Sunday, September 30, 2018

महिला समूहद्वारा जितिया कार्यक्रम


जनकपुरधाम, १४ असोज । महिला सरोकार समूहले जनकपुरधाममा आईतवार जितिया कार्यक्रमको आयोजना गरेको छ ।
समूहका अध्यक्ष उर्मिला यादवको अध्यक्षतामा भएको जितिया कार्यक्रममा अधिकांश महिला अधिकारकर्मी एवं जितिया व्रतालुहरुको सहभागिता रहेको थियो । उनीहरुले जितिया पर्व सन्तान प्राप्ति एवं रक्षाका लागि मनाउने गरेकोले यसलाई भव्यता दिनका लागि एक अर्कासँग आग्रह गरेकी छन् । सहभागीहरुले यो व्रत कठोर भएपनि सन्तान रक्षाका लागि रहेकोले जितिया पर्वमा विशेष कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिएका छन् ।
जितिया शुभकामना आदान प्रदानका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव मरबैताले जितिया पर्व सन्तान रक्षाका लागि मात्र होइन, मिथिलाको संस्कृति समेत रहेकोले यसको प्रचार प्रसार हुनुपर्नेमा जोड दिएका छन् । उनले जितिया पर्वको शुभकामना दिदै भने, ‘यो कठोर पर्व हो । सन्तान प्राप्ति र रक्षाका लागि यो पर्व महिला दिदी वहिनीहरु मनाउने गर्दछन । तर महिलामाथि भई रहेको हिंसा तथा बलात्कार जस्ता जघन्य अपराध चिन्ताजनक रहेको छ ।’
त्यस्तै हंसपुर नगरपालिकाकी उपमेयर रेणु कुमारी मिश्रले जितिया पर्व निक्कै कठोर पर्व हो, तर जसको लागि यो व्रतहरु राखिन्छ उनीमाथि नै हिंसा बलात्कार जस्ता घटना हुनु दुःखद रहेको भन्दै महिलामा लड्ने शक्ति समेत प्रदान गरुन कामना गरेकी छन् । उनले महिलाहरु अहिले पनि असुरक्षित रहेको भन्दै महिला शक्तिको पहिचान आवश्यक रहेको जिकिर गरेकी छन् ।
कार्यक्रममा विभा ठाकुर, सुनिता राउत, विभा पाण्डे, पुनम झा लगायत दर्जनौं महिलाहरु आ आफ्ना विचार राखेकी छन् । जितिया पर्वमा खाने गरेको कोदोको रोटी र माछा समेत खुवाइएको थियो । कार्यक्रमको सञ्चालन जमुना भुजेलले गरेकी छिन ।


विवाहपञ्चमीलाई भव्यता दिन प्रदेश सरकारद्वारा ३० लाख दिने प्रतिबद्धबता


जनकपुरधाम, १४ असोज । धार्मिक एवं साँस्कृतिक पर्व राम जानकी ‘विवाहपञ्चमी महामहोत्सव’लाई भव्यता प्रदान गर्नका लागि प्रदेश सरकारले ३० लाख सहयोग गराउने प्रतिबद्धता जनाएको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफलमा प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश २ को मात्र होइन, विश्वकै ठूलो ‘विवाह महोत्सव’ मा देशविदेशबाट  श्रद्धालुहरु सहभागी हुने गरेका छन ।
मन्त्री साहले महोत्सव सम्पूर्ण मिथिलावासीको प्रतिष्ठा भएको भन्दै महोत्सवलाई भव्यता दिन जनकपुरधाममा सार्कस्तरीय रामलीलाको आयोजना गर्ने अवधारणाबारे छलफल भइरहेको बताएका छन ।
गोस्वामी तुलसीदासले ‘रामायण’मा वर्णन गर्नुभएअनुसार जनकनन्दिनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्लपञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
‘विवाहोत्सव’लाई व्यवस्थित र संस्कृतिलाई उजागर गर्ने उद्देश्यप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री साहले बताएका छन् ।
मन्त्री साहले ‘विवाह महोत्सव’लाई भव्य र सभ्य बनाउन स्थानीय सरकार प्रदेश सरकारको काँधमा समेत आएको छ । विवाहोत्सवलाई विशाल रुप दिनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । साक राष्टूमै यहाँका विवाहोत्सवलाई भव्यता दिने उद्देश्यले सात दिवसीय कार्यक्रमको अयाोजना हुनुपर्नेमा उनले जोड समेत दिएका छन् ।
उनले रामजानकी विवाहोत्सवको अवसरमा नेपाल भारतका कलाकारहरुलाई ल्याएर रामलिला लगायतको आयोजनामा गराउन सल्लाह समेत दिएका छन् ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले रामजानकी विवाहोत्सवमा स्थानीय सरकार तनमनधनले सहयोग गर्ने बताएका छन् । उनले २० वर्षपश्चात् स्थानीय सरकार आएको छ । सबैको सरसहल्ला अनुसार स्थानीय सरकारले सहयोग गर्ने नै छ विश्वास दिलाएका छन् ।
सर्वदलीय बैठकमा रामजानकी ‘विवाहोत्सव’ लाई विद्युत, पानी, पार्किङ्ग, प्रचार प्रसार, सुरक्षा, भोजन लगायतको व्यवस्थापन बारेमा सबैले आ आफ्ना विचार व्यक्त गरेका छन् । सहभागीहरुले विगतमा भएको त्रुटिहरुलाई सच्याउनका लागि सबैमा आग्रह गर्दै विवाहपञ्चमी मेलामा नयाँपान ल्याउनका लागि बताएका छन् ।
सर्वदलीय बैठकमा प्रहरी नायब निरीक्षक दीपेन्द्र साही, टूाफिक इन्स्पेक्टर दीपक साह, नेपाली काँग्रेसका नेता किशोरी साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साह, उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारी, जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव यादव, उपाध्यक्ष दीपक झा, मठ मन्दिरका महन्थहरु, नागरिक समाजका अगुवाहरु, पत्रकारहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायतले आफ्ना विचार राखेका थिए ।

म आफै हिंसा पीडित छु ः उपमेयर मिश्र


जनकपुरधाम, १४ असोज । जनकपुरधाम उपमहा नगरपालिकाकी मेयर रिता कुमारी मिश्रले म आफै महिला हिंसा पीडित रहेकी बताएकी छन् ।
जनकपुरधाममा आईतवार क्रियाशील पत्रकार महिला, धनुषाद्वारा आयोजित ‘महिला हिंंसा न्यूनिकरणमा सञ्चारको भूमिका’ विषयको ‘अन्तरसम्वाद’ कार्यक्रममा उनले सो कुरा बताएकी छिन् । उनले भने, ‘म कति महिला हिंसामा छु, भन्न सकिने अवस्था छैन । म उपमेयर जस्ता महिला हिंसामा परेको हो भने अरु सर्वसाधारण महिला कति होल्ला आफै यकिन गर्न सकिन्छ ।’
उनले भनिन, ‘मैथिलानी महिलाहरुको कठोर व्रत जितिया पर्वको शुभकामना आदान प्रदानमा आफूले लगाएको सुतीको साडीमाथि धेरै जसो पुरुषहरुले लच्छना लगाइएको सुनेको छु । आफूले स्वतन्त्र पूर्वक कपडा पनि नलगाउन नपाउने’ प्रश्न गरेकी थिइन । यो एउटा उदाहरण मात्र बताएकी हो । यस्ता धेरै घटनाहरु छ जसबाट आफू पीडित रहेको उनले बताएकी छन् ।
उनले महिलाहरु राजनीतिमा अगाडि बढ्दा पुरुषहरु भयभित हुने गरेको छ । महिलाको पछाडि पार्नका लागि धेरै किसिमको लच्छनाहरु लगाउने गरेको बताएकी छन् । शिक्षा, स्वास्थ्य र बेरोजगारीको कारण महिलाहरु हिंसामा पर्ने गरेको उनले जिकिर गरेकी छन् ।
नेपाल पत्रकार महासंघ प्रदेश २ को महिला उपाध्यक्ष रिंकु कुमारी मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उपमेयर मिश्रले महिला हिंसा विरुद्ध वार्ड वार्डमा कार्यक्रम गरेर महिला न्युनिकरण गर्ने अभियानकै रुपमा लिने बताएकी छिन् । उनले महिला हिंसा विरुद्ध अब चुप लागेर बस्दैनौ, ठाउँ ठाउँमा आवाज उठाउने जिकिर पनि गरेकी छिन् ।कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाकी महिला उपाध्यक्ष मनिका झा, प्रदेश २ का महासचिव किरण कुमार कर्ण, कैलास दास, अबधेक कामत, जयन्त ठाकुर, नेहा झा लगायतका व्यक्तिहरुले विचार राखेका थिए ।

