Wednesday, December 27, 2017

प्रदेश सचिवालय र आवास जनकपुरको शैक्षिक तालिम केन्द्रमा


जनकपुरधाम, १२ पुस । प्रदेश नम्बर २ को राजधानी कहाँ राख्ने विषयमा बहस चलिरहेको बेला प्रदेशसभाको पहिलो बैठक जनकपुरमै राख्ने तयारी शुरु गरिएको छ । जनकपुरलाई अहिले अस्थायी राजधानीको रुपमा स्थापित गर्दै प्रदेशसभाको बैठकका लागि तयारी थालिएको हो ।
प्रदेश नम्बर २ को राजधानी स्थायी रुपमा घोषणा नगरिए पनि प्रदेशसभाको पहिलो वैठक, संरचना, कार्य विभाजन, पुर्वाधारको परीपुर्ती सहितका तयारीका लागि जनकपुरमा गृहकार्य शुरु गरिएको हो ।
प्रदेशसभाको पहिलो बैठकका लागि जिल्ला शिक्षा कार्यालय, धनुषाको तालिम केन्द्रमा राख्ने तयारी समेत शुरु गरि सकिएको छ । जनकपुर प्रदेशको राजधानी हुने सम्भावना प्रबल रहेको र भौतिक संरचना पनि तत्काललाई उपयुक्त भएको भन्दै कार्यदलले जिल्ला शिक्षा कार्यालय धनुषाको तालिम केन्द्रलाई पहिलो बैठक स्थल बनाउनका लागि तयारी शुरु गरिने बताइएको छ ।
यसअघि जनकपुर चुरोट कारखाना लिमिटेडमा प्रदेशसभाको पहिलो बैठक राख्ने चर्चा समेत चलेको थियो । तर जचुकालीको मर्मत सम्भारका लागि लामो समय लाग्ने भएकाले तत्कालका लागि तालिम केन्द्र नै उपयुक्त भएकोले जिल्ला शिक्षा कार्यालयको तालिम केन्द्रलाई प्रदेश सभाको पहिलो बैठक गर्ने तयारी शुरु गरिएको  धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईंले जानकारी दिनुभयो ।
प्रदेश संसदमा सभामुख, पुस्तकालय, मुख्यमन्त्रीको कार्यालय, दर्शक दिर्घा तथा सञ्चारकर्मीहरुको लागि समेत ठाउँको आवश्यकक्ता पर्ने भएकोले जिशिकाको तालिम केन्द्र नै उपयुक्त हुने बताइएको छ ।
तत्काल तालिम केन्द्रमा सामान्य खर्चबाट नै बैठक सञ्चालन गर्न सकिने  भएकाले पनि त्यस ठाउँलाई नै प्रदेश सभाको बैठकका लागि तयार पानु पर्नेमा सहमति भएको बुझिएको छ ।
यता प्रदेश प्रमुखको निवासका लागि समेत स्थान तय गरि सकिएको छ । प्रदेश प्रमुखको निवासका लागि सबैभन्दा उत्तम विकल्पको रुपमा नेपाल राष्टू बैंकको अतिथि गृहलाई देखिएको छ ।
तत्काल आवश्यकता पर्ने भएकाले राष्टू बैंकको अतिथि गृह अहिलेलाई प्रयोग गर्न लागिएको प्रमुख जिल्ला अधिकारी चापागाईं बताउँछन् । अहिले यी भौतिक संरचनाहरुलाई प्रयोग गरिए तापनि पछि विस्तारै सबैको अल्लगै भौतिक संरचनाको निर्माण गरिने बताइएको छ ।
प्रदेश सभाको पहिलो बैठक जनकपुरमा बस्ने तय हुने भएपछि जनकपुर नै प्रदेश नम्बर २ को राजधानी हुने निश्चित जस्तै देखिएको छ ।

