Tuesday, February 5, 2019

प्रदेशको पहिलो वार्षिकोत्सव भव्यतापूर्वक मनाइयो प्रतिपक्षीले भने ‘विकास मामिलामा हामी एक हौ’


जनकपुरधाम, २१ माघ । प्रदेश नं. २ ले आफ्नो प्रथम वार्षिकोत्सव सोमवार भव्यताका पूर्वक मनाइएको छ ।
सभामुख सरोज कुमार यादवको अध्यक्षतामा भएको ‘प्रथम वार्षिकोत्सव मूल समारोह’ कार्यक्रममा प्रतिपक्षी नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी लगायतका साँसदहरुले प्रदेश २ लाई समृद्ध बनाउनमा हामी सबै एक रहेका उद्घोष गरेका छन् । प्रतिपक्षी दलका नेताहरुले प्रतिपक्षीको भूमिका निर्वाह गरेपनि विकासको नाउँमा कुनै प्रकारको बाधा व्यवधान नगर्ने बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशको नाम, भाषा तथा राजधानी अहिलेसम्म नतोकिएकोले प्रदेश सभाबाट शीघ्र निर्णय गर्नका लागि शुभकामना दिनुभएको छ । उनले सँघियता पश्चात पहिलो पटक स्थापित प्रदेश सभाले पहिलो बर्ष पुरा गरेकोमा शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना समेत व्यक्त गरे ।
त्यस्तै मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी अभावले प्रदेशको कार्य गर्न कठिनाई भईरहेको बताएका छन । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेशमा कानुन निर्माण गर्नका लागि सबै दलको सहयोग प्राप्त भईरहेको विचार प्रस्तुत गरे ।
नेपाली काँग्रेसका साँसद एवं संसदीय नेता रामसरोज यादवले संविधान संशोधन लगायतमा संघीय सरकारलाई समेत आफ्नो पार्टीले दवाव सृजना गरिरहेको भन्दै मधेशको पक्षमा सधैं रहेको र रहने प्रतिबद्धता जनाउँदै उनले भने, ‘प्रदेश सरकारले कहिलेकाही मनमौजी गर्ने गरेको छ । त्यो मनमौजी गर्ने रवैयालाई हटाउनुपर्छ ।’
‘प्रदेश सरकारले सहकार्य र सहमति अनुसार नै अगाडि बढने छ’ उनले भने, ‘संघीयतालाई स्थापित गर्न नेपाली काँग्रेस प्रदेश र संघमा समेत भूमिका निर्वाह गरिरहेको छ ।’
त्यस्तै नेकपा कम्युनिष्ट पार्टीका साँसद शत्रुधन महतोले प्रदेश सभाको एकवर्ष भएपनि प्रदेशको नामाकरण तथा राजधानी घोषणा नहुनु दुःखद कुरा रहेको भन्दै दोस्रो वार्षिकोत्सवसम्म दुबै कार्य पुरा हुने विश्वास व्यक्त गरेका छन् ।
खेल, रक्तदान, बृक्षारोपण जस्ता ३ दिवसिय कार्यक्रम गरी प्रदेश सभाले पहिलो बार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा भलिबल तथा ब्याडमिन्टन खेलमा प्रथम, द्धितिय तथा तृतिय हुने माननीय मन्त्री तथा कर्मचारी खेलाडीहरुलाई प्रमाणपत्रका साथै टूफी प्रदान गरिएको थियो ।
त्यस्तै, रक्तदान गरेकाहरुलाई पनि सो कार्यक्रममा प्रमाण पत्र दिईएको थियो । कार्यक्रममा उत्कृष्ट प्रदेश सभा सदस्य पुरस्कार साँसद शिवचन्द्र चौधरीलाई ५१ हजार नगद तथा सम्मान पत्र सहित प्रदान  गरिएको थियो भने उत्कृष्ट कर्मचारीको पुरस्कार रँजीत राय यादवलाई ५१ हजार नगद तथा सम्मान पत्र सहित प्रदान गरिएको छ ।
कार्यक्रममा बिधेयकहरुको सँग्रहित पुस्तक बिमोचन गर्नुका साथै कबीर अनाथ बाल आश्रमका बालबालिकालाई लता कपडा पनि बितरण गरिएको थियो । कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, सँधिय साँसद, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment