Monday, March 30, 2020

प्रहरीले हिरासतमा लिएर युवालाई गरे निर्घात कुटपिट

जनकपुरधाम, १७ चैत ।  धनुषाको विदेह नगरपालिकाको तीनकौरिया प्रहरीचौकीले एक युवालाई हिरासतमा लिएर निर्घात रुपमा कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । नगरपालिका ५ एकराही बस्ने २५ वर्षीय सुनिल कुमार खत्वे मण्डललाई औरहीको तीनकौरिया प्रहरी चौकीका इन्चार्ज असई मोदनारायण यादवले चैत १५ गते विहान ७ बजे घरबाटै नियन्त्रणमा लिएर निर्घात कुटपिट गरि यातना दिएको पीडितले आरोप लगाएका छन् ।
कुटपिटबाट दुवै खुटटामा चोट लागेको मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको छ । विहान ७ बजे घरबाटै विना पूर्जी पक्राउ गरि प्रहरी चौकी तीनकौरियामा राखेर दिनभर पैताला र पेटमा पाइप, हात र जुत्ताले कुटपिट गरि घाइते बनाएको पीडितका दाजु सुकिल कुमार खत्वे मण्डल आरोप लगाएका छन् ।
मण्डलका सालो धनौजी गापा(३ बस्ने २० वर्षीय अनिल कुमार मण्डलले जनकपुरधाम उपमहानगरपालिका (१६ कपिलेश्वरका एक केटीलाई लिएर भागेको घटनामा सुनिल कुमार खत्वे मण्डलले सहयोग गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरि कुटपिट गरेका हुन् । यस अघि मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषाले फागुन ९ गते पक्राउ गरि सार्वजानिक अपराध मुद्धा चलाएको थियो । मण्डल जिल्ला प्रशासन कार्यालय धनुषामा धरौटीमा फागुन १३ गते रिहा भएका थिए ।
मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीको आदेशमा फागुन १५ गते तीनकौरिया चौकीका असइ मोदनारायण यादव नेतृत्वको टोलीले पक्राउ गरेको हो । पक्राउ गरि नियन्त्रणमा लिएर तीनकौरिया प्रहरीचौकीका असई मोदनारायण यादवलगायत ४ जना मिलेर पैताला र पेटमा कुटपिट गरेको विदेह नगरपालिका वडा नं. ६ अध्यक्ष जयराम मण्डल केवटले जानकारी दिए ।


No comments:

Post a Comment