Sunday, April 12, 2015

कारवाहीको माँग गर्दै जनकपुरमा प्रदर्शन

कैलास दास
जनकपुर, चैत २९ । धनुषाको सबैला नगरपालिकामा दुई जनाको हत्यामा संलग्न व्यक्तिमाथि कारवाहीको माग गर्दै सवैलावासीले जनकपुरमा आईतवार प्रदर्शन गरेको छ । हजारौको संख्यामा आएका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय घेराउँ गरेर दोषिमाथि कारवाहीको माग गर्दै ज्ञापनपत्र पनि बुझाएका छन् ।
चैत्र ८ गते मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको विषयलाई लिएर भएको छलफलको क्रममा एमाले नेता योगनारायण यादव पक्षधरले आक्रमण गर्दा एक जनाको उपचारको क्रममा र सोही राति एक जनाको गोली हानी हत्या भएपछि सिङ्गो सबैला गाउँवासी नै आन्दोलनमा उत्रेका छन् । राउतको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको थियो ।

घटनामा रामसेवक राउत तथा रामप्रगास यादवको मृत्यु भएको थियो भने एक दर्जन बढी व्यक्ति घाईते भएको मध्ये तीन जनाको अहिले पनि काठमाण्डौमा उपचार भैरहेको छ ।
स्थानीयवासी तथा पीडित परिवारले एमालेको वैकल्पिक पोलिटव्युरो सदस्य र जनकपुर अञ्चल ईन्चार्ज योगनारायण यादव सहित २४ जनामाथि कर्तव्य ज्यान, कुटपीट, अङ्गभङ्ग सहितका मुद्दा दर्ता गराएपनि मुख्य अभियुक्त यादवलाई स्थानीय प्रहरीले नै संरक्षण दिने गरेको आरोप लगाउँदै प्रदर्शन गरेको एमालेका तर्फवाट निर्वाचित सवैला गाविसका निवर्तमान अध्यक्ष रामवली साहले बताएका छन् ।
स्थानीयवासीले दोषिमाथि कारवाही, सार्वजनिक जग्गा विक्री गरेकोमा सोको बद्दर गर, अपहरणकारीलाई गिरफ्तार गर, सामाजिक एकता जिन्दावाद, पीडितलार्ई क्षतिपूर्ती देउँ, घाईतेको उपचार खर्च देउ जस्ता प्लेकार्ड व्यानर वोकेका थिए ।
सबैलाबाट एक हजार भन्दा बढी मोटरसाइकल, दर्जनौ जीप ट्रयाक्टर सहित जनकपुर आएका थिए । जिल्ला प्रशासनको कार्यक्रम पछि जिल्ला प्रहरी कार्यालय अगाडी भएर नारावाजी गर्दै शिवचौकमा कोण सभा गरेका थिए ।
हजारौको संख्यामा सवैलाबाट जनकपुर आएका प्रदर्शनकारीलाई व्यवस्थित गर्न प्रहरीलाई केही बेर हम्मे हम्मे परेको थियो । प्रहरीले सवैलाको प्रदर्शनलाई लिएर विहान देखि नै जनकपुरको सुरक्षा व्यवस्था कडा बनाएका थिए । नेपाल प्रहरी तथा शसस्त्र प्रहरीहरु पनि व्यापक मात्रामा परिचालन गरेका थिए ।
यसै वीच जनकपुरको शिव चौकमा सवैला वासीले आयोजना गरेको कोण सभालाई सम्बोधन गर्दै सवैला निवासी तथा नेकपा माओवादीका संयोजक मातृका यादवले हत्याको विरोधमा सिङ्गो गाउँ नै सडकमा आएकाले दोषिलाई पक्राउँ गरि कारवाही गर्नका लागि माग गरेका थिए ।
उनले कुनै एक दल र पार्टीको आन्दोलन नभै एमाले सहित सम्पूर्ण पार्टीका स्थानीय नेता कार्यकर्ता सहभागितामा भएको आन्दोलन पछि पनि दोषिलाई पक्राउँ नगरेको खण्डमा अझ शसक्त आन्दोदन गर्ने चेतावनी दिए । योगनारायण यादव माथि कारवाही नहोस् भन्नका लागि पार्टीले हत्याको दोस्रो दिन एक तह बढुवा गरेर अञ्चलको ईन्चार्ज दिएर हास्यास्पद काम गरेको बताए । कार्यक्रममा एमाओवादीका पूर्व सभासद भरत साह तथा अन्य राजनीतिक दल एवं गाउँका बुद्धिजीविहरुले पनि सम्बोधन गरेका थिए ।
.................