Wednesday, December 18, 2019

धनुषामा कुस्ती प्रतियोगिता दर्शकको आकर्षण बढ्दो

जनकपुरधाम, २ पुस । तराई मधेशका जिल्लाहरुमा विस्तारै कुस्ती खेल प्रतियोगिता लोप हुँदै जाँदा पनि कुस्ती खेलप्रति आकर्षण घटेको छैन । हालैमा साग प्रतियोगिता अन्तरगत जनकपुरधाममा कुस्ती प्रतियोगिता भएको थियो । तर ती कुस्ती प्रतियोगिता र तराई मधेशका जिल्लाहरुमा हुने गरेको कुस्ती प्रतियोगितामा धेरैको भिन्नता देखिएको छ ।
धनुषाको हँसपुर नगरपालिका वडा नं. ३ मल्हनियामा शुरु भएको तीन दिवसीय कुस्ती प्रतियोगिता हेर्नका लागि सैयौंको संख्यामा युवाहरुपुस्ताहरुको उपस्थिति रहेको थियो । नेपाल र भारतका करीब २० जना पहलमानहरु सो कुस्ती प्रतियोगितामा सहभागी भएका छन् । हँसपुरका मेयर रामज्ञान मण्डलले फिता काटेर कुस्ती प्रतियोगिताको उद्घाटन गरेका छन् । पहलवानहरुलाई हाथमा हाथ मिलाएर शुरु भएको सो प्रतियोगिता हेर्न क्षणमै सयौंको संख्यामा दर्शकहरु पुगेका थिए ।
सरकारले कुस्ती खेललाई वेवास्ता गरेपनि तराई मधेशमा भने यस खेलप्रतिको आर्कषण झण्डै बढ्दै गएको मेयर मण्डलले उद्घाटन सत्रमा भनेका छन् ।
प्रत्येक वर्ष हँसपुर नगरपालिकामा महावीर झण्ड महोत्सवमा कुस्ती प्रतियोगिता हुने गरेकोले त्यसैलाई निरन्तरता दिदै यसवर्ष पनि नेपाल भारतका २० वटा खेलाडीहरु सहभागी रहेको मेयर मण्डलले जानकारी दिएका छन् ।
दुबै देशका २० जना खेलाडी मध्ये ६ जना महिला खेलाडी रहेकी छन् । पहिलो दिन नेपालको नवल परासी र बिहारका पहलमानसँग भिडन्त भएका छन् । नेपालका पहलमान पारस थापाले बिहारका पहलमान टाइगरलाई पराजित गरी शिल्ड हासिल गरेको छ ।
त्यस्तै महिलातर्फ भएको कुस्ती प्रतियोगितामा नवलपरासी र बनारास बीच प्रतियोगिता भएको थियो । महिला कुस्ती प्रतियोगितामा पनि बनारसलाई हराउँदै नेपालीकी रोशनीले विजयी भएकी छन् ।

No comments:

Post a Comment