Sunday, January 6, 2019

मलाई मार्नेसम्म प्रयास भएको छ ः मेयर दास


धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास भन्छन ‘सेवा नै हाम्रो संघर्ष र चुनौती रहेको छ ।’ उहाँको जन्म अति गरी परिवारमा भएको हो । आर्थिक रुपमा कमजोर भएपनि उनी जसोतसो इन्टरसम्म अध्ययन गरेका हुन् । ४४ वर्षिय दास वि.सं. २०५२ सालमा एमाले पार्टीबाट राजनीति कैरियरको शुरुवात गरेका छन । पछि उनीे माओवादी पार्टीमा लागे । तत्कालिन माओवादीकै भातृ संगठन वाइसीएलका उनी धनुषा सेक्रेटरी सदस्य समेत भए । यसै शिलशिलामा उहाँसँग दैनिक जनकपुरले गरेको कुराकानीको संक्षिप्त अंश

तपाई राजनीतिमा कसरी पस्नु भयो ?
हेर्नुस ! कसैले कसैलाई ल्याउँदैन । राजनीतिमा लाग्नु भन्नाले दृढ इच्छा हुन्छ वा विवसता भनेपनि हुन्छ । जहाँसम्म हाम्रो कुरा हो, विद्यार्थी जीवनदेखि नै राजनीति गर्ने लक्ष्य रहेको थियो । विदेह नगरपालिका धेरै पिछडिएका क्षेत्र हो । यहाँ अधिकांश दलितहरु छन् । यस्तो पनि समुदायहरु छन जुन सधै दलितलाई अपमान र शोषण गर्दथ्यो र गर्दैपनि छन् ।  दलितप्रतिको शोषण, दमन र उत्पीडिनका साथै विभेदलाई हेरेर २०५२ सालमा एमाले पार्टीमा प्रवेश गरे ।
फेरी माओवादीमा किन जानु भयो त ?
वि.सं. २०६९ सालमा म माओवादी पार्टीमा प्रवेश गरेको छु । एमाले पार्टीमा त्यो बेला हैकमवाद नीति जस्तो लाग्योे । एमाले पार्टीको लागि जीज्यान लगाएर कार्य गरेपनि केही नेताहरुले मलाई कार्यकर्ता होइन, दलितको दृष्टिले नै हेर्ने गर्दथे । पार्टीमा कार्य अनुसार जस्तो स्थान पाउनु पर्ने थियो त्यो मैले पाएन । बाध्य भएर म माओवादी पार्टीमा प्रवेश गरे ।
माओवादी पार्टीमा लागेर दलितको लागि के के गर्नु भो ?
म आफै दलित हुँ । दलितको पीडा के हुन्छ, मैले भोगेको छु, बुझेको छु । राजनीतिमा आउनुभन्दा पहिला पनि दलित समुदायको वकालत गर्दै आएका थिए । तर त्यो बेलामा हाम्रो केही चल्दैन थिए । म आफै अरुबाट हेपिन्थ्यो । तर माओवादीमा वाईसीएलको जिल्ला सक्रेटरी सदस्य भएपछि दलितको नेतृत्वको लागि खुलेर आए । त्यो बेला पनि धेरै समस्या नभएको होइन, त्यसका वावजूद पनि दलित, शोषित, दमित र विभेदमा परेको विरुद्ध आफू अगाडि बढ्दै गए । 
त्यसो भए दलितहरुकै मतले तपाई मेयरपदमा जित्नु भो ?
होइन, हरेक वर्ग समुदायमा गरिब र विपन्न हुन्छ । मैले दलित बाहेकको समुदायका लागि पनि न्यायिक क्षेत्रमा लडेको छु र लड्दै आएको छु । भन्नाले जसले पनि गरिब, दलित, र विपन्नलाई दवाउने खोज्दथे उसको विरोधमा म हुन्थ्यो । आज मैले जुन मेयर पदमा विजयी भएको छु उनीहरुकै आशीर्वाद र कर्मको फल रहेको मैले महसुस गरेको छु ।
मेयर भएपछि कस्तो अनुभव भयो ?
