Thursday, July 30, 2020

जातीय प्रभुत्ववाद र दलित उत्पीडन


पदम विश्वकर्मा
राज्यसत्ताको निश्चित नियम र योजनामा एउटा निश्चित जाति, वर्ग वा समूहको विचार र प्रवृत्तिले अर्को जाति, वर्ग वा समूहको विचार र प्रवृत्तिमाथि वैधानिकरुपमा लाद्ने दमन नै प्रभुत्ववाद हो । प्रभुत्ववाद आजभोलि निकै चलन चल्तीमा आएको शब्द हो । राज्यसत्ताको आडमा निश्चित विचार र प्रवृत्तिद्वारा कसरी बहुसंख्यक पात्र, समूह, वर्ग वा राज्यमाथि प्रभुत्ववादी सोंच हावी र विस्तार भइराखेको छ भन्ने विषयमा गहन अध्ययन हुँदै आएको छ । ग्रीक शब्द ‘हेजमोनिया’बाट आएको हेजेमोनी अर्थात् प्रभुत्ववादी अवधारणालाई सर्वप्रथम तत्कालीन ग्रीक राज्य र नगरबीचको सम्बन्धलाई उजागर गर्न प्रयोग गरिएको थियो । इटालियन राजनीतिज्ञ तथा माक्र्सवादी दार्शनिक एन्टोनियो ग्राम्स्कीले यो शब्दलाई प्रचारमा ल्याएका थिए । उनले पश्चिमा पुँजीवादी राज्यहरुले आफ्नो पुँजीवादी शोषण र लुटलाई कायम राख्न प्रगतिशील विचारमाथि कसरी दमनको हतियार चलाइराखेका छन् भन्ने कुरालाई उजागर गरेका थिए । उनका अनुसार पुजीवादी विचार र योजनामा आधारित प्रभुत्ववाद विभिन्न रुप र आयममा कायम रहेकाले सारा विश्वका उत्पीडित वर्ग र समुदायलाई  स्वीकार गर्न बाध्य पारिएको छ । उनले आफ्नो वर्गस्वार्थको रक्षाको लागि पुँजीवादी बुद्धिजीवीहरु राज्यसत्ताको सम्पूर्ण शोषण, दमन र प्रभुत्ववादका अगाडि लाचार बन्ने गरेको निश्कर्ष समेत निकालेका छन् । 
दुई वर्ष अगाडि प्रकाशित पुस्तक ‘जाति, संस्कृति र प्रभुत्ववाद’ पुस्तकमा भारतीय लेखक डा. शेखर बान्द्योपाध्यायले हिन्दु जातीय समाजले भारतीय उपमहाद्दीपमा आफ्नो सांस्कृतिक प्रभुत्व र संरचनात्मक संलग्नता गहिरो गरी कायम गरेकाले यस क्षेत्रमा उच्च व्राह्मणवादी परम्परा हावी भइरहेको चर्चा गरेका छन् । उनले हिन्दु प्रभुत्ववादले अन्य सीमान्तीकृत जाति भनिएका जाति, वर्ग वा समुदायको स्वतन्त्रता, परम्परा, धर्म र संस्कृतिहरु दमन गर्न निर्वस्त्र रुपमा उत्रिएकोे चर्चा गरेका छन् । उनका अनुसार हिन्दु प्रभुत्ववादले समानता, भातृत्व र सास्कृतिक स्वतन्त्रताहरु अपहरण गरिरहेको छ । भारतीय संस्थापनले चलाएको हिन्दु राष्ट्रिय अभियानले त दलित, महिला, आदिवासी–जनजाति, धार्मिक अल्संख्यक एवम् उत्पीडितहरुको स्वतन्त्रतामाथि धावा बोलिरहेको छ । उनले हिन्दु उच्च जातीय अहम्कारवादलाई चिरस्थायी बनाउन अहिलेको भारतीय संस्थापनपक्ष दृढतापूर्वक लागिरहेकोले सांस्कृतिक र राजनीतिकरुपमा सबै उत्पीडित वर्ग र समुदाय गम्भीर बन्नुपर्ने निश्कर्ष निकालेका छन् ।
अब नेपालका दलितहरुको कुरा गरौं । नेपालका दलित समुदाय विगत लामो समयदेखि जातीय प्रभुत्ववाद, हिन्दु अतिवाद, सामाजिक कुरिती, नश्लीय परम्परा, विभेदकारी मानसिकता र संस्कृति तथा सामन्ती संरचनाविरुद्ध बलिदानीपूर्ण सङघर्ष गर्दै आएका छन् । उनीहरु यस अर्थमा सबैप्रकारका प्रगतिशील क्रान्तिकारी आन्दोलनका पर्याय नै हुन् । जसको परिणामस्वरुप नेपालको राजनीतिक परिदृश्यमा सङघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समानुपातिक समावेशीजस्ता अग्रगामी मुद्दा स्थापित हुन सम्भव भएको हो । सबैप्रकारको न्यायपूर्ण आन्दोलनका प्रतिक र अन्यायपूर्ण हर्कतहरुको प्रतिरोधी चेतना बोकेका दलितहरु नेपालका असली सर्वहारा श्रमजीवी वर्ग हुन् । तर शासनसत्तामा रहेको हिन्दू जातीय प्रभुत्वशाली विचार र चिन्तनले यस आयामलाई अहिलेसम्म पहिचान गर्न सकेको देखिंदैन । उनीहरुका नजरमा अहिले पनि दलितहरु दया, माया, निगाहा र कृपाका पात्रभन्दा माथि छैनन् । उनीहरुका दृष्टिमा  दलितहरु भनेका असक्षम, विवेक–बुद्धि नभएका, अनपढ, फोहोरी, शक्ति र सामाथ्र्यहीन वर्ग र समुदाय हुन् । यही चिन्तन र प्रवृत्तिका कारण दलितहरुको बलिदानको अवमूल्यन भैरहेको छ । उनीहरुको श्रमजीवी सुन्दर संस्कृति तिरस्कृत भइरहेको छ ।
