Sunday, December 8, 2019

‘जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा जान नदिन ठूलो षड्यन्त्र’

जनकपुरधाम, २२ मंसिर । जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचिकृत गराउन प्रदेश सरकार र स्थानीय सरकार, धार्मिक संघसंस्था जोरसोरले आवाज उठाई रहेको छ । तर अर्कोतिर धार्मिक र साँस्कृतिक कार्यक्रम बाहेक प्रचारात्मक कार्यक्रम खुलेआम हुँदा पनि चुप लागेर बसेका छन् । साँसददेखि प्रशासनिक निकायका जिम्मेवारहरुको करणी र कथनीमा फरक देखिएको स्थानीयहरुको आरोप लाग्न थालेको छ ।
‘अध्यात्म चिन्तनमनन र पूजापाठका लागि देशविदेशबाट जानकी माताको दर्शन गर्न श्रद्धालुहरु जनकपुरधाममा आउने गर्छन । तर जानकी मन्दिरकै प्राङ्गणमा ठूलो स्टेज निर्माण गरी मिथिला संस्कृति र धार्मिक कार्यक्रम बाहेक अन्य कार्यक्रम हेरेर पर्यटकहरु अचम्भ पर्नु स्वभाविकै हो । यो मन्दिरको व्यवस्थापनको कमीकमजोरी भन्नौ वा जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचिकृत नगराउन दिन ठूलो षड्यन्त्र’ गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ बताउँछन् ।
जानकी मन्दिरको प्राङ्गणमा धार्मिक एवं साँस्कृति कार्यक्रम रोक्न जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयको दायित्व हो । तर उनीहरुको करणी र कथनीमा फरक देखिएको छ महासेठको भनाई हो ।
हालैमा ब्रिटिस काउन्सिलद्वारा जानकी मन्दिरको प्राङ्गणमा आयोजित ‘वाउ’ नामक कार्यक्रममा प्रतिनिधिसभा साँसद चन्दा चौधरी, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता कुमारी मिश्र, बुद्धिजीवि, नागरिक समाज, महिला अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो । तर मन्दिरको प्राङ्गणमा यस्ता कार्यक्रम गर्दा जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा जानमा असर पर्नेछ कसैले सुझाएन । कार्यक्रम ( बहस तथा छलफल, संगीत, नृत्य तथा नाट्य प्रस्तुती लगायतको थियो । ठूलो आवाजमा मन्दिरमा यस्ता कार्यक्रमले अध्यात्म दर्शन गर्न आएका श्रद्धालुहरुलाई कस्तो असर परेको होला त ? प्रश्न समेत खडा गरिरहेका छन् ।
‘मिथिला कला संस्कृतिक  र धार्मिक प्रवचनका लागि जनकी मन्दिरको प्राङ्गण उचित छ । तर ती बाहेक राजनीतिक मञ्च, अन्य संघ संस्थाद्वारा प्रचारात्मक कार्यक्रममा रोक लागउनु पर्दछ’ मिथिला नाट्यकला परिषद (मिनाप)का अध्यक्ष परमेश झा बताउँछन् । उनले भने, ‘यसले जनकपुरधामको महत्व घटाउने मात्र होइन, जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन असर समेत पुर्याउँछ ।’
‘वाउ’ कार्यक्रम जानकी मन्दिर तथा राममन्दिर लगायतको धार्मक स्थलकै प्राङ्गणमा भएको थियो ।
‘लैङ्गिक समानताका लागि महोत्सव’ हो, मलाई पत्र पठाएको थियो । पत्रमा कार्यक्रम स्थल सीताशरण होटल तोकेपनि जानकी मन्दिरमा हेरेर आफै छक्क परे । यहाँ त धार्मिक साँस्कृतिक मात्र हुनुपर्ने यस्तो कार्यक्रम किन राख्नु भयो(मैले सोधे’ प्रतिनिधिसभा साँसद चन्दा चौधरीले दैनिक समाचारसँग भने । उनले भने ‘भीडलाई जम्मा गर्ने उद्देश्यले गरेको पछि मैले बुझे । तर यो सरासर गलत र निन्दनी हो । यस्ता कार्यक्रम जानकी मन्दिरमा गर्नबाट रोक लगाउनु पर्दछ ।’
प्रदेश सभा सदस्य एवं गंगा आरतीका संयोजक रामअशिष यादवले जानकी मन्दिरमा धार्मिक संस्कृतिक कार्यक्रम बाहेक कुनै कार्यक्रम गर्नै मिल्दैन । जानकी मन्दिरमा प्रचारात्मक कार्यक्रम गर्नु समान्य कुरा होइन । यसले के दर्शाउँछ भने जानकी मन्दिरका व्यवस्थापन पक्ष निक्कै कमजोर रहेको छ । अब पहिला जस्ता जनकपुरधाम रहेन । जनकपुरधामको चर्चा विश्वमा हुन थालेकोले कम्तिमा धार्मिक स्थलमा यस्ता कार्यक्रम नगर्न सबैमा आग्रह समेत गरेका छन् ।
जानकी मन्दिरलाई व्यवस्थित एवं धार्मिक दृष्टिले अगाडि बढाउनमा मुख्य जिम्मेवारी जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र धार्मिक संघ संगठनको रहेको छ । यस सन्दर्भमा जनकपुरधाम उपमहा नगरपालिकाका उपमेयर रिता कुमारी मिश्रसँग कुरा गर्दा उनले भने, ‘विगतमा के भयो, त्यसको चर्चा नगर्नस्, तर अब सर्वदलीय बैठक बसाएर त्यस्ता कार्यक्रममा रोक लगाउने छौं ।’
त्यस्तै जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले अहिलेसम्म आफूले मन्दिरको प्राङ्गणमा कुनै कार्यक्रम गर्नका लागि स्वीकृति दिएको छैंन । विगतमा जिल्ला प्रशासन कार्यालयमा रोक लगाउनका लागि पत्र समेत पठाएका थियौ । तर चिसो लिएको देखएन । अब राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, उपमहानगरपालिका लगायतको सम्बन्धित पक्षसँग निर्णय गराएर नै रोक लगाउने बताएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकी मन्दिरमा कार्यक्रमको आयोजनाका लागि आफूले स्वीकृति नदिएको बताएका छन् । उनले भने ‘मन्दिरको प्राङ्गणमा कुनै कार्यक्रम गर्नका लागि जानकी मन्दिर वा उपमहानगरपालिकासँग स्वीकृति लिनुपर्दछ । उनीहरुलाई नटेरेमा आफूले स्टेप अगाडि बढाउनेछौं ।’


No comments:

Post a Comment