राम्रो कार्य गर्नेहरुलाई परिणाम पनि राम्रो हुन्छ । जनता अब सचेत नागरिक बनि सकेका छन् । जनतालाई भाषण र गुलामी होइन, विकास चाहिन्छ, अधिकार चाहिन्छ, रोजगार चाहिन्छ, र म यसप्रति कटिबद्ध, प्रतिबद्ध छु । मैले पैसाले निर्वाचन जितेको होइन, विदेह नगरपालिकावासीको माया स्नेहले निर्वाचित भएको छु । पैसा खर्चेर चुनाव जित्ने थियो भने, प्रतिपक्षीहरुले धेरै पैसा खर्च गरेका छन्, तर पराजित भएका छन् । नागरिक सचेत छन, कार्यको मूल्यांकन गर्छन मैले अनुभव गरेको हो ।
मेयर पश्चात कस्ता कस्ता विकास गर्नु भयो ?
यस क्षेत्रमा सबभन्दा बढी समस्या सडकको रहेको थियो । यो क्षेत्र विशुद्ध रुपमा कृषि क्षेत्र हो । सडकको कारण कृषि समाग्रीहरु आउन पाई रहेको थिएन । बिरामी पर्दा बाटोमा जाँदा जाँदै मर्ने गर्दथे । त्यसैले मैले पहिलो प्राथमिकता सडक निर्माणमा दिएको छु । त्यसपछि कृषि उपज कसरी बढाउन सकिन्छ त्यसमा ध्यान दिएकोे छु । युवाहरुलाई कृषिमा लगाउने, आफ्नै ठाउँमा रोजगारी दिने योजना बनाई रहेको छु ।
दलितको लागि विशेष के गर्नु भो ?
राम्रो कुरा भन्नु भो ! विदेह नगरपालिका समृद्ध भए, सबै नागरिक समृद्ध हुन्छ यस्तो म मान्छु । तर जहाँसम्म दलितको कुरा हो कुन वार्डमा कति दलितहरु छन्, उनीहरुको अवस्था कस्तो रहेछ । मैले तथ्यांक संकलन गरिरहेको छु, गरेको पनि छु । निःशुल्क शिक्षा मात्र होइन, विद्यालयमै एकबेरको भोजन, पाठ्य समाग्री उपलब्ध गराउने प्रक्रिया पनि अगाडि बढाइसकेको छु ।
कहिले काही विवाद पनि देखा परेको हो नि?
यो त राम्रो कुरा हो । जहाँ विकास हुन्छ, जहाँ कार्य हुन्छ त्यही नै विवाद हुन्छ । यसलाई म नकारात्मक रुपमा लिंदैन । तर म के स्पष्ट गरी देउ, हाम्रो नगरपालिकामा कही कतै विवाद छैन । विदेह नगरपालिकावासीहरुको सेवा नै मेरो लागि धर्म, संघर्ष र चुनौती रहेको छ ।
तपाई के भन्न चाहनुहुन्छ ?
म दलित हुँ । मेयर पदमा विजयी भएपछि उपल्लो समुदायले मलाई बदनाम गर्न, फसाउने प्रयास गरेका छन् । यहाँसम्मकी ज्यान मराउनेसम्म प्रयास भएको छ । तर जसकोसँग जनता हुन्छ, गरिब, दलित सहितको आशीर्वाद हुन्छ कसैले केही गर्न सकिदैन । म जनताको सेवक भएर कार्य गर्न चाहन्छु । त्यसका लागि जति संघर्ष गर्नुपर्छ, चुनौतीको सामना गर्नुपर्छ म तयार छु ।
कसले मार्न खोजेको नाम भनिदिनुस न !
नाम नखोलाउनुस ! भारतीय सुटरलाई प्रयोग गरेर मलाई मराउन खोजेको थियो । तर उनी पक्राउ परिसकेका छन् । सजाय पनि भोगि रहेका छन् ।
अन्त्यमा केही भन्नुहुन्छ ?
विदेह नगरपालिकावासीलाई के भन्न चाहन्छु भन्ने जहाँ गलत भई रहेको छ त्यसको विरोध हुनुपर्यो । विकास काँधमा काँध मिलाएर हिड्न् पर्यो । केही समस्या छ भने मलाई प्रत्यक्ष रुपमा भेटेर भन्नुस, समस्या समाधान गर्नका लागि २४ औ घण्टा तयार रहिरहन्छु । 

No comments:

Post a Comment