Sunday, September 16, 2018

दुई सय रुपैया तिर्न नसक्दा जेल चलान


जनकपुरधाम, ३० भदौ । जनकपुरधाम उपमहा नगरपालिका–१२ कुवा बस्ने राधाकृष्ण खत्वे दुई सय रुपैयाँको लागि आइतबार जेल जाँदैछन् । रिक्सा चलाएर आठजना परिवारको गुजारा चलाउँदै आएका राधाकृष्णले साहुसँग लिएको ऋण मध्ये दुई सय रुपैयाँ तिर्न नसक्दा जेल जान बाध्य भएका छन् ।
जेल जानु भन्दा एकदिन अगाडी ६० वर्षीय राधाकृष्णले साहुले आफूमाथि अन्याय गरेको बताए । श्रीमती सहित दुई छोरा, दुई बुहारी र ३ नातीसहित ८ जनाको परिवार छ उनको । जेल जाने निश्चित भएपछि विच्चली भएको छ, राधाकृष्णको परिवारमा ।
उनले २०४६ साउन १५ गते स्थानीय विक्रम यादवसँग १ हजार रुपैयाँ ऋण लिएका थिए । १ हजार ऋण दिएपनि विक्रमले राधाकृष्णसँग तीनहजार रुपैयाँको कपाली तमसुक बनाउन लगाए । र, तमसुक अनुसार मासिक तीनसयका दरमा राधाकृष्णलाई ब्याज तिर्नु पर्ने थियो ।
२०४७ जेष्ठ ८ गते राधाकृष्णले साहु विक्रमलाई ८ सय रुपैयाँ फिर्ता गरे । राधाकृष्णलाई १ हजार रुपैयाँको ९ महिनाको ब्याज २ सय ७० र  मुलधनमा बाँकी २ सय रुपैयाँ तिर्न बाँकी थियो । तर, विक्रमले २०४९ साल भाद्र १५ गते आफ्नो पत्नी गुलाबदेवी यादवको नाउँमा बाँकी रहेको ४ सय ७० रुपैयाँको २ हजार ९ सयको तमसुक बनाउन लगाएको राधाकृष्णले बताएका छन् ।
रकम थपेर कागज बनाउन लगाएपछि तिर्न सक्ने अवस्था नहुँदा फेरी उनीहरुले २०५८ साल अषाढ २० गते ४० हजार रुपैयाँको तमसुक गर्न लगाए, राधाकृष्णसँग ।
परिवारको आर्थिक अवस्था कमजोर रहेको राधाकृष्णले कृषि विकास बैंकमा धितो रहेको आफ्नो ४ का जग्गा फुकुवा गराएर विक्रमलाई लिन गुहार लगाएपनि उनी तयार भएनन् । उल्टै १ लाख ६५ हजारको तमसुक बनाउन बाध्य पारे ।
पैसा तिर्न नसकेपछि विक्रमले आफूविरुद्ध २०६३ साल पुष ९ गते जिल्ला अदालत धनुषामा मुद्दा गरेको राधाकृष्णको भनाई छ । मुद्दा परेपनि स्थानीयहरुले ७६ हजार रुपैयाँ तिरेर मिलापत्र गर्न आग्रह गर्दा आफू तयार भएपनि साहुले नमानेको उनको भनाई छ ।
जिल्ला अदालत धनुषाले २०६४ साल माघ २७ गते राधाकृष्णलाई एक वर्षको जेल सजाय सुनायो । र, पुनरावेदनले पनि जिल्ला अदालतले गरेको फैसला सदर गर्यो ।
शनिबार पत्रकार सम्मेलन गरेर राधाकृष्णले भने,‘अदालतले पक्राउ पूर्जी जारी गरेको छ । म भोली जेल जाँदै छु । तर, दुई सय रुपैयाँको लागि म जेल जानु समाजबाट मानवीयता समाप्त हुँदै गएको पुष्टि भएको छ ।’ दुई सय रुपैयाँ तिर्न नसकेपछि आफू जेल गएपनि समाजका कोहि व्यक्तिलाई यस्तो दिन हेर्न नपरोस राधाकृष्णले बताए । यता साहु यादवले गाउँका त्यस्ता ९ जनासँग कपाली तमसुक गराएर जवर्जस्ती मनोमानी तरिकाले जथाभावी रकम असुल्ने गरेको पीडितहरुले बताए ।

No comments:

Post a Comment