Saturday, September 14, 2019

‘देशका धर्तीपुत्र नै उपेक्षित’

जनकपुरधाम, २८ भदौ । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले देशकै धर्तीपुत्र रहेका मुसहर समुदायहरु नेपाल सरकारद्वारा उपेक्षित रहँदै आएको आरोप लगाएका छन् ।
जनकपुरधाममा शनिवार भोर नामक संस्थाद्वारा आयोजित ‘मुसहर विद्यार्थीहरुलाई सम्मान र उच्च शिक्षा अध्ययन गर्न सहयोग घोषणा समारोह’मा मन्त्री यादवले राज्यले दलितभन्दा पनि मुसहर समुदायलाई बाहिर राखेकोप्रति दुःख व्यक्त गर्दै भने, ‘मुसहर समुदाय देशका धर्तीपुत्र हुन । तर उनीहरुलाई राज्यले विभेदमा गर्दै आएको छ । सत्यतथ्य तथ्यांक समेत संकल्न गर्न सकेको छैन ।’
मन्त्री यादवले प्रदेश सरकार विभेदरहीत समानता र शिक्षित समाज निर्माणमा लागि परेको जिकिर गरेका छन् । उनले शिक्षा, स्वास्थ्य र राजनीतिभन्दा बाहिर रहेको यी समुदायहरुलाई प्रदेश सरकारले कानून निर्माण गरी ल्याउने प्रतिबद्धता जनाएका छन् ।
भोरका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि समेत रहेको मन्त्री यादवले मुलुकमा १२ लाखभन्दाबढी मुसहर समुदायहरु छन् । तर त्यसमा १० प्रतिशत पनि शिक्षित छैन । जबसम्म मुसहर समुदाय शिक्षित हुँदैन, तबसम्म अधिकार कसैले दिंदैन । शिक्षित भएर अधिकार लिन सबैमा आग्रह गरेका छन् ।
कार्यक्रममा मुसहर समुदायबाट पहिलो पटक पीएचडी गरेका तथा बिहारका पूर्व मुख्यमन्त्री जितनराम माझीका छोरा सन्तोष माझी सहितका व्यक्तिहरुले आ आफ्ना विचार राखेका छन् । सम्मान कार्यक्रममा प्रदेश भरिका ४० भन्दा बढी एसईई तथा १२ कक्षा पास विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
भोर संस्थाले २०६७मा ३ जना, ०६८ मा ५ जना, ०६९ मा ७ जना, ०७० मा ९ जना, ०७१ मा ६१ जना, ०७२ मा ९२ जना,०७३ मा १४८ जना, ०७४ मा १६६ जना, ०७५ मा १७२ जना एसईई उत्तीर्ण मुसहर विद्यार्थीहरुलाई सम्मानित गरेको छ ।

No comments:

Post a Comment