Tuesday, April 28, 2020

धनुषा निर्माण व्यवसायी संघद्वारा १३० परिवारलाई राहत वितरण

जनकपुरधाम, १६ बैशाख ।  लकडाउन लम्बिदै जाँदा गरीब, विपन्न, असहाय र दैनिक ज्यालादारी गरी खानेहरुलाई निक्कै समस्या पर्न थालेपछि धनुषा निर्माण व्यवसायी संघले राहत वितरण गर्ने कार्य शुरु गरेको छ।
व्यसायी संघका महासचिव रमेश कुमार यादवको पहलमा सुगम कन्स्ट्रक्सनका सञ्चालक श्याम किशोर साहले सो राहत वितरण गरेको हो । जनकपुरधाम नगरभित्रमा रहेका असहाय, विपन्न तथा दैनिक ज्यालादारी गरी खानेहरुलाई सो राहत वितरण गरेको जनाइएको छ ।
संघका महासचिव रमेश यादवले चावल, दाल, आलु, साबुन लगायतको सामाग्री वितरण गरिएको जनाइएको छ ।
कोरोना भाइरस महामारी रोगबाट विश्वमा अहिलेसम्म २ लाखबढीको मृत्यु भई सकेको छ भने ३० लाख बढी संक्रमित रहेको छ । नेपालमा अहिलेसम्ममा ५१ जना बढी कोरोना संक्रमित रहेको जनाइएको छ ।
नेपाल सरकारले चौथो पटक लकडाउन गर्ने भएपछि विशेष गरी गरीब, असहाय तथा विपन्न परिवारलाई खानमा धौं धौं परिरहेको बेलामा निर्माण व्यवसायी संघले राहत वितरण कार्य शुरु गरेको महासचिव यादवले जनाएका छन ।

राहत सामाग्री चेकजाँचपछि मात्र वितरण हुने, झुठा आरोप सावित भएमा कानूनी कारवाही हुने दावी

जनकपुरधाम, १६ बैशाख । जनकपुरधाम उपमहानगरपालिका १६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल ढुसी परेको तथा कुहिएको भेटिएको समाचार बाहिर आएपछि चेकजाँचको लागि पठाइएको छ ।
जनकपुरधाम उपमहा नगरपालिकाले मगलवार पत्रकार सम्मेलन गरी राहतका लागि आएको सामाग्रीको म्याद छ कि छैन र गुणस्तरीय चेकजाँच पश्चात् नै वितरण हुने गरेको दावी गरेका छन् ।
‘सामाजिक सञ्जाल फेसबुक र अनलाइनमा समाचार आएपछि त्यसको चेकजाँचका लागि खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालयलाई खबर गरेको छौं’ उपमेयर रिता कुमारी मिश्रले भनिन । उपमहानगरपालिकाको १२ वटा वडामा ७ हजार ६ सय व्यक्तिको राहत गएको छ । ती मध्ये वडा नंं. १६ मा ५ सय ४१ व्यक्तिको राहत वितरण गरिएको हो । ती वडाका २ वटा व्यक्ति बाहेक कहिबाट कुनै शिकायत आएको छैन उपमेयर मिश्रले भनिन, ‘उपमहानगरपालिका गुणस्तरीय राहत वितरण गरिरहेको छ । नगरवासीमा कुनै शंका उपशंका नहोस् त्यसैका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट चेकजाँचका लागि मान्छे बोलाएका हो ।’
यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चावल र तोरीको तेललाई परीक्षणको लागि प्रयोगशालामा लगिएको छ । परीक्षणको परिणाम दुई वा तीनदिनमा आउने सो कार्यालयका कार्यालय प्रमुख विजय खनालले बताएका छन् । उनले चेकजाँचपछि नै राहत वितरणका लागि आग्रह समेत गरेका छन् ।
त्यता जिल्ला प्रशासन कार्यालयबाट आएका प्रतिनिधिले चावल बदलिएको देखिएमा वा बदनाम गर्ने नियतले त्यस्तो गरेको पाइएमा कानून अनुसार कार्यवाही हुने बताएका छन् ।  जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा १२ वटा वडाका ७ हजार ६ सय परिवारका लागि राहत पठाएको छ । वडा नम्बर २, ३, ४, ५, ६, ८, ११, १४, १६, १७, १८ र २१ मा राहत पठाइएको हो । वडा नम्बर २ मा ३ सय १५, वडा नम्बर ३ मा २ सय ७०, वडा नम्बर ४ मा १ हजार २९, वडा नम्बर ५ मा १ सय ४७, वडा नम्बर ६ मा ५ सय ८८, वडा नम्बर ८ मा ७ सय ५४, वडा नम्बर ११ मा ५ सय ८९, वडा नम्बर १४ मा ६ सय १५, वडा नम्बर १६ मा ५ सय ४१, वडा नम्बर १७ मा ९ सय ४१, वडा नम्बर १८ मा ६ सय १२, वडा नम्बर २१ मा १ हजार २ सय घरपरिवारका लागि राहत पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।