Tuesday, September 25, 2018

सवारी तथा यातायात विधेयक मस्यौदामाथि छलफल


जनकपुरधाम, ९ असोज ।  प्रदेश न. २ को भौतिक पुर्वाधार बिकास मन्त्रालयद्वारा आयोजित,प्रादेशिक सवारी र यातायात व्यवस्थापन मस्यौदा विधेयकमाथि विशेषज्ञको टोलीसंग बिशेष छलफल र एकदिवसीय कार्यक्रम सन्पन्न भएको छ । 
प्रदेश नम्बर २ को भौतिक पुर्बाधार बिकाश मन्त्री जितेन्द्र सोनलको प्रमुखअतिथिमा अन्तरक्रिया कार्यक्रम जनकपुर स्थित माला कटेज होटलमा सम्पन्न भएको हो ।
कार्यक्रममा राज्य मन्त्री डा. डिमपम झा, मुख्यसचिव ,राजेश्वरमान सिंह प्रदेश न्यायधिवकता दिपेन्द्र झा, कानुन बिद , राजपा,एमाले, काङ्ग्रेस पार्टीको प्रमुख सचेतक, बुद्धिजीवी, विशेषज्ञको टोलि,पत्रकार , यातायात कार्यालय प्रमुख लगायतहरुसंग छलफल गरिएको थियो । उत्त कार्यक्रम भौतिक पुर्वाधार बिकास मन्त्रालयको सचीव जीवछ मण्डलको अध्यक्षता सम्पन्न भएको थियो ।

वडा अध्यक्ष साहद्वारा वार्षिक कार्ययोजना प्रस्तुत


जनकपुरधाम, ९ असोज । जनकपुरधाम उपमहा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जानकी राम साहले एकवर्षको कार्य प्रगति विवरण तथा अगामी योजनाहरुको बारेमा जानकारी गराएका छन् ।
उपमहानगरपालिकाको वडा कार्यालय ७ मै पत्रकार सम्मेलन गरी वडा अध्यक्ष साहले आर्थिक वर्ष २०७४÷०७५ मा उपमहानगरपालिकाद्वारा नगरस्तीय कार्यवापत ५५ लाख तथा व्यक्तिगत खर्चबाट ५ लाख रुपैया खर्चिएको बताएका छन् ।
वडा अध्यक्ष साहले आर्थिक वर्ष ०७४÷०७५ मा सो वडामा पर्ने पोखरीको जिर्णोद्धार तथा सौन्दर्यीकरणको लागि पहल, जानकी सरोवरलाई सान्दर्यीकरणमा राखिएको , आधारभूति विद्यालयलाई नमूना विद्यालय बनाउन र शिक्षामा गुणस्तरीयता ल्याउनेका लागि पहल गरिएको बताएका छन् ।
त्यस्तै सोही वडामा रहेको पतञ्जली योग साधना केन्द्रलाई उपमहानगरपालिकाकै नमूना योग शिवर बनाउने पहल थालिएको, परिक्रममा सडक भित्रमा माँस मदिरा निषेधित क्ष्ँोत्र बनाउन अभियानकै रुपमा लिएको कार्य प्रगति उनले प्रस्तुत गरेका छन् ।
त्यसैगरी अन्य पूर्वाधार योजना र नगरस्तीय योजनाहरुमा २ करोड ४२ लाखको रहेको अध्यक्ष साहले जानकारी गराएका छन् । उनले यस वार्डमा ३ वटा मृत्यु दर्ता, ८ वटा जन्म दर्ता र विवाह दर्ता ३ वटा निःशुल्क गराइएको जनाइएको छ ।
त्यसैगरी परिक्रममा सडकको तपसी चौकमा वाईफाई फ्री, टूाफिक लाइटको व्यवस्था, जिरोमाइलमा सीता स्वयंम्वर पार्क निर्माण, विभिन्न चौकमा भेपर लाइट, वशिष्ट चौकमा राष्टिूय झण्डा राख्ने गोलम्बर निर्माण लगायतको अगामी कार्य योजना रहेको जनाइएको छ ।
जनकपुर उपमहा नगरपालिकाका प्रमुख लाल किशोर साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपमेयर रिता कुमारी मिश्र लगायतले विचार राखेका थिए ।

वडा अध्यक्ष साह तलव खर्चेर ८४ जना वृद्धआमालाई लगे भ्रमणमा

जनकपुरधाम, ९ असोज । जनकपुर उपमहानगरपालिका वडा नं.२  का वडा अध्यक्ष शिव कुमार साहले स्थानीय सरकारको निर्वाचन पश्चात् पदभार ग्रहण गरेको एकवर्षको अवसरमा ८४ जना वृद्धआमालाई धार्मिक भ्रमणमा पठाइएको छ ।
वडा अध्यक्ष साहले एकवर्षको पाएको तलवबाट वडा ३ का ८४ जना वृद्ध आमाहरुलाई मनकामना, देवघाट, पशुपति र बुढा निलकण्ठ दर्शनका लागि पठाइएको छ । उनले वृद्धआमाहरुकै आशीर्वादले आफू अगाडि बढेको भन्दै एकवर्षको तलव उनीहरुकै सेवाको रुपमा लगाइएको बताएका छन् ।
अध्यक्ष साहले दुई वटा बसमा उनीहरुलाई मंगलवार नै जनकपुरधामबाट विदाई गरिएको हो । प्रत्येक वृद्धआमालाई एकथाम साडी पनि दिएको छ । यो भन्दा अघि जेष्ठ २ गते १२५ जना वृद्ध आमाहरुलाई भारतको राजगिर, वैद्यनाथधा लगायतको धार्मिक स्थलमा भ्रमण गराएका थिए । त्यस्तै नेपालकै पुष्पवलपुरमा समेत उनले सवाँसय वृद्धआमाहरुलाई धार्मिक पर्यटकीय स्थलमा लगेर धार्मिक दर्शन गराएका थिए ।
वृद्धआमाहरुलाई भ्रमण कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका ९ वडा अध्यक्ष परमेश्वर साह, ११ का वडा अध्यक्ष रामचन्द्र साह, १ का वडा अध्यक्ष शत्रुधन साह, २४ का वडा अध्यक्ष सत्यनारायण साह, सोही वडाका वडा अध्यक्ष लगायतले वडा अध्यक्षलाई धन्यवादका साथै हामीहरुलाई पनि यिनीहरुबाट सेवा गर्ने सिख्नुपर्ने विचार राखेका थिए । वडा अध्यक्ष साहले गरेको कार्य निक्कै प्रशंसनीय रहेको समेत बताएका छन् ।

वार्षिकोत्सवमा वृक्षारोपण तथा व्हीलचेयर वितरण


जनकपुरधाम ९ असोज । जनकपुरधाम उपमहा नगरपालिकाले जनप्रतिनिधी पाएको एक वर्ष पुरा गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
असोज ९ गते जनप्रतिनिधीले सपथ ग्रहण गरेको दिन मंगलवार जनकपुरधाम उपमहा नगरपालिकाले विहान वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । त्यसैगरि उपमहानगरपालिका प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि अपाङ्गता भएकाहरुलाई राहत स्वरुप ह्वील चेयर समेत वितरण गरेको छ । होल्ड उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र उपप्रमुख रिता झाले फरक क्षमता भएकाहरुलाई ह्वील चेयर वितरण गरेका छन । उपमहानगरपालिकाका प्रमुद प्रशासकिय अधिकृत उमेश मैनालीले समेत हवील चेयर वितरण गरेका थिए । कार्यक्रममा वडाका वडा अध्यक्षहरुको समेत सहभागिता थियो ।

