Monday, April 2, 2018

मिनी मार्केट बनाउने योजना असफल


जनकपुरधाम, १९ चैत । जनकपुर उपमहानगरपालिका वडा नं. ७ स्थित रामजानकी सुडी कुटी अगाडि (सडकपारी) रहेको पोखरीे पुर्न लाग्दा चौतर्फी विरोधपछि रोकिएको छ । पोखरीको दक्षिणवारी डिलमा नक्सापास गरी घर निर्माण भई रहेको छ भने उत्तरपट्टी सडक छेउतर्फबाट माटो भर्ने कार्य गरेका थिए ।
जनकपुर उपमहा नगरपालिकाको योजनामा परिक्रममा सडक भित्रमा पर्ने ३३ वटा पोखरीको सौन्दर्यीकरण गर्ने योजना रहेको छ । ती योजनामा सो पोखरी पनि रहेको जनकपुर उपमहानगरपालिकाका ७ का वडा अध्यक्ष जानकीराम साहले बताएका छन् ।
वडा अध्यक्ष साहले रातिरातिमा पोखरीलाई भर्र्ने प्रयास गरेपछि आफूले रोकेको र सम्बन्धित निकायमा समेत निवेदन दर्ता गराई सकेको बताएका छन् । उनले जनप्रतिनिधि विहीन रहेको बेलामा सार्वजनिक जग्गाहरु अतिक्रमण हुँदै आएको थियो । तर जनप्रतिनिधि भएपछि दायित्व र कानून अनुसार पनि रोक्न पाउने अधिकार रहेको दोहोर्याएका छन् ।
त्यस्तै कुटीका सचिव चन्देश्वर प्रसाद कापडीले गत चैत १० गते रामजानकी सुडी कुटीको वार्षिक साधारणसभामा पोखरीको स्वरुपनै परिवर्तन हुने गरी घर ठडयाइएपछि सुडी कुटीले पोखरीलाई भरेर मिनिमार्केट बनाउने योजना सर्वसम्मत रुपले निर्णय गरेको बताएका छन् । उनले रामजानकी कुटीका प्रमुख संरक्षण बलराम महतोले पोखरीलाई भरेर आफनो निजी खर्चमा अत्याधुनिक मिनी मार्केट बनाउने विडा उठाएको पनि बताएका छन् ।
कापडीले भने ‘टोलवासीलाई पटकपटक सो पोखरीमा फोहर नफाल्न आग्रह गरिएपनि उनीहरुले अटेरी गरेर फोहर फयाल्दै आएकोले पोखरी भरेर मिनि मार्केट बनाउन वाध्य भएको वताएका छन् । सो पोखरी यदि सौन्दर्यीकरणमा परेको छ भने नगरपालिकाले जिम्मेवारी लियोस ,सुडी कुटिले पोखरीमा भरेको माटो निकाल्न तयार रहेको सचिव कापडीले जिकिर गरेका छन् ।
यता जनकपुरधाम उपमाहानगरपालिकाका मेयर लालकिशोर साहले पोखरी भर्नु अथवा पोखरीमा घर बनाउनु कामलाई नियन्त्रण गर्ने काम सुरु भई सकेको बताएका छन् । पोखरीको डिल भन्दा १५ फिट अलगगै घर बनाउनुपर्ने प्रावधान छिटै बनाउने भन्दै मेयर साहले पोखरी भर्ने कार्य होस या पोखरीमा अतिक्रमण गरेर घर बनाउने कार्य होस त्यसलाई निस्तेज गर्ने प्रतिवद्धता जनाएका छन । उनले जनकपुरधाम उपमाहानगरपालिका भित्रमा भरिइसकेको पोखरीलाई पनि खोजबीन गरी जिर्णोद्धार गर्ने बताएका छन ।
जनकपुरधाम वार्ड नं ७ स्थित पुरानो बसपार्क नजिक परिक्रमा सडकको बगलमै रहेको सो पोखरी संरक्षणको अभावमा विगत केही वर्षदेखि डम्पीङ साइटमा परिणत भएको छ । मन्दिरमा दर्शनका लागि शुद्ध हुनका लागि तत्कालिन समयमा निमार्ण गरिएको पोखरीमा टोलभरिको भएभरको फोहर त्यसैमा फालिने गरिएको छ भने पोखरीमा पानीको अवस्था पनि नाम मात्रकै रहेको छ ।
पोखरीको दक्षिणतिर घर लक्ष्मण साहले चारवटा कोठा निर्माण गरिरहेका छन् । साहका अनुसार आफूले २०७२ सालमा जिवछ यादव र रामबाबु यादवसँग किनेर र सोको लालपूर्जा मात्र होइन, जनकपुर उपमहानगरपालिकाको मापदण्ड अनुसार नक्सा समेत पास गराएर घर निर्माण गरेको बताएका छन् । धनुषाकै कल्याणपुरका धनुषधारी शरणले तत्कालिन समयमा जनकपुरधाम दर्शन गर्न आउने भक्तजनहरुका लागि वस्नका लागि कुटी र रामजानकीको मुर्ति स्थापना गरी मन्दिर निमार्ण गरेका थिए भने बगलमै नुहाउन तथा शुद्ध हुनका लागि पोखरी खनाएकोे कबीर कुटीका वयोवृद्ध महन्थ रामनन्दन दासले बताएका छन् ।  पोखरीको भीड सहित चार कट्ठा जग्गा रहेको छ ।

No comments:

Post a Comment