Saturday, April 18, 2020

प्रदेश सरकारद्वारा दोश्रो चरणको राहत प्याकेजको घोषणा

जनकपुरधाम, ७ बैशाख । कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका  कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालादारीका मजदुरहरुको लागी प्रदेश सरकारले दोश्रो चरणको राहत प्याकेजको घोषणा गरेको छ ।
मन्त्री परिषदको आज सम्पन्न मन्त्री परिषदको बैठकले लक्षीत परिवारको घरमा सोझै राहत पु¥याउने गरि दोस्रो चरणको राहत प्याकेजको घोषणा गरिको हो ।
पहिलो चरणमा प्रदेश सरकारले स्थानीय तह मार्फत राहत वितरणको कार्यक्रम ल्याएपनि कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासोलाई मध्य नजर गर्दै प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पु¥याउने योजना ल्याएको छ ।
स्थानीय तहहरुले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरुको लिष्टको आधारमा प्रदेश सरकारले जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालय मार्फत राहत सामग्री खरिद गरि प्याकेट तयार गरेरै लिष्ट सहित वडालाई जिम्मा लगाउने र वडाले प्याकेट प्राप्त गरेको २४ घण्टा भित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रावधान राखिएको छ ।
 स्थानीय तहले बुझाएको लिष्टमा कुनै समस्या देखिए जिल्ला विपद व्यवस्थापन समिति र प्रदेश सभा सदस्यहरुले छानविन गरि वास्तविक पिडितको पहिचान गरिने व्यवस्था समेत गरिएको छ।
त्यसै गरि मन्त्री परिषदको बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैया निकासा गरेको छ । उक्त रकमले थप पिसिआर मेसिन सहितका अन्य उपकरणहरु खरिद गरिने जनाएको छ। त्यसै गरि मन्त्री परिषदले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना विरामीहरुको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैया दिने निर्णय समेत गरेको छ । 

प्रदेश राहत कोषमा महालक्ष्मी बैंकको ४ लाख सहयोग
जनकपुरधाम, बैशाख ७ । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा महालक्ष्मी बैंकले सहयोग गरेको छ ।
महालक्ष्मी बैंकले प्रदेश राहतकोषमा चार लाखको सहयोग गरेका छन । बैंकका जनकपुर स्थित प्रतिनिधिहरुले आज विहान मुख्यमन्त्री लालबाबु राउतले चार लाख बराबरको चेक हस्तान्तरण गरेका हुन ।
प्रदेश राहत कोषमा प्रदेशमा शाखा संचालन गर्दै आएका प्रायः बैंकहरुले सहयोग गरेका छन भने केही समाजिक संस्था र उद्योगपतिहरुले समेत सहयोग गरेका छन ।
राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषणा गरेका छन ।