Monday, September 24, 2018

दुई दा“तको बीचमा स्थानीय सरकारःमेयर साह


जनकपुरधाम, ७ असोज । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले दुई दाँतको बीचमा स्थानीय सरकार रहेको चिन्ता व्यक्त गरेका छन् ।
जनकपुरधाममा आईतवार क्रियाशिल पत्रकार महिलाद्वारा आयोजित ‘स्थानीय तहम सुशासन र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा मेयर साहले सो कुरा बताएका हुन । उनले भने, ‘संघीय सरकार र प्रादेशिक सरकारबीचामा स्थानीय सरकारलाई कार्य गरिरहनु परेको हो । संरचनामा परिवर्तन भएपनि विचारमा परिवर्तन भएको छैन ।’
मेयर साहले स्थानीय सरकारलाई जिम्मेवारी नदिएको होइन, तर अधिकारको नाउँमा बझाइएको छ । संघीय सरकार र प्रादेशिक सरकारले बनाएको कानूनी आधारमा मात्र स्थानीय सरकारले काम गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अवस्थामा विकासको कार्य जुन तरिकाले हुनुपर्ने नहुने बताएका छन् ।
प्रादेश सरकारले स्थानीय सरकारलाई विभेदमा राखेकार आरोप लगाउँदै भने, ‘प्रदेश साँसद र प्रतिनिधि साँसदले भत्ता खाउने तर स्थानीय सरकारलाई भत्ता नदिने कस्तो कानून बनाइएको हो ।’स्थानीय तहमा कार्मचारीको अभाव रहेको यथार्थत हो तर स्थानीय सरकारले कर्मचारी भर्ना गर्न सकिदैन । अहिलेको अवस्थाको कुनै पनि व्यक्ति ज्यालादारीमा काम गर्न नचाहिरहेको उनले बताएकाछन् ।
नेपाल पत्रकार महासंघ प्रदेश २ को महिला उपाध्यक्ष रिकु गायत्री मिश्रको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश २ का महासचिव किरण कर्ण, पत्रकार साहित्यकार अशोक दत्त, नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्र, पत्रकार बटुक नाथ झा लगायतले स्थानीय तहमा सुशासन र चुनौती बारेमा विचार राखेका थिए । उनीहरुले सुशासनको पक्षमा पत्रकारहरुलाई कलम चलाउनुपर्नेमा जोड समेत दिएका थिए ।

Friday, September 21, 2018

तीन दिनभित्र सडक निर्माण शुरु नभए आन्दोलनको चेतावनी


जनकपुरधाम, ४ असोज । जनकपुर उपमहानगरपालिका वडा नं. ९ र १४ लाई जोड्ने मुजेलिया प्रहरी चौकीदेखि थापा चौकसम्मको बाटो तीन दिनभित्रमा निर्माण कार्य शुरु नगरेमा आन्दोलन गर्ने स्थानीयहरुले चेतावनी दिएका छन ।
स्थानीयवासीहरुले राम सुखित यादवको संयोजकत्वमा २१ सदस्यीय सडक निर्माण संघर्ष समिति गठन गरी निर्माण कार्य सञ्चालनका लागि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, भौतिक आवास तथा शहरी विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापनपत्र बुझाएको छ ।
समितिका संयोजक रामसुखित यादवको नेतृत्वमा ज्ञापनपत्र लिएर गएको टोलीले बाटोको अवस्था एकदम्मै जिर्ण रहेको र सो बोटोको निर्माणका लागि ०७४ साल भादौ १२ गतेमा ठेक्का लागि सकेको छ । ठेक्का सम्झौता अनुसार अब केही दिन मात्र बाँकी रहेको तर कार्य गर्न नसकेकोले तीन दिनभित्रमा निर्माण कार्य शुरु नगरेमा बाध्य भएर आन्दोलन गर्ने चेताएको छ ।
ज्ञापनपत्रमा असोज ७ गते जउमनपा वडा कार्यालय १४ मा धर्ना,  असोज ८ गते उपमहानगरपालिकाको कार्यालयमा धर्ना, असोज ९ गते भौतिनक आवास तथा शहरी विकास कार्यालयमा धर्ना र असोज १० गते विभिन्न प्रकारको आन्दोलनको कार्यक्रमम सार्वजनिक गर्ने उल्लेख रहेको छ । आन्दोलनबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित निकाय हुने पनि उल्लेख रहेको छ ।

Thursday, September 20, 2018

संघीय फोरम, न खुशी मनाएर न गम


जनकपुरधाम, ३ असोज ।  संघीय समाजवादी फोरमले संविधान दिवसको अवसरमा नखुशी मनाएको छ नत गम । मधेशी जनताको अधिकारको लागि लड्दै आएको संघीय फोरमले संविधान जारी भएपश्चात् यो संविधान विभेदकारी रहेको भन्दै पुर्नलेखनको माँग गरेको थिए । तर सोही संविधान अनुसार निर्वाचनमा गएपछि संविधान जारी भएको तेस्रो वर्षमा पार्टी भित्र विवादित बनेको छ ।
पार्टीकी केन्द्रिय उपाध्यक्ष रेणुकुमारी यादवले विभेदकारी संविधान संशोधन नहुञ्जेलसम्म आफूहरु असोज ३ गतेलाई कालो दिनकै रुपमा मनाउने प्रेस विज्ञप्ति समेत जारी गरेका थिए । उपाध्यक्ष यादवले प्रेस विज्ञप्ति जारी गरेको भोलिपल्ट नै पार्टी अध्यक्ष उपेन्द्र यादवले अहिले कालो दिवस मनाउने अवसर नआएको भन्दै कालो दिवस नमाउनका लागि पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
पार्टीको निर्देशन वावजूद पनि समाजिक सञ्जाल फेसबुकमा कालोपटी र कालो झण्डासहित आफ्नो फोटो समेत राख्दै उपाध्यक्ष यादवले लेखेकी छन, ‘विभेदकारी संविधान संशोधन नहुञ्जेलसम्म असोज ३ लाई कालो दिनको रुपमा मनाउने ।’
तर अध्यक्ष उपेन्द्र यादवले मंगलबार राजविराजमा कालो दिन नमनाउन निर्देशन दिएपछि उपेन्द्र सहभागी कार्यक्रममै रेणुले भनेकी थिइन, ‘अध्यक्षजी जनविश्वास र कार्यकर्ताको विश्वासमा खरो उत्रनुस् नभए जनताले साथ छोड्न सक्छन्।’
‘फोरम नेपाल सरकारमा गएको तीन महिना भयो, खै भयो त संशोधन ?’ रेणुले भनिन्, ‘फोरम नेपाल झण्डा र गाडीका लागि सरकारमा गएको होइन्, दुईतिहाई र्पुयाएर संविधान संशोधन गर्न सरकारमा गएको हो तर संशोधनको सिन्को भाँचिएको छैन्।’
तर असोज ३ गते जनकपुरधाम लगायत कही कतै उनीहरुले नखुशी मनाएका छन र नत गम नै सर्वसाधारण जनता समक्ष प्रस्तुत गरेका छन् ।