Tuesday, December 26, 2017

चरित्र हत्याको प्रयास गरियो ः कांग्रेस धनुषा


जनकपुरधाम, ११ पुस । रामानन्द युवा क्लवको पूर्व अध्यक्ष प्रकाश मिश्राउपर भएको आक्रमणमा आफ्नो कार्यकर्ताको चरित्र हत्या गर्ने प्रयास भएकोप्रति नेपाली कांग्रेस धनुषाले आपत्ति जनाएको छ ।
प्रदेश नम्बर २को प्रदेश प्रहरी कार्यालयका अतिरिक्ति प्रहरी महानिरिक्षक विजयलाल कायस्थलाई डेलिगेशन बुझाउँदै नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादवले आपत्ति जनाउनु भएको छ । राजनीति स्वार्थ पूर्तीका लागि प्रकाश मिश्र लगायतका व्यक्तिले आफ्नो कार्यकर्ता जीवनाथ चौधरीको चरित्र हत्या गर्ने प्रयासस्वरुप उनलाई फसाइएको नेपाली कांग्रेस धन्ुषाले बुझाएको डेलिगेशनमा उल्लेख गरिएको छ । घटनालाई अतिरञ्जित गर्नकै लागि यसरी फसाउने कार्य भएको कांग्रेसले ठहर गरेको छ ।
गत मंसिर २ गते रामानन्द युवा क्लवका पूर्व अध्यक्ष प्रकाश मिश्रमाथि एक समूहले छूरा प्रहार गरी हत्या गर्ने प्रयास गरेको थियो ।
यता नेपाली कांग्रेस धनुषाले तुलसी साह हत्या प्रकरणको समेत निश्पक्ष छानविन गर्न माँग गरेको छ ।
डेलिगेशन बुझेपछि अतिरिक्त प्रहरी महानिरिक्षक कायस्थले घटनाको निश्पक्ष छानविन हुनेमा विश्वस्त रह्न आश्वासन दिनु भएको छ । घटनामा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याइने उनले बताए ।