जनकपुरधाममा दुध लिन गएका कर्णलाई प्रहरीद्वारा कुटपिट

जनकपुरधाम, ७ बैशाख । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ शिवचौक बस्ने कल्याण कुमार कर्ण बच्चाका लागि दुध लिन गएको बेलामा प्रहरीले निर्घात रुपमा कुटपिट गरेको छ ।
कर्णले आफ्नो फेसबुक सञ्जालमा भिडियो राखेर न्यायका लागि जिल्ला प्रशासन कार्यालय, प्रदेश २ का सरकार सहितका निकायलाई गुहारेका छन् । उनले फेसबुक सञ्जालमा ‘लकडाउनको पालना सबैलाई गर्नुपर्छ । लकडाउन हाम्रै लागि हो बुझ्नु पर्छ । तर दूध लिन जाँदा यसरी निर्ममता पूर्वक कुटपिट गर्नु कहाँको न्याय हो’ भनेका छन् ।
उनले अगाडि थपे ‘कदमचौकबाट दूध लिएर आउँदा प्रहरीले मलाई रोके र सोधे, तिमी कहाँबाट आउँदै छौ । मैले भने बच्चाका लागि दुध लिएर शिवचौक जाँदैछु । त्यति सुन्दै प्रहरीले लठ्ठीबाट कुटपिट गर्न थाल्यो । सडकमै सुताएर कुटपिट गर्यो’ उनले रुदै आफनो बयान राखेका छन् ।
कोरोना भाइरसबाट लड्नका लागि प्रहरी आफ्नो ज्यान जोखिममा राखेर सर्वसाधारण नागरिकलाई सचेत गराई रहेका छन् । सरकारले लकडाउनको पालनाका लागि पटकपटक आग्रह पनि गरेकै हो । तर अति आवश्यक वस्तु ल्याउँदा केही नगर्न प्रहरीलाई निर्देशन दिंदा पनि यसरी निर्ममता पूर्वक कुटपिट गर्नु उचित नभएको स्थानीयहरुको कथन रहेको छ ।
कर्णलाई प्रहरीले खुट्टा र हाथ लगायतमा लट्ठी प्रहर गरेका छन् ।

युवाहरुलाई सुरक्षित स्वदेश फिर्ता मगाउन अप्रवासीको माँग

जनकपुरधाम, ७ बैशाख । अप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले वैदेशिक रोजगारीमा गएका युवाहरुलाई सुरक्षित पूर्वक स्वदेश फिर्ता मंगाउन नेपाल सरकारसँग माँग गरेका छन् ।
केन्द्रले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस जस्ता महामारी रोगबाट विश्व नै त्राहिमाम छ । यस्तो अवस्थामा बिभिन्न संक्रमित मुलुकहरुबाट नेपालीकामदारहरुलाई सुरक्षित स्वदेश फिर्ता मगाए नेपालमै तिनहरुको व्यवस्थापनका लागि आग्रह गरेका छन् ।
बैदेशिक रोजगारीमा गएका युवाले पठाएको विपे्रषणले नेपालको कूल ग्राहस्थ्य उत्पादनमा ३३ प्रतिशत योगदान गरेको तथ्याङ्क छ । बिभिन्न गन्तव्य मुलुकमा आफ्नो रगत, पसिना बगाएर देशको अर्थतन्त्रलाई चलयामान बनाई रहेका छन् । ती युवाहरु हाल बिभिन्न मुलुुकमा कारोना भाईरसका कारण नाजुक तथा कष्टकर अवस्थामा आफनो दिनचर्या विताई रहेकोले उनीहरुलाई सुरक्षित किसिमबाट स्वदेशमा ल्याई दिनका लागि नेपाल सरकार सहित सम्बन्धित पक्षमा आग्रह समेत गरेको छ ।

Friday, April 17, 2020

जनकपुरधाममा जथाभावी रुपमा पैसा फालेर भाग्नेको खोजी गर्दै प्रहरी कोरोना संक्रमित हुन सक्ने अशंका


जनकपरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं.  ५महावीर चौकमा अज्ञात समूहले पैसा फालेर भागेको छ । उनी कोरोना संक्रमित हुन सक्ने अनुमान गरिएको छ ।
स्थानीयहरुका अनुसार दुईजना महिला १० र १००को नोट चौकको विभिन्न ठाउँमा फालेर भागेकी छन् । उनी केही सट्रमा समेत पैसा राखेको दावी गरेको छ ।
जथाभावी रुपमा विभिन्न ठाउँमा पैसा फालेर भाग्दै गर्दा स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि समयमै प्रहरीले महावीर चौकमा पुगेर पैसा फाल्नेको खोजी गरिरहेको जनाइएको छ ।
अन्दाजी ३५देखि ४० वर्षकी दुई जना महिला जथाभावी रुपमा पैला फालेर भागेको स्थानीयहरुले फोन गरेपछि उनको खोजी भई रहेको जानकी प्रहरी चौकीका इन्चार्ज राजाराम यादवले बताएका छन् ।
कोरोना संक्रमित व्यक्तिले ती रकम छिट्ेको हुन सक्ने स्थानीयहरुले अशंका गरेका छन् । पैसा छुएपछि कोरोना संक्रमण लाग्ने सक्ने अशांकामा स्थानीयहरु भयभित बनेका छन् ।
यता पैसा छिट्नेहरुको खोजी कार्य सिसीटी क्यामरा मार्फत पनि भई रहेको स्थानीयहरुले जनाएका छन् ।
केही दिन अघि भारतमा पनि कोरोना संक्रमित व्यक्तिले पैसामा थुक लगाएर छिट्टेका थिए । भारतीय प्रहरीले उनलाई पनि खोज्ने कार्य गरेको थियो।

Thursday, April 16, 2020

हँसपुर नगरपालिकाले शुरु गरे गरीब र असहायलाई राहत वितरण कार्य

जनकपुरधाम, ४ बैशाख । धनुषाको हँसपुर नगरपालिकाले गरीब, विपन्न तथा असहाय परिवारलाई विहिवारदेखि राहत दिने कार्य शुरु गरेको छ ।
हँसपुरका मेयर रामज्ञान मण्डलको नेतृत्वमा विहिवार करीब २ सय परिवारलाई राहत वितरण गरिएको जनाइएको छ । सरकारको निर्देशनको पालना गर्दै मेयर मण्डलले सामाजिक दुरी कायम गरी सो राहत वितरण गरिएको हो ।
हँसपुर नगरपालिका वडा नं. १ मा ४ जनाको परिवार रहेका व्यक्तिलाई आठ रुपैयाको राहत तथा चारजना बढीको परिवारका व्यक्तिलाई १६ सयको राहत दिने गरेको मेयर मण्डलले जानकारी गराएका छन् ।
राहतमा चावल, दाल, चिनी, पिठो, नुन, साबुन, खाने तेल, चुरा लगायतको सामाग्री रहेको छ ।
राहत वितरण कार्यलाई निरन्तरता दिने मेयर मण्डलले जानकारी गराएका छन् ।

विदेह नगरपालिकाद्वारा गरीब र असहायलाई राहत वितरण


जनकपुरधाम, ४ बैशाख । धनुषाको विदेह नगरपालिकाले विहिवारदेखि गरीब, विपन्न तथा असहायहरुलाई राहत वितरण कार्य शुरु गरेको छ ।
विदेहका मेयर बेचन दासको प्रमुख आतिथ्य तथा सोही नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष विनोद गोहितमानको अध्यक्षतामा करीब ४ सय १९ जना गरिब, विपन्न तथा असहाय परिवारलाई राहत वितरण गरिएको हो ।
सामाजिक दुरी कायम गरी प्रति व्यक्ति करीब १२ सय रुपैया पर्नेको राहत वितरण गरिएको जनाइएको छ । चाबल, दाल, चिनी, नुन,साबुन, खाने तेल, चुरा लगायतको सामाग्रीहरु रहेको जनाएको छ ।
राहत वितरण कार्यक्रममा सोही नगरपालिकाका उपमेयर निलम देवी, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, सामाजिक व्यक्ति लगायतको उपस्थिति रहेको थियो ।
राहत वितरण कार्यलाई निरन्तरता दिने मेयर दासले जनाएका छन् ।


प्रादेशिक अस्पतालका लागि आएको पीसीआर मेशिन वीरगञ्ज लगियो, सामाजिक सञ्जालमा मुख्यमन्त्रीलाई गाली गलौज


