Friday, January 18, 2019

‘मधेश प्रदेश’ नै सबभन्दा उचित


जनकपुरधाम ४ माघ । सम्वाद तथा सुझाव आयोगद्वारा जनकपुरधाममा आयोजित ‘प्रदेशको राजधानी तथा नाम सम्बन्धमा सुझाव संकलन’ कार्यक्रममा सहभागीहरु मध्ये ८५ प्रतिशतले ‘मधेश प्रदेश’ हुनुपर्ने जिकिर गरेका छन् ।
सुझाव आयोगका अध्यक्ष डा.हरिवंश झाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश साँसद, नागरिक समाजका अगुवाहरु, महिला अधिकारकर्मी, इन्जिनियर, बुद्धिजीवि, पत्रकार सहितको उपस्थिति रहेको थियो ।
सहभागी मध्ये सबैले यस प्रदेशको राजधानी जनकपुरधाममा नै हुनुपर्ने दावी गर्दै अधिकांश सहभागीहरुले यस प्रदेशको नाम ‘मधेश प्रदेश’ नै उचित रहने दावी गरेका छन् । ‘भौतिक पूर्वाधार, संरक्षण, सहजता, क्षेत्रफल तथा जनसंख्याको आधारमा पनि जनकपुरधाम नै राजधानी हुनुपर्छ । जहाँसम्म नामकरणको कुरा हो भने मधेश आन्दोलनकै क्रममा मधेश सरकार, मधेश आन्दोलन जिन्दावाद जस्ता नारा लगादै आएको हो ।’ सहभागीहरुले भने, ‘सबै दृष्टिले ‘मधेश प्रदेश’ यस प्रदेशको नाम हुनुपर्ने जिकिर गरेका हुन ।
तीस जना सहभागी वक्ता मध्ये २२ जनाले ‘मधेश प्रदेश’, ‘मध्य मधेश प्रदेश’ हुनुपर्ने अडान राखेका थिए भने चारपाँच जनाले ‘मिथिला प्रदेश’ हुनुपर्नेमा जोड दिएका थिए । केही सहभागीहरुले जनक प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश सहितको नाम प्रस्ताव राखेका थिए ।
त्यस्तै यस प्रदेशको राजधानी जनकपुरधाम नै हुनुपर्ने सबैले भनेपनि प्रदेशको नाममा केही प्रदेश साँसदहरुले आफ्नैमा बाझिएको थियो ।
कार्यक्रममा प्रदेश साँसद परमेश्वर साह, रामचन्द्र मण्डल, प्रमिला दास, अनिता यादव, किशोरी साह कमल, चमेली देवी दास, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता कुमारी मिश्र, जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव मरबैता, उपाध्यक्ष दीपक झा सहितले आ आफ्ना विचार राखेका थिए ।
कार्यक्रममा स्वागत तथा उद्देश्यमाथि सम्वाद तथा सुझाव आयोगका सदस्य राम प्रवेश बैठाले प्रकाश पारेका थिए । त्यस्तै विषयवस्तुमाथि मोहनलाल चौधरीले प्रकाश पारेका थिए ।

No comments:

Post a Comment