Thursday, November 13, 2014

भारतीय प्रम मोदी प्रकौली ब्यारेकबाट जनकपुर आउने

कैलास दास
जनकपुर, कार्तिक २६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर आगमन सुनिश्ति भएको छ । प्रधानमन्त्री पटनाको विशेष कार्यक्रममा सरिक भएर भारत सितामढी  हेलिकप्टरबाट आउने र त्यसपछि पुनौराधाम र पन्थरपाखरको दर्शन अवलोकन गरी पुनः हेलिकप्टरबाट नेपालको महोत्तरी जिल्ला स्थित नेपाली सेनाको प्रकौली ब्यारेकमा उत्रने कार्यक्रम रहेको विहारका भारतीय जनता पार्टीका वरिष्ठ प्रवक्ता विनोदानन्द झाले जानकारी गराएका छन् ।
जनकपुरमा मोदीले जानकी मन्दिर, राममन्दिर, जनक मन्दिर दर्शन गरी, बाह्रविघा (रङ्गभुमि मैदान)मा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । प्रम मोदीले जनकपुर विकासका लागि केही ठोस् योजनाको घोषणा पनि सोही कार्यक्रममा गर्ने विशेष स्रोतले जनाएका छन् । बाह्रविघा रङ्गभुमि मैदानमा नेपाली सेनाले हेलिप्याडको निर्माण पनि गरेको छ । साथै बाह्रविघाको सरसफाई हुन थालेको छ ।
दुई वर्ष अगाडी बाह्रविघा (रङ्गभुमि मैदान)को संरक्षण गर्ने काम पनि भारत सरकारको सहयोगमा भएको थियो । बाह्रविघामा हुने नागरिक अभिनन्द तथा सम्बोधन कार्यक्रममा सरिक हुनका लागि लाखौं जनता पुग्ने अनुमान गरिएको छ ।
अहिले जनकपुरमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । नेपाली सेनाले गस्ती दिने काम पनि गरिरहेको छ । अहिले सेना नरेन्द्र मोदीको भ्रमण हुने क्षेत्रमा विशेष सुरक्षा निगरानी बढाएको छ ।    
यसैगरी सदा पोशाकका सुरक्षाकर्मीहरु पनि व्यापक संख्यामा परिचालन गरिएको छ । खास गरेर जानकी मन्दिर वरपर सुरक्षा व्यवस्था चुस्त—दुरुस्त पारिएको छ । जनकपुरको गतिविधि बारे जानकारी लिनका लागि विशेष सुरक्षा दस्ता सरोकारवाला पक्षले परिचालन गरेको छ । सदा पोशाकमा आएका तिनीहरुको नरेन्द्र मोदीको सम्भावित भ्रमण हुने स्थानहरुको अनुगमन तथा निगरानी बढाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर आगमनका कारणले यस क्षेत्रका जनताहरु निक्कै उत्साहित छन् । स्थानीयबासीहरुले प्रत्यक्ष रुपमा भारतीय प्रधानमन्त्रीको प्रत्यक्ष अनभुति गर्ने भएकाले निक्कै उत्साहित रहेका छन् ।

No comments:

Post a Comment