जनकपुरधाम, ४ बैशाख । प्रादेशिक अस्पताल जनकपुरधामका लागि आएका  कोरोना संक्रमण परीक्षण गर्ने प्रयोगशालाका पीसीआर मेसिन वीरगञ्ज लगिएको छ । नेपाल सरकारले सातवटै प्रदेशमा एउटा एउटा सो मेशिन पठाइएको हो ।
प्रादेशिक अस्पतालका लागि सो मेशिन आएपनि मुख्यमन्त्री लालबाबु राउतले आफ्नो जिल्ला र क्षेत्रमा लगिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा धेरैजनाले अपशब्दको प्रयोग समेत गरेको छ । फेसबुक सञ्जालमा मुख्यमन्त्री कुनै विशेष व्यक्ति, जातजाति, समुदाय, धर्मको हुँदैन, तर यो मुख्यमन्त्री राउत आफ्नो पदको दुरुपयोग गर्ने गरेको लेखेको छ ।
राजपाका केन्द्रिय सदस्य समेत रहेका रामजी रायले सामाजिक सञ्जालमा ‘चोर मुख्यमन्त्री लालबाबु गद्दी जहिलेपनि जनकपुरसँग खेलवड गरेको आरोप लगाएका छन् । उहाँको स्टेटसमा धेरैजनाले मुख्यमन्त्री राउतप्रति कोमेन्ट गरेका छन् ।
यता वीरगञ्ज लगिएको सो मेशिन अन्य उपकरणहरु नहुँदा तत्काल कोरोना संक्रमण परीक्षण गर्न नमिल्ने अधिकारीहरुले बताएका छन् ।
प्रदेश–२ सरकारले वीरगञ्जलाई उपलब्ध गराउने भनेको पीसीआर मेसिन बुधबार राति अबेर आइपुगेकोे नारायणी अस्पतालका अधिकारीले बताएका छन् ।
सामाग्री जुटाउन पहल भइरहेको नारायणी अस्पतातालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । ‘प्रदेश र संघ सरकारको विशेष सहयोगले वीरगञ्जमा पीसीआर मेसिन त आइपुगेको छ’ उनले भने ‘मलेकुलर ल्याब अति संवेदनशील ल्याब हो, सञ्चालनमा ल्याउन चाहिने अन्य औजार उपकरणको व्यवस्थापन भइनसकेको अवस्था छ । त्यसका लागि पहल भइरहेको छ ।’
ल्याब सञ्चालनमा ल्याउन बायोसेफ्टी क्याबिनेट, लेमिनर एयर फ्लो, डिफ्रिज, पीसीआर हुड, कोल्ड सेन्टिफ्रिजलगायत औजार उपकरण आवश्यक पर्ने विज्ञ बताउँछन् ।
‘आवश्यक औजार उपकरण बजारमा सहजै पाईदैन, आयातकर्ता पनि कम छन्, समान महंगो छन्’ मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले भने, ‘त्यसैले तत्कालै मेसिन सञ्चालनमा ल्याउन सकिदैन, समान जुट्यो भने ५र७ दिनमा सञ्चालनमा ल्याउन सकिन्छ ।’
आवश्यक औजार, उपकरणको व्यवस्था मिलाइदिन प्रदेश २ का मुख्यमन्त्री, स्वास्थ्य मन्त्रालयका अधिकारी लगायत अन्य सरोकारवाला निकायलाई आग्रह गराइसकिएको उनले बताए ।
यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले वीरगञ्जमा मंगलबारबाट कोरोना परीक्षण सेवा शुरु हुने दावी गरेका थिए ।

