Saturday, July 18, 2020

देश संविधानले होइन, पार्टी चलाई राखेको छ ः राज्यमन्त्री कुशवाहा

जनकपुरधाम, ३ साउन । संघीय सरकारको केही विवादित मुद्दालाई संकेत गर्दै आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले ‘देश संविधानबाट होइन, पार्टीले चलाई राखेको छ’ बताएका छन् ।
कोरोना भाइरसबाट बच्न र बचाउने उद्देश्यले सरकारले लगाएको लकडाउनको कारण किसानहरु बैंकको ऋण ब्याज तिर्न नसकिदा प्रदेश सरकारले चार महिनाको ऋण ब्याज तिर्ने निर्णय अन्तरगत राखिएको ‘राहत÷ब्याज अनुदान स्वरुप चेक वितरण’ कार्यक्रममा उहाँले सो कुरा बताएका हुन । उनले केपी ओलीको कम्युनिष्टको सरकारले संविधानलाई टेकेर बलजबरदस्ती मुलुकलाई द्वन्दमा फसाउने कार्य गरिरहेको कतिपय उदाहरण प्रस्तुत गरे ।
राज्यमन्त्री कुशवाहाले अंगिकृत नागरिकतामाथि व्यङ्ग कस्दै भने ‘संविधानमा पाँच किसिमको नागरिकताको व्यवस्था गरिएको छ । पाँचै किसिमको नागरिकताको दायरा समेत छुट्याइएको पनि हो । त्यसका वावजूद पनि नेपाली पुरुष विदेशी महिलासँग विहे गरेमा सात वर्ष पर्खिनु पर्ने गलत मानसिकताको उपज छ ।’ उनले भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मप्रति दिएको अभिव्यक्तिबाट सर्वसाधारण जनताको मनदुखाई भएको बताएका छन् ।
जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव मरबैताको अध्यक्षतामा भएको ‘चेक हस्तान्तरण’ कार्यक्रममा राज्यमन्त्री कुशवाहाले किसानको सम्मानबाट नै समृद्ध प्रदेश बनाउन सकिन्छ । यस प्रदेशकै उन्नति कृषिमा रहेकोले प्रदेश सरकार कृषिमा अनुदान कार्यक्रम ल्याउन लागेको बताएका छन् । नेपाल कृषि प्रधान देश भएपनि सरकारको कृषिमा लगानी न्यून रहेको थियो । तर अब प्रदेश सरकारले देशलाई नै पाल्न सकिने कृषि योजना यस प्रदेशमा ल्याउन लागेको जिकिर गरेका छन् ।
उनले भने ‘राजनीति परिवर्तनको नाउँमा सत्ता परिवर्तन मात्र भएको हो । मुलुकलाई चाहिने लगानीमा राज्यले अहिलेसम्म लगानी गरेको छैन । किसानहरुको अगाडि बढाउनमा  अहिलेपनि तीनै तहको सरकार असमर्थन छन् । अब आधुनिकीकरण खेतीको आवश्यकता छ । किसानहरुका लागि भूमि, कृषि सडक, सिंचाई, विउ, मलखाद र बजारीकरणका लागि प्रदेश सरकार दीर्घयामी योजना निर्माणमा हो ।’
राज्यमन्त्री कुशवाहाले प्रदेश २ मात्र होइन, देश नै बचाउनका लागि चुरे संरक्षण आवश्यक छ । चुरे संरक्षण नभएमा भूमीमात्र होइन, मानव संकट आउन सक्ने उनले संकेत गरेका छन्् । उनले किसानहरुलाई ०देखि २ प्रतिशतमा ऋण उपलब्ध गराउनका लागि कृषि मन्त्रीसँग आग्रह समेत गरेका छन् ।

No comments:

Post a Comment