Friday, September 14, 2018

हंसपुर नगरपालिकामा कामै नगरी बजेट स्वाहा


जनकपुरधाम, २८ भदौ । धनुषाको हंसपुर नगरपालिका वडा नं. ७ मा निर्माण कार्य नगरी एक करोड बढी रकम स्वाहा भएको स्थानीयवासीहरुले आरोप लगाएका छन् ।
स्थानीयहरुले यस वार्डमा २२ वटा निर्माण योजना मध्ये ११ वटा सञ्चालनमा आएपनि निर्माण कामै नगरी रकम स्वहा गर्ने गरेको दावी गरेका हुन । उनीहरुले १ करोड १५ लाखको बजेट यस वार्डमा छुट्टयाइएको छ । ती मध्ये १५ लाख पनि खर्च भएको छैन । यहाँका मेयर, उपभोक्ता समिति, अनुमगन समितिहरु मिलेर कागजमै निर्माण कार्य देखाएर रकम अनियमितता गर्ने गरेको आरोप लगाएका छन् ।
स्थानीयहरुले निर्माण स्थलमा नै पत्रकारलाई बोलाएर भने, ‘यस वार्डमा २० प्रतिशत मात्र कार्य भएको छ । त्यो पनि गुणस्तरहीन नै हो । ८० प्रतिशत कार्यलाई कागजी प्रक्रिया पुरा गरेर रकम स्वाहा गरेको छ ।’
यहाँका वडा अध्यक्ष, उपभोक्ता समिति अध्यक्ष लगायतलाई यस सन्दर्भमा जानकारी गराउँदा पनि उनीहरुले आउन नमानेको स्थानीय भूपेन्द्र कुमार मण्डलले गुनासो पोखे । तर मेयर रामज्ञान मण्डलले दैनिक जनकपुरसँग कुराकानी गर्दै भने, ‘प्रतिपक्षीहरुले भ्रम फैलाउनका लागि षडयन्त्र पूर्वक वा जानकारी नभएको कारणले यस्तो आरोप लगाएको हो । निर्माण कार्य नभएको यसमा कुनै दुई मत छैन । तर अहिलेसम्म ती निर्माणका लागि बजेट पनि निकासा गरेको होइन ।’

उनले नगरपालिकामा प्रशासकिय अधिकृत ढिलो आएकोले प्रत्येक वार्डमा बजेट घोषण भएपनि काम नहुँदा पैसा निकासा नगरेको बताएका छन् । स्थानीयहरुको गुनासो केही हदसम्म ठिक भएपनि खाता सञ्चालन समयमा हुन नसक्दा कार्यमा ढिल्लाई भएको उनले दोहोर्याएका छन् ।अहिले पनि ठेक्केदार तथा उपभोक्ता समितिको रकम रोक्का गरी राखेको उनले बताएका छन् ।

No comments:

Post a Comment