Tuesday, April 14, 2020

पैसा फालम फाल, राहतको हाहाकार


जनकपुरधाम ३ बैशाख । सरकारले लकडाउनको अवधि बढाएपछि दैनिक ज्यालादारी गरी खाने, दलित, असहाय, अपांग लगायतका व्यक्तिहरु राहत पाउन नसकिदा सडकमा आउन थालेका छन ।
लकडाउनको बेलामा कोही पनि भोकभोकै नरहोस त्यसका लागि स्थानीय सरकार र प्रदेश सरकारले गरीब, दलित, असहाय तथा दैनिक ज्यालदारी गरी खानेहरुलाई राहतको व्यवस्था गरिएको छ । प्रदेश सरकारले महानगरपालिकालाई २५ लाख, उपमहनगरपालिकालाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख रकम दिएको हो ।
यता स्थानीय सरकारले पनि सोही अनुसार रकम छुट्याएका छन् । तर लकडाउनको २२ दिनभएपनि अहिलेसम्म उनीहरुले राहतको नाउँमा केही पाएको छैन ।
जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरणका लागि करीब १ करोड रुपैया छुट्याइएको छ । प्रदेश सरकारले २० लाख राहतका लागि दिएको हो । उपमहानगरपालिकामा राहतको नाउँमा एक लाख २० हजार रुपैया हुँदाहुँदैपनि अहिलेसम्म उपमहानगरपालिकामा रहेका दलित, असहाय विपन्न तथा दैनिक ज्यालादारी गरी खानेहरुले राहत पाउन नसकेको छैन ।
उपमहानगरपालिकामा ८५ हजार बढी मतदाताहरु छन् । ती मध्ये १५ हजार बढी राहत लिने नामावली संकलन भएर आएको र उनीहरुलाई छिट्टै राहत वितरण गर्ने जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जानकारी दिएका छन् ।
त्यसैगरी धनुषाकै विदेह नगरपालिकाले राहतका लागि ५० लाख बढी रकम छुट्याइएको छ । प्रदेश सरकारले १५ लाख दिएको छ । यसो हेर्दा दलित, विपन्न, असहायको राहत वितरणका लागि ६५ लाख हुँदाहुँदैपनि अहिलेसम्म राहत वितरण हुन सकेको छैन ।
सो नगरपालिकाका मेयर बेचन दासले राहतका लागि ५६ सय पोका तयारी अवस्थामा रहेको र आजैदेखि वितरण गर्न जनाएका छन् । उनले प्रतिव्यक्ति १५ सयको दरले राहत पोका बनाएको बताए । यस नगरपालिकामा सबभन्दा बढी दलितकै संख्या रहेको र उनीहरु ज्यालादारी गरी खाने गरेको पनि जिकिर गरेका छन् । यस नगरपालिकामा ३५ हजार बढी मतदाता रहेको उनले जनाएका छन।
त्यस्तै हँसपुर नगरपालिकामा पनि लकडाउनको अवधिभरि दलित, विपन्न तथा असहायहरु भोकभोकै नरहोस् त्यसका लागि प्रदेश सरकार र स्थानीय सरकार मिलेर ३० लाख रुपैया राहतका लागि छुट्याइएको जनाएको छ । तर अहिलेसम्म कसैले राहत पाएको छैन ।
सोही नगरपालिकाका मेयर रामज्ञान मण्डलले राहत लिनको नामावली संकलन भई सकेको र छिट्टै राहत वितरण गर्ने बताएका छन् । यस नगरपालिकामा ४० लाख मतदाता मध्ये २९ हजार राहत लिनेको नामावली आई सकेको र उनीहरुलाई दुईदिनभित्र मा राहत वितरण गर्ने दावी गरेका छन् ।


