Sunday, June 8, 2014

गंगा आरती—सरसफाई र प्रहरी


कैलास दास
२०७१ जेष्ठ २५ गते आईतवार
ऐतिहासिक एवं धार्मिक महत्व बोकेका गंगा सागर पोखरीको मुहार फेरिने र धार्मिक पर्यटकीय स्थलका लागि एउटा नयाँ आयाम आजबाट प्रारम्भ हुने छ, त्यो हो ‘गंगा आरती’ । गंगा आरतीमा मठ मन्दिरका महन्थ, युवा क्लवका युवाहरु, मान महन्थहरु लगायतका व्यक्तिहरु घण्टा सहित पूजा सामग्रीहरु लिएर उपस्थित हुनेछ । जुन यहाँका एउटा महत्वपूर्ण दिन मानिने छ । आजबाट प्रत्येक दिन जनकपुरमा गंगा आरती हुनेछ । गंंगा आरतीमा भारतको बनारसबाट पण्डितहरु मगाइएको छ । आरतीको पुरा सामग्रीहरु एकदिन पूर्व नै तयार गरिसकेको आयोजकले जनाएका छन् ।

गंगा आरती र सरसफाईबाट यो झल्किन्छ कि फोहर मैला सहरको रुपमा प्रसिद्ध धार्मिक नगरी ‘जनकपुर’ को अब मुहार फिरिने छ, विश्वास हुन लागेको छ । गंगा सागर र धनुष सागरको महत्वलाई जति व्याख्या गरेपनि धार्मिक ग्रन्थ अनुसार कम हुन्छ । यी पवित्र स्थल भएपनि दुबै पोखरीमा फोहरमैला थुपारिनु यहाँहरुका लागि दिनचर्या बनेका थिए । निष्ठका पर्व छठ लगायतका पर्व त्योहारहरुमा रोग व्याधि निको हुने कामना गर्दछ । तर सो जलमा स्नान गर्दा झनै रोग लाग्ने गर्दथ्यो ।
गंगा सागर पोखरीमा स्नान गरी जानकी माताको दर्शन गर्ने, तत्पश्चात यहाँका विभिन्न मठ मन्दिर, सरसरोवर तथा धार्मिक स्थलहरुमा गएर पूजापाठ गर्ने धार्मिक मान्यता छ । जनकपुर आउन ऋषिमुनी तथा देवी—देवताहरु पनि ललायित हुन्थ्यो । तीर्थयात्रीहरु गंगा स्नान गरी माता जानकी को दर्शन गर्ने गर्दथे । गंगा स्नानबाट मोक्षको प्राप्ति हुन्छ, तर हाम्रो यहाँ साक्षात माता जानकीका जन्मभूमि र गंगासागर पोखरी भएपनि जुन किसिमले गंगासागर पोखरीमा फोहरमैला थुपारिएको थियो त्यसबाट के बुझिन्थ्यो भने माता जानकीको दर्शन अधुरो रहेछ ।
जसरी गंगा नदीको पानी अहिलेसम्म सुखेको छैन त्यसरी नै गंगा सागर पोखरीको पानी अहिलेसम्म नसुखेको जानकारहरु भन्छन् । पहिला पनि बाहिरबाट आउने तीर्थयात्रीहरु यस सरोवरमा स्नान गरी माता जानकीको दर्शन गर्ने गर्दथे । तर केही वर्षदेखि फोहरमा परिणत भएपछि तीर्थयात्रीहरु जानकी माताको दर्शन गरी फर्किने गर्दछन ।
गंगा सागर पोखरी सरसफाई तथा गंगा आरती गंगा दशहराका दिनदेखि प्रारम्भ गर्नका लागि एउटा अभियानको रुपमा लिएका नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष रामअशिष यादवलाई धन्यावाद नदिन मिल्दैन । तर त्यो भन्दा बढी नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनपथ तथा सेनालाई यस अभियानका मुख्य श्रेय दिनुपर्दछ । जनकपुर धार्मिक स्थल हो तर धार्मिक विचार एवं आस्था जुन किसिमले यिनीहरुमा जागेका छन् स्थानीयवासीमा त्यो विचार र आस्था त्यति देखिएन । स्थानीयस्तरबाट मात्र जनकपुर धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने, सफा सुन्दर बनाउने, स्वच्छ वातावरण तथा यहाँका साँस्कृतिक झल्किने जस्ता कार्य गरेको हुन्थ्यो भने अहिले जनकपुर विश्व सम्पदा सूचीमा हुन्थ्यो ।
गंगा सागर सफाई अभियानका अगुवाई रामअशिष यादव ज्यूले गरेका छन् तर यो कसरी सफल हुन्छ सोको निरन्तरता प्रहरी विभागले नै दिएका छन् । यही कारण हो कि यहाँका युवाहरु, संघ संस्थाका सदस्यहरुमा केही गर्ने चाहना एवं भावना अभिप्रेरित भएका छन् । भारतको बनारसमा भव्य रुपमा ‘गंगा आरती’ हुने गर्दछ । बनारस गंगा दर्शन गएका व्यक्तिहरु ‘गंगा आरती’मा सहभागी नभईकन गंगा दर्शन अधुरो सम्झिन्छन् । त्यसरी बाहिरबाट आएका तीर्थयात्रुहरुका लागि यहाँ पनि गंगा स्नान गरी जानकी दर्शन पश्चात गंगा आरतीमा सहभागीका लागि एक दिन बस्ने निश्चितिता देखिन्छ ।