सात जुनी साथका लागि वचन दिनेले नै ज्यान लियो


जनकपुरधाम, ११ पुस । सिरहा नगरपालिका–१८ लक्ष्मीनियाको रञ्जना शर्मा बाल्यवसथा देखि नै मिलनसार स्वभावकी थिइन । उनको व्यवहारबाट जो कोही पनि सहजै प्रभावित हुन्थ्यो । रञ्जनाको चुलबुले स्वभावका कारण घरमा पनि मनोरञ्जनात्मक माहौल बनेको हुन्थ्यो । तर सोही मिलनसार केटी बिहे पटि ससुरालीमा आउँदा कसैलाई रुचेन । रञ्जनालाई उनकै सासु, ससुरा, श्रीमान, जेठाजु लगायतका पारिवारिक सदस्यहरुकै मिलिभगतमा गत मंसिर ८ गते हत्या गरियो ।
जनकपुरको कृष्णा नर्सिङ ईन्स्टिच्युटमा तेश्रो वर्षमा नर्सिंङ पढ्दै गरेकी रञ्जनाको डेढ वर्षअघि १५ लाख दाइजो दिएर विवाह गरिएको थियो । विवाह हुँदा सयौँ सपना रञ्जनाले बुनेकी थिइन । हरेक युवती झै उनले पनि आफ्नो श्रीमानलाई लिएर मनमा चित्र बनाउने गर्थिन । विवाहको खबरले उनी असाध्यै खुशी थिइन । तर उहाँलाई भविष्यको कुरा थाहा हुने कुरै भएन । जुन श्रीमानले उनलाई सात जुनी साथ दिने वचन दिएका थिए उ नै रञ्जनाको मृत्युको कारण बने ।
विवाहको केही महिना पछि नै सम्बन्ध चिसियो
विवाहको केही दिनसम्म रञ्जना र श्रीमान आनन्द मोहनसंगको सम्बन्ध सोचे जस्तो राम्रो थिएन । उनले श्रीमानको आफ्नै भाउजुसंग अनैतिक सम्बन्ध रहेको सुइको पाइन । यस विषयमा कुरा गर्दा उल्टै श्रीमानले उनको चरित्रमाथि शंका गर्न शुरु गरे । बिहेको केही महिना नबित्दै उनको श्रीमान आनन्द मोहनले नै वास्ता गर्न छोडेपछि घरका अन्य सदस्यहरु पनि रञ्जनामाथि विभिन्न लाञ्छना लगाउन थाले । त्यसकै आधारमा ससुरा पक्षले थप दाइजोको माँग गर्न शुरु गर्यो । थप दाइजोको माँग पनि रञ्जनाको मृत्यको कारण बनेको छिमेकी आशा ठाकुरले बताइन । पोखरास्थित वन विज्ञान अध्ययन केन्द्रमा कम्प्युटर अपरेटरमा कार्यरत श्रीमान आनन्दमोहनले समेत आफूलाई दुःख दिने गरेको उनले  छिमेकीलाई पटकपटक सुनाएकी थिइन । रञ्जनाकी आमाले दिएको किटानी जाहेरी पनि छोरीको श्रीमान आनन्द मोहन भाउजुसंगै पोखरामा रहँदै आएका छन ।  श्रीमानसँग सम्बन्ध बिग्रेको देखेर ससुरा ठाकुरले रञ्जनालाई शारीरिक सम्बन्ध राख्न पटक–पटक मानसिक यातना दिँदै आएको समेत छिमेकीसँग उनले बताएकी थिइन ्। राति राति ससुरा रञ्जना सुतेको कोठाको ढोका घच घचाउने गर्थे । ढोका खोल्न नमानेपछि मोबाइलमा एसएमएस समेत पठाउने गरेको कुरा साथीहरुसंगको कुरामा बताउने गर्थिन । तर समाजिक प्रतिष्ठाका कारण उक्त कुरा प्रहरीसमक्ष लग्न चाहेकी थिइनन् ।
सम्बन्ध विच्छेदको विषय बन्यो मृत्युको कारण
श्रीमान आनन्द मोहनको भाउजुसंग अनैतिक सम्बन्ध रहेको र पटक पटक यातना दिने गरेको कुरा वैदेशिक रोजगारमा रहेका बुवा रामनारायण ठाकुरसंग बताएका थिए । बुवा ठाकुर विस्तारै विस्तारै ज्वाइ र छोरीको सम्बन्ध सुध्रिने सोचेका थिए । तर सम्बन्ध सुध्रिने छाँटकाट नदेखेपछि बुवाले सम्बन्ध विच्छेदकै लागि आफूले विदेशबाट आएर पहल गर्ने छोरी लाई बताए । सम्बन्ध विच्छेदको कुरा सुनेपछि सासु ससुराले त्यो दिनदेखि नै बुहारी रञ्जनाको हत्याका लागि योजना बनाउन शुरु गरे । सम्बन्ध विच्छेदको प्रकृया अगाडी बढाउनु पर्दा दाइजोमा लिएको १५ लाख रुपैया, ७ भरी सुन तथा सम्पतिबाट पनि अंश दिनु पर्ने कुरालाई लिएर उनीहरु तर्सिएका थिए । त्यसैले पनि रञ्जनालाई हत्या गरेपछि सबै समस्याबाट छुटकारा पाउने उनीहरुले सोचे ।
कसरी भयो हत्या
सम्बन्ध विच्छेदको कुराबाट तर्सिएका श्रीमान, सासु, ससुरा, जेठाजु सबै हत्याको षडयन्त्र बुन्न तर्फ लागे । रञ्जना छात्रवृतिमै बिएससी तेस्रो बर्षमा नर्सिंग पढ्दै थिइन । उनी होस्टेलमै बस्ने गर्थे । उनको पकेट खर्चको जोहो श्रीमानले गर्नुको साटो बुवालाई नै गर्नु पथ्र्यो । पछि सासु ससुराले होस्टेलमा बस्ने काम छैन भनी जबरदस्ती घरमै ल्याए ।
एक दिन रञ्जनाबाटै एक हजार रुपैया लिई दूई केजी मासु र रक्सीका केही बोतलहरु ल्याएको छिमेकीहरु बताउँछन । सोही राती रञ्जनालाई करनी गरी हत्या गरिएको आमा प्रभा ठाकुरले दिएको किटानी जाहेरीमा उल्लेख छ । मृत्यु पछि रञ्जनाको नाक, कानबाट समेत रगत बगेको थियो ।
घटनालाई मोड्ने प्रयास
श्रीमान आनन्द मोहन शर्मा, ससुरा देव नारायण ठाकुर, सासु,जेठान अरबिन्दकुमार ठाकुर र उनकी श्रीमती रिंकु शर्मा विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उनकी आमा प्रभा देवीले किटानी जाहेरी दर्ता गराएकी थिइन ।
घटना लगत्तै प्रहरीले रञ्जनाका ससुरा देवनारायण र सासु सुमित्रादेवीलाई पक्राउ गरेर कारवाही अघि बढाएको थियो । हत्या अभियोगमा पाँचजनाविरुद्ध किटानी जाहेरी दिए पनि अनुसन्धानका क्रममा सासु ससुराको मात्र संलग्नता रहेको खुलेको प्रहरीको ठहर गरेको छ । अन्य तीनजना निर्दोष देखिएकाले पक्राउ नगरिएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रविन धितालले बताए । यद्यपि रञ्जनाको आमा प्रभा देवी ठाकुरले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले पैसा खाएर बाँकी दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएकी छिन । अदालतले रञ्ञ्जनाको सासुलाई साधारण तारिखमा रिहा गरेको छ । प्रहरीको अनुसन्धान कमजोर भएका कारण दोषीहरुले उन्मुक्ति पाएको मा दुःख व्यक्त गरिन । आफू धनुषा जिल्ला अदालतको आदेशलाई चुनौती दिन उच्च अदालत जनकपुरमा जाने जानकारी दिनुभयो । 


