Saturday, November 15, 2014

जनकपुरप्रति नेपाल सरकारको भावना एवं दृष्टिकोण गलत छ ः वक्ताहरु

कैलास दास
जनकपुर, कार्तिक २९ । जनकपुरको विकासप्रति नेपाल सरकारको भावना एवं दृष्टि गलत रहेको एउटा कार्यक्रममा वक्ताहरुले दावी गरेका छन् ।
जनकपुर उद्योग वाणिज्य संघ र भारत नेपाल मैत्री संघको संयुक्त आयोजनामा जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा सहभागिहरुले जनकपुरको विकास नेपाल सरकार नचाहेकोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक सम्बोधन एवं साइकल वितरणमा आपति जनाएको बताएका छन् । उहाँको सम्बोधनबाट यहाँका विकास र विश्वस्तरमा प्रचारप्रसार हुने बताए ।
उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आवगमनले विश्वको ध्यानाकर्षण जनकपुर धामले गर्ने भएकाले यस ठाउँको प्रचार प्रसार विश्वस्तरमा हुने छ । त्यसको लागि खुलेर तयारी गर्नका लागि सम्पुर्ण पक्षहरुसंग आग्रह गरेका थिए । जनकपुरको नागरिकहरुको भावनालाई मध्य नजर गरी जनकपुरका आवाजलाई नेपाल परराष्ट्र मन्त्रालय सहितको निकायमा पठाउनका लागि प्रमुख जिल्ला अधिकारीहरुसंग आग्रह गरे । साथै जनकपुरप्रति नेपाल सरकारको दृष्टिकोण गलत भएको प्रष्ट रुपमा देखिएको बताए ।
उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा स्वागत सत्कार गर्नुका लागि नागरिक स्तरबाट प्रत्येक व्यापारीलाई पसल अगाडी दिपावली जस्तै सजावट गर्न उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह (हिरा)ले आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले जनकपुरमा भारतीय प्रधानमन्त्रीको सुरक्षा दिनका लागि सुरक्षा नियकाहरु पूर्ण रुपमा सक्षम रहेको बताए । उनले जनताको भावनाहरु समेटेर सरोकारबाला निकायमा आफुले जाहेर गरिदिने बताए ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह (हिरा) र नेपाल भारत मैत्री संघका अध्यक्ष उमेश प्रसाद सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागिहरुले मधेश र जनकपुरप्रति नेपाल सरकारले कुभावनाको राखेका कारणले भ्रमणबाट रोक्न खोजेको आरोप पनि लगाए । जनकपुर आए पनि उनको नागरिक अभिनन्द नहुन दिन तथा सिमित घेरामा राखेर संकुचित गर्न खोजेकोमा आक्रोश पनि व्यक्त गरेका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र ठाकुर, प्रहरी उपरीक्षक गणेश बहादुर थापा क्षेत्री, पूर्व राज्य मन्त्री सूरिता साह, जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु निर्मल कुमार चौधरी, श्यामप्रसाद साह, रमेश प्रसाद साह, जनकपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख बजरंग प्रसाद साह, उपप्रमुख किशोरी साह, जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी, रामानन्द युवा क्लवका पूर्व अध्यक्ष नविन मिश्र, बुद्धिजिवि काशिनाथ झा, श्रीराम युवा कमिटीका अध्यक्ष रामबाबु साह, किशोरी साह सहितका वक्ताहरुले विभिन्न सुझावहरु दिएका थिए ।

No comments:

Post a Comment