Thursday, March 22, 2018

घर भत्काउन जउवा संघको समर्थन


जनकपुरधाम, ७ चैत । एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माणको क्रममा अवरोधक बनेका घर टहराहरु भत्काउनमा जनकपुर उद्योग वाणिज्य संघको समर्थन रहेको जनाइएको छ ।
जनकपुर उद्योग वाणिज्य संघले बुधवार जनकपुर उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै जनकपुरको विकासका लागि काँधमा काँध मिलाएर हिड्ने बताएका छन् । जनकपुरको विकासमा नै यहाँको व्यापारीहरुको विकास सम्भव रहेको विज्ञप्तिमा उल्लेख रहेको छ ।
संघका अध्यक्ष ललित कुमार साह र महासचिव जितेन्द कुमार महासेठको संयुक्त हस्ताक्षरमा नगरप्रमुख लालकिशोर साहलाई बुझाएको ज्ञापनपत्रमा भानुचौकदेखि शिवचौकसम्म्म र जनकपुरका विभिन्न ठाउँहरुमा बाटोबाट निस्किने धुलले आम जनता, उद्योगी, व्यापारीहरुलाई स्वास्थ्यमा असर परिरहेको उल्लेख गर्दै भानुचौदेखि शिवचौकसम्मको लगायतमा पानी छिर्काउन माँग समेत गरेको छ ।
निर्माणको क्रममा भानुचौकदेखि शिवचौकसम्म करीब एक किलोमिटरमा पर्ने घरहरु घरधनीहरुले भत्काउनमा आनाकानी गरिरहेकोले जउमनपाले दिएको अल्टिमेटम अनुसार अगाडि बढेमा जउवा संघको समर्थन रहेको बताएका छन् । विकास निर्माणको कार्यमा ढिलाई हुँदा यहाँकै व्यापारीहरुको ठूलो घटा व्यहोर्नु परेकोले कार्यलाई तिव्रता नदिएमा व्यवसायीहरु बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।
संघका अध्यक्ष साहले केही घरधनीहरुसाग कुराकानी समेत भएको र उनीहरु घरभत्काउनका लागि तयार रहेको भन्दै जसले नभत्काएमा जउमनपाले चल्ने कदममा जउवा संघको समर्थन रहेको बताएका छन् ।
त्यस्तै संघका महासचिव महासेठले नगरको विकास नै सबैको विकास हो । विकासलाई वेवास्ता गर्न भन्दै जउवा संघ काँधमा काँध मिलाएर हिड्नका लागि तयार रहेको भनेका छन् ।
यता जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले यहाँका व्यापारी, बुद्धिजीवि, नागरिक समाजको सहयोगमा विकासमा कुनै कसर नछाड्ने प्रतिबद्धता जनाएका छन् । उनले सबैको सहमति अनुसार नै जनकपुर उपमहानगरपालिका अगाडि बढने बताएका छन् । उनले जउवा संघले बुझाएको ज्ञापनपत्रलाई गम्भीरताबाट लिएको समेत दोहोर्याएका छन् ।
ज्ञापनपत्र बुझाउन वरिष्ठ उपाध्यक्ष जितेन्द्र कुमार साह, उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारी, मनोनित सदस्य परमेश्वर साह, हैदरअली सहितको उपस्थिति रहेको थियो । जनकपुर उपमहा नगरपालिकाले चैत १० गतेसम्म घरधनीहरु आफै भत्काउन अल्टिमेटम दिएका छन् । दिएको समयभित्रमा भत्काउन नमानेमा बाध्यतावस डोजर भिडाउने समेत जनाइएको छ ।

No comments:

Post a Comment