Sunday, June 8, 2014

भव्य गंगा महाआरती सम्पन्न





कैलास दास
जनकपुर, जेठ २५ । गंगा दशहराको विशेष अवसर पारेर जनकपुरधामको प्रसिद्ध धार्मिक तलाउ गंगा सागरमा आइतवार महाआरती सम्पन्न भएको छ । गंगासागर तलाउको धार्मिक महत्व झल्काउने उद्देश्यका साथ शुरु भएको उक्त महाआरतीमा जनकपुर सहित यस क्षेत्रका हजारौ श्रद्धालुहरुको सहभागिता रहेको थियो । महाआरतीमा सहभागी हुन श्रद्धालु भक्तजनहरु दिउसो ४ बजे देखी नै गंगासागरको घाटमा जुटन थालेको थियो ।
साँझ ७ बजे देखी करिब एक घण्टा सम्म चलेको महाआरतीको क्रममा गंगासागर तलाउको चारै तिरका घाटहरु श्रद्धालुहरुले भरि भराउ रहेको थियो । आइतवार बाटै प्रारम्भ भएको महाआरती प्रत्येक दिन साँझ धार्मिक विधि विधान हुने आयोजकले जनाएका छन । महाआरतीको शुभारम्भको लागी भारतको बनारसबाट पण्डितहरुको एउटा टोली झिकाइएको थियो ।
गंगा महाआरतीमा सहभागि हुनका लागि नेपाल स्थित भारतीय राजदुत रञ्जित रे, संस्कृति मन्त्रालयका उच्च अधिकारी, धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारी लगायत सुरक्षा निकायका प्रमुख हरु, कार्यालय प्रमुखहरु, विभिन्न मठका साधु सन्तहरु सहितको सहभागिता रहेको थियो । गंगा आरतीका लागि स्थायी संरचनाहरुको निर्माण गर्नुका साथै नियमित पुजारीको समेत व्यवस्था गरिएको छ । महाआरती लाई व्यवस्थित बनाउका लागी एक सय भन्दा बढी स्वमसेवकका साथै सयौ सुरक्षाकर्मी परिचालन गरिएको थियो । केही वर्ष यता फोहर बन्दै गएको गंगासागरलाई सुन्दर बनाउन विगत सोह्र सप्ताह देखि विशेष सरसफाई अभियान संचालन गरिएको छ ।
गंगासागरको सरसफाई अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी , विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, स्कुलका विद्यार्थी एवं आम नागरिकहरुको व्यापक सहभागिता रहदै आएको छ । अभियानकर्मीहरुले गंगासागरको सफाईका साथै घाटहरुको मरम्मत समेत गरेका छन । केही महिना अघि सम्म दुर्गन्धित रहेको गंगा सागर पछिलो अभियानका कारण सुन्दर र सफा भएका छन ।
जनकपुरमा प्रारम्भ भएको गंगा आरतीले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण योगदान दिने विश्वास गरिएको छ । गंगा आरती भारतको बनारस तथा हरिद्वारमा भव्य रुपमा हुदै आएको छ । 

No comments:

Post a Comment