Sunday, February 17, 2019

महंगी ४० प्रतिशत,व्यापार २५ प्रतिशत

जनकपुरधाम, ४ फागुन । जनकपुरधाम नेपालमै सबभन्दा महँगो शहर रहेको पर्यटकहरुले आरोप लगाएका छन् । नेपालको विभिन्न जिल्लाबाट जनकपुरधाम जानकी दर्शन गर्न आएकाहरुले यहाँ खद्यान्न समाग्रीहरु लिएर बस्त्र लगायतका समाग्रीहरु चर्को मूल्यमा बिक्री हुने गरेको बताएका छन् ।
प्रदेश २ को राजधानी र धार्मिक पर्यटकीय नगरीको रुपमा समेत प्रसिद्ध रहेका जनकपुरधाममा आउने पर्यटक एवं श्रद्धालुहरुले ७७ वटा जिल्लामै महँगो जिल्ला धनुषा नै रहेको पोखराबाट आएका संजिता भट्टराईले गुनासो पोखेकी छिन् ।
कुन व्यापार राम्रो त ?
जनकपुरधाममा अधिकांश व्यापारीहरु विगतभन्दा अहिले नराम्रो अवस्था रहेको भन्दै आएपनि केही व्यापारको अवस्थाका निक्कै उच्च देखिएको छ । यहाँका होटल व्यवसाय, यातायात, अस्पताल, क्लिनिक, औषधी लगायतका व्यापारहरुमा निक्कै वृद्धि भएको स्थानीयहरुले बताएका छन् ।
जनकपुरधाममा प्रदेश २ को राजधानी तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमण पश्चात् पर्यटकहरुको चाप बढेको स्थानीयहरुको कथन छ । जनकपुरधाममा सञ्चालनमा रहेको अस्पतालहरु, होटल, लज तथा औषधी पसलहरु निक्कै फाइदामा रहेको छ ।
त्यस्तै यहाँका मदिरा पसलहरु, फुटपाथका पसलहरु र चिया पसले व्यापारहरुको अवस्था निक्कै राम्रो रहेको स्थानीयहरु बताउँछन् ।