Sunday, December 24, 2017

राजनीतिमा रामशषिका चुनौती


जनकपुरधाम, ९ पुस । सामाजिक अभियन्ता बनेर चर्चा कमाएका राम अशिष यादव अचानक प्रदेश सभाको सदस्य पदमा निर्वाचित हुँदा स्थानीयहरु छक्क परेका छन् । उनलाई अहिले टिप्पणीको विषय पनि बनाइएको छ । जनकपुरको विभिन्न चौकहरुमा अब कसरी सामाजिक अभिन्ताहरुमाथि विश्वास गर्ने प्रश्न समेत खडा गरिरहेका छन् । सामाजको सेवा राजनीतिभन्दा माथि छ । व्यक्ति जति सामाजिक कार्य गरेर सम्मान पाउने गर्छन त्यति सम्मान राजनीतिमा छैन, फेरी कुन लोभ लालचले गंगा आरतीबाट निक्कै नाम कमाएका राम अशिष यादव राजनीतिमा पसे त ? गंगा आरतीलाई एउटा राजनीतिको सिढी त बनाइएका होइनन् ? यि सबै प्रश्नहरु आम जनमानसमा उब्जिनु स्वभाविक हो । यद्यपि राजनीतिमा लागेपनि रामअशिषले सामाजिक कार्यहरुलाई विराम दिने छैनन् कति जनाको ठम्याई रहेको छ ।
राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा रामअशिषको निर्णयलाई मैले मात्रै होइन आम मतदाताले मतदान मार्फत पनि स्वागत गरिसकेको बताए । झाले भने फोहोरी राजनीति अहिले नेपालमा व्याप्त छ । सामाजिक अभियन्ताबाट राजनीतिमा पसेका यादवले राजनीति फोहोरी खेल हुन्छ भन्ने आम बुझाईलाई चिर्न सफल हुने विश्वास व्यक्त गरे । सरसफाई अभियान शुरु गरी सफलता प्राप्त गरेका निर्वाचित प्रदेशसभा सदस्य यादव राजनीतिमा समेत सफल पारी खेल्ने आमजनको बुझाई रहेको झाले बताए । आमजनको यो बुझाई र राजनीतिमा पनि सफल पारी खेल्नु रामअशिष यादवका लागि ठूलो चुनौतीको रुपमा रहेको छ ।
वि.सं. २०७० साल फागुन ११ गते धार्मिक सरोवर गंगा सागर पोखरीबाट राम अशिष यादवले सफाई अभियान शुरु गरी सामाजिक कार्यमा लागेका थिए । उनले सफाई अभियान मात्र होइन, सोही पोखरीमा पर्यटकहरु लोभ्याउनका लागि गंगा आरतीको शुरुवात समेत गरे । शुरुवाती केही दिनमा नै नेपाल तथा भारत बिहारको विभिन्न जिल्लामा जनकपुरधाममा गंगा आरतीको शुरुवात भएको खबर आगो झै फैलियो । जनकपुरधाम एउटा धार्मिक पर्यटकीय स्थल हो । गंगा आरतीको शुरुवातले पर्यटक रोक्नका लागि एउटा नयाँ आयाम नै दिएको छ । तर सवाल उठ्छ गंगा आरतीको बिरा उठाएका राम अशिष यादवले फेरी किन राजनीति क्षेत्रमा उत्रिए त ?

