरको जानकी मंन्दिरमा नै नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । जनकपुर उपमहानगरपालिकाका प्रमुखले नै भारतीय राष्टूपति मुखर्जिको नागरिक अभिनन्द गर्ने कार्यक्रम रहेको छ ।
भारतका राष्टूपतिको जनकपुरमा हुने भ्रमणलाई लिएर सडकको मरम्मत गर्ने कामकाज तीब्र रुपमा शुरु भएको छ भने सुरक्षा व्यवस्था पनि कडा बनाउने काम भएको छ । सुरक्षा सम्बन्धि कामकाज दुवै देशका सुरक्षा अधिकारीले संयुक्त रुपमा नै गर्ने कार्यक्रम रहेको छ । सडक डिभिजन कार्यालयले जनकपुरको विभिन्न सडकहरुको निर्माण तथा मरम्मत गर्ने जारी रहेको छ ।
उच्च सुरक्षा अधिकारीहरुको टोलीसंगै धनुषाका प्रमुख जिल्ला अधिकारी, शसस्त्र प्रहरी उपरीक्षक उत्तमराज थनेत, प्रहरी उपरीक्षक लालमणि आचार्य, राष्टिूय अनुसन्धानका उपनिर्देशक संजय कुमार यादव, नेपाली सेनाका प्रमुख, जनकपुर उपमहानगरपालिकाका पूर्व नगर प्रमुख बजरंग प्रसाद साह, जनकपुर नगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुईटेल, सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख सहितका अधिकारीहरु उपस्थित रहेका थिए । भारतका उच्च अधिकारीहरु जानकी मंन्दिरमा पनि गएर मंन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवसंग पनि भेटेर विभिन्न विषयहरुमा जानकारी लिएका छन ।
त्यस्तै राष्टूपतिको भ्रमण हुने मार्ग तथा प्रमुख स्थलहरुमा बृहत्त सरसफाई कार्यक्रम गरिएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईको अगुवाईमा विभिन्न सुरक्षा निकायका पदाधिकारी तथा प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका व्यक्ति तथा युवा क्लवहरुको पनि सक्रिय सहभागिता रहेको थियो । नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी, निजामति कर्मचारी पनि सरसफाइमा सहभागि रहेका थिए ।
जनकपुरका विश्व प्रसिद्ध जानकी मंन्दिर, राममंन्दिर, जनक मंन्दिर, गंगासागर, धनुषसागर क्षेत्रमा विषेश सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो । सरसफाईका लागि जनकपुरका कतिपय संघ संस्थाहरु स्वफूर्त तरिकाले सडकमा उत्रेर सफाई गरेका थिए । राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागि रहेका थिए । समाजिक क्षेत्रका व्यक्तिहरु पनि सहभागि भएर सरसफाई गरेका थिए । सफाई सकिसकेपछि केही व्यापारिहरुले सडकमा पसलका फोहर बढारेर फाल्ने काम भएका थिए ।

एडिबीको कार्यमा तिव्रता आएपनि ल्याण्डफिल साइड अन्योलमा

कैलास दास
जनकपुर । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा जनकपुरको मुहार फेरिने किसिमले बन्न लागेको नाला तथा सडकहरुको कार्य तिव्रगति आएपनि सोको लागि चाहिने ल्याण्डफिल साइडका लागि जग्गा छनौट अन्योलमा नै छ ।

