Wednesday, December 25, 2019

चिसो बढ्यो, विपद् व्यवस्थापनको पाँचवटा निर्णय

जनकपुरधाम, ९ पुस । जनकपुरधाम सहित तराई मधेशका जिल्लाहरुमा दुई दिनदेखि लगातार चिसो बढ्दै गएको छ । निरन्तर रुपमा चिसो बढ्दै जाँदा जनजीवन प्रभावित हुन थालेको छ । विगत दुई दिनदेखि हुस्सु र कुहिरोकारण बाटोमा हिलडुल गर्न समेत अप्ठ्यारो हुन थालेको हो ।
लगातार चिसो बढेपछि सरकारी तथा गैर सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्यामा कमी आएको छ । त्यस्तै जनकपुरधामको बजारमा पनि चहलपल घटेको छ ।
जनकपुरधाममा लगातार चिसो बढ्न थालेपछि विपद व्यवस्थापन समितिले बैठक गरी पाँच वटा निर्णय गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको अगुवाईमा बसेको बैठकमा नेपाली काँग्रेस, संघीय समाजवादी पार्टी, राजपा, जनकपुरधाम उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाका प्रतिनिधिहरको उपस्थिति रहेको थियो ।
मेयर लालकिशोर साहको अध्यक्षतामा बसेको बैठकबाट शितकालिन अवस्थालाई मध्यनजर गरी आवश्यता अनुसार विपन्न असहायहरुलाई कम्बल र मेट वितरण गर्ने, तथा यस जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र ठाउँ ठाउँमा दाउरा उपलब्ध गराउने, उपमहानगरपालिकाको विभिन्न वडामा वडा स्तरीय विपद व्यवस्थापन समिति गठनका लागि पत्राचार गर्ने र आवश्यक सहयोग गर्ने रहेको छ ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिका विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेका एने  बमोजिम शाखा प्रमुख सुनिल कुमार झलाई सदस्य सचिव राख्ने,  चिसोबाट प्रभावित बालक, बालिका, महिला, पुरुष तथा सरोकारवालाहरुलाई सजग तुल्याउन चेतनामूलक विज्ञापनहरु पत्रपत्रिका एफएम, टेलिभिजन, शैक्षिक तथा स्वास्थय संस्थाहरुको माध्यमबाट प्रसारित गराउने रहेको जनाइएको छ ।

No comments:

Post a Comment