Sunday, April 1, 2018

यातायात मन्त्री महासेठलाई १०१ किलोको माला


जनकपुरधाम, १६ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विकास निर्माणको कार्यमा कुनै प्रकारको राजनीति गर्दैनौ । तर यसका लागि सबै राजनीतिक दलहरुको सहयोग चाहिन्छ ।  सबैको सहयोगले नै नयाँ नेपालको निर्माण हुने बताएका छन् ।
गणेश युवा कमिटीद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री महासेठले ‘अप्पन मधेश, सम्पन्न प्रदेश’ को लागि सरकार र पार्टी दुबै प्रतिबद्ध रहेको बताएका छन् । उनले देश र जनताको पैसा सही कार्यमा सदुपयोग गर्ने ठोकुवा पनि गरेका छन् ।  मधेशको लागि वर्तमान सरकारले विशेष प्याकेजको व्यवस्थापन गर्न लागेको जानकारी गराउँदै जनकपुर जसरी विश्वमा चर्चित रहेको छ, त्यसरी नै विकासको मामलामा पनि फड्को मार्ने विश्वास दिलाएका छन् ।
मन्त्री महासेठले स्थानीय सरकारको बजेट व्यवस्थापन भई सकेको र प्रदेश र संघीयको लागि जोरजोरले छलफल भई रहेको जानकारी पनि दिएका छन् । उनले भने, ‘प्रत्येक गाउँपालिकालाई शहरसँग जोड्ने योजना आउँदैछ ।’  कुन सडक स्थानीय तह, कुन सडक प्रदेश र कुन सडक केन्द्रले राजस्व उठाउने त्यस सन्दर्भमा पनि छलफल भई रहेको बताएका छन् ।
त्यस्तै भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले यो प्रदेशको लागि केन्द्रमा पनि भौतिक पूर्वाधार मन्त्री मधेशी र राज्यमा पनि मधेशी रहेकोले विकास निश्चित रहेको ठोकुवा गरेका छन् । उनले यो देश गाउँको देश हो । गाउँ बनेपछि प्रदेश बन्नेछ र प्रदेश बनेपछि देश बन्ने विश्वास दिलाएका छन् । विकास मन्त्री सोनलले जनकपुर उपमहानगरपालिकामा आउटअफ रिंग रोड चाँडै बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सोको लागि नेपाल सरकार लागयतमा पहल गरिसकेको बताएका छन् ।
त्यस्तै जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले युवा क्लवको प्रशंसा गर्दै जसरी राजनीतिभन्दा माथि उठेर यो कार्यक्रमको आयोजना गरिएको छ । त्यसरी नै राजनीतिक दलहरु पनि विकासको नाउँमा राजनीतिभन्दा माथि उठ्नु पर्ने बताएका छन् । ‘सबके साथ सबके विकास’ भएमा जनकपुरको विकासलाई कसैले रोक्न नसक्ने ठोकुवा गरेका
छन् ।
कमिटीका अध्यक्ष सुनिल लाल दासको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शिवशंकर साह हिरा, अध्यक्ष ललित साह लगायत विचार राखेका छन् । क्लवले स्वागत तथा सम्मान कार्यक्रममा प्रदेश साँसद, मन्त्री, युवा क्लव, पत्रकार, बुद्धिजीवि, समाजसेवी लगायतलाई सम्मान गरेका छन् ।

No comments:

Post a Comment