Friday, March 16, 2018

जनकपुर नगरभित्र वायु प्रदूषणले सा“स फेर्न समस्या ‘फोक्सो, मुटु, आ“खा र छाला रोगको जोखिम ’


जनकपुरधाम, १ चैत्र । जनकपुर उपमहानगरपालिका भित्रमा वायु प्रदूषणका कारण साँस फेर्न निक्कै समस्या भएको छ । नगरभित्रमा सडक विस्तार, पुराना सवारीसाधन र फोहरमैलाबाट उत्पन्न हुने प्रदूषणको कारण विभिन्न रोग उत्पन्न हुने सम्भावना बढेर गएको छ । नगरभित्रमा  श्वास प्रश्वासदेखि पैदल यात्रा गर्नसमेत सकस भएको छ । 

जनकपुरको वायु प्रदुषणलाई समयमै नियन्त्रण नगरे जनकपुरवासीको स्वास्थ्यमा गम्भीर असर पार्ने विशेषज्ञले बताएका छन् । दुई वर्षदेखि अत्यधिक वायु प्रदूषणका कारण जनकपुरको अस्पतालहरुमा श्वास प्रश्वास र मुटुरोगीको संख्या उल्लेख्य रूपमा बढेको धनुषा अस्पतालका सञ्चालक डा. रामबाबु रमण जयसवाले बताएका छन् । वायु प्रदूषणका कारण घरभित्रै बस्ने मानिसमा फोक्सो, मुटु, आँखा र छाला रोगको जोखिम बढेको बताएका छन् ।
उनले वायु प्रदूषणका कारण लाग्ने विभिन्न रोगबाट मानिसको अकालमै मृत्यु हुनेको संख्या अहिले विश्वभरिमा बढिरहेको छ । प्रदूषण नियन्त्रण नल्याएमा आउने दिनमा धेरै समस्या भोग्नु पर्ने जिकिर गरेका छन् ।
एशियाली विकास बैंकको ऋण सहयोगमा यहाँ भई रहेको नाला र सडक निर्माणको कारण नगरमा सफाईमा समेत समस्या बढेकोले फोहर नियन्त्रण हुन नसक्दा वायू प्रदूषण बढेको डा. जयसवालको भनाई रहेको छ ।
वायु प्रदूषणका कारणले मानिसले श्वास लिँदा नाक मुखबाट छिरी असर गर्ने प्रदूषणलाई पीएम भनिन्छ । प्रदूषणको मात्रा बढी हुनुको कारण मानव सिर्जित प्रदूषण भएको पाइएकाले त्यसको नियन्त्रणका लागि जनकपुर उपमहानगरपालिकालाई ठोस कदम चल्नु पर्ने उनको भनाई रहेको छ । उनले भने ‘जनकपुरको वायुमा अहिले विषालु जस्तै फैलिएको महसुस हुन गएको छ । यसको मुख्य कारण जत्रतत्र फोहरमैला नै हो ।’
विश्व स्वास्थ्य संगठनले वायु प्रदूषणका कारण ठूलो मात्रामा धनजनको क्षति भएको तथ्यांक सार्वजनिक गरेको छ । संगठनका अनुसार स्वच्छ हावा नपाउँदा मानिसको मृत्युका कारण वायु प्रदूषण नै भएको पाइएको छ ।
नगरभित्रमा सवारी साधनको बढ्दो चाप त थियो नै, त्यसमाथि जनकपुर नगरपालिकाको सडक विस्तारले सरसफाईमा समेत समस्या देखिएको छ ।

No comments:

Post a Comment