Tuesday, January 10, 2017

जनकपुरको १२ वटा औषधी पसलमा तालाबन्दी

कैलास दास
जनकपुर  । जनकपुरमा गैर कानूनी रुपमा सञ्चालितमा रहेको १२ वटा औषधी पसल तथा क्लिनिकमा अनुगमन टोलीले मंगलवार तालाबन्दी गरेको छ ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको अगुवाईमा केन्द्रवाट आएका औषधि व्यवस्था विभागका कर्मचारी, उद्योग मन्त्रालयका कर्मचारी, जिल्ला जनस्वास्थ्य कार्यालय, आन्तरिक राजश्व कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल पत्रकार महासंघ सहितको निकायको उपस्थितिमा गरिएको अनुगमनको क्रममा १९ स्वास्थ्य संस्था तथा औषधि पसल मध्ये १२ वटा गैर कानूनी रुपमा सञ्चालनमा रहेको पाइएकोले तालाबन्दी गरिएको जनाइएको छ । 

जनकपुर अञ्चल अस्पताल छेउमै रहेको आर्या केयर एण्ड क्युर अस्पताल मापदण्ड विपरित सञ्चालन रहेकोले तालाबन्दी गरी जिल्ला प्रशासन कार्यालयमा ७ दिन भित्र आवश्यक कागज तथा प्रमाण सहित उपस्थितका लागि निर्देशन समेत दिएको छ । त्यस्तै  जालान मेडिकल सेन्टर, चिकित्सक रामनरेश पण्डितले सञ्चालन गरेको नीजि क्लिनिक, सहित १२ वटा अन्य पसलमा तालाबन्दी गरी उपस्थितिका लागि आदेश दिएको सहायक प्रमुख जिल्ला अधिकारी गिरी बताएका छन् ।
मन्त्रालयवाट आएका टोलीले जनकपुरको ४ वटा किराना पसलमा छड्के अनुगमन गरेकोमा २ जनासंग प्रमाण पूर्जा नभएका भन्दै ३६ घण्टा भित्रमा कागज प्रमाण सहित जिल्ला प्रशासन कार्यालयमा आउनका लागि आदेश दिएको छ ।

Wednesday, January 4, 2017

धनुषाधाम महायज्ञमा नेपाल भारतका दस लाख श्रद्धालु

कैलास दास
जनकपुर, पुस २० । चट्टी बाबाको तत्वाधानमा धार्मिक एवं पर्यटकीय स्थल धनुषाधाममा बैशाख १४ गते देखी २७ गतेसम्म सीताराम नाम जप महायज्ञ हुने लागेको छ । 

धनुषाधाम स्थित वाणगंगा तटमा हुदै आएको अखण्ड सीतारामनाम जपको १४ वर्ष पुरा भएको अवसर पारेर २०७४ वैशाख १४ गते देखी मानव कल्याणका विभिन्न कार्यक्रम सहित महायज्ञ हुन लागेको श्री सीतारामनाम जप महायज्ञ समितिका अध्यक्ष ओम प्रकाश सर्राफले जनाएको छ ।
समितिले बुधवार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सर्राफले महायज्ञ अन्तर्गत  बैशाख १५ गते सामूहिक विवाह कार्यक्रम, १७ गते मैथिल ब्राह्मण सभाको संयोजनमा ब्रतवन्ध कार्यक्रम १८ गते देखी २६ गते सम्म १००८ कुञ्जमा ४ हजार ३२ जना किर्तनकर्मीहरुद्वारा रामनाम जप हुने जनाएका छन ।
महायज्ञको क्रममा एक सय हवन कुण्डमा ११ सय जोरीद्वारा हवन गरिने समेत जनाइएको छ । उक्त हवनमा चट्टीबाबाका उज्जयन देखी विहार सम्मका शिष्यहरु सहभागी हुने भएका छन ।

महायज्ञमा कलकताका श्री कान्त शर्माले दिउसो २ बजे देखी ६ बजे सम्म प्रवचन दिने छन भने राति विश्व प्रसिद्ध टोलीद्वारा रामलिला प्रदर्शनको कार्यक्रम समेत राखिएको महायज्ञ समितिले जनाएको छ । महायज्ञलाई मेलाको रुप दिन विभिन्न मनोरंजनात्मक कार्यक्रमहरु समेत राखिएको छ । वैष्णोदेवी गुफा, राम हिलोरा सहितका मनोरंजनात्मक कार्यक्रमहरु रहने जनाइएको छ । महायज्ञमा प्रत्येक दिन २ देखी ३ लाख सम्म श्रद्धालुहरु जम्मा हुने अनुमान गरिएको छ ।
महायज्ञलाई व्यवस्थित बनाउन समितिले सबैपक्षलाई सहयोग गर्न आग्रह समेत गरेका छन । यसैबीच महायज्ञको तयारीको लागि चट्टी बाबा बनारसको सलेमपुरबाट विहीवार जनकपुर आउन लागेका छन । उनी दिउसो २ बजे विहारको सुरसण्ड पुग्ने र त्यहाँबाट विशेष स्वागतका साथ जनकपुर ल्याइने समितिले जनाएको छ । बाबा जनकपुर प्रवेश पछि सर्वप्रथम जानकी मन्दिरमा पुगेर पूजापाठ गर्ने कार्यक्रम रहेको छ । त्यस पछि धनुषाधाम जानेछन । महायज्ञ अवधीभर बाबा धनुषाधाममै रहने जनाइएको छ ।
यस अघि २०५७ सालमा चट्टी बाबाकै तत्वाधानमा धनुषाधाममा भएको महायज्ञ भएको थियो ।