गत जेष्ठ १० गते रुकुमको चौरजहारीमा अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्नका लागि गएका नवराज वि.क. र उनका ५ जना साथीहरुलाई लखेटिएर मारिएको घटना हिन्दु जातीय प्रभुत्ववादी चिन्तनको ज्वलन्त उदाहरण हो । यो घटना सेलाउन नपाउँदै गत जेठ २७ गते मध्यरातमा धनुषाका दलित समुदायका युवा शम्भु सदा इलाका प्रहरी कार्यालय, सबैलाभित्र झुण्डिएको अवस्थामा फेला परे । त्यसैगरी असार ७ गते राती प्रादेशिक अस्पतालको इमरजेन्सी कक्षमा सामान्य उपचारसमेत नपाइ छटपटिएर दलित समुदायका राजु सदा मारिए । यस्ता कहालीलाग्दा घटनाहरुको सामना यो समुदायले गरिरहेको छ । अहिले दैनिक रुपमा देशव्यापी रुपमा दलित समुदायले छुवाछूत, विभेद, उत्पीडन, दमन, वहिष्कार र नाकाबन्दीको सामना खेपिरहेको छ । दलित समुदायका महिला र बालिकाहरु वलात्कार हुँदासमेत प्रहरी र प्रशासनमा जिवित रहेको जातीय प्रभुत्ववादले न्याय दिन अनदेखा गरिरहेको छ । सामान्य अपमान, हेलाहोचो, कुटपिट र लाञ्छनाको सामना नगर्ने दलित कमै होलान् । तर यस्ता घटनालाई स्वभाविक र आकस्मिक घटना ठान्नेहरुको जातिवादी चिन्तन यत्रतत्र सर्वत्र विद्यमान छ । यथार्थमा नेपाली समाजमा व्यप्त सामन्तवादी–व्राह्मणवादी प्रभुत्ववादी चिन्तनले अन्य जाति, समुदाय वा वर्गको अधिकारलाई मानवीय दृष्टिले देख्न नै सकिरहेको छैन । हजारौं वर्षदेखिको व्राह्मणवादी मनुवादी चिन्तन र संस्कृतिको जगमा निर्माण भएको जङ्गबहादुरको ऐनबाट निर्देशित र प्रशिक्षित भएको राज्यसत्ताको बागडोर सम्हाल्नेहरुले यस्ता घटनालाई सामान्यीकरण गर्नमै केन्द्रित छन् भनें अर्कोतर्फ दलित समुदायमाथि भएका दमन र हत्याविरुद्ध भएका संगठित तथा स्वतस्फूर्त आन्दोलनलाई समेत नजरअन्दाज गरिरहेका छन् ।
त्यसो भए अब दलित समुदायले गर्ने के त ? समानता, मुक्ति र परिवर्तनका लागि भएका सबैप्रकारका न्यायपूर्ण आन्दोलन र युद्धको उपज यही नियति भोग्न हो त ? दलितहरुको भागमा अन्याय, अपमान, दमन र तिरस्कार नै हो त ? कदापी त्यस्तो होइन । के यो समस्याले सिङ्गो मानव समाजलाई गिज्याइरहेको छैन त ? यो समस्या दलितहरुको मात्रै समस्या हो त ? कदापी होइन र हुनुहुँदैन ।
यसका लागि सर्वप्रथमत, दलितहरुले आफूलाई अग्रगामी राजनीतिक–वैचारिक रुपमा सुशिक्षित र परिस्कृत गर्नुपर्दछ ।  दोश्रो काम भनेको जो जुन पेशा, व्यवसाय वा काममा छौं, त्यहीबाट नै समाजमा व्यप्त अन्याय, विभेद र वहिष्कारविरुद्ध उभिन, बोल्न वा लेख्न सक्नुपर्दछ । तेश्रो काम भनेको आफूलाई प्रगतिशील विचार, चिन्तन र चरित्र भएको समूह वा संगठनमा आबद्ध गर्ने प्रयत्न गर्नुपर्दछ । चौथो काम भनेको निरन्तर रुपमा सङ्घर्षको विधिबाट नै समाज रुपान्तरण हुन्छ भन्ने मर्मलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्दछ । पाँचौ काम भनेको लामो समयदेखि सञ्चालित भएका दलितलगायत सबैप्रकारका न्यायपूर्ण आन्दोलनले प्राप्त गरेका उपलब्धीहरुको रक्षा, प्रयोग र विकास गर्दै सचेतरुपमा आफ्नो व्यक्तिगत तथा सामाजिक–राजनीतिक जीवनलाई अगाडि बढाउन कोशिस गर्नुपर्दछ । छैटौ काम भनेको राज्यसत्ताको प्रगतिशील रुपान्तरणका लागि आफूलाई सचेत रुपमा उभ्याउन प्रयत्न गर्नुपर्दछ । 





No comments:

Post a Comment