सिके राउत समात्न प्रहरी असफल


स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतलाई समात्नमा प्रहरी असफल सावित भएको छ ।
डा. राउतले असोज ३ गते यो संविधान विभेदकारी रहेको भन्दै जनकपुरधाममा विरोध प्रदर्शनको घोषणा गरेका थिए । तर प्रहरीले असोज २ गतेदेखि नै डा. राउतको समर्थकहरुलाई धरपकड शुरु गरेका थिए । सिके राउतलाई समात्नका लागि प्रहरीले मंगलारदेखि नै  लज देखि होटल र जनकपुरधाम उपमहानगरपालिकाको वार्डवार्डमा सादा पोशाकमा प्रहरी खटाएपनि अन्तोगत्व राउतले सार्थकहरुबीचमा आएर सम्बोधन गरेका छन् ।
डा. राउतको चलु जनकपुर भरु जनकपुर कार्यक्रमलाई विथोल्न नेपाल प्रहरीले अथक प्रयास गरेपनि डा. राउतले कालो दिवसमा सहभागी हुँदै मधेसी शहिदहरुप्रति सम्मान गरेका छन् । उनले प्रदेश सरकारप्रति आक्रोशित हुँदै भने भने ‘प्रदेश २ को सरकार मधेशी जनताको दलाल हो । मधेशी जनतालाई ओझलमा पारिरहेको छ ।’ उनले मधेसवादी दलले आन्दोलन गरेको मुद्दा सम्बोधन नभएको र उनीहरुले आन्दोलनको उद्देश्यलाई विर्सेर सत्तामा लिप्त भएको बताए । स्वतन्त्र मधेस देशको माग पनि उनले गरे । उनी मधेश आन्दोलनको क्रममा शहादत दिएका प्रति श्रद्धाञ्जली अर्पण गर्दे अधिकांश समय प्रदेश सरकारकै विरोधमा खर्चिएका थिए ।
मंगलारदेखि नै डा. सिके राउतलाई पक्राउ गर्न धनुषा सहित आसपासका जिल्लाका प्रहरी व्यापक सँख्यामा खटाउँदै उनलाई खोज्दै सर्च अभियान समेत चलाइएको थियो । तर प्रहरीको कडा निगरानी र सुरक्षाबीच डा. सिके राउत आखिरकार कार्यक्रममा सहभागी भएका थिए ।
गाउँ गाउँबाट जनकपुरधाम आएका हजारौँ हजार सँख्यामा कालो दिवस तथा सिके राउतलाई स्वागतको लागि सर्वसाधारण युवाहरु जनकपुरधाम तताएका थिए । राउतका समर्थकहरुले नगरमा मोटरसाइकल लगायतका जुलुस समेत प्रदर्शन गरेका थिए ।
पचासबढी समर्थक पक्राउ
 
स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. राउतले आव्हान गरेको असोज ३ गते चलु जनकपुर भरु जनकपुरलाई विथोल्नका लागि बुधवार विहानदेखि नै राउतको समर्थकहरुलाई पक्राउ शुरु गरेका थिए । प्रहरीले जनकपुरधामको विभिन्न ठाउँबाट पचासभन्दा बढी समर्थकहरुलाई पक्राउ गरेको डा. राउनका समर्थकले बताएका छन् । पाँच सातजनाको समूहमा देखिएको युवाहरुलाई पक्राउले पक्राउ गरी जिल्ला प्रशासन कार्यालय पुर्याउने गरेको जनाइएको छ । त्यसैगरी ढल्केवर, धनुषाधाम लगायतको नाकाबाट सवारी साधनमा समेत रोक लगाइएको जनाइएको छ । तराई मधेसलाई छुट्टै प्रदेशको माग गर्दै स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्ताले कडा सुरक्षाकाबीच पनि प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा प्रदेश २ को प्रदेश सभाको मुल गेटमा समेत उनीहरुले झण्डा फहराएका थिए। जुलुससहित जानकीचोकबाट सुरु भएको विरोध ¥याली जनकचोक, रामचोक, मुरलीचोक भ्रमरपुराचोक लगायतका चोकहरुको परिक्रमा गर्दै रामान्न चोकमा गएर कोणसभामा परिणत भएको थियो।

असोज ३ प्रदेश २मा कालो दिन


जनकपुर समाचारदाता
जनकपुरधाम, ३ असोज । संघीय सरकारले काठमाडौंमा हर्षौल्लास पूर्वक संविधान दिवस मनाई रहेको बेलामा प्रदेश २ मा सत्तारुढ दल राष्टिूय जनता पार्टी (राजपा)का नेता तथा कार्यकर्ताहरुले संविधान दिवसको विरोधमा हाथमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।

प्रदेश २ को राजधानी जनकपुरधाममा सामाजिक विकास मन्त्री नवलकिशोर साहको अध्यक्षतामा जनक चौकबाट दिउँसो ठूलो संख्यामा निकालिएको विरोध र्यालीमा राजपा नेता तथा कार्यकर्ताहरुले संविधान दिवसको विरोध गर्दै नाराबाजी गरेका हुन् ।

उनीहरुले यो संविधान विभोदकारी रहेको भन्दै आजको दिनलाई कालो दिनको रुपमा लिएको बताएका छन् । विरोध प्रदर्शन पश्चात् कोणसभालाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री साहले  यो सविधानमा विभेदकारी संविधान रहेको भन्दै जबसम्म संविधान संशोधन हुँदैन तबसम्म संविधान दिवस होइन, कालो दिवसको रुपमा प्रत्येक वर्ष मनाउने दावी गरेका छन् । उनले संविधान संशोधन पश्चात् मात्र शहादत दिएका वीर सपुतको सपना पुरा हुने छ । संघीय सरकारले पटकपटक संविधान संशोधनको नाउँमा धोका दिंदै आएको आरोप लगाउँदै विभेदकारी संविधान स्वीकार नगर्ने दोहोर्याएका छन् ।

विरोध सभामा प्रतिनिधि सभा सदस्य वृशेषचन्द्र लाल, जनकपुरकाम उपमहा नगरपालिकाका मेयर लालकिशोर साह,  प्रदेश साँसद परमेश्वर साह, जनकपुरधाम उपमहा नगरपालिकाका उपमेयर रिता कुमारी मिश्र, हंसपुर कठपुल्लाका मेयर रामज्ञान मण्डल, उपमेयर रेणु झा लगायत दर्जनौ राजपा नेता तथा कार्यकर्ताहरुले मधेशी जनताको भावना अनुसार संविधान संशोधन नभएमा असोज ३ कालो दिनको रुपमा मनाउने बताएका छन् ।
कोणसभामा संघीय सरकारप्रति आक्रोशित हुँदै उनीहरुले भने मधेशको जायज माँगलाई संविधानमा संशोध गरेमा आन्दोलन जारी छ र आउने दिनमा यो भन्दा पनि कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
२०७२ असोज ३ गते संविधान जारी भएको दिनमा पनि मधेशवादी दलले सो दिन कालो दिवस मनाएका थिए ।

