Sunday, January 27, 2019

मालपोत र नापी कार्यालयमा छड्के घुस माँगेमा मलाई सम्पर्क गरौ ः प्रजिअ कणेल


जनकपुरधाम, १३ माघ । धनुषाको मालपोत कार्यालय तथा नापी कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेल, प्रहरी उपरीक्षक गोविन्द थपलिया तथा सशस्त्रका एसपी सहितले छड्के गरेका छन् ।
अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी कणेलले कार्यालय प्रमुखहरुलाई सेवाग्राहीकै सामुन्ने राखेर घुस नखाई छिटो छरितो किसिमले कार्य गर्ने प्रतिबद्धता समेत गराएका छन् ।
सेवाग्राहीहरुले जुन प्रकारले कार्यमा तिव्रता हुनुपर्ने हो त्यो अनुसार नहुने गरेको प्रजिअ कणेल अगाडि नै गुनासो पोखेका छन् । कर्मचारीहरुले काममा ढिलासुस्ती गर्ने र घुस माग्ने गरेको गुनासो सेवाग्राहीहरुले गरेका छन् ।
अनुगमनको क्रममा प्रजिअ कणेलले स्थानीय भाषामै कार्यालय प्रमुखलाई सेवाग्राही अगाडि उभ्याएर घुस नखाइ काम गर्ने प्रतिवद्धता जनाउन लगाएका थिए । त्यतिमात्र होइन, उनले सेवाग्राहीको लाइन मिलाउने समेत काम गरे । लामबद्ध भएका सेवाग्राहीलाई सम्बोधन गर्दै उनले सम्बन्धित कार्यालय प्रमुखले सेवाग्राहीको गुनासो नसुनेमा आफूकहाँ आउन भनेका छन् ।
‘बिचौलियाको सहारा लिने, घुस खुवाउने त्यस्तो केही गर्नुपरेको छ ?’ प्रजिअले सेवाग्राहीलाई प्रश्न गर्दै भने, ‘कर्मचारी थोरै छ, काम धेरै छ । काम भएन, कसैले पैसा माग्यो भने कार्यालय प्रमुखलाई भन्ने, उसले पनि टेरेन, सुनेन भने यहाँ सिडिओ छ । म प्रमुख जिल्ला अधिकारी हुँ ।’
मालपोत तथा नापी कार्यालयहरु सेवाग्राहीको बढी चाप हुने र भ्रष्टाचार पनि धेरै हुने कार्यालय भनेर चिनिन्छन् । ‘काम भएन, काम ढिला भयो, अनियमितता भयो भनेर सेवाग्राहीको व्यापक गुनासो आएको थियो त्यही भएर अनुगमनमा निस्किएँ,’ प्रजिअ कणेलले भने, ‘यसलाई निरन्तरता दिइने छ ।’
उनले कतिपय सेवाग्राहीका गुनासा सुन्दै आवश्यक सबै कागजपत्र भएपनि किन काम नभएको भन्दै कर्मचारीहरुलाई प्रश्नसमेत गरेका थिए । ढिलासुस्ती नगरी काम गर्न पनि कर्मचारीहरुलाई निर्देशनसमेत दिएका छन् ।

No comments:

Post a Comment