Monday, March 26, 2018

रामनवमी धुमधामका साथ मनाइयो


जनकपुरधाम, ११ चैत । भगवान श्रीरामको जन्मोत्सव अर्थात राम नवमी आइतबार जनकपुरमा विशेष धूमधामका साथ मनाइएको छ ।
त्रेता युगमा असत्य माथि सत्यको विजय प्राप्ति गराएका मार्यादा पुरुषोत्तम  भगवान रामको जन्मदिनको स्मरणमा जनकपुरमा धुमधामका साथ प्रत्येक बर्ष चैत शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइने गरिन्छ । रामनवमीको अवसरमा राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायतमा आइतबार बिहानैदेखि पूजाआजा गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको थियो ।
नवमीमा सहभागी हुन नेपाल तथा छिमेकी देश भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरु जनकपुर आएका थिए ।  त्रेता युगमा यसै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख  छ । यसै अवसरमा देशभरि रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरुमा स्नान, ध्यान गरी, ब्रत बसेर रामगीता पाठ, अध्यात्म वाल्मीकी र तुलसीकृत ( रामायण वाचन गर्नुका साथै भगवान रामको पूजा आराधना गरी रात भरि भजन कीर्तन गरेर जाग्राम बस्ने परम्परा छ ।
अयोध्याका राजा दशरथका जेठो पुत्र भगवान विष्णुको सातौं अवतारको रुपमा जन्म लिएको भन्ने धार्मिक विश्वास छ । रामले संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश गर्दै आफ्नो पिताको कठोर आज्ञाको सहजतापूर्वक पालना गरी मानव जातिलाई सत्यको मार्गमा हिड्न प्रेरणा दिएकोले रामको सम्झनामा रामनवमी पर्व मनाइँदै आएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
रामनवमीका दिन गंगासागरमा स्नान गरी राम र जानकी मन्दिरमा पुजा गर्नाले मनोवाच्छित फलप्राप्त हुने जनविश्वासका साथ श्रद्धालुहरु पुजा गरीरहेका छन ।
रामनवमीका लागी नेपाल र भारत बाट २ सय भन्दा बढी साधुहरु जनकपुर आएका गुठी संस्थान जनकपुरले जनाएको छ ।
रामनवमी लाई लिएर राम र जानकी मन्दिरलाई विशेष रुपले सजाइएको छ भने एक साता अघि देखी नै दूबै मन्दिरमा बधाई गान सहितका कार्यक्रमहरु भई रहेका छन । भगवान रामको ससुराली जनकपुर रहेकाले पनि रामनवमी विशेष उत्साहका साथ मनाइने गरिन्छ ।

No comments:

Post a Comment