Friday, April 10, 2020

असहाय मञ्चद्वारा निरन्तर १६ दिनदेखि राहत वितरण


जनकपुरधाम, २८ चैत । सरकारद्वारा लकडाउनको घोषणा पश्चात् असहाय संरक्षण मञ्चले राहत वितरण कार्यलाई आज (शुक्रवार) १५ दिनलाई निरन्तरता दिएको छ ।
मञ्चका अध्यक्ष वैद्यनाथ साह र सचिव धर्मेन्द्र साह आफै मोटरसाइकल सहितको साधनबाट उपमहानगरपालिकाको विभिन्न वार्डहरुमा राहत वितरण कार्य गर्दै आएको हो । प्रत्येक दिन ६०देखि सयजना असहाय, अपांग, दलित, गरीबलाई राहत वितरण गर्दै आएको मञ्चले जनाएका छन् ।
आपतकालिन अवस्थामा राज्यले गरीब, असहाय तथा विपन्न वर्गलाई गराउनुपर्ने अनुभूतिलाई सामाजिक संघ संस्थाहरुले राहत लगायतका सामाग्री वितरण गरी आहत दिने कार्य शुरु गरेको छ ।
मञ्चका अध्यक्ष वैद्यनाथ साह र सचिव धर्मेन्द्र साहले लकडाउनको अवस्थामा घरबाट कसैले बाहिर नजाओस् उद्देश्यका साथै आफै राहत लिएर घरघर पुग्ने गरेको बताएका छन् । कोरोना जस्ता महामारीबाट बँच्न र बचाउनका लागि सामाजिक दूरी, घरभन्दा बाहिर नजानु ठूलो विकल्पको रुपमा रहेको छ । तर दैनिक ज्यालादारी गरी जीविको पार्जन गर्दै आएका व्यक्तिलाई बढी पीडमर्का परेपछि मञ्चले सो ठाउँमा राहत लिएर पुग्ने गरेको बताएका छन् ।
त्यस्तै मञ्चले पौडेश्वरमा एकजना गरीबको मृत्युभएपछि उहाँका परिवारलाई ५१ सय रुपैया नगद तथा खद्यान्न लगायतको वितरण गरेको जनाइएको छ ।
विश्वभरिमा कोेरोना भाइरस महामारी रोग फैलिरहेको अवस्थामा नेपाल सरकारले चैत ११ देखि १८ गतेसम्मका लागि नेपालभरिमा नै लकडाउन गरेका थिए । तर भाइरसबाट मृतकको संख्या र संक्रमित हुनेको संख्या बढ्दै जाँदा पुनः १८देखि २५ गतेसम्म र तेस्रो चरणमा बैशाख ३ गतेसम्मका लागि लकडाउन गरिएको हो ।


Wednesday, April 8, 2020

जनकपुरधामलाई निरन्तर सेनिटाईज, उपमहानगरपालिकाद्वारा सहयोगका लागि आग्रह

जनकपुरधाम, २६ चैत । कोरोना महामारीबाट जोगिनका लागि जनकपुरधाम उपमहानगरपालिकाले सेनिटाइज लगायतका औषधीहरु निरन्तर छर्किरहेको छ ।
विश्वभरिमा अहिलसम्म कोरोना संक्रमणबाट ८३ हजार बढीको ज्यान गएको छ भने १५ लाखबढी संक्रमित रहेका छन् । नेपालमा हालसम्म सो रोगबाट मृत्यु नभएपनि ९ जना संक्रमित रहेको पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या बढिरहेको बेलामा जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्रमा सरसफाई तथा सेनिटाइज गर्ने कार्यलाई निरन्तरता दिएको हो ।
नेपाल सरकारले लगाएको लकडाउनबाट यहाँका गरीब, विपन्न तथा असहायहरु निक्कै पीडमर्कामा परेका छन् । दैनिक रुपमा ज्यालादारी गरी खानेहरु भएपनि उनीहरुलाई उपमहानगरपालिकाबाट केही सहयोग नपाएपनि सो रोगबाट मुक्ति पाउनका लागि सेनिटाइजर र सरसफाईलाई गम्भीरता दिएको छ ।
उपमहानगरपालिकाले प्रेस विज्ञप्ति जारी गरी कोरोना जस्ता महामारीलाई रोक्न यथासम्भव प्रयास गरिरहेको र त्यसका लागि विभिन्न वडाहरुका सार्वजनिक स्थलहरुमा दैनिक सरसफाई, सेनिटाइज गर्ने लामखुट्टे नियन्त्रण गर्न औषधि छर्किने कार्य, चौक चौकमा हैण्डवासको व्यवस्था, गरीब तथा विपन्न वर्गहरुमा दैनिक उपभोगका खाद्यन्न सामाग्री वितरण, बजारमा माइकिङ्ग लगायतको कार्य भई रहेको उल्लेखछ  ।
मेयर लालकिशोर साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोरोना जस्ता महामारीबाट बाच्नका लागि कुनै एउटा सरकार वा संस्थाले जति सुकै प्रयास गरेपनि सम्भव नरहेको छ । जनकपुरधामवासीहरुलाई महामारीबाट जोगाउनका लागि सम्पूर्ण नगरवासीहरु, संघसंस्थाहरु, बुद्धिजीवि, व्यापारी, राजनीतिकर्मीहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।
उपमहानगरपालिकाले विपद व्यवस्थापन खाता सञ्चालनमा ल्याइएको छ । राष्ट्रिय वाणिज्य बंैकको खाता नं. १२२०३०५०४९४०२ सहयोगका लागि आग्रह समेत गरेको छ ।