धनुषाको तत्कालिन गा.वि.स.कनकपट्टीमा वि.सं.२०२६ साल चैत्र १५ गतेमा बुवा रामलखन यादव र आमा दलौतीया देवीको गर्भबाट जन्मिएका राम अशिष यादवको परिवारिक पृष्ठभूमी नै राजनीतिक थियो । उहाँको बुवा लखन किसान भएतापनि कांग्रेसमा लागी ग्रामीण गर्ने गर्ने । दाजु परमेश्वर यादव यादव पनि कांग्रेसमै लागेर राजनीति गर्न थाले । बुवा र दाईकै पदचापमा हिड्ने रामअशिषले निर्णय गरे । उनले २०४७ सालमा नेपाल विद्यार्थी संघको नेतृत्व गरी राजनीतिमा प्रवेश गर्ने बिडा उठाए । पारिवारिक पृष्ठभूमी राजनीति नै भएकोले उहाँको लागि राजनीति कुनै नौलो कुरा भएन । तर उनी अलि फरक किसिमको राजनीतिक गर्न चाहन्थे । उनी भन्छन ‘त्यो बेलामा राजनीति स्वच्छ थिएन । राजनीतिक क्षेत्र बिलकुलै फोहर थियो । यो सब देखेर राजनीति गर्ने ईच्छा नै भएन । राजनीतिबाट आजित भएर २०५१ सालमा शिक्षक पेसामा लागे ।’
राम अशिष यादव काभ्रेको बागडेरी विद्यालयमा ३ वर्षसम्म शिक्षक बनेर कार्यरत रहे । तर उहाँको मन जनकपुर तर्फ हरेक क्षण लागेको हुन्थ्यो । उनले भने ‘ मेरो पारिवारिक पृष्ठभूमी राजनीतिक भएकोले म सधैं राजनीतिमा नै पस्न चाहन्थे । तर राजनीतिको सिढी नै फोहर भएकोले आफूलाई दिक्क लाग्यो ।’ ‘त्यो बेला राजनीतिमा सामन्तवादी, पारिवारवाद तथा भ्रष्टाचार कुटेर भरिएको थियो । शासन, प्रशासन पनि राजनीतिज्ञकै कब्जामा हुन्थ्योे, यस्तो अवस्थामा राजनीति गर्नु धेरै अप्ठ्यारो भयो’—उनले सुनाए ।
उनले भारतीय च्यनालहरु बढी सुन्ने गर्दथे । भारतीय च्यनालमा त्यहाँको राजनीति बहस बढी हुन्थ्यो । जनतामा जनचेतना, शिक्षा, स्वस्थ्य र खेलकुदको विकास मिडिया मार्फत गर्न सकिन्छ । त्यति मात्र होइन, दलित, जनजाति, अल्पसंख्यकको पीड मर्का सञ्चार माध्यमद्वारा नै बाहिर ल्याउन सकिन्छ भन्ने कुराको उनमा बोध भयो । त्यही सोचेर मैले पत्रकारिता मार्फत सामाजिक विकास र राजनीतिक शुद्धता गर्ने अठोट गरेर फेरी पत्रकारिता पेशामा लागेको बताए ।
यादवको पत्रकारिता जीवन पनि सफल नै रह्यो । रेडियो नेपालबाट शुरु गरी तहलका डट नेपाल पत्रिका, इमेज च्यानल लगायत दर्जनौं मिडियामा कार्य पनि गरे ।
वि.स.२०६८ सालमा उनले नेपाल पत्रकार महासंघ धनुषा शाखाको निर्वाचन हुँदा उम्मेदवारी दिए । उनी अध्यक्ष पदमा निर्वाचित पनि भए । तीन सालको कार्यकाल बिना विवादकै रह्यो । स्वच्छ र शान्त तथा मिठो बोलीका धनी रामअशिष कहिल्यै विवादमा तानिएनन् । चाहे उनले खेलेको कुनै पारी होस । सबै पारी बेदाग नै रह्यो ।
उनी भन्छन ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा स्वच्छता अभियान अन्तर्गत बनारसको गंगा नदी सफाई अभियान चलाएका थिए । त्यो अभियान भारतको लागि अति नै लोकप्रिय भयो । बनारसको गंगा नदी र जनकपुरधामको गंगासागर पोखरीको अवस्था उस्तै उस्तै थियो । सोही अभियान देखेर आफूले पनि जनकपुरधाममा गंगासागर सफाई अभियान चलाए । अहिले पर्यटकहरुको लागि एउटा उत्तम स्थलको रुपमा पहिचान बनाई सकेको छ । तर मेरो लक्ष्य यतिकैमा सीमित रहेन ।’
‘गणतन्त्र र लोकतन्त्रमा सबैको अधिकार दिलाउनका लागि चेतनशील समाज निर्माणका लागि, शिक्षाको स्तर बढाउनका लागि, बेटी बचाउ, बेटी बढाउ तथा आर्थिक समृद्धिका लागि राजनीति नै एउटा विकल्प हो उनले अगाडि थपे । उनले अब राजनीतिक शुद्धता र सामाजिक उत्थान, दलित, जनजाति, अल्पसंख्यकको अधिकार विरुद्ध अगाडि बढने छौ दृढता समेत व्यक्त गरेका छन ।
शिक्षणा पेशा होस वा पत्रकारिता वा सरसफाई अभियान किन नहोस सबै ठाउँमा रामअशिष सफल नाम नै सावित भए । अब उहाँको सामुन्ने राजनीतिमा पनि सफल पारी खेल्ने चुनौती रहेको टछ । जसरी सबै क्षेत्रमा ईमान्दारिताका साथ काम गरी नाम कमाए त्यसरी नै भ्रष्ट राजनीतिमा ईमान्दार छविको राजनीतिज्ञको रुपमा सावित हुने मतदाताहरुको विश्वास रहेको छ ।


