Thursday, December 12, 2019

दलित सुकुमवासीको पीडा कसैले सुनेन !


जनकपुरधाम, २६ मंसिर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १मा ३५जना बढी दलितहरु सुकुम्बासी छन् ।  जलाद नदीको छेउँछाउ लगायतको एलानी जग्गामा बस्दै आएका छन् । बाढी पहिरोको बेला मात्र होइन, चिसोको मौसममा पनि उनीहरु कष्टकर जीवन विताउँदा पनि कसैको उनीहरुको व्यवस्थापनतर्फ ध्यानाकर्षण भएको छैन । आफूले सम्बन्धित निकायमा ध्यानाकर्षण गराएपनि उपलब्धी शुन्य रहेको वडा नं. १ वडा अध्यक्ष शत्रुधन साहले समाचारदैनिक सँग भने ।
वडा अध्यक्ष साहले यस वार्डमा २५प्रतिशत दलित छन् । उनीहरुको आर्थिक अवस्था निक्कै दयनीय रहेको छ । बेलाबेलामा समाजिक व्यक्ति वा संघ संस्थाले सहयोग गरेपनि राज्यपक्ष वा स्थानीय सरकार उदासिन छन् । आफू एउटा प्रतिनिधि भएर चाहेपनि केही गर्न पाएको छैन । प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका लगायतमा ध्यानाकर्षण गराई सकेका छौं । तर अरु वडा जस्तै यस वार्डमा पनि बजेट आएकोले चाहेरपनि गर्न नसकेको गुनासो गरेका छन् ।
यस वार्डमा सबभन्दा बढी मुसहर, डोम, दुसाध, तत्मा, पासी, मेस्तर, खत्बे र मुस्लिमहरु छन् । दुईवटा विद्यालय पनि रहेको छ, तर ती विद्यालयको अवस्थामा पनि जिर्ण नै हो । समस्या र चुनौतीले यो वडा भरिएको वडा अध्यक्ष साहले भने ।
वडा अध्यक्ष साह भने ‘समस्याको रुपमा सार्वजनिक वा विद्यालयमा शौचालयको अभाव, दलित समुदायका लागि धर्मशाला वा दलित दलानको आवश्यता, खानेपानीको आवश्यकता तथा दलितहरुका लागि छुट्टै विद्यालयको आवश्यकता रहेको छ । आफूले मुसहर, डोम, हलखोर, मेस्तर समुदायका लागि जनता आवास अन्तरगत घर निर्माणका लागि सिफारिस गर्यो । ती मध्ये ३५ जनाको घर निर्माणको क्रममा रहेको छ । कहिले पुरा होला ठेकान छैन ।’
त्यस्तै दलित महिला अभियानी एवं जनकपुरधाम उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सुनिता राउतले तीन तहको सरकार पश्चात् दलितमा समृद्धिको आशा जागेको थियो । मुलुकमा परिवर्तन भएपनि दलित समुदायका लागि अहिलेसम्म खासै परिवर्तन नभएको बताएकी छन् । उनले भनिन, ‘रेल्वे निर्माणको क्रममा करीब ५० बढी घर भत्काइयो । सोही क्रममा दुईजनाको मृत्यु भएको थियो । प्रदेश सरकारलाई गुहारेपनि अहिलेसम्म उनीहरुको व्यवस्थापन गर्ने अश्वासन बाहेक केही पाएको छैन ।’
उनले प्रदेश सरकारलाई तथा स्थानीय सरकारलाई पटकपटक ध्यानाकर्षण गराएपनि उपलब्धी शुन्य नै रह्यो । दलितको पीडा कसले सुन्ने, कसलाई भन्ने, बुझ्न नपाएन । प्रदेश सरकारको मुख्यन्यायाधीवक्ता र मन्त्रीहरुलाई पनि कम्तिमा दलित सुकुम्बासीलाई गुठीकै जग्गामा व्यवस्थान गरिदिन भनेपनि अश्वासन बाहेक केही नपाएको गुनासो पोखिन ।

No comments:

Post a Comment