जनकपुर उपमहानगरपालिकाका ईन्जिनियर वीरेन्द्र यादवका अनुसार ल्याण्डफिलका लागि जग्गा दिनका लागि गुठी संस्थान शाखा कार्यालय जनकपुर तथा केन्द्रिय कार्यालय काठमाडौंमा पत्र पठाई सकेको छ । तर कहिलेसम्म सोको जवाफ आउला भन्न सकेन । एडिबी परियोजना सञ्चालनका लागि सबभन्दा पहिला र महत्वपूर्ण मानिने ल्याण्डफिल साइड भएपनि अहिलेसम्म त्यसका लागि जग्गा उपलब्ध हुन सकेको छैन । हुनतः पहिलो चरणमा नालाको निर्माण कार्य शुरु भएको छ भने अर्को चरणमा सडक निर्माण कार्य शुरु हुने छ ।
एडिबी परियोजना ठेक्का सम्झौता अनुसार मंसिरसम्मा ४ किलोमिटरभन्दा बढी नालाको कार्य सम्पन्न हुनुपर्ने छ । सोही अन्तरगत वैज्ञानिक किसिमले सडकको बीचोबीच नाला निर्माणका लागि ह्युमपाइप बिछ्याउने कार्य शुरु भएको देखिन्छ ।

उपमहानगरपालिकाभित्रमा ३० किलोमिटर नाला निर्माण गरिने कार्य रहेको छ । नगरको विभिन्न ठाउँबाट शुरु भएको ह्युम पाइप बिछाउने कार्यलाई तिव्रता दिएको छ । वर्षायाममा सुस्तगतिमा सो कार्य भएपनि अहिले तिव्रता दिएको छ । हिन्दुहरुको महान् चाँड विजया दशमीपछि सो कार्य तिव्रताका साथ हुने निर्माण ठेक्का लिएका रमण कन्स्टूक्सन बताउँछन् । दुई वर्ष भित्रमा नाला तथा सडक निर्माण कार्य गरिने छ ।
एशियाली विकास बैंकले जनकपुरको नाला तथा सडक निर्माणका लागि एक अर्ब ९० करोड रुपैया आर्थिक सहयोग दिएको छ । त्यसमध्ये ३० किलोमिटर नाला निर्माण तथा १० किलोमिटर सडक निर्माण गरिने छ । एडिबी परियोजना अन्तर्गत ल्याण्डफिल साइड विवाद कायम नै छ । सेप्टेम्बरसम्म ल्याण्डफिलका जग्गा उपलब्ध गराउने एडिबीको रहेको थियो । तर अहिलेसम्म सो जग्गा उपलब्ध हुन सकेको छैन ।
जनकपुर उपमहानगरपालिकाका इन्जिनियर वीरेन्द्र यादवका अनुसार हिन्दुहरुको पर्वका कारण जग्गा खरीद गर्नमा समस्या आएको छ । तर अब छिट्टै ल्याण्डफिलका लागि जग्गा उपलब्ध हु्ने दावी गरेका छन् ।

पचास वर्षदेखि अटोमेटिक पानी आउने बोडिङ्ग

कैलास दास
जनकपुर । जनकपुरको एउटा धार्मिक स्थलमा अटोमेटिक किसिमले करीब ५० वर्षदेखि लगातार पानी आउने बोडिङ्ग रहेको छ । सधैं एउटै नासले विहान र बेलुका मात्र होइन दिनभरि पानी पिउने र लिएर जानेहरुको सो बोडिङ्गमा भीड नै लागेको हुन्छ ।

प्रसिद्ध धार्मिक पोखरी गंगा सागरको पश्चिमवारी साइडमा सो बोर्डिङ्ग रहेको छ । विज्ञहरुका अनुसार यो पोखरी करीब ५० वर्ष पुरानो रहेको छ । शुद्ध र राम्रो पानी खानका लागि यहाँ मान्छेहरु आउने गरेका छन् । बोडिङ्गबाट सधैं बग्ने पानी खानका लागि कुनै वर्तनको आवश्यकता पर्दैन, मान्छे आफै त्यसमा मुख लगाएर खाने गरेको हो ।
धार्मिक पोखरी गंगा सागर र धनुषसागर कहिले पनि नसुखोस त्यसलाई ध्यानमा राखेर एउटा विदेशी संस्थाले यो बोर्डिङ्ग गाडिएको जनाइएको छ । तर अर्थातमा यो बोडिङ्ग कति पुरानो रहेको छ अनुमान मात्र गरिएको छ । सेभ हिस्टोरीकलका संयोजक रामअशिष यादवले ‘आफू जुन बेला २० वर्षको थियो होला त्यहि बेलादेखि यो बोर्डिङ्गबाट आफै पानी आउने गरेको देख्दै आएको छु । एशियाको सहयोगमा यो बोर्डिङ्ग गाडिएको कसैबाट सुनेको हो तर यर्थात भन्न सकिन्न । उनले अगाडि भने ‘जनकपुर उपमहानगरपालिकाको कुरा गर्छौ भने सबभन्दा शुद्ध र राम्रो खानेपानी यहाँबाट नै निस्किन्छ । यहाँबाट जाँड लगायतका वर्तनहरुमा मान्छेहरु लिएर जान्छ ।’