Tuesday, September 18, 2018

लक्ष्य अनुसार परिवार नियोजनको कार्य देखिएन ः मन्त्री शर्मा


जनकपुरधाम, २ असोज । सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले लक्ष्य अनुसार परिवार नियोजको कार्य नदेखिएको बताएका छन् ।
जनकपुरधाममा मंगलवार सामाजिक विकास मन्त्रालयद्वारा आयोजित ‘पाँचौ परिवार नियोजन दिवस’को अवसरमा मन्त्री शर्माले प्राविधिक क्षेत्रमा प्रदेश २ बलियो भएपनि उपयुक्त साधनको अभावको कारण समस्या देखा परेको बताएका छन् । उनले परिवार नियोजनतर्फ प्रदेश सरकारले कटिबद्ध रहने समेत बताएका छन् ।
मन्त्री शर्माले शिक्षा तथा जनचेतनाको क्षेत्रमा प्रदेश २ पछाडि परेको छ । प्रदेश सरकारले शिक्षामा विशेष ध्यान दिनेछ बताएका छन् । उनले भने ‘विश्वकै सुन्दर प्रदेश २ को भूमि रहेछ । यस भूमिलाई सदुपयोग प्रदेश सरकारले गर्ने छ ।’ इमान्दारी पूर्वक कार्य गर्नका लागि मन्त्री यादवले स्वास्थ्यकर्मीहरुसँग आग्रह समेत गरे ।
मन्त्रालयका निमित सचिव दानीकान्त झाको अध्यक्षतामा भएको ‘पाँचौ परिवार नियोजन दिवस’ मा मन्त्रालयकै महिला शाखा प्रमुख मिरा मिश्रले बैनरमा ‘किशोर किशोरीको सहभागिता परिवार नियोजन सेवाको सुनिश्चितता’लेखिएपनि एउटा पनि नारा अनुसारको उपस्थिति नहुँदा आक्रोशत व्यक्त गरेका थिए । उनले यो कार्यक्रम पैसा पचाउने उद्देश्यले मात्र गरिएको बुझिएको आरोप समेत लगाएका छन् ।
मिश्रले कार्यलाई प्रभावकारिता दिनका लागि सम्बन्धित निकायको उपस्थिति आवश्यक रहेको बताएकी छन् ।
त्यसै जनकपुर अञ्चल अस्पतालका डा. नागेन्द्र यादवले परिवार नियोजन संघको काम कर्तव्य इमान्दारी पूर्वक भएमा मात्र सफल हुने बताएका छन् ।  उनले ग्रामीण भेगका अधिकांश परिवारहरु परिवार नियोजनबाट वन्चित हुने गरेको भन्दै परिवार नियोजनलाई सफल पार्नका लागि गाउँ गाउँमा क्लिनिक सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै डा. श्रीराम साह प्रत्येक व्यक्ति र दम्पत्तिले आफ्नो प्रजनन् चाहना अनुरुप प्रभावकारी परिवार नियोजन साधन अपनाएमा यसले प्रजनन दर व्यवस्थित बनाउन र महिला, बालबच्चा र परिवारको स्वास्थ्यमा सुधार गर्न मद्दत गरि त्यसबाट बचेको श्रोत र साधनबाट मानव विकासको लागि अति आवश्यक शिक्षा, स्वास्थ्य, बास, खाना, बाटो एवं अन्य आधारभूत पक्षहरुमा परिचालन गर्न मद्दत पु¥याई समाज र देशको समष्टिगत विकासमा मद्दत गर्ने बताएका छन् ।
उनले बच्चा र आमाको राम्रो स्वास्थ्यको लागि महिलाको उमेर २० वर्ष पुरा भएपछि मात्र गर्भधारण गर्नुपर्छ । एउटा बच्चा जन्मेपछि अर्को बच्चा चाहनेले कम्तीमा २ वर्ष सम्म गर्भवती हुनु हुदैंन साथै गर्भ खेर गएमा वा गर्भपतन भएमा ६ महिना पछि मात्र गर्भवती हुनुपर्छ । यस अवधिमा अनिच्छित गर्भ रोक्नको लागि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न सकिन्छ । त्यसैगरि थप सन्तान जन्माउन नचाहने दम्पतीहरुले स्थायी विधि पुरुषले भ्यासेक्टोमी र महिलाले मिनिल्याप अपनाउन सकिन्छ । गर्भान्तरको लागि पुरुषले प्रयोग गर्ने साधन कण्डम, महिलाले प्रयोग गर्ने साधन खाने चक्की ( पिल्स, डिपोप्रोभेरा सुई, इम्प्लान्ट वा आइ.यु.सि.डी. स्वास्थ्य संस्थाहरुबाट निःशुल्क रुपमा उपलव्ध गराउनु पर्ने बताएका छन् ।
‘किशोरकिशोरी सहभागिताः परिवार नियोजन सेवाको सुनिश्चितता’ नाराका साथ मनाइएको पाँचौ परिवार नियोजन दिवसमा हरिभूषणले परिवार नियोजनका सेवाको पहुँच नहुँदा प्रजनन समूह (१५(४९ वर्षका उमेर समूहका महिला) को २० प्रतिशत अनिच्छुक गर्भधारण गर्न बाध्य भएको प्रस्तुत गरेको छ ।
परिवार नियोजन सम्बन्धी हरिभूषणले कार्यपत्र प्रस्तुत गरेका थिए भने त्यसमाथि डा.श्रीराम साह र नर्सिंग क्याम्पसका प्रमुख जेकेलाल कर्णले टिप्पणी गरेका थिए । पाँचौ परिवार नियोजन दिवसको अवसरमा आठवटै जिल्लाका परिवार नियोजनमा आबद्ध चिकित्सकहरुको सहभागिता रहेको थियो ।


जनकपुरधामको विभिन्न ठाउँबाट ५० बढी पक्राउ


जनकपुरधाम, २ असोज । असोज ३ गते संविधान दिवसलाई विरोध गर्ने तयारीमा रहेका मधेश स्वतन्त्र गठबन्धन (सिके राउत)का कार्यकर्ता सत्यनारायण मण्डल सहित पचास भन्दा बढी समर्थकहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।
मण्डल सिके राउतका मुख्य सहयोगी रहेको जनाइएको छ । मण्डललाई मंगलवार दिउँसो सवा २ बजे पक्राउ गरिएको थियो भन्ने अन्य समर्थकहरुलाई बुधवार विहानैदेखि जनकपुरधामको विभिन्न चौकाबाट पक्राउ गरिरहेका छ ।

जनकपुर उपमहानगरपालिका ८ स्थित प्रहरी चौकी बलबाटोलबाट खटिएको सुरक्षाकर्मीले राउतका सहयोगी मण्डललाई उनको घरबाटै पक्राउ गरिएको थियो । राउतका स्वकीय सचिवको भूमिकामा मण्डल काम गर्दै आइरहेका थिए । पक्राउ परेका मण्डलसँग राउतबारे प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ ।
राउतलाई खोजी गर्नका लागि प्रहरीले विभिन्न होटेल तथा लजमा सर्च अभियान जारी राखेको छ । बुधवार संविधानको विरोधमा ‘कालो दिवस’ मनाउन तथा शहीदलाई सम्मान स्वरूप श्रद्धाञ्जलि दिनका लागि विरोधसभा राउत सहभागी हुने बताइएको छ । राउतका कार्यकर्ताले गाउँगाउँबाट मानिस ल्याएर जनकपुर भर्ने तयारी गरेको छ । राउत विगत केही सातादेखि सम्पर्क्िवहीन भएका छन् । ‘चलु जनकपुर भरु जनकपुर’ नारा दिएर जनकपुरमा बुधवार राउतले शक्ति प्रदर्शन गर्ने तयारी गरेको बुझिएको छ ।
यता धनुषा जिल्ला प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीसँग कुरा गर्दा यस सन्दर्भमा आफूलाई केही थाहा नभएको बताएका छन् ।
त्यसै राष्ट्रिय जनता पार्टी, धनुषा, मधेशी राष्ट्रिय परिषद र राजपा महिला संघले संविधानको विरोधमा प्रदर्शन गर्ने भएको छ । उनीहरुले विज्ञप्ति प्रकाशित गरी विरोध कार्यक्रम सार्वजनिक गरेका हुन् । बुधवार बेलुका २ बजे जनकपुरधामको जनक चौकबाट जम्मा भई विरोध प्रदर्शन गर्ने जनाइएको छ ।
त्यसैगरी महिला संघले बेलुका ३ बजे जनक चौकमा जम्मा भई नगरमा प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । बेलुका प्रदर्शन गर्ने र साँझ ७ बजेदेखि ७ः३० बजेसम्म ब्लैक आउट गर्नका लागि सबैमा आग्रह गरेका छन् । त्यस्तै मधेशी राष्ट्रिय परिषद केन्द्रिय संयोजक समितिका संयोजक श्रीचन्द्र मुखियाले नेपालको संविधान २०७०ले मधेशी जनताको अधिकार पुरा नहुने हुँदा असोज ३ गते विरोध प्रदर्शन कार्यक्रम राखिएको विज्ञप्तिमा उल्लेख गरेको छ । उनले मधेशी जनताको न्यायपूर्ण आन्दोलन र संघर्षबाट स्थापित समानता, स्वतन्त्रता र समावेशी समानुपातिक हक र अधिकारलाई नजर अन्दाज गरी स्वेच्छाचारी ढंगबाट संविधान घोषणा गरिएको आरोप पनि लगाइएको छ ।