उनले यहाँका होटल, लज तथा अन्य सामाग्रीहरु अन्य जिल्लाको तुलनामा बढी महँगो रहेको भन्दै पसलहरुमा एक रुपता समेत नदेखिएको जिकिर गरेकी छन् ।
यता जनकपुरधामका व्यापारीहरुले यहाँका व्यापार विगतको तुलनामा ४० प्रतिशत खसेको बताएका छन् । जनकपुरधाममा पर्यटकहरु आएपनि बजार व्यवसाय २५ प्रतिशतभन्दा बढी नरहेको औल्याएका छन् । उनीहरुले विगतभन्दा घर भाडा लगायतमा ४० प्रतिशत महँगी बढेको छ । तर व्यापार झण्डै २५ प्रतिशत रहेको बताएका छन् ।
कपडा व्यापारी सन्तोष गुप्ता भन्छन् ‘घर भाडा १५ हजारबाट एक्कैचोटी ३४ हजार गरिदिएको छ । बैंक ब्याजदर समेत बढाई सकेको छ । तर व्यापार छैन ।’ यहाँबाट पलायन हुने अवस्थामा हामी छौ उनले भने ।
त्यस्तै अर्का व्यापारी मो.जासीम राइनले मधेश आन्दोलन पश्चात् जनकपुरधाम उपमहा नगरपालिका भित्रमा सडक तथा नाला निर्माणको क्रममा भएको तोडफोडले गर्दा उपभोक्ताहरु भारतीय बजारमा जाने गरेको छ । भारतीय बजारभन्दा कैयौं गुणा यहाँ समानहरु महँगोमा भेटाउँछन । यसको कतिवटा कारणहरु छन्, भारतबाट सामानहरु ल्याउँदा कर बढी तिर्नुपर्ने, बैंकको बढेको ब्याजदर र घरभाडा त्यसैमा थपेर लिनुपर्ने आवस्थामा महँगो हुनु स्वभाविकै रहेको बताएका छन् ।
उनले यसतर्फ व्यापारीहरुको छाता संगठनहरुलाई ध्यान दिनुपर्ने हो, तर अहिलेसम्म नदिएको गुनासो पनि पोखेका छन् ।
व्यापारीहरुको संगठन भन्छन
व्यापारीहरुको छाता सगठनको रुपमा रहेको जनकपुर उद्योग वाणिज्य संघ र धनुषा चेम्बर अफ कमर्सले जनकपुरधामको व्यापार व्यवसायी अहिलेको अवस्थामा चुनौतीपूर्ण रहेको बताएका छन् । संघका अध्यक्ष ललित साह र कमर्सका अध्यक्ष विजय साहले व्यापारीहरुले लिएको घरभाडा वृद्धि, बैंकले बढाएको ब्याज दर लगायतको समस्यालाई लिएर छिट्टै सम्बन्धित पक्षसँग समन्वय गरेर समाधान गर्ने तर्फ लाग्ने बताएका छन् ।
अध्यक्षद्वयले व्यापारी रुट अनुसार घरभाडा दर निर्धारण गर्न लगाउने आफूहरु प्रयासरत रहेका छौं । त्यसका लागि जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय धनुषा, नागरिक समाज, पत्रकार, बुद्धिजीविहरुसँग छलफल गरेर त्यसको समाधान गर्ने छौं । रेल्वे स्टेशनदेखि शिवचौकसम्मको व्यापारीहरुको लागि कस्ता प्रकारको घरभाडा हुनुपर्यो, रामानन्द चौकदेखि जानकी मन्दिरसम्म घरभाडा दर कति हुनुपर्यो, गल्लीहरुमा रहेको घरभाडा दर कति हुनुपर्यो  लगायतमा समन्वय गरेर समाधान तर्फ जाने बताएका छन् ।
अध्यक्षद्वयले जनकपुर महँगो सहर नरहेको जिकिर गर्दै केही व्यापारी वा व्यक्तिको कारण यस्ता हल्ला फैलिएको हुन सक्ने दावीगरेका छन । अन्य सहरको तुलनामा जनकपुर राम्रो, सुन्दर र महँगीमा पनि तुलनात्मक रुपमा राम्रो रहेको बताएका छन् । उनले त्यसका लागि पनि अनुगमन समिति गठन गरेर त्यसको छानबिन गरी समस्या समाधान गर्न आफूहरु लाग्ने बताएका छन् ।

अर्का व्यापारी राकेश कुमार साहले जनकपुरधाम महँगो शहर छैन, भन्न सकिन्न, तर यसलाई कसरी व्यवस्थित गर्ने समन्वयकर्ताको अभाव रहेको बताउँछन् । उनले यहाँसबभन्दा ठूलो समस्या घर भाडाको रहेको छ । शहरी विकासको ऋण सहयोगमा जनकपुरधामको सडक तथा नालालाई फराकिलो बनाउने क्रममा भएको तोडफोड पश्चात् गरेको घरभाडा वृद्धि निक्कै उच्च रहेको छ । यसलाई व्यवस्थित गरिदिएमा जनकपुरधामको व्यापार राम्रो गर्न सकिन्छ बताएका छन् ।
त्यस्तै अटो रिक्सा व्यापारी एवं समाजसेवी वैद्यनाथ साहले विगतभन्दा अहिलेको जनकपुरधामको बजार व्यवसायमा वृद्धि भएको बताएका छन् । उनले जनकपुरधाममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतकै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाममा भ्रमण पश्चात् पर्यटक यात्रुहरुको चाप बढेको हो । जनकपुरधाममा आउने पर्यटकहरु केही नकेही लिएर जाने गरेकोले यहाँको व्यापार विगतको तुलनामा राम्रो अवस्थामा गई रहेको बताएका छन् ।
इलेक्टूीक व्यापारी सन्तोष गुप्ताले जनकपुरधामको व्यापार राम्रो अवस्थामा नरहेको बताएका छन् । उनले हुनतः नेपालकै व्यापार व्यवसायको अवस्थामा राम्रो छैन, तर जनकपुरधाममा व्यापारीहरुको लागि घरभाडा वृद्धि आतंक नै मच्याएको बताएका छन् । उनले गरेको घरभाडा वृद्धि दरतिर व्यापारीहरुको छाता संगठनहरुलाई ध्यान दिनुपर्ने र तर अहिलेसम्म पहल गर्नु दुःखद कुरा रहेको बताएका छन् ।

No comments:

Post a Comment