Thursday, April 2, 2020

सहकारीद्वारा सहज र सस्तो मूल्यमा तरकारी बिक्री अभियान

जनकपुधाम, २० चैत ।  जिल्ला सहकारी सँस्थाहरुले सर्वसाधारण जनतालाई सहज र सस्तो मूल्यमा तरकारी बिक्री अभियान सञ्चालन गरेको छ ।
कोरोना भाइरसलाई नियन्त्रण तथा आफू बँच्न र बचाउनका लागि सरकारले लगाएको लकडाउन पश्चात् तरकारी लगायतको मूल्य आकाशिएपछि सहकारी संस्थाहरुले सो अभियान सञ्चालनमा ल्याएको छ ।
जिल्ला सहकारी सँस्थाहरुले जनकपुरधामको विभिन्न चोकहरुमा घुमेर घुम्ती सेवा प्रदान गरिरहेको छ ।
तरकारीको घुम्ती सेवा सर्वसाधारणहरुको टोल टोलमा गएर बजारमा भन्दा अति सस्तो मूल्यमा उपलब्ध गराइरहेको सहकारी अभियन्ता सँजय साहले बताएका छन् ।
नेपाल केन्द्रीय मत्स्य सहकारी सँघ लिमिमेटका केन्द्रीय उपाध्यक्ष समेत रहेका साहले जनकपुरको कदमचोक, मिल्स एरिया, भानुचोक, पिडारीचोक, जिरोमाइल चोक लगायतमा घुम्ती तरकारी सेवा सुरु गरिएको बताएका छन्।
६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा टोल टोलमा तरकारी सेवा प्रदान गरिएको छ । रेल्वे स्टेशन नजिक समेत एक स्टोर खोलेर सहुलियत तरकारी उपलब्ध गराउने योजना रहेको साहले बताए ।
उनले भने –“हामी किसानको खेतबाट प्रत्यक्ष रुपमा ल्याउँछौं । बजारको भाउको ३० प्रतिशत कममा तरकारी उपलब्ध गराइरहेका छौं । यस्तोमा किसानको तरकारी पनि बजार पाएको छ ।”
“किसानका लागि सहकारी संस्था ,सहकारी संस्था लागि सहकारी संघ”  प्रदेश न २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको बिशेष पहलमा सो घुम्ती सेवा सँचालन गरिएको हो ।
राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारयण यादवको विशेष सहयोग र आयोजनामा उपभोगताहरूको सहजताको लागि  धनुषा सहकारी संघ र संस्थाको सहयोग मा सो योजना ल्याएको हो ।
जनकपुरको बिभिन चौकमा प्रदेश नं. २ सदस्यहरूको तरकारी उत्पादन  संकलन गरि जनकपुर सहित धनुषा जिल्लामा बजारमा विक्री वितरण गरिरहेको छ ।
सहकारी सेन्टर पसल सचालन गरी  उपभोताहरूको आवश्यकता लाई सेवा दिरहेको छ । बजारमा कोभी ५० रुपैयाँ हुँदा घुम्ती तरकारी सेवाले मात्र रु. २५ रुपैयाँमा उपलब्ध गराउँदैछ ।
सहकारीका केन्द्री उपाध्यक्ष सँजय साहका अनुसार बजारको मूल्यभन्दा जहिले पनि ३० देखि ५० प्रतिशत कममा उपलब्ध हुने भएको छ । उहाँले बजारमा भाउ घटाइए सोही अनुरुप आफूहरु पनि घटाएर दिने बताउनुभयो ।
कोभीको भाउ बजारमा ४० रुपैयाँ भए सहकारीले २० रुपैयाँमा मात्र उपलब्ध गराउने बताउनुभएको छ । लकडाउनमा कसैलाई घरबाट जथाभावी ननिस्कन आग्रह गर्दैै उहाँले आफूहरुको शिविर प्रत्येक टोलटोलमै पुग्ने बताएका छन् ।