Thursday, November 27, 2014

मिथिलाञ्चलको ठूलो साँस्कृतिक पर्व विवाहोत्सव सम्पन्न, लाखौं सहभागी

कैलास दास
जनकपुर, मंसिर ११ । मिथिलाञ्चलकै सबैभन्दा ठूलो साँस्कृतिक पर्वको रुपमा रहेको रामजानकी विवाहपञ्चमी महोत्सव धुमधामको साथ विहिवार सम्पन्न भएको छ । जनकपुरको मठ मंन्दिर तथा पार्टी पौवाहरु तीर्थयत्रीहरुले भरिभराउँ देखिएको छ । विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा विहानदेखि जनकपुरधामको प्रसिद्ध गंगा सागर, धनुषासागर, अङ्गराजसर, रत्नसागर, दुग्धमति सहितको धार्मिक तलाउ एवं नदीमा स्नान गरेर विहान देखि जनकपुरधामको जानकी मन्दिर सिता तथा राममन्दिरमा भगवान रामको पुजा अर्चना गरेका थिए । पुजा अर्चनाका लागि ठुलो घुईचो नै लागेका थिए ।

यसैगरी विवाहपञ्चमीमा सहभागि भएका जन्ती सहित जानकी मन्दिरबाट निस्केको टोलीले जनकपुरको रङ्गभुमि मैदानमा गएर रामजानकीको बीचमा स्वयंमर कार्यक्रम दिउँसो सम्पन्न भएको छ । नेपाली सेनाको मंगलधुन सहित सो स्वयम्बर कार्यक्रममा जानकी मन्दिर श्रृङ्गार कुञ्ज, रत्नसागर सहितका मठ मन्दिरका डोलाले भगवान रामको डोलालाई तीन पटक प्रदक्षिणा गरी नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा गएर सम्पन्न भएको थियो ।
जानकी मन्दिरमा मिथिलाको परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न भएको छ । वैवाहिक कार्यक्रममा अयोध्याबाट आएका जन्तीहरु सहभागि भएका थिए । विश्व हिन्दु परिषदका केन्द्रिय मन्त्री राजेन्द्र सिंह पंकजको नेतृत्वमा आएको जन्तीमा अयोध्याका दिगम्बर अखडाका महन्थ सुरेश दासले दशरथको भुमिका निर्वाह गरेका थिए । यसैगरी ऋषिकेश सिद्धहनुमान मन्दिरका महन्थ रामवेश्वर दास वैष्णवले वशिष्ठको भुमिका निर्वाह गरेका थिए । वैवाहिक कार्यक्रममा मिथिलानीहरुले विभिन्न प्रकारको गीत संगीतहरु प्रस्तुत गरेका थिए ।

जानकी मन्दिर परिसरमा वैवाहिक कार्यक्रमका लागि कलात्मक विवाह मण्डपको निर्माण गरिएको थियो । सो विवाह मण्डप वरिपरी भारी संख्यामा तीर्थयात्रीहरु दिउँसै देखि बसेका थिए । भारतको अयोध्याबाट आएका जन्तीलाई बस्नका लागि विशेष व्यवस्था मिलाईएको थियो भने जनकपुरको जानकी मन्दिरको प्रतिनिधित्व गर्ने व्यक्तिहरुलाई पनि बस्नका लागि राम्रो व्यवस्थापन मिलाईएको थियो ।

नगरमा शोभायात्रा भव्य स्वागत
रंगभूमि मैदानमा राम—सीताको स्वयंम्बरपछि नगर परिक्रमा क्रममा निष्केको शोभा यात्रालाई नगरवासीहरुले भव्य स्वागत गरेका छन । जानकी मन्दिर र राममन्दिरको डोला, आकर्षक रथ, बाजागाजका साथै दर्जनौ गाडी सहित निष्केको शोभायात्रालाई नगरवासीहरुले ठाँउ ठाँउमा स्वागत गरेका छन । शोभा यात्रामा निष्केका डोला तथा गाडीमाथि श्रद्धालुहरुले पुष्पवृष्टि तथा अविर छर्केर स्वागत गरेका छन्
स्थानीय रामानन्द चौकमा पुष्पवृष्टिको विशेष आयोजना गरेका थिए । स्थानीय व्यापारी तथा फोरम नेपाल धनुषाका नेता हरिनारायण यादवको संयोजकत्वमा गरिएको उक्त पुष्पवृष्टि कार्यक्रममा फोरम नेपाल धनुषाका अध्यक्ष शेषनारायण यादव, अशोक कुमार यादव, संजय यादव, स्थानीय व्यापारी ललन महतो, दिलिप कुमार महतो सहितको सहभागिता रहेको थियो । यसका साथै श्रद्धालु तथा नगरवासीहरुले आ–आफनै घरको छाना तथा आफु उभिएको ठाँउ बाटै पुष्प वृष्टि गराएको थियो । यसका साथै विभिन्न संघ संस्था तथा व्यापारीक प्रतिष्ठानहरुले ठाँउ ठाँउमा स्वागतद्वाराहरु समेत निर्माण गरेका थिए ।
दीपावली पनि मनाइयो
विवाहपंचमीको अवसर पारेर गौ संरक्षण मंचले नगरमा दिपावली रथ यात्रा प्रदर्शन गरेका छन । जगदिश महासेठको नेतृत्वमा रहेको मंचले जानकी मन्दिरवाट झाँकी तथा बाजा गाजा सहितको दिपावली रथ यात्रा नगर परिक्रमा गरेको छ । यसैबीच मंचकै आह्वानमा जनकपुर नगरवासी तथा यहाँ व्यवसायीहरुले विहीवार नगरमा दिपावली मनाएका छन । विवाहपंचमी महोत्सवलाई थप उत्साही बनाउन तथा खुशी व्यक्त गर्न दिपावली मनाइएको स्थानीयवासीहरुले जनाएका छन् । जनकपुरका व्यवसायीहरुले आ–आफनो व्यापारिक प्रतिष्ठान तथा स्थानीय वासीहरुले घर अगाडी विद्युतीय वत्ति तथा दीप जलाएका थिए ।
दुई सय पाकेटमार पक्राउ
विवाहपञ्चमी महोत्सवमा दुई सय पाकेटमार पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा केही महिलाहरु पनि रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शंकास्पद गतिविधि गरेको अवस्थामा बुधवार एक सय पचास जनालाई पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाईले जानकारी दिएका छन् ।
यसैगरी विहिवार पचास जना पाकेटमा पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष हुलियाको आधारमा पाकेमारी हुनबाट जोगाउनका लागि पहिला नै प्रहरीले पक्राउ गरेका थिए । पकेटमार पक्राउ गर्नका लागि प्रहरीले विशेष टोली परिचालन गरेका थिए । पाकेटमारहरु धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग, रौतहट बारा पर्सा सिमावर्ती भारतीय क्षेत्रका पनि रहेका छन् ।
यस पटक गढीमाई मेला रहेकाले बारा पर्सा तथा रौतहट तिरको पाकेटमारहरु कमै मात्रामा आएको प्रनाउ प्रसाईले बताए ।

No comments:

Post a Comment