Saturday, September 15, 2018

धर्म संस्थाद्वारा तीन जिल्लाका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृति प्रदान


जनकपुरधाम, २८ भदौ ।  जनकपुरधाम स्थित रामस्वरुप साह, रामसागर साह धर्म संस्थाद्वारा स्थापित ‘भैरव साह लक्ष्मीनिया देवी छात्रवृति २०७५’ तीन जिल्लाका उत्कृष्ट विद्यार्थीहरुलाई प्रदान गरिएको छ ।
धर्म संस्थाका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा भएको ‘छात्रवृति’ कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री नवलकिशोर साहले धर्म संस्थाले गरेको यो कार्यक्रम शिक्षा क्षेत्रमा सराहनीय रहेको बताएका छन् । उनले अहिलेको अवस्थामा यस्ता कार्य गर्ने निक्कै कम संघ संस्था रहेको दोहोर्याउँदै यस धर्म संस्थालाई राज्यको पक्षबाट राजकीय सम्मान दिलाउन आफू प्रतिबद्ध रहने दावी गरेका छन् ।
उनले धार्मिक संस्था हुँदाहुँदै पनि शैक्षिक क्षेत्रमा लगानी गरेर सामाजिक विकासमा सराहनी कार्य गरेको हो । मठ मन्दिर निर्माण भन्दा शिक्षामा लगानी गर्नका लागि पनि सबैमा आग्रह गरेका छन् ।
त्यस्तै वरिष्ठ पत्रकार राजेश्वर नेपालीले तीनवटा जिल्लाका उत्कृष्ठ विद्यार्थीहरुलाई दिने छात्रवृतिलाई प्रदेशस्तरीय दिनका लागि आग्रह गरेका छन् । उनले रामस्वरुप साह, रामसागर साहले शैक्षिक क्षेत्रमा लगानी नगरेको भए आज शिक्षा क्षेत्रको विकास यस भेगमा हुने थिएन । तर शैक्षिक क्षेत्रमा लगानी हुँदाहुँदै पनि राज्यले अहिलेसम्म सम्मान समेत गर्न नसकेकोले प्रति दुःखेसो पोखेका छन् ।
उनले यो धर्म संस्था कम्तिमा यस प्रदेशकै नमूना धर्म संस्थाको रुपमा स्थापित गर्नका लागि प्रदेश सरकारसँग आग्रह समेत गरेका छन् । रामस्वरुप साह रामसागर साह हुलाक टिकटमा समेत प्रकाशित गराउनका लागि राज्यसँग उनले आग्राह गरेका छन् ।
धर्म संस्थाले धनुषा, महोत्तरी र सिरहा जिल्लाका सामुदायिक विद्यालयबाट एसईई परीक्षामा २.४ वा सो भन्दा बढी अंक प्राप्त गरेका ३÷३ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ । धनुषाबाट प्रथम हुने आलोक कर्ण, दोस्रो हुनेअरुण कुमार साह, र तेस्रो हुने अस्मिता राउतलाई छात्रवृति प्रदान गरिएको छ । त्यस्तै महोत्तरीबाट प्रथम हुने आदित्य पंजियार, दोस्रो हुने प्रशान्त आर्य र तेस्रो हुने निधि कुमारी मण्डललाई छात्रवृति प्रदान गरिएको छ । त्यस्तै सिरहाबाट  प्रथम हुने रविन कुमार यादव, दोस्रो हुने विवेक प्रकाश यादव र तेस्रो हुने रम्भा सिंहलाई छात्रवृति प्रदान गरिएको छ ।
प्रथम स्थान ल्याउनेलाई १५ हजार र प्रमाणपत्र, दोस्रो स्थान ल्याउनेलाई १२ हजार र प्रमाणपत्र तथा तेस्रो स्थान ल्यानेलाई १० हजार र प्रमाण पत्र प्रदान गरिएको छ ।
छात्रवृति कार्यक्रममा उपशिक्षा अधिकारी मिहीलाल यादव लगायतका व्यक्तिहरुले आ आफ्ना धारणा राखेका थिए ।
कार्यक्रम छात्रवृतिका सदस्य संयोजक विद्याकर प्रसाद साह, पूर्व साँसद दिनेश प्रसाद साह, प्रकाशचन्द्र साह, बलिराम साह लगायतलाई समेत सम्मानित गरेका छन् ।

No comments:

Post a Comment