त्यस्तै बेलकम होटलका संचालक विजय झुनझुनवाला भन्छन् ( कहिले काही आफ्नो होटलमा पनि त्यहीबाट पानी ल्याउने गर्छौ । त्यहाँको पानी चेक जाँच गराउँदा पनि शुद्ध र राम्रो रहेको छ । मेशिनबाट प्रशोधित गरेको पानी भन्दा राम्रो पानी त्यो बोडिङ्गको रहेको दावी समेत गरेका छन् ।
जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास भन्छन् ( यो बोडिङ्ग कति पुरानो हो भन्न सकिन्न । तर जुन बेला जनकपुरमा चापाकल थिएन त्यही बेला गाडिएको छ । शुद्ध र राम्रो पानी खानका लागि यहीबाट अधिकांश व्यक्तिहरु लग्ने गरेका थिए । केही वर्ष आफै सुखेका थिए । अचानक पानी आउन बन्द भएको थियो । तर २०७२मा आएको महाविनाशकारी भूकम्पमा फेरी आफै त्यो बोर्डिङ्गबाट पानी आउन थालेको छ ।
महन्थ वैष्णवका अनुसार धनुषसागर र गंगासागर पोखरीको पानीबाट राम मन्दिरमा खाना बनाउने कार्य हुन्थ्यो । यसै पोखरीको पानीबाट बनेको खाना भगवान रामको भोग लाग्ने गरेको बताउँछन् । धार्मिक ऐतिहासिक पोखरी कहिले पनि नसुखोस त्यसलाई ध्यानमा राखी सो बोडिङ्ग गाडिएको उनी पनि बताउँछन् ।
जनकपुर उपमहानगरपालिका भित्रमा समेत पानीको हाहाकार भई रहेको बेलामा यो बोडिङ्गबाट पानी आउने निरन्तर जारी नै छ । विहान र बेलुका जाँड लगायतका वस्तुहरुमा पानी लिनेहरुको भीड रहने गरेको छ ।

Sunday, October 2, 2016

जनकपुरमा वैष्णो देवीको गुफा

कैलास दास
जनकपुर । जनकपुर शक्तिपीठ भूमी मात्र होइन, तपोभूमी तथा ज्ञानभूमिले समेत चिन्हाउँछ । त्यसमा पनि वडा दशैंमा शक्तिपीठ मन्दिरहरु रहेको आफ्नै विशेषता हुन्छ । वडा दशैंको घटस्थापनादेखि लिएर दशमीसम्म यहाँ श्रद्धालु भक्तजन तथा बाह््य पर्यटकहरुले भरिभराउ हुन्छ । विशेष गरी यहाँका राजदेवी मन्दिर, जानकी मन्दिर, रामानन्द चौकमा भगवती दूर्गाको प्रतिमा बनाएर मनाउँदै आएको दूर्गापूजा विशेष आकर्षक हुने गर्दछ ।

