Monday, June 16, 2014

धार्मिक तलाउको संरक्षणअभियान शुरु, दजनौं घर भत्कियो


कैलास दास
जनकपुर । जनकपुरको दुई वटा धार्मिक एवं सास्कृतिक महत्वका पोखरीको अतिक्रमण शुक्रबार (३० जेष्ठ)देखि हटाउने कार्य प्रारम्भ भएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुर नगरपालिका तथा गुठ्ठी संस्थानको संयुक्त निर्णय पश्चात् स्थानीय प्रशासन तथा स्थानीयवासीको सहयोगमा अतिक्रमण हटाउने तलाउवाट प्रारम्भ गरिएको छ ।
अत्यन्तै महत्वपूर्ण पोखरीको रुपमा रहेको दशरथ तलाउबाट अतिक्रमण हटाउने कार्यको शुभारम्भ गरि त्यहाँ रहेको अमृत युवा क्लवको पक्की भवन तथा धर्मशाला भत्काउने कार्य भएको  छ । यसैगरी पोखरीको डिलमा रहेको अन्य घरहरु पनि भत्काइएको छ ।
दशरथ तलाउको  डिलमा अवैध किसिमले निर्माण गरिएको दुई दर्जन पक्की, अर्ध पक्की एवं कच्ची घरहरुमा डोजर लगाएर भत्काई हटाईएको छ । सामान्य रुपमा अबरोध आएपनि प्रहरीको बाक्लो उपस्थितिका कारणले कुनै वाद विवाद भएन ।
यसैगरी जनकपुरको वडा नं ७ मा रहेको गोडधोई पोखरीको अतिक्रमण पनि हटाईएको छ । उक्त पोखरीको अतिक्रमण हटाउनका लागि सामान्य अवरोध भएपनि प्रहरी एवं स्थानीयबासीको सक्रियताका कारणले हटाईएको छ ।
पहिलो चरण अन्तर्गत दुई वटा पोखरीको अतिक्रमण हटाएर अभियानको शुरुआत गरेर अन्य पोखरीहरुको अतिक्रमण हटाउने कार्यक्रम रहेको वृहत्तर जनकपुरक्षेत्र विकास परिषदको कार्यकारी अधिकृत उमेश यादवले बताएका छन् ।
यसअघि तीन वटै निकायले जनकपुरको आठ वटा पोखरीको अतिक्रमण खाली गर्ने निर्णय गरेपनि दोस्रो चरणमा अन्य पोखरीहरुको अतिक्रमण हटाउने भएको बृहत्तरले जनाएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुर नगरपालिका तथा गठ्ठी संस्थानले यही वैशाख ५ गते नै जनकपुरधामको महत्वपूर्ण ८ वटा पोखरीको अतिक्रमण हटाउने निर्णय गरेको थियो ।

गठ्ठी संस्थानले पनि गत वर्ष चैत्र २० गोरखा पत्रमा सूचना प्रकासित गरेर अतिक्रमण गरिएको डिल खाली गर्नका लागि सूचना गोरखा पत्रमा प्रकाशित गरेको थियो । जनकपुरमा रहेको पोखरीको १५ फिट डिल छाडेर मात्र निर्माण गर्न मिल्ने प्रावधान छ । पोखरी अतिक्रमण खाली गराउने कार्यमा गुठ्ठी संस्थान जनकपुरका कार्यालय प्रमुख राजाबाबु पाण्डे, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा, जनकपुर नगरपालिकका कर्मचारीहरु उल्लेख्य संख्यामा उपस्थित रहेका थिए ।

No comments:

Post a Comment