पंक्तिकारले शनिवार विहान गंगासागर पोखरी सफाई अभियानमा सहभागी हुन गएका थिए । त्यहाँका केही व्यक्तिका भनाई राम्रो लागे र केहीले त्यसको उल्टो पनि जवाफ फर्काए । गंगा आरती एउटा नौटंकी हो त केहीले भने यसको अगुवाई गरिरहेका व्यक्ति सराहनीय कार्य गरेका छन् । जनकपुरलाई धार्मिक दृष्टिले विकास गर्ने हो भन्ने टिकाटिप्पणी गर्ने होइन, अभियान सफल पार्ने तर्फ लग्नु पर्दछ । पहिलो अभियानमा सरसफाई हो भने दोस्रो अभियान मठ मन्दिरको सौन्दर्यीकरण तथा यहाँका साँस्कृतिक कसरी झल्किन्छ त्यस तर्फ पनि अभियानीहरुलाई लाग्नु पर्दछ ।
सन्त तुलसी दासद्वारा लेखिएका रामायण सिरियलमा दर्शएका जनकपुर यही हो सोको आधारमा यहाँ पर्यटकहरु आउने गर्दछ । तर यहाँका साँस्कृतिक बोर्ड, पर्यटयन बोर्ड वा यहाँका होटल व्यवसायीहरु सहितका सम्बन्धित निकायहरुले यहाँका धार्मिक स्थल, रहन—सहन,  खान—पानका बारेमा एउटा ब्रोसर, बुकलेट, क्यासेट वा पुस्तकसम्म पनि प्रकाशन गर्न सकेको छैन । जुन निःशुल्क रुपमा यहाँ आउने पर्यटकहरुलाई दिनुपर्दछ । यति मात्र होइन जनकपुर प्रवेशकै यहाँका पर्यटकीय स्थलहरुको ठूलो नक्सा तयार पारी विभिन्न ठाउँमा झुण्डाउनु पर्दछ, कुन ठाउँमा कुन धार्मिक स्थल हो ।
अहिले पर्यटक सोधपुछ गर्दै त्यहाँ पुगेपनि कुनै पनि भाषामा पोखरी, मठ मन्दिर सहितका इतिहास सो स्थानमा लेखिएको पाउँदैन । कुन समयमा बनेको, कति लम्बाई, चौडाई र कस्ता महत्व छ बारेमा खुलाउनु आवश्यक छ । यस्ता कार्यहरुमा यहाँका होटल व्यवसायीहरुलाई पनि खुलेर आउनु पर्दछ ।
गंगा सागर सरसफाईमा महिला, छात्र—छात्रा, युवा, समाजसेवी सहितका व्यक्तिहरु थिए । सञ्चारकर्मीहरुको संख्या पनि उल्लेख्य थियो । महिलाहरु झारु लिएर सफाई गर्दै थिए, सञ्चारकर्मीहरु फोटो खिच्नमा व्यस्त तथा नागरिक समाजका व्यक्तिहरु परिचयमा व्यस्त थिए । तर प्रहरी निकायका व्यक्तिहरु आ—आफ्ना सरसफाईमा व्यस्त थियो ।
गंगा माताले ढिलो किन नहोस् जनकपुरलाई फोहर मुक्त बनाउने प्रेरणा प्रदान त गरे नि । गंगा सागर पोखरी सरसफाई अभियानले यहाँका युवाहरुमा धेरै केही गर्ने चाहना ल्याएको छ । त्यसलाई हृदयले लिनुपर्दछ र सोमा लाग्नु पनि पर्दछ । यस अभियानमा यहाँका सबै मठ मन्दिरका पुजारी, नागरिक समाज, व्यापारी सहितका व्यक्तिहरु जोरसोर अगाडि आउने अहिलेको आवश्यकता हो । अभियानको मुख्य उद्देश्य हुन्छ ‘सफलता’ । जबसम्म सफलता पाउँँदैन अभियान अधुरो हुन्छ । अहिले जनकपुरको प्रायः पोखरीहरुमा सफाई अभियान प्रारम्भ भएको छ । त्यसमा कुनै प्रकार ईष्र्याद्वोष नगरी यहाँका सभ्य समाजलाई लाग्नु पर्दछ ।
यहाँ धार्मिक क्षेत्रको विकासका लागि अभियान चलाउने धेरै स्थलहरु छन् । गंगा आरती र गंगासागर पोखरीको सरसफाईले मात्र जनकपुरलाई धार्मिक स्थलको पहिचान दिन मिल्दैन । ‘५२ कुटी ७२ कुण्ड, साधु चले झण्ड ही झुण्ड’ जस्ता जनकपुरलाई दर्शाउन पर्दछ । सोको लागि नेपाल सरकारलाई दवाव सृजना पनि गर्नु आवश्यक छ ।
चार धाम मध्ये ‘जनकपुरधाम’ पनि एक हो । गंंगा आरतीमा  साधुसन्त लगायत सम्पूर्ण नगरवासी सहभागी हुन्छ आशा र विश्वास सँगै अपिल पनि छं ।

No comments:

Post a Comment