Saturday, December 23, 2017

मूर्तिकारहरुको व्यस्तत बढ्यो


जनकपुरधाम, ८ पुस ।  सरस्वती मूर्ती सरस्वती पूजा नजिकिदै जाँदा जनकपुर बजारमा कालिगढहरु मूर्ति बनाउन व्यस्त देखिएका छन् ।  मुर्ति बनाउने कुमालहरु सरस्वती पूजा नजिकिदंै गर्दा राम्रो आम्दानी गर्न सफल हुँदै आएका छन् । परम्परा अनुसार माता सरस्वतीको पूजा आर्चनामा हरेक बिद्यालयहरुमा मुर्तिको आवश्यक्ता पर्ने भएकाले जनकपुरका बिभिन्न ठाँउमा सरस्वती माताको मुर्ति बनाउन अहिले कालिगढहरु लागिपरेका छन् ।
एउटा सरस्वतीको मुर्ति आकार हेरेर २ हजार देखि ६ हजार सम्ममा बिक्रि हुने गर्दछ । सरस्वती पुजाको समयमा करिव २ लाख सम्मको मुर्ति विक्रि हुने गरेको स्थानीय मुरलिचोकमा मूर्ती बनाउनमा ब्यस्त मूर्तीकार रामविलाश पण्डित बताउँछन । रामविलाश पण्डित,मूर्तीकार मुर्ति खास गरी कुमाल जातीले बनाउने गर्दछन । जनकपुरका अधिकांश निजी तथा सामुदायीक विद्यालयहरुले सरस्वती पुजाको दिनमा विद्यालयमा माता सरस्वतीको मूर्तिको प्रतिमा प्रतिस्थापन गरेर पूजा गर्ने गरेका छन् । यस समयमा जनकपुर नगर भित्र मात्रै करिव २० लाख बराबरको मुर्तिको कारोबार हुने अनुमान गरिएको छ ।
यता सरस्वती पुजा नजिकिदै जाँदा सडकमा रहेर चन्दा माग्न सुरु गरिएको छ । विभिन्न सडकको चोकचोकमा गैरविद्यार्थीहरुको समूहले जबरजस्ती सरस्वती पूजाको चन्दा उठाइरहेका छन । स(साना बालबालिकाले राजमार्गमा ढाँट ते¥याएर चन्दा माग्ने गरेका छन ।
राजमार्गमा चन्दा उठाउने क्रममा बालबालिकाहरुमा जोखिममा समेत पर्ने गरेका छन् । यसरी चन्दा उठाउँदा समेत स्थानीय प्रशासन मौन रहेको छ ।