तर यसवर्ष जनकपुरमा एउटा अझै शक्तिपीठ देवीको प्रतिमा बनाइएको छ । जुन यस वर्षको विजयादशमीको मुख्य आकर्षक केन्द्र हुने देखिन्छ । दुल्हिन झै सृगारिएको यहाँका मठ मन्दिर रातिमा जति राम्रो लागेपनि दिनभरि माता वैष्णो गुफामा श्रद्धालुहरु एवं बाह््य पर्यटकहरुको भीड लाग्ने गर्दछन ।
राममन्दिरको फुलवारीमा ठूलो आकारको सो गुफा निर्माण गरिएको छ । भारतमा रहेको माता वैष्णोदेवी झै कलाकृत किसिमले यहाँ पनि सो गुफा बनाइएको छ । करीब एक महिना अघिदेखि बाँसको सो गुफा निर्माण गरी गुफा बाहिर र भित्रमा भारतमा जसरी सुरक्षामा खटिएको हुन्छ सेनाहरु त्यसरी नै माथि सेना बन्दुक लिएर सुरक्षा दिई रहेको अवस्था देखिन्छ । त्यस्तै गुफाको माथिल्लो भागमा दुईवटा बाघ माता वैष्णोदेवीलाई सुरक्षामा खटिएको देखाएको छ ।
मूलद्वारामा गणेश भगवानको तस्वीर राखिएको छ भने पूर्वपट्टीमा माता दूर्गा र पश्चिमपट्टीमा भगवान शिवको प्रतिमा राखिएको छ । उच्च पहाडमा तपामा लिन रहेकी माता वैष्णोदेवीको तस्वीरभन्दा पहिला गुफा भित्र पस्दिा विभिन्न कलाकृत भगवानहरुको तस्वीर राखिएको छ। गुफा भित्र केही क्षिणका लागि भयावह हुँदा पनि भित्र गृहघरमा एउटा पूजारी माता वैष्णोदेवी ध्यान तथा पाठमा लिन अवस्थामा देखिन्छ । गुफा भित्र माता वैष्णोको दर्शन पश्चात् अगाडि बढ्दा भैरव बाबाको तस्वीर राखिएको छ । भैरव बाबाको टाउँको मात्र तस्वीर देखेर केही छिनका लागि भयत्रास जस्तो लाग्ने अवस्था समेत देखिन्छ । त्यसपछि गुफा बाहिर निस्कने बाटो रहेको छ ।
धर्मविज्ञहरुद्वारा आलोचना
राममन्दिरको फुलवारीमा विजया दशमीदेखि विवाह पञ्चमीसम्मका लागि कलाकृत रुपमा बनाइएको माता वैष्णो देवीको गुफाप्रति धर्म विज्ञहरुले आलोचना समेत गरेका छन् । जनकपुर परिक्रममा सडक भित्रमा माता राजदेवी, भगवती सीताको शक्ति अपार रहेकोले कम्तिमा यसभित्र कुनै अरु देवी देउताको प्रतिमा बनाएर पूजापाठ गर्ने नसुहाउँदो रहेको आलोचना समेत हुन थालेको छ । जनकपुर आफैमा देवी शक्तिले पवित्र रहेकोले पूजाआजा गर्नमा सबैको श्रद्धा रहेको छ । तर प्रतिमा बनाएर पूजा गर्ने धार्मिक मान्यता समेत नरहेकोले यस्ता कार्य कम्तिमा शक्तिपीठ मन्दिर वरिपरि नहुनुपर्ने महन्थ आलोक वैष्णवले जनाएका छन् ।
जनकपुर धार्मिक पर्यटकीय नगरीको रुपमा चिन्हिन्छ । तर यसको मतलव यो होइन कि कलाकृति प्रतिमा बनाएर मेला लगाउनु । यहाँ देश विदेशबाट माता राजदेवीको दर्शन गर्न श्रद्धालुहरु आउने गर्दछन । यसरी माता वैष्णोदेवी गुफा निर्माण गरी धार्मिक मनोरञ्जन जति भएपनि आस्थामाथि नराम्रो प्रभाव पर्ने देखिन्छ ।