Friday, November 29, 2019

जनकपुरधामको विकासका लागि बेलायत सरकार र उपमहानगरपालिकाबीच सम्झौता


जनकपुरधाम, १२ मंसिर । जनकपुरधामको धार्मिक पर्यटकीय विकास तथा प्रबद्र्धनका लागि बेलायत सरकार र जनकपुरधाम उपमहा नगरपालिकाबीच विहिवार सम्झौता भएको छ ।
नेपाल शहरी उत्थानशीलता परियोजना शीर्षक दिएको सो सम्झौता पत्रमा जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट मेयर लालकिशोर साह र बेलायत सरकारको अन्तर्राष्टिूय विकास मन्त्रालयको तर्फबाट लिसा होनानले हस्ताक्षर गरेका छन् ।
उपमहानगरपालिकाको सभाकक्षमा विहिवार दुबै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा दुबैपक्षबाट हस्ताक्षर भएको मितिदेखि बढीमा ४ वर्ष ६ महिनासम्म परियोजनाले उपमहा नगरपालिकाको नेतृत्व र स्वामित्वमा सञ्चालन हुने सहयोगका क्षेत्रहरुमा प्राविधिक सहयोग उपलब्ध गराउने रहेछ ।
जनकपुरधाम उपमहा नगरपालिकालाई पर्यटन प्रवद्र्धन र सौन्दर्यीकरणको क्षेत्रमा कार्य गरी आत्म निर्भर बनाउने परियोजनाको लक्ष्य रहेको छ । बेलायत सरकारले नेपालको जनकपुरधाम उपमहा नगरपालिका, पोखरा महानगरपालिका र बुटवल नगरपालिका बीच यो सम्झौता गरिएको जनाइएको छ ।
उपमहानगरपालिकाको उत्थानका लागि दुबै पक्षले गर्नुपर्ने कार्यको बारेमा प्रोजेक्टरमार्फत अजयचन्द्र लालले देखाएका छन् । प्रोजेक्टरमा नगरलाई सफाईदेखि लिएर सम्बद्र्धनसम्मको विषयवस्तुलाई समेटिएको थियो ।
यसरी दुबैपक्षबीच भएको सम्झौतामा परियोजनाका प्राविधिक सहयोगी कर्मचारी, संचालन खर्च तथा प्राविधिक सहयोग अन्तरगतका क्रियाकलापहरु संचालनका लागि परियोजनाबाटै व्योहोरिने गरी खर्चको सुनिश्चितता गर्ने, परियोजनाको क्षमताभित्र रही पुर्णरुपमा सहयोग तथा समन्वय गर्ने र कार्यसम्पादनमा कमी आएमा तुरुन्त सुधारका उपायको सुनिश्चिता गर्ने । परियोजनाका क्रियाकलापहरुमा शहरी विकास मन्त्रालय तथा अन्य साझेदारहरुसंग समन्वय गर्ने लगायतको प्रतिवद्धता जनाइएको छ ।
त्यसैगरी जनकपुरधाम उपमाहानगरपालिकासंग जोडिएका प्राविधिक सहयोग टोलीलाई सहयोगका क्रियाकलापहरु सम्वन्धी योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमनका लागि सहयोग गर्ने तथा टोली संग निकटतम सम्पर्कमा रही काम गर्ने, नतिजाका क्षेत्रहरुको प्रभावकारितामा सुधार ल्याउन परियोजना तथा जनकपुरधामवीच सहकार्य तथा लागत सहभागिता क्षेत्रहरुको खोजी गर्ने । योजना तर्जुमा कार्यान्वयन तथा अनुगमनका लागि कार्यान्वयन संयन्त्रको निमार्ण गर्ने, सहयोगी टोलीलाई आवश्यक भौतिक सुविधा उपलव्ध गराउने लगायतमा समझदारी भएको छ ।
बेलायतका प्रतिनिधि लिसा होनानले नेपालमा संघियता आएकोले विकासका लागि सफलताको सुत्र भएको वताइन । उनले जनकपुरधाममा जानकी मन्दिर र आफनै संस्कृति भएकोले यसलाई व्यवस्थित वनाउन सकिए जनकपुरधामको विकासलाई कसैले रोक्न नसक्ने दोहोर्याएकी छन् ।
उनले उपमहानगर कार्यालयलाई सक्षम भएको देख्न चाहेको तथा महिलाहरुको कार्यालयको विभिन्न पदमा काम गरेको देख्न चाहेको भावना व्यक्त गरिन ।
यता उपमहानगरपालिका मेयर लालकिशोर साहले यो सम्झौता पश्चात् जनकपुरधामको कायापलट हुने दावी गरेका छन् । उनले जनकपुरधामलाई धार्मिक पर्यटकीय दृष्टिले मात्र होइन, समग्र रुपमा विकासका लागि पनि यो सम्झौता लाभदायक रहेको दावी गरेका छन् ।