Sunday, September 16, 2018

६ बु“दे मँंग यथाशिघ्र कार्यान्वयन गर्ने सम्झौता


जनकपुरधाम, ३० भदौ । नेपाली काँग्रेस, नगर कार्य समिति धनुषा र जनकपुरधाम उपमहानगरपालिका बीच स्थानीय सरकारले बढाएको कर वृद्धि सम्बन्धी छलफल भएको नेपाली काँग्रेसले जानकारी गराएका छन् ।
काँग्रेस नगरसभापति मनोज साहले शनिवार पत्रकार सम्मेलन गरी छलफलको क्रममा नेपाली काँग्रेसले भाद्र ७ गते बुझाएको ६ बुँदे ज्ञापनपत्रमा उल्लेख बुँदाहरुलाई यथाशीघ्र कार्यान्वयनमा ल्याउने मेयर साहले प्रतिबद्धता जनाएको बताएका छन् ।
दुबैपक्षबीच भएको सम्झौतामा आर्थिक ऐन २०७५ले निर्धारण गरेको कर गैरकर तथा सेवा शुल्कका दरहरुमा यथाशीघ्र कार्यान्वयन गर्ने जनाइएको छ । साथै ज्ञापनपत्रका अन्य बुँदाहरुबाट उठाएका बुँदाहरु पनि अविलम्ब कार्यान्वयन गर्ने सम्झौतापत्रमा उल्लेख रहेको छ ।
छलफल कार्यक्रममा उपहानगरपालिकाको पक्षबाट  मेयर लालकिशोर साह, उपमेयर रिता कुमारी मिश्र, प्रशाकीय अधिकृत उमेश ढुंगाना रहेका थिए ।
त्यस्तै नेपाली काँग्रेसको तर्फबाट नगरसभापति मनोज कुमार साह, गणेश झा, किशोरी साह, प्रफुल घिमिरे, रविन्द्र कुमार सिंह, कन्हैया कुमार कर्ण, दिगम्बर राय रहेका थिए । त्यस्तै जनकपुर उद्योगा वाणिज्य संघको तर्फबाट अध्यक्ष ललित साह, महासचिव जितेन्द्र कुमार महासेठ रहेका थिए ।
पत्रकार सम्मेलनमा संसदीय दलका नेता तथा प्रदेश साँसद रामसरोज यादव, दिगम्बर राय, प्रफुल्ल घिमिरे, जगदीश महासेठ, कन्हैया कर्ण लगायत दर्जनौको उपस्थिति रहेको थियो ।

दुई सय रुपैया तिर्न नसक्दा जेल चलान


जनकपुरधाम, ३० भदौ । जनकपुरधाम उपमहा नगरपालिका–१२ कुवा बस्ने राधाकृष्ण खत्वे दुई सय रुपैयाँको लागि आइतबार जेल जाँदैछन् । रिक्सा चलाएर आठजना परिवारको गुजारा चलाउँदै आएका राधाकृष्णले साहुसँग लिएको ऋण मध्ये दुई सय रुपैयाँ तिर्न नसक्दा जेल जान बाध्य भएका छन् ।
जेल जानु भन्दा एकदिन अगाडी ६० वर्षीय राधाकृष्णले साहुले आफूमाथि अन्याय गरेको बताए । श्रीमती सहित दुई छोरा, दुई बुहारी र ३ नातीसहित ८ जनाको परिवार छ उनको । जेल जाने निश्चित भएपछि विच्चली भएको छ, राधाकृष्णको परिवारमा ।
उनले २०४६ साउन १५ गते स्थानीय विक्रम यादवसँग १ हजार रुपैयाँ ऋण लिएका थिए । १ हजार ऋण दिएपनि विक्रमले राधाकृष्णसँग तीनहजार रुपैयाँको कपाली तमसुक बनाउन लगाए । र, तमसुक अनुसार मासिक तीनसयका दरमा राधाकृष्णलाई ब्याज तिर्नु पर्ने थियो ।
२०४७ जेष्ठ ८ गते राधाकृष्णले साहु विक्रमलाई ८ सय रुपैयाँ फिर्ता गरे । राधाकृष्णलाई १ हजार रुपैयाँको ९ महिनाको ब्याज २ सय ७० र  मुलधनमा बाँकी २ सय रुपैयाँ तिर्न बाँकी थियो । तर, विक्रमले २०४९ साल भाद्र १५ गते आफ्नो पत्नी गुलाबदेवी यादवको नाउँमा बाँकी रहेको ४ सय ७० रुपैयाँको २ हजार ९ सयको तमसुक बनाउन लगाएको राधाकृष्णले बताएका छन् ।
रकम थपेर कागज बनाउन लगाएपछि तिर्न सक्ने अवस्था नहुँदा फेरी उनीहरुले २०५८ साल अषाढ २० गते ४० हजार रुपैयाँको तमसुक गर्न लगाए, राधाकृष्णसँग ।
परिवारको आर्थिक अवस्था कमजोर रहेको राधाकृष्णले कृषि विकास बैंकमा धितो रहेको आफ्नो ४ का जग्गा फुकुवा गराएर विक्रमलाई लिन गुहार लगाएपनि उनी तयार भएनन् । उल्टै १ लाख ६५ हजारको तमसुक बनाउन बाध्य पारे ।
पैसा तिर्न नसकेपछि विक्रमले आफूविरुद्ध २०६३ साल पुष ९ गते जिल्ला अदालत धनुषामा मुद्दा गरेको राधाकृष्णको भनाई छ । मुद्दा परेपनि स्थानीयहरुले ७६ हजार रुपैयाँ तिरेर मिलापत्र गर्न आग्रह गर्दा आफू तयार भएपनि साहुले नमानेको उनको भनाई छ ।
जिल्ला अदालत धनुषाले २०६४ साल माघ २७ गते राधाकृष्णलाई एक वर्षको जेल सजाय सुनायो । र, पुनरावेदनले पनि जिल्ला अदालतले गरेको फैसला सदर गर्यो ।
शनिबार पत्रकार सम्मेलन गरेर राधाकृष्णले भने,‘अदालतले पक्राउ पूर्जी जारी गरेको छ । म भोली जेल जाँदै छु । तर, दुई सय रुपैयाँको लागि म जेल जानु समाजबाट मानवीयता समाप्त हुँदै गएको पुष्टि भएको छ ।’ दुई सय रुपैयाँ तिर्न नसकेपछि आफू जेल गएपनि समाजका कोहि व्यक्तिलाई यस्तो दिन हेर्न नपरोस राधाकृष्णले बताए । यता साहु यादवले गाउँका त्यस्ता ९ जनासँग कपाली तमसुक गराएर जवर्जस्ती मनोमानी तरिकाले जथाभावी रकम असुल्ने गरेको पीडितहरुले बताए ।

Saturday, September 15, 2018

पोखरी सौन्दर्यीकरणको कार्य छिट्टै हुन्छ ः मेयर साह


जनकपुरधाम, २९ भदौ ।  जनकपुरधाम उप महानगरपालिकाका मेयर लाल किशोर साहले मुलुक भरिमा जनकपुरधामको चर्चा रहेको दावी गरेका छन् । पुरानो संरचनामा नयाँ संरचनाको खोजको चर्चा हुँदा जनकपुरधाम उपमहानगरपालिकाको चर्चा हुने गरेको बताएका छन् ।
शुक्रवार मारवाडी सेवा समितिको नव निर्वाचित पदाधिकारीहरुको पद स्थापन समारोहलाई प्रमुख अतिथिको आसनवाट सम्वोधन गर्दै मेयर साहले स्मार्ट सिटी बनाउनकोलागि जनकपुरधामलाई पाँचौ स्थानमा राखिएको जानकारी दिएका छन ।
मेयर साहले जनकपुरधाममा तीन दर्जन पोखरीको सौन्दर्यी करण तथा डिलक्स ट्वाइलेट निर्माण भएपछि जनकपुरधामको विकास निर्माणको कार्यमा प्रगति त्यतिवेला वुझाउने वताए । उनले अहम नगर्न आग्रह गरे । मैलेनै यस्तो गरे वा गराए भन्नु भन्दा राम्रो जानकी जीको कृपाले भएको भन्न आग्रह गरेका थिए ।

धर्म संस्थाद्वारा तीन जिल्लाका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृति प्रदान


