Monday, August 19, 2019

जनकपुरधाममा जानकी मन्दिर आकारको दाहा मेला


जनकपुरधाम, २ भदौ । जनकपुरधाम उपमहा नगरपालिका वडा नंं १३मा जानकी मन्दिर आकारको दाहा निर्माण कार्य शुरु भएको छ ।
दाहा मेला उत्सव प्रचार प्रसार समितिले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी भदौ २३देखि २५ गतेसम्म लाग्ने दाहा मेलाको तयारी भव्यताका साथ भई रहेको बताएका छन् ।
दाहा मेलालाई भव्यता प्रदान गर्नका लागि ११ वटा उपसमिति समेत गरिएको छ । पत्रकार सम्मेलनमा प्रचार प्रसार उपसमितिका संयोजक रामअशिष दासले पत्रकार सम्मेलनमा मोहरम्म उपसमिति, मेला व्यवस्थापन समिति, मनोरञ्जन समिति, साउण्ड लाइट सजावट समिति, मञ्च व्यवस्थापन समिति, स्वास्थ्य तथा उपचार व्यवस्थापन समिति, प्रचार प्रसार उपसमिति, भोजन व्यवस्थापन उपसमिति, महिला व्यवस्थापन उपसमिति, मेडल तथा पुरस्कार उपसमिति, सुरक्षा व्यवस्थापन उपसमिति गठन भएको बताएका छन् ।
उपसमिति संयोजक दासले करीब १२ लाखको लागतमा आधुनिक किसिमले दाहा निर्माण हुने बताए । उनले भने, ‘दाहामा कम्तिमा एक लाख दर्शनार्थीहरु आउने छन् । दाहाको  उच्चाई १सय १५ फिटको रहने छ भने तीन महिना अघिदेखि निर्माण कार्य शुरु भई सकेको छ ।’

त्यस्तै मेला उत्सव प्रचार प्रसार समितिका संयोजक तथा वडा नं. १३ का वडा अध्यक्ष शुभनारायण मण्डलले अहिलेसम्म धनुषा लगायतका ठाउँमा यस्तो दहा निर्माण नभएको दावी गरेका छन् । उनले यस दाहामा ६सय बढी बाँसको प्रयोग भएको र दैनिक रुपमा तीन महिनादेखि ८ वटा मिस्त्रीहरु खटि रहेको बताएका छन् ।
स्थानीय राम कुमार साहको सहयोगमा सो दाहा निर्माण भई रहेको र दाहाको संरक्षण सम्बद्र्धन स्थानीयवासीहरुले गर्नेछन् ।
मेलालाई भव्यता प्रदान गर्नका लागि सबैसँग आग्रह गर्दै अध्यक्ष मण्डलले भने, ‘पहलवानी, लठ्ठी भाँज्ने खेल, अल्हाउरुदल, वृजभानु नाचका साथै आधुनिक रेल रेस, मौतका कुआ, झुला लगायतको मनोरञ्जन गर्ने खेलहरु रहनेछ ।’
पत्रकार सम्मेलनमा राजकुमार साह, योगेन्द्र नारायण राम, नारायण राउत, जीत बहादुर राउत, ज्ञानी साह तथा मुस्लिम समुदायहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment