Sunday, November 1, 2015

नाका तथा राजमार्ग केन्द्रीत आन्दोलन सशक्त बनाउने ः मोर्चा

कैलास दास
जनकपुर, कार्तिक १५ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको जनकपुरधाममा सम्पन्न भएको दुई दिने वैठकले वार्ता निर्णायक नभएसम्म आन्दोलनलाई अझ बढी शसक्त बनाउने निर्णय गर्दै सम्पन्न भएको छ । वैठक पछि आईतवार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा मोर्चाले गरेको निर्णयका बारेमा जानकारी दिदै मोर्चाका नेताहरुले वार्ताको नाउँमा सरकारले ठग्ने तथा ढिलो गर्ने काम मात्र गरेको बताए ।

मोर्चाको जनकपुरमा बसेको वैठकले ७ बुदाको निर्णय गरेको बताउदै तँराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले वार्तालाई परिणाम मुखि बनाउनका लागि सरकार संबेदनशील हुनु पर्ने आवश्यकतामा जोड दिदै सरकार वार्ता प्रति हालसम्म पनि गंभिर नरहेको बताए । अहिले जारी रहेको आन्दोलनको निरन्तरता दिदै आन्दोलनलाई अझै शसक्त बनाउने निर्णय भएको मोर्चाका चारै शीर्ष नेताहरुले हस्ताक्षर गरेर जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरे ।  
पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका संयोजक तथा तँराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग पुरा नभएसम्म आन्दोलन अझै शसक्त किसिमले अगाडी बढाउने निर्णय भएको जानकारी दिए । उनले नाका तथा राजमार्ग केन्द्रीत आन्दोलनलाई अझ बढी शसक्त बनाई बजार, उद्योग, यातायात, शिक्षण संस्था, सरकारी कार्यालय बन्दलाई यथावत राख्ने निर्णय भएको जनकारी ठाकुरले गराए ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको आन्दोलन नुन तेलको आन्दोलन नभै अधिकारको आन्दोलन रहेकाले अधिकार प्रप्ति नभएसम्म आन्दोलन अझै शसक्त किसिमले अगाडी बढाउने बताए । उनले कुनै पनि नाका कमजोर नभएको बताउदै विराटनगर नाकामा राज्य पक्षको बढी दमन र धरपकड भएको बताउदै अझै असहयोग आन्दोलनलाई शसक्त बनाउन जरुरी रहेको बताए । उनले मोर्चा कुनै पनि छिमेकी मित्र राष्टूको झण्डा जलाउने पक्षमा आफूहरु नभएको स्पष्ट गरे ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वार्ता परिणाम मुखि तथा सार्थक नभएसम्म आन्दोलन नरोकिने बताउदै आफूहरुको माग पुरा भएकै दिनमा सम्पूर्ण आन्दोलन रोकिने पनि बताए । उनले राजमार्ग तथा नाका केन्द्रीत आन्दोलन अझै शसक्त बनाउने बताउदै अधिकारको लडाई लामो हुने भएकाले जनसमर्थन अझै बढाउनका लागि जनपरिचालनमा जोड दिने पनि बताए ।
पत्रकार सम्मेलनमा तमसपाका अध्यक्ष महेन्द्र राय यादव तथा अन्य मोर्चाका केन्द्रीय नेताहरु सहभागि रहेका थिए । वैठक जनकपुरको शिव चौक स्थित सिटी स्टार होटलमा भएको थियो । वैठकमा मोर्चाका चार दलका तर्फवाट तीन जनाको दरले नेताहरु सहभागि भएका थिए ।