जनकपुरधाम, २८ भदौ ।  जनकपुरधाम स्थित रामस्वरुप साह, रामसागर साह धर्म संस्थाद्वारा स्थापित ‘भैरव साह लक्ष्मीनिया देवी छात्रवृति २०७५’ तीन जिल्लाका उत्कृष्ट विद्यार्थीहरुलाई प्रदान गरिएको छ ।
धर्म संस्थाका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा भएको ‘छात्रवृति’ कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री नवलकिशोर साहले धर्म संस्थाले गरेको यो कार्यक्रम शिक्षा क्षेत्रमा सराहनीय रहेको बताएका छन् । उनले अहिलेको अवस्थामा यस्ता कार्य गर्ने निक्कै कम संघ संस्था रहेको दोहोर्याउँदै यस धर्म संस्थालाई राज्यको पक्षबाट राजकीय सम्मान दिलाउन आफू प्रतिबद्ध रहने दावी गरेका छन् ।
उनले धार्मिक संस्था हुँदाहुँदै पनि शैक्षिक क्षेत्रमा लगानी गरेर सामाजिक विकासमा सराहनी कार्य गरेको हो । मठ मन्दिर निर्माण भन्दा शिक्षामा लगानी गर्नका लागि पनि सबैमा आग्रह गरेका छन् ।
त्यस्तै वरिष्ठ पत्रकार राजेश्वर नेपालीले तीनवटा जिल्लाका उत्कृष्ठ विद्यार्थीहरुलाई दिने छात्रवृतिलाई प्रदेशस्तरीय दिनका लागि आग्रह गरेका छन् । उनले रामस्वरुप साह, रामसागर साहले शैक्षिक क्षेत्रमा लगानी नगरेको भए आज शिक्षा क्षेत्रको विकास यस भेगमा हुने थिएन । तर शैक्षिक क्षेत्रमा लगानी हुँदाहुँदै पनि राज्यले अहिलेसम्म सम्मान समेत गर्न नसकेकोले प्रति दुःखेसो पोखेका छन् ।
उनले यो धर्म संस्था कम्तिमा यस प्रदेशकै नमूना धर्म संस्थाको रुपमा स्थापित गर्नका लागि प्रदेश सरकारसँग आग्रह समेत गरेका छन् । रामस्वरुप साह रामसागर साह हुलाक टिकटमा समेत प्रकाशित गराउनका लागि राज्यसँग उनले आग्राह गरेका छन् ।
धर्म संस्थाले धनुषा, महोत्तरी र सिरहा जिल्लाका सामुदायिक विद्यालयबाट एसईई परीक्षामा २.४ वा सो भन्दा बढी अंक प्राप्त गरेका ३÷३ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ । धनुषाबाट प्रथम हुने आलोक कर्ण, दोस्रो हुनेअरुण कुमार साह, र तेस्रो हुने अस्मिता राउतलाई छात्रवृति प्रदान गरिएको छ । त्यस्तै महोत्तरीबाट प्रथम हुने आदित्य पंजियार, दोस्रो हुने प्रशान्त आर्य र तेस्रो हुने निधि कुमारी मण्डललाई छात्रवृति प्रदान गरिएको छ । त्यस्तै सिरहाबाट  प्रथम हुने रविन कुमार यादव, दोस्रो हुने विवेक प्रकाश यादव र तेस्रो हुने रम्भा सिंहलाई छात्रवृति प्रदान गरिएको छ ।
प्रथम स्थान ल्याउनेलाई १५ हजार र प्रमाणपत्र, दोस्रो स्थान ल्याउनेलाई १२ हजार र प्रमाणपत्र तथा तेस्रो स्थान ल्यानेलाई १० हजार र प्रमाण पत्र प्रदान गरिएको छ ।
छात्रवृति कार्यक्रममा उपशिक्षा अधिकारी मिहीलाल यादव लगायतका व्यक्तिहरुले आ आफ्ना धारणा राखेका थिए ।
कार्यक्रम छात्रवृतिका सदस्य संयोजक विद्याकर प्रसाद साह, पूर्व साँसद दिनेश प्रसाद साह, प्रकाशचन्द्र साह, बलिराम साह लगायतलाई समेत सम्मानित गरेका छन् ।

Friday, September 14, 2018

तीनसय बढीले गराए निःशुल्क स्वास्थ्य जाँच

जनकपुरधाम, २८ भदौ । धनुषाको हंसपुर नगरपालिका ५ मा तीनसय बढी जनाले निःशुल्क स्वास्थ्य चेकजाँच गराएका छन् ।
हंसपुर नगरपालिका ५ को आयोजनामा तथा जपानी साथीको सहयोगमा भएको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमका प्रमुख अतिथि सोही नगरपालिकाका मेयर रामज्ञान मण्डलले निःशुल्क स्वास्थ्य यस भेगका लागि निक्कै सराहनीय रहेको भन्दै यस्ता कार्य गरि राख्नुपर्ने उनले विचार राखेका छन् । उनले भने ‘स्वास्थ्य शिविर तथा रक्तदान’ कार्यक्रम दुबै महत्वपूर्ण रहेको छ । एक्कै ठाउमा स्त्री तथा प्रसुती रोग, दन्त रोग, बाल रोग तथा हार्डजोनी रोगको व्यवस्था रहेको छ ।’ उनले गरीब, विपन्न तथा असहायको लागि निक्कै सराहनीय कार्य रहेको बताए ।
वडा अध्यक्ष शिवशंकर साहको अध्यक्षतामा भएको स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा पचसभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन भने तीस सय जनाले स्वस्थ्य जाँच गराएका छन् ।

हंसपुर नगरपालिकामा कामै नगरी बजेट स्वाहा


जनकपुरधाम, २८ भदौ । धनुषाको हंसपुर नगरपालिका वडा नं. ७ मा निर्माण कार्य नगरी एक करोड बढी रकम स्वाहा भएको स्थानीयवासीहरुले आरोप लगाएका छन् ।
स्थानीयहरुले यस वार्डमा २२ वटा निर्माण योजना मध्ये ११ वटा सञ्चालनमा आएपनि निर्माण कामै नगरी रकम स्वहा गर्ने गरेको दावी गरेका हुन । उनीहरुले १ करोड १५ लाखको बजेट यस वार्डमा छुट्टयाइएको छ । ती मध्ये १५ लाख पनि खर्च भएको छैन । यहाँका मेयर, उपभोक्ता समिति, अनुमगन समितिहरु मिलेर कागजमै निर्माण कार्य देखाएर रकम अनियमितता गर्ने गरेको आरोप लगाएका छन् ।
स्थानीयहरुले निर्माण स्थलमा नै पत्रकारलाई बोलाएर भने, ‘यस वार्डमा २० प्रतिशत मात्र कार्य भएको छ । त्यो पनि गुणस्तरहीन नै हो । ८० प्रतिशत कार्यलाई कागजी प्रक्रिया पुरा गरेर रकम स्वाहा गरेको छ ।’
यहाँका वडा अध्यक्ष, उपभोक्ता समिति अध्यक्ष लगायतलाई यस सन्दर्भमा जानकारी गराउँदा पनि उनीहरुले आउन नमानेको स्थानीय भूपेन्द्र कुमार मण्डलले गुनासो पोखे । तर मेयर रामज्ञान मण्डलले दैनिक जनकपुरसँग कुराकानी गर्दै भने, ‘प्रतिपक्षीहरुले भ्रम फैलाउनका लागि षडयन्त्र पूर्वक वा जानकारी नभएको कारणले यस्तो आरोप लगाएको हो । निर्माण कार्य नभएको यसमा कुनै दुई मत छैन । तर अहिलेसम्म ती निर्माणका लागि बजेट पनि निकासा गरेको होइन ।’

उनले नगरपालिकामा प्रशासकिय अधिकृत ढिलो आएकोले प्रत्येक वार्डमा बजेट घोषण भएपनि काम नहुँदा पैसा निकासा नगरेको बताएका छन् । स्थानीयहरुको गुनासो केही हदसम्म ठिक भएपनि खाता सञ्चालन समयमा हुन नसक्दा कार्यमा ढिल्लाई भएको उनले दोहोर्याएका छन् ।अहिले पनि ठेक्केदार तथा उपभोक्ता समितिको रकम रोक्का गरी राखेको उनले बताएका छन् ।

