Tuesday, August 14, 2018

तीन ‘स’ को लडाई जारी छ ः मन्त्री यादव


जनकपुरधाम, २७ साउन । प्रदेश नं. २ का आर्थिक मामिला मन्त्री विजय यादवले संघीय समाजवादी फोरम नेपाल तीन ‘स’ को लडाई जारी राखेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ प्रदेश कार्य समितिले गरेको दुई दिवसीय ‘लैंगिक समता र सुरक्षा तालिम’ को उद्घाटन सत्रमा मन्त्री यादवले संघीय समाजवादी फोरम सधैं संघीयताको पक्षमा रहेको र संघीयताको लडाई लड्नका लागि तीन ‘स’ को आन्दोलन अन्तर्गत सरकारमा सहभागी भएको दावी गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालका नेता समेत रहेका यादवले अधिकारको लडाई सडकबाट मात्र नपाउने भन्दै त्यसका लागि सडक, सदन र सरकारमा बसेर लड्नुपर्ने भएकोले फोरम नेपाल सरकारमा सहभागी भएको खुलासा गरेका छन् ।
मन्त्री यादवले राजनीतिक अहिले पनि संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको बताएका छन् । उनले संघीय सरकारले प्रदेश सरकारसँग निक्कै विभेद गरिराखेको आरोप लगाउँदै प्रदेश सरकारले ल्याएको बजेटको अवस्था राम्रो नरहेको स्वीकारेका छन् । उनले भने, ‘म आफै यस प्रदेशको अर्थ मन्त्री हो । तर आफूले ल्याएको प्रदेशको बजेटबाट सन्तुष्ट छैनौ ।’ बजेट ल्याउने बेलामा संंघीय सरकारले सचिवहरुलाई सरुवा गरिदिन्छ । जसले गर्दा बजेट समावेशमा समस्यै समस्या हुन्छ उनले भनेका छन् ।
मन्त्री यादवले ३० प्रतिशत राजश्वबाट १५÷१५ प्रतिशत प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउने संघीय सरकारको नीति छ । बाँकी ७० प्रतिशत राजश्व संघीय सरकारले उपयोग गर्ने छ । १५ प्रतिशत राजश्वले प्रदेश सरकार चलाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएका छन् ।
मन्त्री यादवले संघीय सरकारको नीतिले संघीयता असफल हुने शंका उत्पन्न भएको बताए । संघीय सरकारले कुल बजेटको २ प्रतिशतभन्दा कम बजेट प्रदेश सरकारलाई दिएको छ । यो बजेटले कसरी प्रदेश सरकारले काम गर्छ ? उनले थपे । सात प्रदेशको लागि संघीय सरकारले छुट्टयाएको १३ प्रतिशत बजेटमा एउटा प्रदेशलाई २ प्रतिशत पनि पर्दैन । यस्तो अवस्थामा प्रदेश सरकारले कसरी प्रदेश संचालन गर्छ, उनको प्रश्न थियो । नेपाल पत्रकार महासंघ प्रदेश २ समितिका उपाध्यक्ष रिंकु गायत्री मिश्रको अध्यक्षतामा आयोजित २ दिने तालिममा मन्त्री यादवले प्रदेशको बजेट त्रुटिपुर्ण रहेको स्वीकार गरेका छन् । संक्रमणकालको अवस्थामा बजेट बनाइएकोले बजेट त्रुटिपुर्ण हुन गएको उनले बताए । उनले बजेट बनाउने क्रममा सचिवको सरुवा भएकाले त्रुटी हुनपुगेको समेत उल्लेख गरेका छन् । ‘देश अहिले राजनीतिक संक्रमणकाल पार गरेर अर्को संक्रमणकालबाट गुजरिरहेको अवस्था छ,’ मन्त्री यादवले भने,‘ संक्रमणकाल रहेको कारण बजेटमा त्रुटि भएको हो । बजेट बनाउने बेला सचिवको सरुवा भयो र बजेट निर्माणमा समस्या भयो ।’ उनले बजेट कार्यान्वयन गर्ने समयमा नै ६ वटा अधिकृतहरुको एकैपटक सरुवा भएकोले प्रदेश सरकारलाई थप समस्या परेको बताए । आफ्नै पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेशी नेताकै कारण मधेश बर्बाद भएको टिप्पणी गरिरहँदा मन्त्री यादवले केन्द्र सरकारको विभेदकारी नीतिका कारण तराई मधेस शैक्षिक र भौतिक विकासमा पछाडी परेको दाबी गरे । उनले अन्य कुराहरुमा समानता भएपनि आर्थिक विभेद हुँदा विद्रोह हुनसक्ने खतरा रहेको चेतावनी दिए । फोरम सरकारमा गएर आन्दोलनको उपलब्धि हासिल गरेको मन्त्री यादवको दाबी छ । उनले नेकपा र काँग्रेस दुबै संघियताको पक्षमा नरहेको बताउँदै दुबै दलले डिजाइनमार्फत संघियता धरापमा पार्न लागेको आरोप समेत लगाए ।

No comments:

Post a Comment