Tuesday, February 26, 2019

प्रदेश २ मा सबभन्दा अशिक्षित महिलाहरु ः डा.झा


जनकपुरधाम, १३ फागुन । प्रदेश २ का नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाले प्रदेश नं. २ मा  सबभन्दा बढी अशिक्षित महिलाहरु नै रहेको दावी गरेका छन् ।
जनकपुरधाममा वियोण्ड बेइजिङ्ग कमिटी (बीबीसी) द्वारा सोमवार आयोजित दिगो विकास लक्ष्य कार्यक्रममा डा. झाले तथ्यांक एकुरेट थाहा नभएपनि सातवटै प्रदेश मध्ये प्रदेश २ का महिला सबभन्दा अशिक्षित रहेको दावी गरेका छन् ।
उनले भने, ‘जबसम्म महिलाहरु शिक्षित हुँदैन, विभेदको अन्त्य हुँदैन ।’ प्रहरी हिरासतमा र अदालतमा समेत महिलाहरुप्रति विभेद हुँदै आएको उनले ठोकुवा गदै भने, शिक्षा, स्वास्थ्य र राजनीतिकमा पहुँच हुनु अति आवश्यक छ ।’
उपाध्यक्ष डा. झाले महिला शिक्षित भएमा दाईजोप्रथाको अन्त्य, रोजगारीको सृजना र बेटी शिक्षामा हुँदै आएको विभेदको अन्त्य हुनेछ । यी सबैको अन्त्यका लागि शिक्षा नै मूलमन्त्र रहेको दावी पनि गरेका हुन ।
कमिटीका महासचिव कृष्ण कुमारी वाइवाको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेको डा. झाले संविधानमा पनि महिला अधिकार सुनिश्चित नगरेको होइन, तर व्यवहारमा त्यसलाई लागू नगरेको देखिन्छ ।
त्यस्तै सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख ठूलोबाबु दाहालले महिला सशक्तीकरण तथा दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रदेश सरकार नीति समेत ल्याई सकेको जानकारी गराउँदै विस्तारै विस्तारै कार्यान्वयनमा समेत आउन लागेको बताएका छन् ।
उनले प्रदेश सरकारले स्वस्थ्य, दक्ष नागरिक तयार गर्ने, प्राविधिक शिक्षमा जोड दिई प्रदेशलाई आवश्यक जनशक्ति उत्पादन गरी शैक्षिक बेरोजगार घटाउने, स्वरोजगार सृजना गर्ने, हिंसा रहित समाज निर्माण गर्ने, श्रम शोषण रहित समाज स्थापना गर्ने लक्ष्य लिएको जानकारी गराएका छन् ।
त्यस्तै बीबीसीकी महासचिव कृष्ण कुमारी वाइवाले कसैलाई पनि पछाडि नपरौ, सबभन्दा पछाडि पारेकोमा पहिलो पुगौ यसको लक्ष्य रहेको बताएकी छिन् । उनले दिगो विकास लक्ष्य प्राप्ति अन्तरगत १७ वटा बुँदाहरु रहेको विस्तृत रुपमा जानकारी गराउँदै यस बुँदामा राज्यले वा नागरिक समाजले कार्य गरेमा महिला सशक्तिकरण मात्र होइन, समृद्ध राष्ट निर्माण समेत हुने दावी गरेका छन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख ठूलोबाबु दाहाल, पर्साकी दलित महिला संघकी निलारामले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा तीन जिल्लाका महिला अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।


No comments:

Post a Comment