साहको अगुवाईमा चुनावी पर्चा हटाउने अभियान शुरु



जनकपुरधाम, ८ पुस । ्प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको प्रचार प्रसारको क्रममा भित्ताहरुमा टाँसिएको पर्चा पम्पलेट हटाउने कार्य शुरु गरिएको छ ।
असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथ साहको अगुवाईमा शनिबारदेखि पर्चा पम्पलेट हटाउने कार्यको थालनी गरिएको हो । चुनाव प्रचार प्रसारको क्रममा राजपा, नेपाली कांग्रेस, वाम गठबन्धन लगायतका दलहरुको उम्मेदवारको तस्विर सहितको पर्चा पम्पलेटले पूरै जनकपुर भरि भराउ भएको थियो । यद्यपि चुनावको परिणाम आइ सकेपछि पनि विजयी भएका उम्मेदवार तथा पराजित उम्मेदवारहरु मध्ये कसैले पर्चा पम्पलेट हटाउने कार्य गरेनन् ।
राजपा उम्मेदवार राजेन्द्र महतो विजयी भएको केही दिनपछि मात्रै आफ्नो पार्टीका प्रवक्ता समेत रहेका जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई तत्काल पर्चा पम्पलेट हटाउन निर्देशन समेत दिनु भएको थियो । महतोको निर्देशनलाई एक कानबाट सुनेर अर्को कानबाट बाहिर निकाल्न बेर लगाएनन् मेयर साहले ।
हुनत नेपालको कानुनमा चुनाव भएपछि तत्कालै उम्मेदवारहरुलाई आ(आफ्नो पर्चा पम्पलेट हटाउनु पर्ने व्यवस्था गरिएको छ । नेपालमा कानुनको कार्यान्वयन पक्ष फितलो हुँदा दलको उम्मेदवारहरुदेखि लिएर स्वतन्त्र उम्मेदवारसम्म सबैले कानुनको राम्ररी नै धज्जी उडाए । निर्वाचन आयोगको अनुगमन पक्ष पनि निकै नै कमजोर देखियो । त्यसैले पनि उम्मेदवारहरुको मनोवल उच्च भएको छ ।
जथाभावी टाँसिएको पर्चा पम्पलेटले शहरको स्वरुपलाई कुरुप बनाउन थालेपछि आफूहरुले नै सो पर्चा पम्पलेट हटाउन अगाडी आएको असहाय संरक्षण मञ्चका अध्यक्ष साहले बताउनुभयो । उहाँले भन्नुभयो दलहरुले नै कानूनी प्रकृयाको धज्जी उडाउँदा कसलाई के भन्ने ? साह लगायतका युवाहरुले शनिबार जानकी मन्दिर वरपर भित्तामा टाँसिएको पर्चा पम्पलेट हटाएका छन । 

Friday, December 22, 2017

राजधानी जनकपुर वा विरगंज ?