जनकपुरधाममा असोज ३ गते विरोध प्रदर्शन

जनकपुरधाम, २८ भदौ । राष्टिूय जनता पार्टी (राजपा) नेपालले पार्टीले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । यसअघि राजपाले आफूहरुको माग पूरा नगरे सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो ।
यता राजपा जिल्ला कार्य समिति धनुषाले प्रेस विज्ञप्ति जारी गरी असोज ३ गते संविधानको विरोधमा वृहत विरोध र्याली तथा ब्लयाक आउट गर्ने निर्णय गरेको छ । जिल्ला संयोजक प्रमोद यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा र्यालीमा सहभागीका लागि सबै नेता तथा कार्यकर्ताहरुसँग आग्रह गरेका छन् । त्यसै भाद्र ३० गते वृहत्त बैठकको आयोजना समेत गरेको जनाइएको छ ।
तीन दिनअघि बसेको राजपा नेपालको अध्यक्ष मण्डलको बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भएको थियो  । तर, हाल आएर नेताबीच समर्थन फिर्ता लिनका लागि हतार नगर्न सहमति भएको एक नेताले जानकारी दिए ।
विभिन्न माग राखि राजपा नेपालले साउन ३ गते प्रधानमन्त्री केपी शर्मालाई ज्ञापनपत्र नै बुझाएको थियो । ज्ञापनपत्र बुझाएपनि त्यसको कुनै सुनुवाई नभएपछि साउन २७ गते राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरुले भेटेर मागको बारेमा मौखिक स्मरण गराएका थिए ।
भेटमा प्रधानमन्त्री ओलीले आन्दोलनको क्रममा थुनामा रहेका तथा मुद्दा खेपिरहेकाका विषयमा सरकारले के गर्छ सक्छ त्यसका बारेमा आवश्यक छलफल गर्ने प्रतिबद्धता जनाएका थिए । सो  प्रतिवद्धता अनुसार प्रधानमन्त्री ओलीले वार्ता टोली नै गठन गरेपछि राजपा नेपालका नेताहरु सकारात्मक बन्दै सरकारलाई दिएको समर्थन कायमै राख्ने निश्कर्षमा पुगेका हुन् ।

Thursday, September 13, 2018

तीजमा रमिए महिला व्रतालुहरु


जनकपुरधाम, २७ भदौ । जनकपुरधाममा बुधवार हरितालिका तीजको अवसरमा महिला श्रद्धालुहरु दिनभरि नाचगान गरी रमिएकी थिइन ।
प्रत्येक वर्ष झै यसवर्ष पनि सामाजिक क्षेत्रमा कार्य गर्दै आएका गणेश युवा कमिटीले तीज महिला व्रतालुहरुका लागि स्टेज लगायतको व्यवस्थापन गरेका थिए । त्यो स्टेजमा तीज महिला व्रतालुहरुले विभिन्न तीज गीतमा नृत्य गरेर रमिएकी थिइन ।
गणेशका अध्यक्ष सुनिल लाल दासको अध्यक्षतामा भएको तीज कार्यक्रममा सैयौको संख्यामा महिला व्रतालुहरु रमिएकी थिइन ।
त्यसैगरी जनकपुरधामको विभिन्न ठाउँमा तीज कार्यक्रमको आयोजना गरिएको थियो । महिला व्रतुहरुले दिनभरि जनकपुरधामको विभिन्न मठ मन्दिरमा गएर पूजापाठ गरी तीज पर्व मनाएकी छिन् ।
तीजको अवसरमा शिवमन्दिर, जानकी मन्दिर, राममन्दिर, हनुमान मन्दिर लगायतको मठ मन्दिरहरुमा महिला व्रतालुहरुको निक्कै घुइचो लागेको थियो । विहान ८ बजदेखि बेलुका ५ बजेसम्म महिलाहरुले मठ मन्दिरमा गएर पूजापाठ गरेकी थिइन ।
हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ । आज हिन्दु महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र तिजका गीतमा नाचगान गरेकी थिइन ।

गरीब तथा विपन्न वर्गलाई निःशुल्क स्वस्थ्य विमा ः मन्त्री कुशवाहा


जनकपुरधाम, २७ भदौ । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले गरीब तथा विपन्न परिवारहरुका लागि निःशुल्क बिमा गर्ने तर्फ राज्यप्रतिबद्ध रहेको बताएका छन् ।
राष्टिूय स्वास्थ्य बिमा बोर्ड, काठमाडौंद्वारा बुधवार आयोजित ‘स्वागत तथा सम्मान’ कार्यक्रममा मन्त्री कुशवाहाले वर्तमान अवस्थामा सबैलाई स्वस्थ्य बिमा गराउनु पर्ने अनिवार्य रहेको भन्दै राज्यले यसका लागि योजना बनाई रहेको र छिट्टै नै लागु गर्ने बताएका छन् ।
मन्त्री कुशवाहाले गरीब तथा अति विपन्न परिवारलाई निःशुल्क रुपमा स्वास्थ्य बिमा गर्ने प्रतिबद्धता जनाएका छन् । उनले असोजको पहिलो हप्तादेखि नै प्रदेश २ मा स्वास्थ्य बिमा लागु गर्ने सरकारको योजना रहेको बताएका छन् ।
बोर्डका अध्यक्ष उमा शंकर प्रसाद साहको अध्यक्षतामा भएको ‘स्वागत तथा सम्मान कार्यक्रम’मा मन्त्री कुशवाहालाई दोसल्ला ओढाएर सम्मानपत्रबाट सम्मानित गरेका छन् । सम्मान कार्यक्रममा फोरमका केन्द्रिय सदस्य नवलकिशोर यादव, लक्ष्मी महतो लगायतको उपस्थिति रहेको थियो ।

राजपाद्वारा असोज ३ गते विरोध तथा ब्लकआउट गर्ने कार्यक्रम घोषणा


जनकपुरधाम, २७ भदौ । राष्टिूय जनता पार्टी (राजपा) नेपालले असोज ३ गते संविधान घोषणा भएको दिनमा विरोध तथा ब्लकआउट गर्न जिल्ला(जिल्लामा परिपत्र जारी गरेको छ ।
राजपा अध्यक्ष मण्डलको काठमाडौंमा भदौ २५ र २६ गते बसेको दुई दिवसीय बैठकबाट संविधान जारी भएको दिन असोज ३ गते विरोधका कार्यक्रम गर्न तथा १५ मिनट ब्लक आउट गर्ने निर्देशन भएको राजपा प्रदेश २ प्रमुख सचेत एवं साँसद परमेश्वर साहले जानकारी दिएका छन् ।  उनले यसको तयारी सम्बन्धमा विहिवार जिल्लामा बैसर छलफल गर्ने पनि बताएका हुन ।
मधेशका सबै जिल्लाका अध्यक्ष मण्डललाई जारी गरिएको परिपत्रमा सबै जिल्लामा विरोधका कार्यक्रम गरेर ‘विरोध दिवस’ मनाउन निर्देशन दिइएको छ । राजपा संयोजक महन्थ ठाकुरद्वारा जारी परिपत्रमा असोज ३ गते दिउँसो विरोध प्रदर्शन तथा विरोधसभा गर्ने, साँझ ७ बजेदेखि सवा ७ बजेसम्म ‘ब्ल्याक आउट’ गर्ने र अन्य विरोधका कार्यक्रम आफैं तय गरेर विरोध गर्न निर्देशन दिइएको हो ।
मधेशी जनताको भावना विपरीत संविधान जारी भएको र संशोधन नभएका कारण २०७२ सालदेखि २०७४ सालसम्म राजपाले मनाउँदै आएको कालो दिवसको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको राजपा नेपालका महासचिव केशब झाले बताएका छन । ‘संविधानमा केही पनि परिवर्तन नभएकाले हाम्रो माग र मुद्दा यथावतै रहेका कारण संविधानको विरोध गर्ने कार्यक्रम गर्न निर्देशन जारी गरिएको हो,’ उनले भने ।