जनकपुरधाम, ७ पुस । प्रदेश नम्बर २ को सम्भावित राजधानी जनकपुर हुने हो वा विरगंज यस विषयलाई लिएर विभिन्न सभा तथा समारोहहरुमा समेत बहस चलि रहेको छ । विरगंजमा त राजधानी बनाउन दबाव दिनका लागि विभिन्न राजनीतिक दलहरुले प्रदर्शनहरु समेत गरिरहेका छन । हुनत दुबै ठाउँको नेताहरु मात्रै नभई स्थानीयवासीहरु पनि यस विषयमा बहस गरिरहेको सहजै भेट्न सकिन्छ । दुबै शहरका लागि लबिङ्ग गर्नेहरुको खाँचो छैन । तर जनकपुर प्रदेश नम्बर २ को राजधानी घोषणा हुने सम्भावना प्रबल रहेको समयमा यो बहसले पूरै प्रदेश अहिले तातिएको छ ।
धनुषा, महोत्तरीबाट निर्वाचित हुने सांसद तथा विधायकहरु जनकपुर नै प्रदेश नम्बर २ को राजधानी बन्ने विषयमा ढुक्क भएपनि पर्सा, बारा, रौतहटबाट निर्वाचित प्रदेशसभा सदस्यहरु विरगंज राजधानी हुनुपर्नेमा जोड दिई रहेका छन । यद्यपि जनकपुरका अधिवक्ता श्याम मिश्र विरगंज कुनै पनि हिसाबले राजधानी हुन नसक्ने दावी गर्छन । उनले भने राजधानी हुनका लागि कुनै पनि देशको सीमाबाट कमसे कम १० किलोमिटरको दुरीमा हुनु पर्छ । यस हिसाबले हेर्दा विरगंज वा जनकपुर राजधानी हुने विषयमा भई रहेको बहस तर्कहिन रहेको बताउँछन । 
प्रदेश नम्बर २ को भावी मूख्यमन्त्रीको रुपमा चर्चा पाईरहेका पर्साका संघीय समाजवादी फोरमका जिल्ला उपाध्यक्ष समेत रहेका निर्वाचित प्रदेशसभा सदस्य मोहम्मद लालबाबु राउत आफू व्यक्तिगत रुपमा विरगंज राजधानी हुनुपर्ने पक्षमा रहे तापनि राजधानीको विषयमा निर्णय प्रदेशसभाले गर्ने बताउँछन् । उनले भने आफू विरगंजको वासी भएकाले स्वभाविक हो विरगंजको जनताको भावनालाई कदर गर्छु तर यो निर्णय गर्ने अधिकार प्रदेशसभाबाट बहुमत सदस्यले गर्नेछन । प्रदेशसभाका बहुमत सदस्यले जनकपुरको पक्षमा मत दिए आफूले त्यसको पनि सम्मान गर्ने राउतको भनाई छ ।
यता धनुषा क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद एवं राजपा नेता राजेन्द्र महतोले कुनै पनि विषयमा लोकतन्त्रमा चर्चा हुनु स्वभाविक रहेकोले यो चर्चालाई नकारात्मक रुपमा नलिन आग्रह गरे । उनले चुनाव प्रचार प्रसारको समयमा जनकपुरलाई राजधानी बन्नबाट कसैले रोक्न नसक्ने दावी गर्दै आएका थिए र उनी यो दावीउपर अहिले पनि अडिग छन् । 
जनकपुरका राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा त यो बहसलाई नै निराधार बहसको रुपमा लिन्छन् । संघियता स्वीकार गर्न नसकेका नेताहरुले जनकपुरलाई राजधानी बन्न नदिनका लागि षडयन्त्र गरिरहेको उनको आरोप रहेको छ । उनले भने कथित २ नम्बर प्रदेशको मध्यमा जनकपुरमा पर्छ, प्रदेश नम्बर २ मा बस्ने सबैका लागि जनकपुर पायक पर्ने ठाउँको रुपमा रहेको छ र यसको पौराणिक पक्षको विषयमा सबैलाई थाहा नै छ यो सबै हिसाबले राजधानीका लागि जनकपुर नै सबैभन्दा उपयुक्त हुन्छ ।
तर विरगंजका राजनीतिक विश्लेषक एवं अधिवक्ता वीरेन्द्र यादवले पूर्वाधारले सम्पन्न, रोजगारी अवसर श्रृजना गर्न सक्ने, सबैलाई डोर्याउन सक्ने विरगंज नै भएकोले राजधानी विरगंज हुनु पर्ने बताउँछन् । उनले भने जनकपुर प्रदेश नम्बर २ को मध्यमा पर्नु बाहेक विरगंजभन्दा सबै पक्षले जनकपुर कमजोर सावित भई रहेको छ ।
यता राजनीतिक विश्लेषक झाले हुलाकी राजमार्ग निर्माण भएपछि प्रदेश नम्बर २ को सबैभन्दा सुगम शहरको रुपमा विकसित हुने दावी गर्छन् । यद्यपि निकट भविष्यमा प्रदेश नम्बर २ को आर्थिक राजधानीको रुपमा विरगंजलाई विकसित गर्न सकिने उनको भनाइ छ । तर राजधानी निर्विकल्प जनकपुर नै हुनु पर्छ झा बताउँछन ।
धनुषा क्षेत्र ३ ख बाट निर्वाचित भएका प्रदेशसभा सदस्य परमेश्वर साहले त्रेता युग देखि नै जनकपुरधामको आफ्नो अलग्गै पहिचान भएकोले र धार्मिक सांस्कृति हिसाबले समृद्ध भएकोले  जनकपुरधाम नै प्रदेश नम्बर २ को राजधानी हुने सम्भावनालाई नकार्न नसकिने बताउँछन् । साथै उनले प्रदेशसभाको पहिलो बैठक बस्ने समयमा सबै प्रदेशसभा सदस्यलाई जनकपुरको पक्षमा मतदान गर्न उनी आग्रह समेत गर्छन् । यता सामाजिक सञ्जाल ट्वीटरदेखि फेसबुकसम्म वीरगंजका जनता विरगंज राजधानी बन्ने पक्षमा वकालत गर्ने गरेका छन् भने धनुषा महोत्तरीसहितका जनताले भौगोलिक र सांस्कृतिक महत्व बोकेको जनकपुरधाम राजधानी बन्नुपर्ने माँगसहित वकालत गरिरहेका छन् । यसअघि सरकारले पनि जनकपुरधामलाई नै अस्थायी राजधानीको रुपमा घोषणा गरिसकेको छ ।
जनकपुरधाम वा विरगंज राजधानी बन्ने विषयमा भईरहेको बहस त प्रदेश सभाको बैठकबाट नै अन्त हुने छ ।